
चु (Tsu), मिए, जापान । जापानको मध्य भागमा पर्ने मिए प्रिफेक्चर (Mie Prefecture) ले सरकारी जागिरमा विदेशी नागरिकलाई भर्ना नलिने नीति (Nationality Requirement) पुनः लागू गर्ने तयारी गरेको छ। प्रिफेक्चरका गभर्नर काचुयुकी इचिमीले विदेशी कर्मचारी राख्ने कि नराख्ने भन्ने निर्णय जनताको रायमा आधारित हुने बताए पनि, राय सङ्कलनका लागि तयार पारिएको प्रश्नवाली नै ‘विभेदकारी’ भएको भन्दै स्थानीय नगर प्रमुख (मेयर) हरूले कडा आपत्ति जनाएका छन्।
विवादित ‘प्रश्न नं. १६’: विदेशीलाई जासुसको आरोप?
प्रिफेक्चरले जनवरी २६ देखि फेब्रुअरी १६ सम्म १०, हजार नागरिकमाझ हुलाक र अनलाइनमार्फत सर्वेक्षण गर्दैछ। यसमा सोधिने २२ प्रश्नमध्ये प्रश्न नं. १६ निकै विवादित बनेको छ।
उक्त प्रश्नमा विदेशी कर्मचारी भर्ना रोक्नुपर्ने कारणका रूपमा “केही देशहरूले आफ्ना नागरिकलाई सूचना सङ्कलनमा (जासुसी) प्रयोग गर्ने कानुन बनाएका हुन्छन्” भन्ने उल्लेख गरिएको छ। साथै, विदेशी कर्मचारीले भिआईपी सुरक्षा, इसे जिङ्गु (Ise Jingu) मन्दिर र कृषि सम्बन्धी गोप्य सूचना चुहाउन सक्ने आशङ्का व्यक्त गरिएको छ। आलोचकहरूले यो प्रश्नले नै “विदेशी कर्मचारीहरू खतरनाक हुन्छन्” भन्ने गलत सन्देश दिने र समाजमा विभेद बढाउने बताएका छन्।
मेयरहरूको कडा विरोध: “यो बहुसांस्कृतिक समाज विरोधी कदम हो”
मिए प्रिफेक्चर भित्रकै विभिन्न सहरका मेयरहरूले गभर्नरको यो कदमको खुलेर विरोध गरेका छन्।
- इगा सहरका मेयर तोसिनाओ इनामोरी: “यो प्रश्नले बहुसांस्कृतिक सहअस्तित्वलाई कमजोर बनाउँछ र घृणाजन्य अभिव्यक्ति (Hate Speech) लाई प्रोत्साहन दिन्छ। यसले हाल कार्यरत विदेशी कर्मचारीको आत्मसम्मानमा चोट पुर्याएको छ।”
- नाबारी सहरका मेयर हिरोयुकी कितागावा: “विदेशी कर्मचारी खतरनाक हुन्छन् भन्ने धारणा विकास गराउने यस्तो प्रश्न तत्काल हटाउनुपर्छ।”
- इसे सहरका मेयर केनिची सुजुकी: “जापानको कानुन अनुसार सरकारी कर्मचारीहरूले अवकाशपछि पनि गोप्य सूचना चुहाउन नपाउने कडा नियम छँदैछ, यस्तो शंका गर्नु उचित होइन।”
योक्काइची सहरको फरक सन्देश: “हामी विदेशी भर्ना रोक्दैनौं”
प्रिफेक्चरले प्रतिबन्धको तयारी गरिरहँदा, मिएकै प्रमुख सहर योक्काइची (Yokkaichi) का मेयर तोमोहिरो मोरीले भने आफ्नो सहरले विदेशी नागरिकलाई कर्मचारी भर्ना गर्ने नीति नफेर्ने घोषणा गरेका छन्। जनवरी १४ मा पत्रकार सम्मेलन गर्दै उनले भने, “हामीले सन् २००२ देखि नै राष्ट्रियताको सर्त हटाएका छौं। हामी बहुसांस्कृतिक सहअस्तित्वमा विश्वास गर्छौं र विदेशी कर्मचारी भर्नालाई निरन्तरता दिनेछौं।”
हाल योक्काइची सहरको कार्यालय र अस्पतालमा ४ जना विदेशी नागरिक स्थायी कर्मचारीका रूपमा कार्यरत छन्।
नेपाली समुदायलाई चासो
मिए प्रिफेक्चर र यस वरपरका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरूको बसोबास छ। यदि प्रिफेक्चरले विदेशीलाई सरकारी जागिरमा प्रतिबन्ध लगायो भने, यसले जापानमा हुर्किंदै गरेको नयाँ पुस्ता र यहाँका विश्वविद्यालयबाट ग्राजुएट भएका नेपाली युवाहरूको सरकारी सेवामा प्रवेश गर्ने ढोका बन्द गर्न सक्छ। सर्वेक्षणको नतिजा आगामी मे महिनामा सार्वजनिक हुने बताइएको छ।
(श्रोतः द माइनिची)



