
गलकोट समाज जापानले अंग्रेज़ी नया वर्ष २०२६ मा जापानका तीन वटा शहरमा ‘”समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकूदमा लगानी” भन्ने नाराका साथ सांगीतिक धमाका-२०२६ को तयारीमा जुटेको छ ।
“हाम्रो गाउ हाम्रो ठाउ, हातेमालो गरी समृद्ध बनाऔं” भन्ने मान्यताका साथ स्थापित गलकोट समाज जापानको मुख्य आयोजनामा नेपालका चर्चित कलाकारहरुको साथमा साँगीतिक धमाका- २०२६ को तिव्र तयारीमा लागिएको समाजका अध्यक्ष रत्नसिंह बस्नेतले जानकारी दिए ।
जापानका मुख्य ३ शहरमा सामाजिक उत्तरदायित्वका लागि समाजले विगतका वर्षमा गर्दै आएको नियमित कार्यक्रम अन्तरगत डिसेम्बर ३१ तारिख ओसाका, जनवरी १ तारिख नागोया र जनवरी २ तारिख टोकियोमा नेपालका चर्चित कलाकारहरूको साथमा सो कार्यक्रम गरिन लागिएको समाजका अध्यक्ष बस्नेतको भनाई छ ।
गलकोट क्षेत्रमा स्थानीय सरकारसँगको आवश्यक समन्वयमा त्यहाका नागरिकलाई प्रत्यक्ष सेवा र लाभ प्रदान गर्ने गरि शिक्षा, स्वास्थ्य र खेलकूदका क्षेत्रमा आवश्यक सहयोग रकम संकलनका लागि यस वर्षको सांगीतिक धमाका गर्न लागिएको समाजका महासचिव दिलिप कंडेलले बताए ।
गलकोट क्षेत्रका आम नागरिकको स्वास्थ्य क्षेत्रबाट छिटो र छरितो रुपमा सेवा र सुविधा प्रदान गर्न, शिक्षा र खेलकूदका साथै गलकोट क्षेत्रको पर्यटन पर्वद्दनका लागि र नेपाली मौलिक संस्कृतिको प्रचार प्रसार भै जापान र नेपालको संस्कृति आदान प्रदानमा सहयोग पुर्याउने मुख्य उदेश्यका साथ सांगीतिक धमाका स्वरुप कार्यक्रम गर्न लागिएको समाजका महासचिव कंडेलले बताए ।
जापानभित्र रहेका सम्पूर्ण गलकोटे लगायत यस समाजप्रति आस्थावान सम्पूर्ण नेपालीहरुलाई संगठित गर्दै एकापसमा अविच्छिन्न पारस्परिक सम्बन्ध, सदभाव, सहयोग र सम्पर्कमा अभिवृद्धि गर्न पनि यस कार्यक्रमले सहयोग गर्नुका साथै नेपाल र जापानबिचको मित्रताको सम्बन्धलाई अझ बढि प्रगाढ बनाउन मदत भै सरोकारवाला निकायसगको सम्बन्धमा विकास गर्दै सहकार्यमा योजना सम्पन्न गर्न मदत हुने आशा समेत गरिएको कार्यक्रम संयोजक दिल बहादुर थापाको भनाई रहेको छ।
कार्यक्रम व्यवस्थापन र उदेश्य अनुरुप सम्पन्न गराउनको लागि विभागीय जिम्मेवारी प्रदान गरि व्यवस्थित रुपमा कार्य अघि बढेको र आर्थिक संकलन कार्यलाई एक अभियान कै रुपमा अगाडी बढाउने समाजका संयोजक थापाले बताए ।
पवित्र र गलकोट क्षेत्रको आवश्यकतामा आधारित सहयोगार्थका निम्ति कार्यक्रम गरिन लागेकोले जापानमा रहेका हरेक नेपाली समुदायका व्यक्तित्वहरूको सक्रियतापूर्वक आर्थिक अभियानमा सहयोग हुने विश्वास उनले व्यक्त गरे ।
पछिल्लो समयका चर्चित तथा धेरैको रोजाईमा परेका कलाकारहरुलाई ल्याई उनीहरुको सांगितिक प्रस्तुतीले नयाँ वर्षको कार्यक्रम अत्यन्त रमाईलो हुने महासचिव कंडेलले विश्वास व्यक्त गर्दै भने- नेपाल लगाएत विदेशमा समेत दर्शकबाट रुचाइएका गायक गायिका प्रस्तुति रहने भएको हुदा पनि दर्शकको उपस्थिति उल्लेख्य हुनेछ ।
बागलुङ जिल्लाको गलकोट क्षेत्रबाट बिभिन्न पेशा ,रोजगारी तथा अध्ययनका लागि जापान प्रवेश गरेका हामी गलकोटेको साझा संस्था गलकोट समाज जापान “हाम्रो गाउ हाम्रो ठाउ, हातेमालो गरी सम्वृद्ध बनाऔ ” भन्ने भावनाका साथ गलकोट क्षेत्रको सामाजिक ,आर्थिक,सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गलकोट क्षेत्रको साथै राष्ट्रको विकासमा टेवा पुरयाउने उदेश्यले सन् २००६ मा स्थापना भै जापानमा क्रियाशील संस्था हो ।