बडा दशैँ बिशेष कार्यक्रम स्पेनमा सम्पन्न

-


     अनुष्मा पोख्रेल    
     असाेज १९ गते २०८२


बेनिड्रम सहरको होटल मारिनामा बडा दशैँको निकै रम्मझम्म थियो । नेपालीहरुको महान पर्व बडा दशैँको दिन प्रवासी भुमी स्पेनको बेनिड्रममा साँझ पर्न लाग्दा नेपालीहरुको चहलपल सुरु भएको थियो ।

नेपाली भेषभुषामा सजिएर निधारमा रातो टिका र शिरमा जमरा लगाएर मारिना पुगेका नेपालीहरुको खुसीमा बिदेशीहरुले समेत चासो दिएका थिए । उनिहरुले टिका जमरा र नेपाली पहिरनप्रति चासो दिदै खुसी ब्यक्त गरे । सो दिन नेपाली चाडपर्व भएको खबर पाउँदा बिदेशी नागरिकले खुलेर शुभकामना मात्रै दिएनन् रमाउन अनुरोध समेत गरे ।

अक्टोवर २ तारिखको साँझ करिव ७ बजे नेपाली दाजुभाई दिदीबहिनीहरुको बाक्लो उपस्थितिपछि सभाहलको आवाजले सबैको ध्यान केन्द्रित गरेको थियो । एक भव्य हलमा बिशेष सजावट मात्रै थिएन् त्यहाँ नेपाली मौलिक पर्वको खुसी र संस्कृतिको पहिचान समेत झल्कीएको देखिन्थ्यो ।

करिब साढे सात बज्ने गैर आवासीय नेपाली संघ एनआरएनए कोष्टाब्लाङ्का र नेपाल समाज एसोसिएसनको आयोजनामा बडा दशैँ विशेष सांस्कृतिक कार्यक्रमको सुरुवात भयो । केही औपचारीक र सम्मान समारोह संचालन भएको उक्त कार्यक्रममा चर्चित गायक तुल्सी शिवाकोटीले बिशेष सांगितिक प्रस्तुति दिए ।

गायक तुलसी शिवाकोटीले गाउँ घरको सम्झनाले मनै रुवायो भन्दै दसै आयो– तिहार आयो गीत गाएर माहोल बनाए लगतै दर्शक एकैसाथ नाच्न थाले । गायक शिवाकोटीले दर्शकको रोजाई अनुसारका चर्चित गीतहरु झुमा झुम्कावाली, रेशम फिरिरि, तालको पानी, कलिलो तामालाई, सम्झना विर्सना, चलेछ बतास लगाएतका दर्जनौं गीतहरु गाए ।

होटल मारिनाको हलमा नेपालीहरुको उत्साहपूर्ण सहभागिता अनुसार उनले दुख भुलाएर पर्वमा रमाउने वातावरण बनाएका थिए । उनी संगै बडा दशैँको माहोलमा नेपालीहरुले छमछमी नाचेर साथ दिए ।
उक्त पारिवारिक तथा व्यवस्थित कार्यक्रम जहाँ बृद्धा बुबा आमा देखी बालबालिका समेत खुलेर नाच्ने अवसरको भरपुर सदुपयोग गरे ।
नेपाली मौलिक पोशाकमा सजिएका बालिकाहरुले नेपाल मन पर्छ, गुन्यु चोलो मन पर्छ भन्दै गीतहरुमा नाच्दा मुनु थापा, ईशा पुन मगर, सुहानी रोकाले साइला दाइ गीतमा प्रस्तुती दिएका थिए । घिन्ताङ घिन्ताङ बोलको गीतमा सेलेना श्रेष्ठ, दीक्षा श्रेष्ठको नृत्यमा बजेको तालीले नेपालको भल्को दिलाएको थियो ।

औपचारिक कार्यक्रममा एनआरएनए स्पेनका बरिष्ठ उपाध्यक्ष तथा प्रमुख अतिथि सुरेन्द्र भुजेलले प्रवासमा बसेपनि नेपालीहरु कला, संस्कृति, चाडपर्व जगेर्ना गर्न सक्रिय रहेको बताए ।
सबै नेपाली एकसाथ बसेर दशैंँलाई रमाईलो गर्दा घरको न्यास्रो मेटिएको एनआरएनए स्पेनका उपाध्यक्ष देवराज सापकोटाको भनाई छ ।
सोहि अवसरमा नेपाल समाज एसोसिएसन कोष्टाव्लाङ्का अध्यक्ष केशर बहादुर थापाले कोष्टाब्लाङ्का क्षेत्रमा नेपाली समुदाय बढ्दै जादा नेपालको समृद्धि र संस्कृति जगेर्नाका गतिविधि थप बढेको बताए । साँस्कृतिक कार्यक्रमको साथमा सम्मानको कार्यक्रम समेत गरिएको थियो ।

कोष्टाब्लाङ्का क्षेत्रमा २ दशक भन्दा पहिले आएर नेपाली समुदायको विस्तार तथा समन्वय गर्न सक्रिय समाजका वरिष्ठ सल्लाहकार विजय थापालाई विशेष सम्मान गरिएको थियो । एनआरएनए कोष्टाब्लाङ्का संस्थापक वीरेन्द्र श्रेष्ठलाई बिशेष सम्मान गर्दा समाजका निवर्तमान महासचिव स्वं : विजय कुँवरलाई नेपाली समुदाय तथा समाजका लागि पुर्याएको योगदानको कदर गर्दै परिवारमा कदरपत्र सर्मपण गरिएको थियो ।

कार्यक्रमलाई सफल पार्न प्रायोजन गर्ने उद्यमी नेपालीहरुलाई पनि सम्मान र नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई प्रतिभा सम्मानले सम्मानित गरिएको थियो । प्रवासमा रहेर पनी आफ्नो नेपालीत्वको भावना जागृत गर्नु र आत्मीयता बृद्धि गर्नुपर्ने आवश्यकतालाई कार्यक्रमले पुरा गरेको कार्यक्रममा सहभागीहरु बताउछन् ।

एनआरएनए कोष्टाब्लाङ्काका अध्यक्ष विपिन कुमार विसी र नेपाल समाज एसोसिएसनका अध्यक्ष केशर बहादुर थापाको सयुंक्त अध्यक्षतामा संचालन भएको कार्यक्रम रातको करिब १२ बजे सम्म चलेको थियो ।

सांस्कृतिक कार्यक्रमका संयोजक नवराज दुवाडीले स्वागत गर्नुभएको कार्यक्रमको संचालन एनआरएनए कोष्टाब्लाङ्काका सचिव अनुष्मा पोख्रेल र नेपाल समाजका निवर्तमान प्रवक्ता घनश्याम गौतमले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?