
टोकियो, जापान ।
नेपाल–जापान कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा टोकियोमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालका विभिन्न क्षेत्रमा निर्धक्क लगानी गर्न आह्वान गर्नुभएको छ।
जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्ने उद्देश्यले आज आयोजित अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाल सरकार वैदेशिक लगानीको सुरक्षा र सहजीकरणका लागि पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले बुद्धको दर्शन र दुई देशबीचको ऐतिहासिक सांस्कृतिक सम्बन्धको चर्चा गर्दै नेपालमा कृषि, जलस्रोत, पर्यटन र सूचना प्रविधिका क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको औंल्याउनुभयो। नेपालले लगानीकर्ताका लागि आकर्षक प्रतिफल, नाफा फिर्ताको सहज प्रक्रिया र स्थिर आर्थिक वातावरण तयार गरेको जानकारी दिँदै उहाँले नेपालमा लगानी गर्दा आर्थिक लाभसँगै मानवीय कल्याण (धर्म) समेत हुने बताउनुभयो।
नेपाल सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्यमा रहेको सन्दर्भमा ठूलो वैदेशिक स्रोतको आवश्यकता पर्ने उहाँको भनाइ थियो। भारत र चीनजस्ता ठूला अर्थतन्त्रका बीचमा रहेको नेपालको रणनीतिक अवस्थितिले लगानीकर्तालाई बृहत्तर बजारको फाइदा पुग्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभयो। सो अवसरमा परराष्ट्र सचिव अमृत राई र सहसचिव भृगु ढुङ्गानाले नेपालमा लगानीका कानुनी तथा संस्थागत सुधारबारे प्रस्तुति दिनुभएको थियो। कार्यक्रममा सहभागी जापानी व्यवसायीहरूले नेपालको लगानीमैत्री वातावरणप्रति उत्साह देखाउँदै यसले भविष्यमा सहकार्यको नयाँ ढोका खोल्ने विश्वास व्यक्त गरेका थिए।



