
Screenshot
हङकङको व्यस्त सडकमा शुक्रबार दुई जापानी नागरिकबाट ३ लाख ७६ हजार डलर बराबरको नगद लुटिएको छ, जसलाई टोकियो विमानस्थलदेखि नै लुटेराले पिछा गरेको आशंका गरिएको छ।
हङकङ प्रहरीका अनुसार व्यस्त सुङ वान जिल्लामा ट्याक्सीबाट ओर्लिने क्रममा ती दुई जापानी पुरुषको ५ करोड ८० लाख येन (करिब ३ लाख ७६ हजार अमेरिकी डलर) नगद भएको झोला लुटिएको हो। लुटेराहरू कारमा चढेर फरार भएका थिए, जसमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ती जापानी नागरिकहरू उक्त रकम नजिकैको मुद्रा सटही केन्द्रमा साट्न जाँदै गर्दा सो घटना भएको हो।
रोचक र रहस्यमय कुरा के छ भने, पीडितमध्ये ५० वर्षका एक व्यक्तिमाथि सोही दिन बिहान जापानको हानेदा विमानस्थलमा पनि आक्रमण भएको थियो। टोकियो प्रहरीका अनुसार विमानस्थलको पार्किङमा चार जनाको समूहले उनीमाथि ‘पेप्पर स्प्रे’ छर्किएर करिब १९ करोड येन लुट्ने प्रयास गरेका थिए। जापानमा लुटिनबाट जोगिएका उनी सोही दिन हङकङ प्रस्थान गरेका थिए। हङकङ प्रहरीले यस घटनालाई संगठित अपराधको रूपमा हेर्दै अनुसन्धान गरिरहेको छ।
यसअघि गत डिसेम्बरमा पनि सोही क्षेत्रमा एक जापानी क्रिप्टो कम्पनीका कर्मचारीहरूबाट १ अर्ब येन लुटिएको थियो। सो घटनामा १७ जना पक्राउ परे पनि रकम भने अझै फेला परेको छैन। टोकियो र हङकङ दुवै देशका प्रहरीले यी दुई घटनाबीच सम्बन्ध हुन सक्ने भन्दै समन्वयकारी अनुसन्धान सुरु गरेका छन्। ठूलो मात्रामा नगद बोकेर यात्रा गर्ने व्यक्तिहरूलाई लक्षित गरी अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेको हुन सक्ने प्रहरीको अनुमान छ।



