जापानमा विदेशी कामदारको सङ्ख्या २५ लाख नाघ्यो: नेपालीहरू चौथो ठूलो समूह, स्वास्थ्य क्षेत्रमा उच्च माग

-


     जनहित न्युज    
     माघ १८ गते २०८२


Screenshot

जापानमा कार्यरत विदेशी कामदारको सङ्ख्या गत वर्ष २५ लाख नाघेर नयाँ रेकर्ड कायम भएको छ, जसमा नेपालीहरू चौथो ठूलो श्रमशक्तिको रूपमा स्थापित भएको सरकारी तथ्याङ्कले देखाउँछ।

जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार सन् २०२५ को अक्टोबर अन्त्यसम्ममा विदेशी कामदारको सङ्ख्या २५ लाख ७१ हजार ३७ पुगेको छ। सन् २००७ बाट तथ्याङ्क राख्न थालिएयता यो हालसम्मकै उच्च सङ्ख्या हो।

अघिल्लो वर्ष २०२४ को तुलनामा यो ११.७ प्रतिशतको वृद्धि हो भने सङ्ख्यात्मक रूपमा २ लाख ६८ हजार ४५० ले बढेको हो। जापानमा लगातार तीन वर्षदेखि १० प्रतिशतभन्दा बढीको दरले विदेशी कामदार थपिइरहेका छन्, जसले यहाँको गम्भीर श्रम अभावलाई स्पष्ट पार्छ।

कामदारहरूको देशगत विवरण अनुसार भियतनामीहरू ६ लाख ६ हजारसहित पहिलो स्थानमा छन् भने चिनियाँहरू ४ लाख ३२ हजारसहित दोस्रो स्थानमा छन्। फिलिपिन्सका कामदार २ लाख ६१ हजारसहित तेस्रो र २ लाख ३६ हजारको सङ्ख्यामा रहेका नेपालीहरू चौथो ठूलो समूहका रूपमा रहेका छन्। त्यस्तै इन्डोनेसियालीहरू २ लाख २८ हजारसहित पाँचौँ स्थानमा छन्। क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै वृद्धि स्वास्थ्य तथा कल्याण (Medical and Welfare) क्षेत्रमा २५.६ प्रतिशत देखिएको छ। यसका साथै होटल तथा रेस्टुरेन्ट क्षेत्रमा १७.१ प्रतिशत र निर्माण क्षेत्रमा १६.१ प्रतिशतले विदेशी कामदार बढेका छन्।

जापानको कुल ६ करोड २१ लाख ४० हजार कार्यबलमध्ये अब विदेशी नागरिकको हिस्सा ४.१ प्रतिशत पुगेको छ। जापान सरकारले विदेशी कामदारको बढ्दो भूमिकालाई स्वीकार गर्दै उनीहरूका लागि काम गर्ने वातावरण र सुविधाहरूमा सुधार ल्याउने प्रतिबद्धता जनाएको छ। तीव्र रूपमा वृद्ध हुँदै गएको जापानी जनसंख्या र काम गर्ने उमेर समूहको अभावका कारण आउने दिनमा विदेशी श्रमशक्तिमाथिको निर्भरता अझै बढ्ने निश्चित देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?