टोकियोमा ‘कस्केलीहरूको मिलन’: कास्की पोखरा समाज जापानको पहिलो बोनेनकाई सम्पन्न

-


     जनहित न्युज    
     पौष १५ गते २०८२


जापानमा रहेका कस्केलीहरूको साझा संस्था कास्की पोखरा समाज, जापानले आफ्नो स्थापनापछिको पहिलो ‘बोनेनकाई’ (वर्ष अन्त्य गरिने उत्सव) कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

“बोनेनकाई विशेष साँझ : कस्केलीहरूको मिलन” शीर्षकमा आयोजित उक्त कार्यक्रम डिसेम्बर २८ (आइतबार) का दिन टोकियोको सिन्जुकुस्थित काठमाडौं लाउन्ज एन्ड बारमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

जापानी र नेपाली समुदायको उल्लेख्य सहभागिता

कार्यक्रममा कास्की र पोखरासँग आत्मीय सम्बन्ध राख्ने जापानबासी नेपालीहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो। कार्यक्रमको विशेष आकर्षणका रूपमा जापानी समुदायका विशिष्ट व्यक्तिहरूको समेत सहभागिता थियो।

  • विशिष्ट अतिथिहरू: कोमागानेमा रहेको ‘जापान लाइब्रेरी जापान’का फाउन्डर डा. इतो युकी र कोमागाने सिटिजन एक्सचेन्जका प्रेसिडेन्ट किताहारा तेरुमीको उपस्थिति रहेको थियो।

एकता र सद्भावको सन्देश

कार्यक्रमको सुरुवातमा उपाध्यक्ष सरोज कार्कीले स्वागत मन्तव्य राख्दै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो। आपसी भेटघाट, माया र सद्भाव साटासाट गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले जापानमा रहेका कस्केलीहरूलाई एकै ठाउँमा ल्याउने काम गरेको थियो।

युवा संयोजक सुमन कुवरले कार्यक्रमको व्यवस्थापन र भव्यताबारे चर्चा गर्दै सधैं कस्केलीहरू एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।

पृथक पहिचान र निरन्तरता

महासचिव जीवन पोखरेल ‘कञ्चनले कार्यक्रमबारे जानकारी दिँदै जापानका विभिन्न नेपाली समाजहरूमध्ये कास्की पोखरा समाजले आफ्नो छुट्टै र पृथक पहिचान बनाउँदै आएको दाबी गर्नुभयो। उहाँले भविष्यमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष कमल बास्तोलाले उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि आपसी सहकार्य, एकता र कस्केली पहिचानलाई जोगाइराख्न सबैलाई अनुरोध गर्नुभयो।

कास्की पोखरा समाज, जापानले कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूप्रति हार्दिक आभार प्रकट गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?