गलकोट समाज जापानद्वारा नयाँ वर्षमा ‘सांगीतिक श्रृंखला–२०२६’ आयोजना: शिव परियारदेखि समिक्षा अधिकारीसम्मको प्रस्तुति रहने

-


     जनहित न्युज    
     पौष ८ गते २०८२


टोकियो, जापान

जापानमा सक्रिय सामाजिक संस्था गलकोट समाज जापानले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर चार प्रमुख शहरहरूमा भव्य ‘सांगीतिक श्रृंखला–२०२६’ आयोजना गर्ने भएको छ। “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य तथा खेलकुदमा लगानी” भन्ने मूल नाराका साथ समाजले यस वर्षको कार्यक्रमलाई विशेष अभियानका रूपमा अघि बढाएको हो।

लोकप्रिय कलाकारहरूको जमघट

यसपटकको सांगीतिक श्रृंखलामा नेपालका बहुचर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। आयोजकका अनुसार कार्यक्रममा सुगम संगीतका लोकप्रिय गायक शिव परियार, छोटो समयमै सांगीतिक क्षेत्रमा चर्चा कमाउन सफल गायिका समिक्षा अधिकारी, चर्चित लोक सर्जक तथा गायक रामकृष्ण बम मल्ल र परदेशी गायकका रूपमा परिचित सुर्य खड्काको विशेष प्रस्तुति रहनेछ।

कार्यक्रमको कार्यतालिका

आयोजकका अनुसार नयाँ वर्षको पूर्वसन्ध्यादेखि जनवरी २ सम्म निम्न स्थान र समयमा कार्यक्रम सञ्चालन हुनेछन्:

  • ओसाका: २०२५ डिसेम्बर ३१ (समय: १७:३० देखि २४:०० सम्म)
  • नागोया: २०२६ जनवरी १ (समय: १७:०० देखि २१:३० सम्म)
  • टोकियो: २०२६ जनवरी २ (समय: १७:०० देखि २१:३० सम्म)

शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी गर्ने उद्देश्य

गलकोट समाज जापानका महासचिव दिलिप कंडेलका अनुसार यो कार्यक्रम केवल मनोरञ्जनका लागि मात्र नभई सामाजिक उत्तरदायित्व पूरा गर्न आयोजना गरिएको हो। कार्यक्रमबाट संकलित रकम बागलुङको गलकोट क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा खर्च गरिनेछ।

महासचिव कंडेलले भने, “हामीले विगतदेखि नै हरेक नयाँ वर्षमा सांगीतिक कार्यक्रम गर्दै आएका छौं। यसपटक गलकोट क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने गरी सहयोग रकम संकलन गर्ने पवित्र उद्देश्यका साथ ‘सांगीतिक धमाका’ गर्न लागिएको हो। यसलाई हामीले एक आर्थिक अभियानकै रूपमा अगाडि बढाएका छौं।”

सम्बन्ध प्रगाढ बनाउने माध्यम

समाजका अध्यक्ष रत्नसिंह बस्नेतले यस कार्यक्रमले जापानमा रहेका गलकोटे लगायत सम्पूर्ण नेपालीहरूलाई एकताबद्ध बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले भने, “यो कार्यक्रमले आपसी सद्भाव र सम्पर्क अभिवृद्धि गर्नुका साथै नेपाल र जापानबीचको मित्रतालाई अझ प्रगाढ बनाउनेछ। सरोकारवाला निकायसँगको सम्बन्ध विस्तार र सहकार्यमा योजना सम्पन्न गर्न यसले महत्वपूर्ण भूमिका खेल्नेछ।”

बम्पर उपहारमा भियतनाम भ्रमण

यस पटकको कार्यक्रममा सहभागी हुने दर्शकहरूका लागि आकर्षक ‘लक्की ड्र’को व्यवस्था गरिएको छ। कार्यक्रमको टिकट काट्नेहरूमध्ये भाग्यशाली दुई जनाले भियतनाम भ्रमण गर्ने अवसर (बम्पर उपहार) प्राप्त गर्नेछन्। कार्यक्रमको टिकट दर ३,००० येन तोकिएको छ।

सहयोगी संस्थाहरू

सुमेघ ग्रुप्स (Sumegh Groups) इभेन्ट पार्टनर रहेको यस कार्यक्रमलाई येहे रेमिट (Yehey Remit), ई-सेवा मनी ट्रान्सफर (eSewa Money Transfer) लगायतका विभिन्न व्यावसायिक संस्थाहरूले सहयोग गरेका छन्।

संस्थाको पृष्ठभूमि

“हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी समृद्ध बनाऔं” भन्ने भावनाका साथ सन् २००६ मा स्थापना भएको गलकोट समाज जापानले बागलुङको गलकोट क्षेत्रको शैक्षिक, स्वास्थ्य, पर्यटकीय र पर्यावरणीय विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ।

नेपाल तथा विदेशमा समेत अत्याधिक रुचाइएका कलाकारहरूको प्रस्तुति रहने भएकोले कार्यक्रम अत्यन्त रमाइलो हुने र दर्शकहरूको उल्लेख्य उपस्थिति रहने विश्वास आयोजकले लिएको छ। समाजले जापानबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई मनोरञ्जन लिन र पवित्र उद्देश्यमा सहयोग पुर्‍याउन अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?