
वासिङ्टन ।
अमेरिकी राजनीतिमा शिष्टाचार र मर्यादाको विषयलाई लिएर पुनः एकपटक बहस सुरु भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले एक सार्वजनिक कार्यक्रममा आफूलाई ‘यजी’ (हुटिङ) गर्ने व्यक्तिप्रति अभद्र व्यवहार देखाएपछि यो विवाद सतहमा आएको हो।
मिचिगन राज्यको डेट्रोइट नजिकै रहेको फोर्ड मोटरको कारखाना निरीक्षण गर्ने क्रममा राष्ट्रपति ट्रम्पले आफूलाई गाली गर्ने व्यक्तिलाई दुई पटकसम्म अपशब्द प्रयोग गर्नुका साथै ‘मिडल फिंगर’ (माझी औंला) देखाएर अपमान गरेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।
घटनाको चुरो: किन आक्रोशित भए ट्रम्प?
न्यूयोर्क पोस्टका अनुसार, कारखाना निरीक्षणका क्रममा एक व्यक्तिले राष्ट्रपति ट्रम्पलाई लक्षित गर्दै “बाल यौन दुराचारीको संरक्षक” भन्दै चर्को स्वरमा नाराबाजी गरेका थिए। उक्त नाराबाजी दिवंगत अमेरिकी अर्बपति जेफ्री एप्स्टाइनसँग ट्रम्पको विगतको सम्बन्धलाई जोडेर गरिएको अनुमान गरिएको छ। एप्स्टाइन, जो नाबालिगहरूको यौन शोषणको आरोपमा जेलमै रहँदा मृत फेला परेका थिए, उनीसँग ट्रम्पको मित्रता रहेको चर्चा चल्दै आएको छ।
आफूमाथि यस्तो गम्भीर आरोप लागेपछि आक्रोशित बनेका ट्रम्पले संयम गुमाउँदै उक्त प्रदर्शनकारीलाई अपमानजनक इसारा गरेका थिए। पश्चिमी संस्कृतिमा कसैलाई माझी औंला देखाउनुलाई ‘चरम अपमान’ र ‘अश्लील’ व्यवहार मानिन्छ।
ह्वाइट हाउसको बचाउ
यस घटनापछि ह्वाइट हाउसका सञ्चार निर्देशक च्यानले राष्ट्रपतिको बचाउ गरेका छन्। उनले भनेका छन्, “एक मानसिक सन्तुलन गुमाएको व्यक्तिले राष्ट्रपतिमाथि आक्रामक ढंगले चिच्याएपछि राष्ट्रपतिले त्यसको उचित र स्पष्ट जवाफ दिनुभएको हो।”
आलोचनाको घेरामा ट्रम्प
ट्रम्पको यो व्यवहारलाई लिएर सामाजिक सञ्चाल र राजनीतिक वृत्तमा टिकाटिप्पणी सुरु भएको छ। विश्वकै शक्तिशाली पदमा आसिन व्यक्तिले सडकमा सुनिने नाराबाजीको जवाफ यति तल्लो स्तरमा ओर्लिएर दिनु शोभनीय नभएको विश्लेषण गरिएको छ।
यसअघि पनि ट्रम्पले संघीय सरकारी वकिलहरूलाई हप्काएको र विभिन्न संवैधानिक निकायका प्रमुखहरूसँग विवाद गरेको समाचारहरू सार्वजनिक भएका थिए। यो पछिल्लो घटनाले उनको कार्यकालमा थप विवाद थपेको छ।
श्रोतः विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा जनहित न्यूजका लागि तयार पारिएको फिचर।



