जापानमा नेपाली कलाकारको ऐतिहासिक सफलता: राम प्रसाद आचार्यको जोडीलाई ‘ओ–वान ग्राण्ड प्रिक्स’ को उपाधि र १० लाख येन पुरस्कार

-


     जनहित न्युज    
     पौष १९ गते २०८२


Screenshot

ओकिनवा, जापान । जापानको ओकिनवामा स्थापित नेपाली हास्य कलाकार राम प्रसाद आचार्यले प्रतिष्ठित जापानी हास्य प्रतियोगिता ‘ओ–वान ग्राण्ड प्रिक्स २०२६’ (O-1 Grand Prix 2026) को उपाधि जितेका छन्। जापानको ओकिनवा टेलिभिजन (OTV) बाट नयाँ वर्षको अवसरमा प्रत्यक्ष प्रसारण भएको यस प्रतियोगितामा आचार्यको जोडी ‘मे–बा–कारी’ (めーばーカリ) ले प्रथम स्थान हासिल गरेको हो।

दोस्रो पटक उपाधि र १० लाख येन पुरस्कार

ओकिनवा क्षेत्रकै सर्वाधिक लोकप्रिय मानिने यस रियालिटी शोमा आचार्यले उपाधि जितेको यो दोस्रो पटक हो। उपाधिसँगै उनको जोडीले १० लाख जापानी येन (करिब ९ लाख नेपाली रुपैयाँ) नगद पुरस्कार, आकर्षक ट्रफी र ओकिनवा टेलिभिजनको नियमित कार्यक्रममा गेस्टको रूपमा उपस्थित हुने अवसर प्राप्त गरेको छ।

९० समूहलाई पछि पार्दै ऐतिहासिक जित

प्रतियोगिताको यो २०औं संस्करण निकै प्रतिस्पर्धात्मक थियो। आयोजकका अनुसार, सुरुवाती चरणमा करिब ९० वटा हास्य कलाकार समूहहरूको सहभागिता रहेको थियो। जसमध्ये २५ समूह छनौट हुँदै दोस्रो चरणमा प्रवेश गरेका थिए।

अन्तिम चरण (फाइनल) का लागि भने उत्कृष्ट ९ समूह मात्र छानिएका थिए। फाइनलमा निर्णायक मण्डल (Judges) र दर्शकहरूको भोटको आधारमा राम प्रसाद आचार्य र उनका जापानी सहकर्मीको जोडीलाई सर्वोत्कृष्ट घोषित गरिएको थियो।

को हुन् राम प्रसाद आचार्य ?

विगत ११ वर्षअघि विद्यार्थी भिसामा जापान प्रवेश गरेका राम प्रसाद आचार्य पछिल्लो ६ वर्षदेखि ओकिनवालाई कर्मथलो बनाएर कला क्षेत्रमा सक्रिय छन्। उनी ओकिनवामा रेडियो, टेलिभिजन तथा विभिन्न स्टेज कार्यक्रमहरूमा जापानी भाषामै कमेडी शो सञ्चालन गर्दै आएका छन्।

आफ्नो मुख्य पेशा (जागिर) लाई निरन्तरता दिँदै कलाकारितामा समेत अब्बल दरिएका आचार्यले जापानी समुदायमाझ नेपालीको पहिचान उच्च बनाएका छन्। उनी र उनका जापानी पार्टनरको जोडी ‘मे–बा–कारी’ ओकिनवा क्षेत्रमा निकै लोकप्रिय मानिन्छ।

जापानको मूलधारको मिडिया र कला क्षेत्रमा नेपालीले प्राप्त गरेको यो सफलताले प्रवासमा रहेका सम्पूर्ण नेपाली समुदायलाई उत्साहित बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?