
गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औँ महाधिवेशन नजिकिएसँगै नेतृत्वका आकांक्षीहरूको दौडधुप र चुनावी सरगर्मी बढेको छ। यसै क्रममा संघका वर्तमान उपाध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका आकांक्षी डा. हेमराज शर्मा एक महिने एसियाली भ्रमणको सिलसिलामा बिहीबार बिहान जापान आइपुगेका छन्।
संघभित्र एकताको सन्देश फैलाउने र जापानवासी नेपालीहरूसँग प्रत्यक्ष साक्षात्कार गर्ने उद्देश्यले उनी जापान आएका हुन्।
जनवरी ४ मा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम
डा. शर्माको सम्मान तथा विचार विमर्शका लागि एनआरएनए राष्ट्रिय समन्वय परिषद (NCC) जापानले विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रमको विवरण निम्नअनुसार छ:
- मिति: २०२६ जनवरी ४, आइतबार
- समय: बेलुका ५:०० बजे
- स्थान: गाजेबो टोकियो (Gazebo Tokyo), सिन्जुकु (२-४-९, ह्याकुनिन्चो)
- विषय: परिचय, अन्तरक्रिया तथा शुभेच्छा आदान–प्रदान।
जापानसँगको २० वर्षे साइनो
जापान ओर्लिएपछि डा. शर्माले आफ्नो जापानसँगको सम्बन्ध भावनात्मक रहेको बताएका छन्। करिब २० वर्षअघि एनआरएनए जापानको महासचिव पदमा निर्वाचित भएर नै उनले एनआरएनए अभियानमा सक्रियता सुरु गरेका थिए। उनले यो अभियान र जापानसँगको आफ्नो सम्बन्ध सधैं अटुट र मजबुत रहेको उल्लेख गरेका छन्।
एसियाली देशहरूको भ्रमण र एजेन्डा
डा. शर्माको सचिवालयका अनुसार, जापान बसाइका क्रममा उनले यहाँका नेपाली समुदायसँग भेटघाट गर्नेछन्। त्यसपछि उनले दक्षिण कोरिया, हङकङ, मलेसिया लगायतका देशहरूको भ्रमण गर्ने तालिका रहेको छ।
आफ्नो एक महिने भ्रमणका क्रममा उनले मुख्यतया निम्न विषयहरूमा छलफल गर्नेछन्:
- एनआरएनए भित्रको एकता।
- नेपालमा लगानीका सम्भावनाहरू।
- गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन र चुनौती।
स्मरण रहोस्, डा. शर्माले आगामी फेब्रुअरी २३, २४ र २५ मा काठमाडौँमा हुने १२औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।



