जापानमा भारी हिमपातको चेतावनी: टोकियोसहित मुख्य शहरहरूमा हिउँ पर्ने, यातायात ठप्प हुन सक्ने

-


     जनहित न्युज    
     माघ १६ गते २०८२


जापानमा २९ देखि ३० तारिखसम्म शक्तिशाली पश्चिमी वायुका कारण भारी हिमपात हुने भन्दै मौसम विभागले टोकियोसहित मुख्य क्षेत्रमा उच्च सतर्कता अपनाउन विशेष आग्रह गरेको छ।

जापानको मौसम विज्ञान विभागका अनुसार करिब १५०० मिटरको उचाइमा माइनस ९ डिग्री सेल्सियस तापक्रम भएको चिसो हावाको प्रभावका कारण देशका अधिकांश भूभाग हिउँले ढाकिने सम्भावना छ। विशेषगरी तोत्तोरिदेखि इसिकावा प्रिफेक्चरसम्म र निगाता क्षेत्रमा ‘जापान सी पोलर एयर मास कन्भर्जेन्स जोन’ (JPCZ) को प्रभावले अत्यधिक हिउँ पर्ने अनुमान गरिएको छ। यसैगरी बिहीबार साँझदेखि टोकियोको शहरी क्षेत्र र नागोया जस्ता तटीय इलाकाहरूमा समेत हिमपात भई यातायात सेवा प्रभावित हुन सक्ने चेतावनी दिइएको छ। विभागले आगामी २४ घण्टामा होकुरिकुमा ७० सेन्टिमिटर, तोहोकुमा ५० सेन्टिमिटर र किन्की क्षेत्रमा ५० सेन्टिमिटरसम्म हिउँ जम्न सक्ने प्रक्षेपण गरेको छ।

सडकमा हिउँ जम्दा भाडाका कार चलाउने विदेशी पर्यटकहरू र अन्य चालकहरूलाई अनिवार्य रूपमा टायर चेन प्रयोग गर्न र सावधानी अपनाउन भनिएको छ। पहिलेदेखि नै हिउँ जमेका स्थानमा हिमपहिरोको जोखिम समेत रहेकाले स्थानीय प्रशासनले गैर-अत्यावश्यक कामका लागि बाहिर ननिस्कन आह्वान गरेको छ।

यस प्रतिकूल मौसमले रेल र हवाई उडानहरूमा समेत ढिलाइ वा अवरोध पुर्‍याउन सक्ने भएकाले यात्रा गर्नुअघि पछिल्लो मौसमी विवरण हेर्नु जरुरी छ। समुद्री तटमा दुईवटा वायुको टकरावले गर्दा केही स्थानमा अचानक ठूलो हिमपात हुन सक्ने भएकाले सावधानीका साथै पूर्वतयारी गर्न विज्ञहरूले सुझाव दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?