
नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीआाट निष्कासन गरेको छ । बुधबार सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले नेतात्रयलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।
बैठकले विशेष महाधिवेशनको पक्षमा गएका अरु सबै नेताहरूले पुरानै जिम्मेवारीमा फर्किन आह्वान पनि गरेको छ । बैठकमा वार्ता प्रयासको ब्रिफिङ गर्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले धोका दिएको बताएका थिए । नियमित महाधिवेशनको कार्यतालिकामा सहमति जनाएर विशेष महाधिवेशनमा लागेको र पार्टीलाई विभाजनमा धकेलेको आरोप लगाएका थिए ।
संस्थापनपक्षका वार्ता टोली सदस्य रमेश लेखकले सहमतिका लागि विशेष पक्षले पठाएको सभापति देउवा सक्रिय राजनीतिबाट अलग हुने, हाइकमाण्ड बनाउने र प्रधानमन्त्रीको उम्मेदवार तोकेर जानेबाहेकका प्रस्ताव स्वीकार्न सकिने जानकारी बैठकमा गराएका थिए ।
तर उनको बिफ्रिङलगत्तै बैठकमा खड्काले महामन्त्रीद्वय थापा, खड्का सहमहामन्त्री मन्सुरलाई पार्टीबाट निष्कासन गर्ने प्रस्ताव निर्णयार्थ सुनाएका हुन् । जसलाई हलले ध्वनिमतले पारित गरेको थियो ।
कारबाही पछि विश्व प्रकाशको प्रतिक्रिया
सहमतिका लागि आज बिहान प्रस्तावित यी ८ बुँदामध्ये कुन बुँदा काँग्रेस र देशको अहितमा थियो र छ ?
१) बिशेष महाधिवेशनको स्वामित्व साझा रूपमा लिनेे l
२) बिशेष महाधिवेशन परिमार्जन सहित पारित प्रस्तावहरु कार्यान्वयन गर्ने l
३) सभापतिले सक्रिय भुमिका निर्वाह नगर्ने, सो क्रममा उम्मेदवारी पत्रमा सभापतिले हस्ताक्षर नगर्ने
४) उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गर्ने
५) आगामी निर्वाचनमा एक ढिक्का भएर मैदानमा जाने
६) कुनैपनी दलसँग गठबन्धन नगरेर नेपाली काँग्रेसले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने l
७) नेपाली काँग्रेसका तर्फबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर जाने l
८) यी सबै कार्य समन्वय र कार्यान्वयन गराउन ५ सदस्यीय संरचना गठन गर्ने l जसमा – कार्यवाहक सभापति र दुई महामन्त्री बाहेक थप दुई नेताहरू रहने l
मुस्कुराउँदै फेरि पढें यी बुँदा, मेरो प्रतिक्रिया केवल यत्ति छ- काँग्रेस र देशलाई बदल्ने प्रयासमा गगन थापा र म, दुवै दृढ छौँ l बिधान अनुरूपको बिशेष महाधिवेशनले देशलाई सहि दृष्टिकोण दिएको छ, अब सहि नेतृत्व दिनेछ !



