नागोयामा २८६२ औं सोनाम ल्होछारको अवसरमा वृहत् सांस्कृतिक साँझ हुने, सामाजिक कार्यमा सहयोग जुटाइने

-


     जनहित न्युज    
     पौष २८ गते २०८२


जापान, | नेपाल तामाङ समाज जापान, च्यूबू मिए क्षेत्रीय समिति नागोयाले मन्जुश्री संवत् २८६२ औं सोनाम ल्होछार (त ल्हो) को अवसरमा वृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। ‘संसार भरि छरिएर रहेका सम्पूर्ण तामाङहरू एक हौं’ भन्ने नाराका साथ आगामी जनवरी ३१ तारिखका दिन नागोयामा यो कार्यक्रम हुन लागेको हो।

संस्कृति संरक्षण र सामाजिक उत्तरदायित्व आधुनिकता र पुस्तान्तरणका कारण तामाङ समुदायको मौलिक भाषा, कला र संस्कृति ओझेलमा परिरहेको अवस्थामा प्रवासमा रहेर पनि आफ्नो पहिचान जोगाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको मुख्य उद्देश्य तामाङ संस्कृतिको संरक्षण गर्नुका साथै नेपालका पिछडिएका क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सहयोग पुर्‍याउनु रहेको छ।

शैक्षिक अक्षयकोष स्थापना गरिने कार्यक्रमबाट संकलित रकम बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नं. १० का सामुदायिक विद्यालयमा अध्ययनरत विपन्न, दलित तथा सीमान्तकृत विद्यार्थीहरूको शैक्षिक उन्नतिका लागि खर्च गरिनेछ। आयोजकका अनुसार सो अवसरमा छात्रवृत्ति वितरणका साथै दीर्घकालीन सहयोगका लागि “बालबालिका तथा विद्यार्थी शिक्षा सहयोग अक्षयकोष” स्थापना गर्ने लक्ष्य राखिएको छ।

राष्ट्रिय कलाकारहरूको प्रस्तुति नागोयास्थित ‘लाइभ्स नागोया’ (नेपथ्य ब्याण्डले कार्यक्रम गरेको हल) मा हुने उक्त सांस्कृतिक साँझमा नेपालका चर्चित कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ। कार्यक्रममा:

चर्चित गायक तथा संगीतकार विश्व दोङ

गायिका जितु लोप्चन

सेलो गायक जनक थोकर

म्हेन्दोमाया गायक नेत्र पाख्रिन

गायकहरू सरोज लामा, अनिल लामा, कर्मा दोङ तामाङ लगायतका दुई दर्जनभन्दा बढी स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सहभागिता रहनेछ।

कार्यक्रमको विवरण:

मिति: ३१ जनवरी २०२६ (शनिबार)

समय: दिउँसो १ बजेदेखि बेलुका ९ बजेसम्म

स्थान: Lives Nagoya (〒455-0848 Aichi, Nagoya, Minato Ward, Kinjofuto, 2 Chome−7−1)

समाजका अध्यक्ष हरि दोङ तामाङ र सचिव प्रमिला लो तामाङले जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय, विशेषगरी तामाङ दाजुभाइ तथा दिदीबहिनीहरूलाई उपस्थित भई तामाङ कला संस्कृतिको प्रवर्द्धन र परोपकारी कार्यमा ऐक्यबद्धता जनाउन हार्दिक निमन्त्रणा गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?