बागलुङमा वडास्तरसम्म नै सत्तारूढ दलले गठबन्धन गरेर निर्वाचन लड्ने

-


     जनहित न्युज    
     चैत्र २० गते २०७८


आगामी वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा बागलुङमा सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) सहित पाँच दलको गठबन्धन हुने भएको छ ।

आईतबार सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेस सहित नेकपा माओबादी केन्द्र नेकपा एकिकृत समाजबादी पार्टी जनता समाजबादी पार्टी र राष्ट्रिय जनमोर्चाका जिल्ला स्तरीय नेताहरुको बैठकले निर्वाचनमा एक भएर अगाडी बढ्ने निर्णय गरेका छन । नेपाली काँग्रेस बागलुङका सभापति जित शेरचनको सभापतित्वमा बसेको बैठकले जिल्लाका सवै वडा देखी गाउँ र नगरपालिका सम्म नै गठबन्धन गरेर निर्वाचनमा अगाडी बढ्ने निर्णय गरेको छ । 

बैठकले गठबन्धनमा भएका राजनिति दलको केन्द्रीय निर्णयको स्वागत गर्दै केन्द्रीय निर्देशन बमोजिनमनै वडा तह देखिनै प्रतिवेदन तयार पार्नका लागि सवै दलका एक एक जना प्रतिनिधि रहने गरी पाँच सदस्यीय कार्यदल निर्माण गरेको माओवादी केन्द्रका ज़िल्ला संयोजक ज्ञामनाथ गैरे अनिलले जानकारी दिए ।   कार्यदलमा नेपाली काँग्रेसको तर्फबाट जिल्ला सचिव हरिहर शर्मा, नेकपा माओबादीको तर्फबाट माओबादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष तथा जिल्ला संयोजक ज्ञामनाथ गैरे, नेकपा एकिकृत समाजबादीबाट गोविन्द गौतम, जनता समाजबादीको तर्फबाट कृष्ण शर्मा र राष्ट्रिय जनमोर्चाको तर्फबाट जिल्ला सचिव भिमलाल पोखरेल रहेका छन । यो कार्यदलले वडा तहसम्म अध्ययन गरी आगामी २२ गते भित्र केन्द्रमा प्रतिवेदन बुझाउनुपर्ने नेपाली कांग्रेसका ज़िल्ला सभापति जीतबहादुर शेरचनले बताए । प्रतिवेदन बुझाए पश्चात सोही अनुसार छलफल गरेर अगाडी बढ्ने उनले जानकारी दिए। 
जिल्लामा निर्वाचनका लागि सैद्धान्तिक र नितिगत छलफलका गर्न एक राजनितिक दलबाट २ जना प्रतिनिधि रहने गरी १० जनाको कार्यदल समेत निर्माण गरिने छ । सोका लागि हरेक दलले दुई÷दुई जनाको नाम सिफारिस गर्ने नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिईन । जिल्ला तहमा कुन ठाँउमा कसले नेतृत्व गर्ने विषयमा भने अहिले निर्णय भएको छैन । पहिलो चरणमा अध्ययन गरेर प्रतिवेदन बुझाए पश्चात उक्त विषयमा उच्च स्तरीय संयन्त्र गराएर छलफल गरिने नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य रामजी प्रसाद शर्माले बताए । उनले यो गठबन्धन स्थानिय तहमा पहुँचमा पुग्न मात्र नभएर हिजोको प्रगितमनका विरुद्ध भएको बताए । उनले  केन्द्रीय स्तरबाट भएको गठबन्धन जिल्ला र वडा तहमा पुग्ने बताए । यो निर्वाचनमा तल्ला तहसम्म नै अध्ययन गरेर जनताको भावना अनुसार उम्मेदवार छनौट हुने गरी संयन्त्र निर्माण गरिने र आगामी दिनमा सोही अनुसार उम्मेदवारको टुंगो लाग्ने राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुंगानाले बताए । ढुंगानाले केन्द्रीय निर्णयलाई स्वागत गर्दै जिल्लामा पनि गठबन्धनलाई प्रभावकारी बनाएर अगामी निर्वाचन गठबन्धनको पक्षमा लाग्ने गरी सवै राजनितिक दल लागेको बताए । 
बैठकमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पा खड्का काँग्रेस बागलुङका पुर्व सभापति दिपेन्द्रबहादुर थापा, पुर्व उपसभापति जगदिशचन्द उपाध्याय, नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक ज्ञामनाथ गैरे, राविज घिमिरे, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष लालबहादुर थापा, जनता समाजबादीका संघिय परिषद सदस्य प्रकाश बगाले लगायतका नेताहरुको विशेष उपस्थिति थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?