विश्व सिनेमाः २१औँ शताब्दीका २१ फिल्म (पोस्टकास्टसहित)

-


     जनहित न्युज    
     जेठ १२ गते २०७८


During the screening of the film -DAYBREAK- at the Liberty Cinema, movie characters suddenly come alive and begin to talk to the viewers. The Situation surprises communist authorities who send a censor to the theatre.

०००

फिल्मको प्रमुख पात्र सिनेमाको सेन्सर अधिकारी हो । ऊ पोल्यान्डको राजधानी वार्सामा नीरस जीवन व्यतीत गरिरहेको छ । ऊ कम बोल्ने एकलकाँटे स्वभावको छ । उसका मन मिल्ने साथीहरू छैनन् । भएकी एक थान स्वास्नीले पनि उसलाई उहिल्यै छाडिसकेकी छे । 

ज्यू हजुर ! म पोल्यान्डको फिल्म ESCAPE FROM THE LIBERTY CINEMA (1990) बारे कुरा गरिरहेको छु ।

पोल्यान्डको कुरा गर्दा तपाईंलाई पावेल पाब्लिकोब्स्कीको सुन्दर रोमान्टिक ड्रामा COLD WAR (2018) का बेसुमार याद आउँदो हो । रोमन पोलन्स्कीको THE PIANIST(2002) को तिर्सना लाग्दो हो । 

मकन तपाईंंलाई  भन्न मन लाग्दो हो, ‘ओई फिक्सन डिजाइनर ! तँलाई अत्यधिक मन पर्ने फिल्ममेकर क्रिस्तोफ COLOUR TRILOGY: BLUE, RED, WHITE’ , A SHORT  FILM ABOUT LOVE, THE DOUBLE LIFE OF VERONIQUE, BLIND CHANCE, A SHORT FILM ABOUT KILLING जस्ता एक–से–एक फिल्महरूको चर्चा गर्न छाडी पोल्यान्डको यो कस्तो नामै नसुनेको फिल्मबारे कुरा गर्दै छस् ? ओई नगरकोटी, तेरो दिमाग त ठीक छ ?’ 

अहिलेसम्म त ठीकै छजस्तो लाग्छ । पछि जे होला, सो होला ! हु केयर्स ! 

खैर, दिमाग–सिमागलाई गोली ठोक्नुस् । मेरो कुुरा सुन्नुस् । वास्तवमा कुरा के भन्देखिन्, नेपालको कम्युनिस्ट सरकारले बेला–न–कुबेला सेन्सरसिपको कुरा गर्ने गरेकाले, आजको यो आलेख मलाई यही फिल्मबाट आरम्भ गर्न मन लागेको हो, जसको कथा सेन्सरसिपको विसंगति वरपर चक्कर लगाउँछ । 

फिल्म एउटा मोनोलगबाट सुरु हुन्छ, जसले भन्छः Censorship is an art . A good censor should be an artist !

पोल्यान्डको कम्युनिस्ट तानाशाही सरकार ढलिहालेको छैन । ढल्न–ढल्न लागेको छ । युरोपबाटै कम्युनिज्म उन्मूलन हुने लहर आउँदै छ । यो भयो फिल्मको टाइमलाइन ।

अब फिल्मको स्टोरी लाइनः सेन्सर कार्यालयनजिकै ‘लिबर्टी’ नामको सिनेमा हल छ । त्यहाँ DAYBREAK फिल्म चलिरहेको छ । तर, फिल्मको बीचैमा एउटा अकल्पनीय घटनाले  दर्शकहरूको परम्परागत खप्परलाई बिथोलिदिएको छ । फिल्मभित्रका पात्रहरूले विद्रोह गर्न थालेका छन् । उनीहरूले दर्शकहरूसित सिधै संवाद गर्न थालेका छन् ।

घटनाको जाँचबुझ गर्न हाम्रो सेन्सर अधिकारी सिनेमा हलमा गएको छ । गर्मीका कारण आफ्नो ओभरकोट फुकालेर राखेको छ । फिल्मको एउटा पात्रले उसलाई ठाडै सम्बोधन गरी ‘हलमा किन सिगरेट पिएको’ भनेर सोधेपछि ऊ अलमलिएको छ । चकित –ओ–चकित हुँदै ओभरकोट हलमै बिर्सेर फर्केको छ । 

अर्काे दिन फेरि हलभित्र पस्दा उसको ओभरकोट त –मेरी बास्सै–  फिल्मको पात्रले पो लगाएको छ । यहीँबाट नीरस जीवन बिताइरहेको हाम्रो सेन्सर अधिकारीको जीवनमा केही परिवर्तन देखा पर्न थालेको छ । उसको जीवन बाँच्न लायकको भइगएको छ । 

सरकारका कम्युनिस्ट अफिसरहरू पनि फिल्म हेर्न जान्छन् । उनीहरूको गफ चाखलाग्दो छ । सबैभन्दा चाखलाग्दो कुरा त त्यस बेला घटित हुन्छ, जब सिल्भर स्क्रिनमा चलिरहेको फिल्म DAYBREAK मा अमेरिकन फिल्म निर्देशक उडी अलेनको THE PURPLE ROSE OF CAIRO (1985) सुपरइम्पोज्ड/ओभरल्याप्ड हुन थाल्छ । 

यहीँनेर तपाईंंलाई उडी अलेनको त्यो मास्टरपिस हेर्न मन लाग्छ । त्यो फिल्ममा पनि मोनोटोनस जीवनबाट दिक्दार भएकी हाम्री वेट्रेस नायिका हलभित्र पस्छे । र, पर्दाको हिरोसित प्रेममा फस्छे । हिरो पर्दाबाट निस्कन्छ र उसको हात समात्दै भन्छ, ‘मसित आऊ मैयाँ, सँगसँगै कायरो जाऔँ ।’

कायरो फुर्सदमा जाऔँला । अहिले भने ESCAPE FROM THE LIBERTY CINEMA काे बाँकी कुरा गरौँ । फिल्मको क्लाइमेक्समा जब सेन्सर अधिकारी आफैँ फिल्मको पर्दाभित्र प्रवेश गर्छ, तब हामीलाई गज्जबको मज्जा आउँछ ।

फिल्मभित्र उसले जे–जे चीज देख्छ, जो–जो मान्छे भेट्छ, ती सब देख्दा तपाईंंको तनमा होइन, बरु मनमा काँडा उम्रन्छ । मनमा उम्रने गुजबम्प्स कस्तो हुन्छ ? यस विषयमा हामी पछि कुनै दिन चर्चा गरौँला ।

०००

प्रिय पाठक !

क्रेफिल क्लब अर्थात् क्रेजी फिल्म लभर्स क्लबमा तपाईंलाई हार्दिक स्वागत छ । क्लबमा स्वागत त गरेँ, तर यो क्लब होचाहिँ के ? यसबारे थोरबहुत जानकारी दान गरूँ क्यारे !

क्रेफिल क्लबलाई तपाईंं विश्व सिनेमा रुचाउने सिनेपारखीहरूको भूमिगत गिरोह भन्न सक्नुहुन्छ । यो क्लबको संस्थापक को हो ? अध्यक्ष को हो र सदस्य को–को हुन् भन्नेबारे कसैलाई केही थाहा छैन ।

केचाहिँ थाहा छ भने क्रेफिल क्लबमा आवद्ध सिने–मानवहरू वर्ल्ड सिनेमाका विविध आयाम र स्वरुपबारे चर्चा–परिचर्चा  गर्न भयङ्कर मन पराउँछन् । लेखहरू लेख्न रुचाउँछन् । उदाहरणका निम्ति, स्वेडिस फिल्ममेकर रोय एन्डरसनको ट्रिलोजीमा फिल्महरूको नाम किन त्यति अनयुजल ? जस्तो कि:

–      YOU, THE LIVING (2007)

–      SONGS FROM THE SECOND FLOOR (2000)

–      A PIGEON SAT ON A BRANCH REFLECTING ON EXISTENCE (2014)

जस्तो किः 

अस्तित्वमा यतिका रङहरू छ्यालब्याल हुँदा पनि मेक्सिकन निर्देशक अल्फान्सो क्यारोनले ROMA (2018), फ्रेन्च निर्देशक मिसेल हजानाभिच्युसले THE ARTIST (2011) र अम्रिकाने सिने सर्जक स्टिभन स्पिलवर्गले SCHINDLER’S LIST(1993) किन श्यामश्वेतमै रचेका ? ओस्कार अवार्ड पाउन ? त्यसो हो भने यो वर्ष डेभिड फिन्चरको MANK (2020) ले ओस्कार किन नपाएको ? बात करता है !

जस्तो किः 

टिकटकर्सको जमानामा पनि स्लो–सिनेमाका उस्ताद फिलिपिनो फिल्म सर्जक लाभ दियाजलाई NORTE, THE END OF HISTORY (2013) अथवा EVOLUTION OF A FILIPINO FAMILY (2004) जस्ता फिल्महरू बनाउन के कुराले प्रेरित गर्छ ? क्रमश: ४ घण्टा ११ मिनेट र १० घण्टा  ४३ मिनेट लामा फिल्महरू हेर्ने दर्शकहरूलाई ‘epic–फुर्सद’ छ भन्ने लाभ दियाजलाई किन लाग्छ ?

क्रेफिल क्लबमा संलग्न सिन–पारखीहरू यस्तै ‘अनावश्यक’ खालका कुरा गर्न रुचाउँछन् । रमाइलो त के भने जसले यस्ता ‘अनावश्यक’ कुरा गर्‍यो, त्यो मान्छे तत्काल क्रेफिल क्लबको क्राउनिङ अध्यक्ष भइहाल्यो । 

यस उसले गर्दा छिरिङ रितार शेर्पा, अनुप बराल, नवीन सुब्बा, मीन भाम, दीपक रौनियारले जुन दिन सिने–साहित्यका कुरा गरे, लेख लेखे, अन्तर्वार्ता लिए–दिए, त्यो दिन चलचित्रका यी ‘नाजायज आत्माहरू’ स्वतः क्रेफिल क्लबका कार्यकारी अध्यक्ष भइहाले । 

अलेहान्द्रो गोन्जालेजको नाममा जोडिएको ‘इनारितु’लाई यज्ञशले ‘इनाऋतु’ भनी छापामा लेखिदिए, तत्क्षण उनी क्रेफिल–अध्यक्ष भइगए । ग्रिक फिल्मकार योर्गाेस लान्थिमोसका DOGTOOTH (2009) THE LOBSTER (2015)  THE KILLING OF A SACRED DEER (2017) जस्ता फिल्महरूमा भेटिइने ‘क्लिनिकल अब्सर्डिटी’ बारे गनेस–पैताला–पौडेलले आफ्नो युट्युब च्यानलमा चर्चा गरेको दिन सम्झनु, ऊ क्रेफिल क्लबको एकल अध्यक्ष भयो । 

यसउसले आन्द्रे तारकोब्स्की तथा वाङ कार–वाईका फिल्महरूमा भेटिइने ‘अदृश्य काव्य’ बारे मनोज बाबु पन्त र विनोद पौडेलले भुषण दाहालको टीभी शो bRAVO dELTA मा संयुक्त वार्ता गरे, त्यो दिन मिस्टरद्वय पन्त र पौडेल क्रेफिल क्लबका युगल अध्यक्ष भइ त गए । 

जहाँसम्म दीपेन्द्र लामा र मनोज पण्डितको कुरा छ, तत्–तत् सिनेपुरुषहरूले oriental history of cinematic metaphors applied in South Asian visual literature विषयउपर  मन्थन गर्दै ‘किम्फ’ अर्थात् काठमान्डू इन्टरनेसनल फिल्म फस्टिबलमा कार्यपत्र प्रस्तुत गरेको दिन उनीहरू स्वतः क्रेफिल क्लबका आलोपालो महासचिव भएको व्यहोरा यहाँसमक्ष निवेदन गरेँ । 

अब मेरो कुरा गर्नु हुन्छ भने, म त सिनेदैत्य भइहालेँ । 

हाललाई यो आलेखको कार्यकारी अधिकार ममा निहित भएकाले म आज आफ्नै च्वाइसका फिल्महरूबारे कुरा गर्छु । तपाईंं एक्काइसौँ शताब्दीको ग्लोबल पाठक हुनुहुन्छ । त्यसैले, जाहिर सी बात है, म २१औँ  शताब्दीका २१ फिल्महरूको नै चर्चा गर्नेछु । किनभने ती हाम्रो समयमा बनेका सिर्जनाहरू हुन् । बीसौँ शताब्दीका फिल्महरूको चर्चा त तपाईंंका दुस्मनहरूले गरिहाल्छन् । 

 ०००

१.    24 FRAMES (2017)

अब्बास किरोस्तामीको TASTE OF CHERRY (1997) अनि अलेहान्द्रो गोन्जालेज ‘इनाऋतु’ को AMORES PERROS (2000) मलाई हेर्न प्रेरित गर्ने जेन्टलम्यान यज्ञश हुन् । किरोस्तामी र गोन्जालेज कालान्तरमा मेरा ‘फेब्रेट अमङ द फेब्रेट्स’ बने । यज्ञश यी दुई भेट्रान फिल्म मेकर्ससित मलाई जोडिदिने झोलुङ्गे पुल बने ।

यज्ञशप्रति जिन्दगीभर आभारी रहनेछु । तसर्थ यो आलेखको यो पहिलो सेगमेन्ट यज्ञशलाई नै समर्पण गर्छु । प्रिय पाठक ! म चाहन्छु, 24 FRAMES हेर्नुअघि तपाईंंले किरोस्तामीका अन्य फिल्महरू हेर्नुभयो भने अच्छा हुन्छ । किनभने यो फिल्म उनको देहान्तपश्चात् रिलिज भएको हो । सबै नभए पनि केवल यी फिल्महरू हेर्दा उपयुक्त हुन्छ :

–      CLOSE UP (1990)

–      AND LIFE GOES ON (1992)

–      THROUGH THE OLIVE TREES (1994)

–      THE WIND WILL CARRY US (1992)

–      CERTIFIED COPY (2010)

–      LIKE SOMEONE IN LOVE (2012)

अब्बास किरोस्तामीले आफ्नो करिअर पेन्टिङबाट सुरु गरेका थिए । चित्रकलाप्रति उनमा अगाध  प्रेम थियो । 24 FRAMES त्यही गहन प्रेमको स्वप्निल संसर्गपश्चात् जन्मेको सिर्जना हो । जसलाई उनले जीवनको अन्तिम ३ वर्षभित्र खिचेका थिए । 

हिउँ, समुद्र र रुखहरू उनका पात्र हुन् । 

यो फिल्म उनको प्रयोगात्मक सिने–आर्ट–वर्क हो । चौबीसवटा फ्रेमभित्र तपाईं जीवन्त कला मौन चलमलाइरहेको देख्नुहुन्छ । प्रत्येक फ्रेम साँढे ४ मिनेटका छन् । 

मलाई लाग्छ, यो फिल्मलाई हेर्नु भनेको किरोस्तामीले वर्ल्ड सिनेमालाई दिएको ‘प्रेमिल योगदानलाई’ कदर गर्नु हो । 24 FRAMES हेर्नुको अर्थ विश्वभर छरिएर बसेका हामीजस्ता सिने मोन्स्टर्सले विश्व सिनेमाका प्रातःस्मरणीय सिने सर्जक अब्बासलाई सम्मान गर्नु हो । 

२.    VICTORIA (2015)

अ क्राइम थ्रिलर फ्रम जर्मनी ।

यो फिल्मले स्पेनिस युवती भिक्टोरियाको एक रातको कथा भन्छ । भन्छ होइन, देखाउँछ । नन–स्टप देखाइरहन्छ । घटनै घटनाहरूमा अनावश्यक किसिमले जेलिइँदै जाने भिक्टोरियालाई क्यामेराले सुरुदेखि अन्त्यसम्म, आँखै नझिम्काई, पछ्याइरहन्छ ।

बर्लिनको रात्रि–जीवनलाई २ घण्टा २० मिनेट लामो –one single take–  मा खिचिएको छ । तपाईंबाट के अपेक्षित छ भने यो फिल्मलाई तपाईंंले कदापि हेुर्न हुने छैन । बरु यसलाई त तपाईंले ‘अनुभव’ गर्नुहुनेछ । रोमाञ्चक ‘सिनेमेटिक एक्सपिरियन्स’ का निम्ति आफ्नो दिनको चौबीसघन्टे आयुबाट २ घण्टा २० मिनेट छुट्याउनुहुनेछ । भिक्टोरिया र ग्याङस्टर्सको नैशाचारिक क्राइममा सामेल भइजानुहुनेछ । चियर्स ! ह्याभ अ नाइस नाइट, फुल अफ फ्राइट ! 

‘वान सिंगल टेक’ मा खिचिएको रसियन फिल्म RUSSIAN ARK (2001) पनि गज्जबको अद्भुत फिल्म हो । रियल टाइममा छायांकित अमेरिकन प्रयोगात्मक फिल्म TIMECODE (2000) पनि हेर्नलायकको फिल्म हो । 

यस्ता फिल्महरू अझै एक्स्प्लोर गर्न मन लागे लाज्लो नेमिसको SON OF SAUL (2015) साम मेन्डेसको 1917 (2019), अलेहान्द्रो गोन्जालेजको BIRDMAN (2014) जस्ता उत्कृष्ट फिल्महरू पनि हेर्नुस् । यद्यपि यी पुरस्कृत फिल्महरू ‘सिंगल टेक’ जस्ता लागे पनि सम्पादित हुन् । 

तर, यी सब त तपसिलका कुरा हुन् । सबैभन्दा पहिला त  VICTORIA नै  हेर्नुस् । सुन्दर युवती भिक्टोरियालाई पछ्याउँदै बर्लिनको रात्रिकालीन जीवनलाई चियाउनुस् । सिगरेटको धुवाँ उडाउँदै अन्डरग्राउन्ड पबमा छिर्नुस् र बारटेन्डरलाई भन्नुस्, ‘ दुई पेग व्हिस्की प्लिज ।’

३. BIRTH (2004)

निकोल किडम्याम तपाईंलाई कत्तिको मन पर्छ ? मलाई लाग्छ, जरुर मन पर्छ । किनभने निकोल किडम्यानलाई मन नपराउने तपाईंसित कुनै अप्सन नै छैन । 

त्यसो भए ठीक छ । यो फिल्ममा म तपाईंलाई निकोल किडम्यानको अपोजिट कास्ट गर्छु, ल ! लौ, किन नाक खुम्च्याएको ? पत्यार लागेन ? यो फिल्मको निर्देशक म नै त हो नि ! जोनाथन ग्लेजर । नाम तो सुना ही होगा !

उही क्या त ! तपाईंलाई मन परेको फिल्म UNDER THE SKIN (2013) बनाउने मान्छे । त्यो लगायत SEXY BEAST (2000) बनाउने पनि म नै त हुँ नि ! अब त मलाई विश्वास गर्नुभयो नि ! 

गुड, गुड । भेरि गुड ।

अब BIRTH को कुरा गरौँ क्यारे ! फिल्ममा तपाईंं निकोल किडम्यानको लोग्ने हुनुहुन्छ । तपाईंहरू एकापसलाई खुब प्रेम गर्नुहुन्छ । तपाईंहरूको कन्जुगल लाइफ आरिसलाग्दो छ । तपाईंहरूको जोडी लोभलाग्दो छ ।

एक बिहान तपाईंं सदाझैँ जगिङमा जानुहुन्छ । र, मर्नुहुन्छ ।

हो, तपाईंंले ठीक सुन्नुभयो । तपाईंको मृत्यु हुन्छ । तपाईंलाई मार्नैपर्ने हुन्छ । नत्र मेरो फिल्मको कथा कसरी अगाडि बढ्छ ? रोल स्यानो भयो भनेर चित्त नदुखाउनुस् । फिल्ममा निकोल किड्म्यानसित एउटा किसिङ सिन राखिदिऊँला । बरु तपाईंलाई कस्तो किस मन पर्छ, अहिल्यै भन्नुस् । इज फ्रेन्च किस ओके ?

होइन, होइन । सेक्स सिनको त अपेक्षा नै नगर्नुस् । सेक्सको धेरै लोभ नगर्नुस्  । तपाईंको निम्ति फ्रेन्च किस नै पर्याप्त छ ।

अब कथामा नै बढी फोकस हुनुस् । तपाईंंको मृत्युपश्चात् निकोल किडम्यानले आफ्नो बाँकी जीवन तपाईंकै यादमा बिताउन चाहन्छे । दिन, महिना र वर्षहरू बित्दै जान्छन्  । तपाईंका यादहरूको ग्रेभयार्डमा हिउँहरू जम्दै जान्छन्  ।

दश वर्षपछि तपाईंं त्यो चिहानबाट ब्युँझनुहुन्छ । तपाईंंको पुनर्जन्म हुन्छ ।

तपाईंको उमेर १० वर्षको हुन्छ । यो १० वर्षे पुनर्जीवित बच्चाको रोल मैले बालकलाकार क्यामरन ब्राइटलाई दिएको छु । तपाईंंको रिइन्कार्नेसनको भूमिका त्यही बच्चोले निभाउनेछ ।

निकोलको विवाह अब अर्काे पुरुषसित हुने भएको छ । इन्गेजमेन्ट भइसकेको छ । यस्तो बेला त्यो बच्चो निकोलको बाथरुममा छिरेको छ । बाथटबभित्र पसेको छ र निकोलसित भनेको छ, ‘म तिम्रो लोग्ने हुँ । १० वर्षअघि मरेको थिएँ । आज फर्केको छु ।’

निकोलको आँखाबाट आसु झरेको छ । बाथटबमा आफ्नो बाल–लोग्ने देखेर, उसको कुरा सुनेर मिसेज किडम्यान भावुक भएकी छे । आँसु पुछ्दै उसले एउटा गम्भीर निर्णय लिएकी छे । 

४. THE DISTINGUISHED CITIZEN (2016)

अ फिल्म फ्रम अर्जेन्टिना ।

दानियल मान्तोवाणी सुप्रसिद्ध लेखक हुन् । उनी युरोपमा बस्छन् । साहित्यमा नोबेल पुरस्कार पाएका उनी अचेल साह्रै व्यस्त छन् । उनका किताबहरू विश्वभर चर्चित छन् । उनको क्रेज कति हाई भोल्टेजको छ भने उनको एक झलक पाउन पाठकहरू मरिहत्ते गर्छन् । यत्र–तत्र–सर्वत्र उनैको चर्चा छ । 

तर, आफ्नै देश अर्जेन्टिनामा चाहिँ उनको क्रेज कस्तो छ ?

मिस्टर मान्तोवाणीले आफ्नो देश र आफू जन्मेको होम–टाउनमा पाइला नटेकेको नै चार दशकभन्दा बढी भइसकेको छ । त्यहाँ उनले कस्तो खालको सत्कार या दुत्कार पाउँछन्, फिल्म हेर्दा थाहा लाग्छ । 

कवि, लेखक, साहित्यकारहरूलाई यो फिल्म अच्छा लाग्न सक्छ । विशेष मन पर्न सक्छ । 

अनि साहित्यका समीक्षक र समालोचकहरूलाई  नि ! उनीहरूलाई पनि यो फिल्म उत्तिकै मन पर्ला ? यसबारे चाहिँ यकिनका साथ यसै केही भन्न सकिन्न । किनभने संसारको सबैभन्दा दुःखी दिमाग समीक्षकहरूको हुने गर्छ । 

समीक्षकको हातमा एउटा स्वादिलो आइसक्रिम थमाइदिनुस् । स्वादको मजा लिनु त कहाँ हो कहाँ, आइसक्रिमको रङ गाढा नभएकोमा ऊ चिन्ता व्यक्त गर्न थाल्छ । आइसक्रिमको प्राइस, ब्रान्ड र कोनको बुनोटसित गलफत्ती गर्दागर्दै उसको आइसक्रिम नै पग्लेर स्वाहा भइजान्छ । तैपनि ऊ आइसक्रिमको समीक्षात्मक टिप्पणीमै व्यस्त रहन्छ । 

भैगो, समीक्षकको चिन्ता नगर्नुस्  । तपाईंलाई  त आइसक्रिम मन पर्छ क्यारे ! THE DISTINGUISHED CITIZEN भ्यानिला आइसक्रिम हो । मेड इन अर्जेन्टिना । त्यसको स्वाद लिनुस् । मोज गर्नुस् । लुत्फ उठाउनुस् । 

५. THE TRIBE (2014)

अ ब्रुटल फिल्म फ्रम युक्रेन । 

मेरो एउटा कविताको शीर्षक छ :  औँलाहरू । त्यसलाई तपाईंं ‘घाटमान्डु’ नामक किताबमा पढ्न सक्नुहुन्छ । पढ्न अल्छी लाग्छ भने त्यसलाई युट्युबतिर खोज्न सक्नुहुन्छ । 

‘औँलाहरू’ लाई त्यहीँ सुन्न र देख्न सक्नुहुन्छ । 

कविताले औँलाहरूबारे यसो भन्छः कहिलेकाँही म ती औँलाहरूबारे सोचिबस्छु, जो जीवनको तीर्थयात्रामा कतै छुटिगए । ती कोमल, मुलायम औँलाहरू । ती न्याना, प्रेमिल औँलाहरू । ती चिसा, फ्रोजन औँलाहरू । 

अहिले म ती ‘औँलाहरू’ बारे किन सोचिरहेको छु ?

किनभने म यस्तो फिल्मको चर्चा गर्न गइरहेको छु, जुन फिल्मको मूल भाषा औँलाहरूले बोल्छन् । जुन फिल्मका पात्रहरू औँलामार्फत संवाद गर्छन् ।

ज्यू, हजुर ! म सांकेतिक भाषाको कुरा गर्दै छु । THE TRIBE पूर्णतः युक्रेनियन sign language को फिल्म हो । बडी ल्याङ्ग्वेजको teenage क्राइम ड्रामा हो । न्युडिटी र ग्राफिक सेक्सले भने तपाईंको दिमागलाई दिगमिगिलो बनाउन सक्छ । 

फिल्मको सब–टाइटल खोज्ने झन्झट या मूर्खता नगर्नुहोला । फिल्मको ओपनिङमै तपाईंलाई यस्तो जानकारी गराइन्छः This film is in sign language. There are no translations, no sub–titles, no voice–over  !

फिल्ममा हामी एउटा किशोरलाई पछ्याउँछौँ । ऊ बहिराहरूले मात्र अध्ययन गर्ने विशेष खालको बोर्डिङ स्कुलमा भर्ना भएको छ । उसलाई चाँडै नै इन्स्टिच्युसनको तौरतरिका थाहा हुँदै जान्छ । ऊ ग्याङस्टर्सको फेला पर्छ, जसलाई ‘ट्राइब’  भनिन्छ ।

‘ट्राइब’को सदस्य बन्न उसले वेश्याको दलाली गर्नेदेखि अन्य क्रियाकलापहरू गर्छ । वेश्याकै प्रेममा पनि पर्छ ।

यो डिस्टर्बिङ डार्क फिल्म हो । अनि एकदम मौलिक फिल्म हो । युक्रेनले यो फिल्मलाई ओस्कारका निम्ति अफिसियल सेलेक्सन गर्दा, त्यो देशमा भयङ्कर कन्ट्रोभर्सी भएको थियो । अ वर्डलेस फिल्म ह्वीच स्पिक्स भोल्युम्स ! अ साइलेन्ट फिल्म ह्वीच रेन्डर्स अ पावरफुल भ्वाइस !

६. C/O KANCHARAPALEM (2018)

 एन एनथोलजी अफ फोर ब्युटिफुल लभ स्टोरिज । फ्रम इन्डिया ।

सामान्य कथा । असामान्य फिल्म । साधारण विषय । असाधारण फिल्म । चार प्रेमकथाहरूको अनुपम सँगालो । चारवटा फरक–फरक खालका फूलहरू जोडी बनाइएको एक सुन्दर बुके । बुके टिप्नुस् र प्रेमको समाधिमा चढाउनुस् ।

यो तेलगु फिल्मलाई हिन्दी भाषाले प्रेमपूर्वक सम्बोधन गर्ने एउटै शब्द छ । त्यो शब्द हो : खुबसुरत ! 

र, यो फिल्मको ‘खुबसुरत’ चीज भनेको यसको क्लाइमेक्स हो । कुनै पनि इन्डियन सिनेमा–मूलतः प्रेम कथा– को यति खुबसुरत अन्त्य स्क्रिनमा मैले यसअघि कहिल्यै देखेको थिइनँ । ह्वाट अ जेम अफ अ फिल्म !

यो फिल्म हेर्नुस् र पुनः एक पटक, दुई पटक, तीन पटक, चार पटक प्रेममा पर्नुस् । प्रेममा बाँच्नुस्, प्रेममै मर्नुस् । तथास्तु !

७. INGLOURIOUS BASTERDS (2009)

शिवानी सिंह थारूसितको सिने–सत्संग मलाई औधी मन पर्छ । किन मन पर्छ ? किनभने शिवानीलाई क्वेन्टिन टारान्टिनो औधी मन पर्छ । अनि जसले क्वेन्टिन टारान्टिनोलाई मन पराउँछ, उसलाई म मन पराउँछु । हाम्रो भेटघाट प्रायः दरबारमार्गका कफी–घाटहरूमा हुन्छ । 

दरबारमार्गका कफी–घाटबाहेक अन्य घाटहरूमा हाम्रो भेटघाट हुने म कल्पनासम्म गर्न सक्दिनँ । भेटघाटमा क्वेन्टिन टोरान्टिनोबाहेक हाम्रा गुफ्तगुका अन्य प्रसंगहरू हुने गर्छन्: शरलक होम्स, लेटेस्ट फेसन र लाइफ स्टाइल्स, जासुसी उपन्यास, साइकोप्याथिक सिरियल किलर्स, नेपालगन्जको गर्मी र त्यहाँका स्थानीय भुतप्रेतहरू । 

त्यसो त खलिल जिब्रान र जलालुद्धिन रुमी पनि शिवानी सिंह थारूलाई ‘हद से ज्यादा’ मन पर्छ । माँ कसम, मै मरिजाऊँ ! त्यस्तो ‘मन’ को मलाई बहुत डाहा लागेर ल्याउँछ । 

एक्सट्रिम्ली मस्कुलिन र माचो फिल्म बनाउने टारान्टिनो तथा एक्सट्रिम्ली फेमिनिन र साँचो काव्य सिर्जना गर्ने रुमी एउटै ‘मन’ भित्र अटाउनु दुर्लभ कुरा हो । 

यस अर्थमा शिवानी सिंह थारू ‘दुर्लभिका’ हो । दुर्लभ नायिका हो । 

एक दिनको कुरा हो । दुर्लभिकालाई एकाबिहानै फोन गरेर ‘बाथ–टब’ नाटक हेर्न आउन निम्तो गरेँ । उसले सोधी, ‘तपाईंको नाटक हेर्न किन आउने ? नाटकमा के छ ?’ मैले भनें, ‘नाटकमा सिरियल किलर छ ।’  

त्यही साँझ दुर्लभिका शिल्पी थिएटर आई । नाटक हेर्न होइन, सिरियल किलरलाई हेर्न । ‘बाथ–टब’ को मुआयना लिन होइन, सिरियल किलरले बोल्ने डाइलग सुन्न । 

दुर्लभिकाले एक बिहान फोनमा भनी, ‘दिउँसो भेटौँ । तपाईंलाई  एउटा जरुरी कुरा सुनाउनु छ ।’ दिउँसो दरबारमार्गको कफी–घाटमा हाम्रो भेट भइहाल्यो ।

–  आज हिटलरको कुरा गरौँ । –उसले भनी ।
– ओके, गरौँ । –मैले भनेँ ।

ऊः आज मैले हिटलरको सपना देखेँ । 
मः    रियल्ली ? नाइटमेर त भएन ?
ऊः    भएन । मजा लाग्यो । हिटलरले सपनामा क्वेन्टिन टारान्टिनोको बात मार्‍यो । INGLOURIOUS BASTERDS काे कुरा गर्‍यो ।
मः    ठीकै भएछ । एउटा बास्टर्डले अर्काे बास्टर्डको कुरा गरेछ । 
ऊः     हिटलरले मसित गरेको कुरा तपाईंसित शेयर गर्न मन लाग्यो । 
मः     शेयर गरिहाल्नुस् न त ! हिटलरले के भन्यो ?
ऊः     हिटलरले यस्तो भन्यो, ‘मैले बङकरमा सुसाइड गरेको थिएँ । ३० अप्रिल १९४५ मा मैले आफैँले आफैँलाई गोलीले उडाइदिएको थिएँ । यसरी मेरो मृत्यु भएको थियो । तर, आज आएर मलाई मेरो मृत्यु गलत तरिकाले भएको रहेछ भन्ने आत्मबोध भइरहेछ । किनभने मैले भर्खरै INGLOURIOUS BASTERDS नामक फिल्म हेरेँ । फिल्ममा त मेरो मृत्यु सिनेमा हलभित्र आगो लागेर पो भएको छ । कस्तो भव्य मृत्यु ! कस्तो गज्जब ! मेरो मृत्यु त वास्तवमा क्वेन्टिन टारान्टिनोले फिल्ममा देखाएजस्तै गरी पो हुनुपर्थ्यो । धिक्कार छ मलाई । बेक्कारमा  बङ्करमा आत्महत्या गरेछु । मेरो मृत्यु या हत्या त सिनेमा हलभित्र फिल्म देर्दाहेर्दै हुनुपर्थ्यो । गलत तरिकाले बङ्करमा मरेकोमा मलाई खेद छ । INGLOURIOUS BASTERDS बनाएकोमा क्वेन्टिन टारान्टिनोलाई बधाई छ ।’

८. MANIFESTO (2015)

यो अस्ट्रेलियन–जर्मन प्रयोगात्मक ‘फिल्म इन्स्टलेसन’ १३ वटा मेनिफेस्टोजको संग्रह हो । फिल्मको प्रमुख आकर्षण ‘अभिनयकी जादुगर्नी’ केट ब्लान्चेट हो, जसले १३ वटा फरक–फरक भूमिकामा अभिनय गरेकी छ ।

संवाददाता–समाचारवाचिका, शिक्षिका, पङ्क, सुकुम्बासी, ब्रोकरलगायत वैज्ञानिक, कोरियोग्राफर तथा चिहानकी प्रवक्ता ।
चिहानकी प्रवक्ता ? एस अफकोर्स, तपाईंले सही पढ्नुभयो– चिहानकी प्रवक्ता’ ।

कला, दर्शन, राजनीतिक चिन्तन तथा अभिव्यक्ति स्वतन्त्रता इत्यादिका मेनिफेस्टोज केट ब्लान्चेटले विभिन्न अवतार धारण गर्दै वाचन गर्छे । वाचनाभिनय गर्छे ।

१३ वटै पात्रहरूको आत्मामै प्रवेश गरेर जादुई अभिनय गर्ने केट ब्लान्चेटको जति नै प्रशंसा गरे पनि कम हुन्छ । मेले उसलाई ‘अभिनयकी जादुगर्नी’ यसै भनेको होइन ।

फिल्ममा १३ सिग्मेन्ट छन् । प्रत्येकको अवधि १० मिनेट ३० सेकेन्डको । 

तपाईं पोयट हुनुस् या पपसिङ्गर या पेन्टर । मिस्टिक हुनुस् या मेकानिक । बावर्ची हुनुस् या बागवानी । यो फिल्म तपाईंंजस्तै कलात्मक मन–मस्तिष्क भएका कालीगढहरूको निम्ति बनाइएको हो ।

अनि कोही मार्क्सवादी होस् या फ्रायडवादी । कोही आदर्शवादी होस् या अराजकतावादी । कोही भौतिकवादी होस् या अध्यात्मवादी । कोही ईश्वरवादी होस् या अनिश्वरवादी । सबै खालका वादी–प्रतिवादीहरूको निम्ति रचिएको कलात्मक सिर्जना हो यो फिल्म । 

९. RUBEN BRANDT, COLLECTOR (2018)

विक्रम संवत् २०७८ को वैशाखलाई मैले ‘एनिमेटेड महिना’ भन्नुपर्ने हुन्छ । कारण के भने, वैशाख महिनाभरि मैले केवल एनिमेटेड फिल्महरू हेरेँ । 

ओस्कारले एनिमेसन फिल्मलाई सन् २००२ बाट मात्र बेस्ट एनिमेटेड फिचर फिल्मको क्याटेगोरीअन्तर्गत पुरस्कृत गर्न थालेको हो । मलाई के जङ चल्यो कुन्नि, सन् २००१ को SHREK देखि २०२० को SOUL सम्मका सम्पूर्ण ओस्कार विजेताहरूलाई हेरिदिएँ । वैशाख महिनालाई हन्ड्रेड पर्सेन्ट एनिमेटेड बनाइदिएँ । 

त्यसपछि ओस्कारले नपत्याएका फिल्महरू खोजेँ । एकेडेमी अवार्डले भाउ नगरेका, बाल नदिएका सिर्जनाहरू एक्स्प्लोर गर्न थालें । टोरेन्टले तँ चिता म पुर्‍याउँछु भनेपछि दैवको पनि के नै लाग्थ्यो र ! केही सुन्दर रचनाहरूसित साक्षात्कार भएपश्चात, हेरेपश्चात् मेरो एनिमेटेड–मनमा एचडी अर्थात् हाई डेफिनेसन क्वालिटीको प्रसन्नता छाइहाल्यो । ती रचना यस प्रकार छन् :

–      ANOMALISA (2015)

–      LOVING VINCENT (2017)

–      WALTZ WITH BASHIR (2008)

नेटफ्लिक्समा पनि कहिलेकाहीँ सुन्दर, इम्प्रेसिभ फिल्महरू भेटिइन्छन् । खोज्न मात्र जान्नुपर्छ । मैले वास्तवमै हेर्न चाहेको फिल्म कतै नेटफ्लिक्समा पो पाइन्छ कि भनी खोजें । र, भेटेँ पनि, जसको नाम थियो : RUBEN BRANDT, COLLECTOR ! अ फिल्म फ्रम हङ्गेरी ।

०००

रुबिन ब्रान्ट साइकोथेरापिस्ट हो । साइकोथेरापिस्ट भए पनि ऊ स्वयम् केही साइको–साइको टाइपको छ । ऊ क्लिनिकल्ली डिप्रेस्ड छ । निदाउन सक्दैन । निदायो कि अनेक पेन्टिङका पात्रहरूले उसलाई बस्न–खान दिँदैनन् ।

भन्नु परोइन, उसले थेरापि इस्न्टिच्युट चलाएको छ । ऊ संसारभरका बहुमूल्य पेन्टिङहरूको  मालिक बन्न चाहन्छ । किनेर होइन, चोरेर । अमूल्य पेन्टिङहरू चोर्नका निम्ति  ऊसित चार जना ‘क्रिमिनल पेसेन्ट’ हरू छन् ।

विविध प्रकारको खुबी र क्षमता भएका साइकोहरूलाई ऊ ‘paintings heist’ को मिसनमा पठाउँछ । जसलाई तपाईंंले नेटफ्लिक्सकै चर्चित सिरिज MONEY HEIST सित तुलना गर्नु ठूलो भुल हुनेछ । 

RUBEN BRANDT, COLLECTOR एक हाइपर स्टाइलिस्ट फिल्म हो । जसलाई अद्भुत सर्रियल भिजुअल्सले बेजोड–अनुपमा बनाइदिएको छ । हङ्गेरियन पेन्टर एवम् यो फिल्मका निर्देशक मोलराद क्रिस्टिकको हाइपर इम्याजिनेसन मेरो तान्त्रिक खप्परमा यसरी कनेक्ट भयो, यसरी कनेक्ट भयो, यसरी कनेक्ट भयो कि मलाई लाग्यो, यो जुनीमा त मिस्टर क्रिस्टिकसित मेरो भेट नहोला, कथम् अर्काे जुनी भएमा म उसले सिर्जना गर्ने पेन्टिङहरूको क्यानभास बनुँला । 

अन्त्यमा, नेपालका चित्रकारहरूका निम्ति मात्र कसैले यो फिल्मको ‘स्मेसल स्क्रिनिङ गरिदिए क्या गज्जबको हुन्थ्यो । सिद्धार्थ आर्ट ग्यालरीमा नेपाली चित्रकार्ससित बसी यो फिल्म हेर्दा कस्तो रोचक हुन्थ्यो ।

आर्ट क्युरेटर संगीता थापालाई यो फिल्मको अस्तित्वबारे कसैले जानकारी चुहाइदिए म धन्य–ओ–धन्य भइजाने थिएँ । 

१०. THE HANDMAIDEN (2016)

इरोटिक साइकोलजिकल थ्रिलर । फ्रम साउथ कोरिया । अ सकेन्ड मास्टरपिस अफ पार्क चान–वुक । 

ह्वाट ननसेन्स ? अ सेकेन्ड मास्टरपिस ?

दोस्रो मास्टरपिस ? त्यसो भए मिस्टर पार्क चान–वुकको पहिलो मास्टरपिसचाहिँ कुन हो ? एभ्रि सिने–दावनलाई त्यसको जवाफ थाहा छ । जवाफ होः OLBDOY (2003) ।

तपाईं अब यसो गर्नुस् । OLBDOY काे डार्क क्यानभासलाई फ्रेन्च फिल्म BLUE IS THE WARMEST COLOUR (2013) को इरोटिक ब्रसले रंग्याइदिनुस् । त्यसबाट बनेको चित्रमा चलचित्रको नाम हुनेछःTHE HANDMAIDEN ।

फिल्म बेलायती लेखिका साराह वाटर्सको चर्चित उपन्यास –fingersmith– मा आधारित छ । आफ्नो ऐतिहासिक क्राइम नोबेलमाथि बनेको फिल्मबारे वाटर्स भन्छिन्, ‘ओरिजिनल सोर्सप्रति फिल्म इमानदार छ । फिल्मका केही दृश्य पोर्नोग्रापिक छन्, जुन मलाई लाग्छ, आकर्षक छन् ।’ 

फिल्मका भिजुअल्स मस्मराइजिङ छन् । क्याप्टिभेटिङ छन् । 

फिल्मको ‘ट्विस्ट एन्ड टर्न’ काबिल–ए–तारिफ छ । माइन्ड ब्लोइङ छ । एकपछि अर्काे सरप्राइज तथा सस्पेन्सले बाँधिराख्छ । २ घण्टा ४८ मिनेटको फिल्म तीन भागमा विभाजित छ । प्रत्येक भागमा प्रमुख तीन पात्रहरूका आ–आफ्नै खालका POV (point of view)  एवम् मोनो–न्यारेसन छन् । मनका गन्थन र कथन छन् । 

प्रमुख तीन पात्रहरू यस प्रकार छन्ः सुक–ही । लेडी हिेदेको । काउन्ट फुजिवारा । अनि चौथो पात्र पनि छः अंकल कौजुकी । जो तीन पात्रहरूको तुलनामा निकै खुंखार छ ।

०००

सुक–हीको कथनः दरबारजस्तो भव्य घरमा काम गर्छु । म लेडी हिदेकोको प्राइभेट सुसारेमा नियुक्त भएकी छु । लेडीको अंकल ज्यादै क्रूर छ । मलाई ऊ यो फिल्मको भिलेनजस्तो लाग्छ । म लेडी हिदेकोको राम्रो हेरविचार गर्छु । ऊ जवान छे र निकै सुन्दर पनि । एउटा गोप्य कुरा म तपाईंंको कानमा सुटुक्क भन्छु, ल ! वास्तवमा म त्यो मान्छे होइन, जो लेडी सम्झन्छे । म त एक पाकेटमार हुँ । म काउन्ट फुजिवारको प्लानअनुसार काम गर्छु । ऊ पनि कहाँको ‘काउन्ट’ हुनु नि ! उसलाई लेडीसित बिहे गर्नु छ । अथाह सम्पत्तिको मालिक बन्नु छ । अनि लेडीलाई पागलखानामा पुर्‍याउनु छ । काउन्ट फुजिवाराको षड्यन्त्रमा मेरो प्रमुख भूमिका छ । 

लेडी हिदेकोको कथनः  यो महल मेरो निम्ति झ्यालखाना भएको छ । अंकल कौजुकीले मलाई यहाँ बन्दीजस्तो बनाएर राखेको छ । ऊ दुर्लभ किताबहरूको कलेक्टर हो । उसका धनाढ्य ग्राहकहरूलाई मैले ती प्राचीन पुस्तकहरूबाट इरोटिक कथाहरू सुनाउनुपर्छ । ग्राहकहरूमध्ये काउन्ट फुर्जिवारा छ । ऊ स्मार्ट छ र मलाई लाग्छ, उसैले मलाई यो झ्यालखानाबाट मुक्ति दिलाउन  सक्छ । उसले एउटा योजना बनाएको छ । योजनाअनुसार भर्खरै मात्र उसले मेरो निम्ति एउटी सुसारे ल्याइदिएकी छे । उसको नाम सुक–ही हो । उसले मेरो राम्रो हेरविचार गरेकी छे । 

ऊ पनि मजस्तै जवान छे । मायालु छे । हामीबीच अन्तरंग सम्बन्ध गाँसिएको छ । विचरी सुक–ही ! उसलाई मेरो र काउन्ट फुजिवाराको गुप्त योजनाबारे केही जानकारी छैन । उसलाई फकाएर, फुस्ल्याएर पागलखानामा जाक्नु छ मेरो नाममा, मेरो परिचयमा । अनि बदलामा उसको नाम र परिपचय लिएर मलाई खुल्ला संसारमा स्वतन्त्र भई बाँच्नु छ ।

काउन्ट फुजिवाराको कथनः  अब मेरो कथनको के नै अर्थ भयो र ! आफैँले बुनेको षड्यन्त्रको जालोमा म आफैँ कसरी फस्न पुगे ? म आफ्नै प्लटको भिक्टिम कसरी भएँ ? प्लटमा कहाँनेर ट्वीस्ट भयो ? कसरी ट्वीस्ट भयो ? माइ गड, कस्तो रहस्य ! कस्तो सस्पेन्स ! केही पनि सोच्न सकिरा’ छैन । मेरो दिमाग खराब भएको छ । यस्तो फिल्मको पात्र त दुस्मनलाई समेत बन्न नपरोस् । 

११. THE BRAND NEW TESTAMENT (2015)

अ डार्क फ्यान्टासी/कमेडी फ्रम बेल्जियम । 

फिल्मले सनकी एवम् खुंखार ईश्वर, द गडको कथा कहन्छ । यो कुनै अलौकिक संसारमा बसोबास गर्ने ईश्वर होइन । त्यस्तो ठान्ने भुल कदापि नगरियोस् । यो त बरु लौकिक संसारमै बस्ने हाडछालाद्वारा निर्मित ‘मनुष्यजन्य’ ईश्वर हो । हेक्का रहोस् । 

अँ त । ईश्वर बेल्जियमको राजधानी ब्रसेल्समा बसेको छ । उसको स्थायी ठेगाना यही हो । स्वास्नी र दश वर्षीया छोरी उसको प्राइभेट परिवार हो । स्वास्नीलाई उसले बाल दिँदैन । छोरीलाई उसले गन्दैन । 

यो ईश्वर त बहुत गन्दा छ हजुर !

यो गन्दा ईश्वरको धन्दा कसरी चौपट हुँदै जान्छ, हेर्दै जानुस् । 

पिता र पतिको रूपमा ईश्वर हिटलरझैँ क्रूर एवम् तानाशाही छ । अनेक प्रकारका अन्ट–न–सन्टका नियमहरू लगाएर जगत्‌वासीहरूको जीवनलाई निजले नर्कतुल्य बनाइदिएको छ । 

ईश्वरपुत्री चाहिँ मनुष्यलाई सहयोग गर्नुपर्छ भन्ने खालकी छे । एक दिन ऊ परमपिताको सेक्रेट च्याम्बरमा प्रवेश गर्छे, जहाँ मनुष्यहरूको आयु अर्थात् बाँच्ने अवधि कम्प्युटराइज्ड गरिएको छ । त्यसलाई उसले डिस्क्लोज्ड गरिदिन्छे । मनुष्यहरूलाई उनीहरूको ‘मृत्यु दिन’ को टेक्स्ट मेसेज पठाइदिन्छे । 

त्यसको परिणाम के भइदिन्छ भने तपाईंको सेल–फोनमा एउटा म्यासेज आउँछ । तपाईंंको मृत्यु आजभन्दा १३ वर्षपछि फ्रेबुअरी १३, २०३४ मा हुनेछ । 

आफ्नो ‘मृत्यु–दिन’ थाहा पाएपछि तपाईं के गर्नुहुन्छ ? निर्धारित मितिभन्दा अघि मर्ने त चान्सै भएन । गर्लफ्रेन्डका खातिर नवनिर्मित धरहराको टुप्पाबाट हाम फाल्नुस् या हेलिकोप्टरबाट । मर्ने त सवालै भएन । त्यही गर्लफ्रेन्ड टोलको गुण्डासित पोइल जाँदा, दिवंगत प्रेमको शोकमा घाँटीमा पासो लगाउनुस् या साइनाइड नै चाख्नुस् । बालै भएन । 

१२. THE DEATH OF STALIN (2017)

सोभियत संघमा पोलिटिकल क्राइसिस छ । कारण, जोजेफ स्टालिनको मृत्यु भएको छ । झण्डै ३० वर्ष  लामो अवधि सोभियत संघमा शासन गरेको कम्युनिस्ट डिक्टेटरको सेरेब्रल ह्यामरेजका कारण इहलीला इतिश्री भएको छ । अब सोभियत संघको नयाँ प्रिमियर को बन्ने ?

हु विल बि द नेक्स्ट सोभियत लिडर ?

जर्जी मालेन्कोभ, निकिता क्रुश्चेम या लाभ्रेन्ती बेरिया ? शक्ति र सत्ता हत्याउने दाउपेच सुरु भएको छ । षड्यन्त्रका तानाबानाहरू बुनिएका छन् । भ्लादिमिर लेनिनको लिगेसी र साम्यवादको पवित्र धर्मग्रन्थ ‘communist manifesto’ भाँडमा जाओस् । हु केयर्स ! सबैलाई आ–आफ्नो ‘प्राइभेट स्वार्थ’ कै चिन्ता छ । 

यस्तैमा पिताको अत्येष्टिमा भाग लिन आएको स्टालिन–पुत्रले कसैलाई खुल्लमखुल्ला भनेको छ, ‘तँ मूला त अण्डकोष होस् । फगत अण्डकोष ।’

कम्युनिज्म र कमेडी साथ–साथ रहँदैनन् । तिनीहरू पोल्स अपार्ट हुन् । ती दुई एकअर्काका सौता हुन् । यस्तै लाग्थ्यो । कहाँ हास–परिहास कहाँ गुरुगम्भीर साम्यवाद ! मेल खाँदैनजस्तो लाग्थ्यो । तर, यो फिल्मले मलाई गलत सावित गरिदियो । 

यो फिल्मले मलाई प्रशस्त हँसायो । 

आफ्नै देशमा देखा परेको कम्युनिस्ट पोलिटिक्सको परिदृश्यलाई कसरी हेर्ने भन्ने कुरा यही फिल्मले मलाई सिकायो । जस्तो कि एउटा कम्युनिस्ट नेताले लेघ्रो तानेर भन्यो, ‘यो नाटकै हो ।’ अनि अर्काे कम्युनिस्ट नेता पनि के कम ! उसले आफ्नो रुद्रघण्टी खकालेर खोक्यो, ‘यो नौटङ्की नै हो । ’’ 

THE DEATH OF STALIN लाई मेटाफोरिकल्ली तपाईंंले ‘the death of communist’ बुझे पनि कुनै आपत्ति हुने छैन । किनभने देशका सच्चा कम्युनिस्टहरू त दिनदिनै मरिरहेकै छन् । रोगले, भोकले र शोकले ।

अन्त्यमा, खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल, अग्नि सापकोटा, सुवास नेम्बाङ, नारायणकाजी श्रेष्ठ, बामदेव गौतमजस्ता ‘सरकारी कम्युनिस्ट’ हरूलाई यो फिल्म हेर्न म सख्त सिफारिस गर्छ । आगे उहाँहरूकै मर्जी । 

१३. THE OTHERS (2001)

अल्फ्रेड हिच्कक, डेभिड फिन्चर अनि एम नाइट श्यामलनको कोल्याबरेसनमा एउटा सस्पेन्स थ्रिलर बन्ने हो भने त्यो फिल्म कस्तो होला ? मलाई लाग्छ, सस्पेन्स फिल्मका यी त्रिमूर्तिको रचना  –THE OTHERS– होला ।

यो फिल्म स्पेन, अमेरिका, फ्रान्स, इटाली र बेलायतको कोल्याबरेसनमा बनेको हो । 

भाषा अंग्रेजी । आईएमडीबी रेटिङ सेभेन दशमलव सिक्स । रोटन टोमाटोज रेटिङ ८३ प्रतिशत । मेटाक्रिटिक रेटिङ ७४ पर्सेन्ट । आभेर–अल– पर्फमेन्सः मोर द्यान एभरेज । 

फिल्मको स्क्रिनप्ले अलेहान्द्रो अमेनाबारको । फिल्मको निर्देशन उनै अमेनाबारको । अमेनाबारका पिता स्पेनका, माता चिलीकी । 

‘गोया अवार्ड’ स्पेनको चलिचित्र जगत्‌लाई प्रदान गरिने सर्वाधिक लोकप्रिय/प्रतिष्ठित पुरस्कार हो । प्रत्येक वर्ष आयोजना हुने उक्त पुरस्कारलाई ‘स्पेनको ओस्कार’ पनि भनिन्छ । THE OTHERS ले सन् २००२ को पुरस्कार समारोहमा लगभग सबै विधाको अवार्ड सोहोरेको थियो । इन्क्लुडिङ बेस्ट फिल्म, बेस्ट डिरेक्टर, बेस्ट स्क्रिनप्ले, बेस्ट प्रोडक्सन सुपरभिजन, बेस्ट सिनेमाटोग्राफी, बेस्ट आर्ट डिरेक्सन । 

फिल्मले अरु उनन्तीस अवार्ड जित्यो । चौवन्नवटा नोमिनेसनमा पर्‍यो । 

यो गुगुल–जानकारी म तपाईंलाई किन दिइरहेको छु ? किनभने म तपाईंलाई लोभ्याउन खोजिरहेको छु । THE OTHERS प्रति तपाईंमा तीव्र चाख बढोस् भन्ने चाहिरहेको छु । यो फिल्म हेर्नुस् भन्नाका खातिर यति लामो भूमिका जोडजाड गरिरहेको छु । 

फिल्मको गोथिक सेटिङ, हाई भोल्टेजको थ्रिल–सस्पेन्स, विरानो रहस्यमय परिवेश अनि अकल्पनीय क्लाइमेक्सले तपाईंंलाई सिंगल माल्ट ह्वीस्कीको स्वाद र तृप्ति प्रदान गर्नेछ, जसको ह्याङओभर लामो काल रहनेछ । म यो फिल्मको कथा–प्लट केही भन्दिनँ । 

यत्तिचाहिँ भन्छु, यो पनि निकोल किडम्यानकै फिल्म हो । ऊ मेरो मनप्रिय अभिनेत्री हो नि त । मेरै खातिर भए पनि प्लिज प्लिज प्लिज, उसका THE HOURS (2002), MOULIN ROUGE ! (2001) र DOGVILLE(2003) पनि कुनै दिन हेरिदिनुस् न ल, म धन्य हुनेछु । यी तीनवटै फिल्म हेरेको दिन मेरो फेसबुक–म्यासेन्जरमा सन्देश पठाउनुहोला । अर्काे दिन सँगसँगै कफी खाऔँला । दिनभरि निकोल किडम्यानका कुराहरू गरौँला । 

THE OTHERS काे हिन्दी रिमेक पनि छ । नाम हो : हम कौन है ? कस्तो झुर नाम, हगि ? फिल्म पनि झुरपट्याँस छ । फिल्ममा अमिताभ वच्चन र धर्मेन्द्रजस्ता दिग्गज कलाकार भए पनि के गर्नु ?

फिल्मको नाम त यस्तो हुनुपर्छ । दिप्ती नवलद्वारानिर्देशित ‘दो पैसे की धूप, चार आने की बारिश ।’ वाह, कति अद्भुत नाम ! दो पैसे की धूप, चार आने की बारिश ।

खैर,THE OTHERS सित मेरो ट्राजेडी के भइदियो भने पहिले मैले यसको हिन्दी रिमेक हेर्न पुगेँ । हेरिसकेपछि म आश्चर्यजनक रूपले ट्वाँ परेँ । मेरो दिमाग खराब भयो । मभित्रको आत्मविश्वासपूर्ण आवाजले मकन साउतीको भाषामा भन्यो: यस्तो ‘ओरिजिनल आइडिया’ सो–कल्ड बलिवुड फिल्ममेकरको खोपडीमा कसरी उत्पन्न भयो ? बलिवुड खप्परले यस्तो ‘मौलिक विचार’ कसरी सोच्यो ? यो त अल्मोस्ट असम्भव कुरा पो हो ।

खोज्दै जाँदा ओरिजिनल फिल्मसम्म पुगेँ । THE OTHERS  भेट्टाएँ । र, त्यसलाई प्रेम गरेँ । 

बिवेअर अफ डुप्लिकेट फिल्म्स एण्ड गर्लफ्रेन्ड्स ! खोज्नुस्, धैर्य गुर्नस्, खोज्नुस् । कुनै न कुनै दिन ओरिजिनल गर्लफ्रेन्ड तपाईंंले  जरुर जरुर जरुर भेट्टाइहाल्नुहुनेछ । चियर्स ! 

१४. THE DIVING BELL AND THE BUTTERFLY (2007)

फ्रेन्च ओरिजिनको विश्व चर्चित लाइफस्टाइल/फेसन म्यागजिन ELLE का प्रधान सम्पादक हुन् ज्याँ डोमिनिक बबी, जसलाई उनका प्रियजनहरूले जाँ–दो भनी बोलाउँछन् । उनी अस्पतालको शय्यामा छ्न् । निःसहाय एवम् निरुपाय । उनको शरीर स्वयम्‌मा एक झ्यालखाना भएको छ । 

उनलाई locked–in–syndrome नामक अजीव खालको रोग लागेको छ । यो एक प्रकारको न्युरोलजिकल डिसअर्डर हो, जसले तपाईंको आँखाबाहेक सम्पूर्ण अङ्गहरूलाई निष्क्रिय बनाइदिन्छ । प्यारालाइज्ड पार्दिन्छ । 

तपाईंं सोच्न, कल्पना गर्न त सक्नुहुन्छ तर बोल्न सक्नुहुन्न । आँखाबाहेक शरीरका कुनै पनि अंग चलाउन सक्नुहुन्न ।

संवाद गर्नका निम्ति तपाईंंसित केवल आँखा छ, जसलाई तपाईं दायाँ–बायाँ चलाउन सक्नुहुन्छ । परेला झिम्क्याउन सक्नुहुन्छ ।त्यसमाथि बबीको त एउटा आँखा मात्र काम लाग्नेछ । अर्काे आँखालाई सिलाएर सदाका निम्ति बन्द गरिदिनुपरेको छ । 

THE DIVING BELL AND THE BUTTERFLY बबीको संस्मरणात्मक पुस्तक हो । १३२ पेजको उक्त पुस्तक उनले एउटा आँखाले डिक्टेट गराएर लेखेका थिए । 

केही वर्षअघि यज्ञश बर्लिन फिल्म फेस्टिबलमा भाग लिन जर्मनी गएका थिए । एउटा बुकस्टोरमा उनले यो किताब देखेछन् । पछाडिको  गातामा लेखिएको ‘ब्लर्ब’ पढेर उनलाई लागेछ :यो किताब काठमान्डूको फिक्सन डिजाइनरलाई जरुर मन पर्नेछ । 

बर्लिनबाट ल्याएको किताबलाई मैले निःसन्देह खुब मन पराएँ । फिल्म पनि खोजे र हेरेँ । फिल्मलाई झन् बढी मन पराएँ । 

फिल्मको मेकिङ मन पराएँ । त्यसको स्ट्रक्चर मन पराएँ । ब्रिलियन्ट सिनेमाटोग्राफर जानुस कामिन्स्कीको क्यामेरा–वर्क मन पराएँ । बबीको आँखाबाट संसार चिहाउने निर्देशकको आइडिया मन पराएँ । चिकित्सकले बबीको आँखा सिलाएर टालेको दृश्य मन पराएँ । 

बबीले स्पिच थेरापिस्टसित आँखाले संवाद गर्ने तरिका सिकेको दृश्य र प्रक्रियालाई  मन पराएँ । सबैभन्दा बढी त एउटा सिंगो किताब आखाँले डिक्टेट गर्दै लेखिसिध्याएको अद्भुत घटनालाई अघोरै मन पराएँ । 

एक ठाउँमा हामी बबीको मोनोलग सुन्छौँ । प्यारालाइज्ड शरीरले ध्वस्त पारेको आफ्नो मनस्थिततिबारे उनी भन्छन : There are two things which are not paralysed. My imagination and memory ! 

कल्पना र स्मृति । मलाई लाग्छ, यी दुई चीज मनुष्यका अमूल्य सम्पदा हुन् । कल्पनाले मनुष्यलाई भविष्यको बाटो देखाउँछ । स्मृतिले मनुष्यलाई नष्ट हुनबाट जोगाउँछ । 

THE DIVING BELL AND THE BUTTERFLY कल्पना र स्मृतिको धागोमा उनिएको एउटा सुन्दर नओइलिने फूल हो । 

यो फूललाई तपाईं बबीको समाधिमा चढाएको कल्पना गर्न सक्नुहुन्छ । अनि त्यो कल्पनालाई आफ्नो स्मृतिमा सजाएर राख्न सक्नुहुन्छ । ४३ वर्षको अल्पायुमा ज्याँ डोमिनिक बबी – द चिफ एडिटर अफ elle– ले अस्पतालको ओछ्यानमै देहत्याग गरेका थिए । उनको मृत्यु किताब प्रकाशन भएको तेस्रो दिन भएको थियो । 

१५. GOODBYE, DRAGON INN (2003)

क) ताइपेई शहरको सुनसान रात । शहरकै पुरानो थिएटर मुसलधारे झरीमा निथ्रुक्क  भिजिरहेको छ । थिएटरका काउन्टर, कोरिडोर, वेटिङ रुम, प्रोजेक्सन रुम गहिरो सन्नाटामा डुबेका छन् । आजको रात यो थिएटरमा DRAGON INN नामक सन् १९६७ को मार्सल आर्ट फिल्म चल्दै छ । यो फिल्म नै थिएटरको अन्तिम फिल्म हुनेछ । फिल्म हेर्न केवल पाँच–सात दर्शकहरू आएका छन् । स्वर्णिम इतिहास बोकेको यो थिएटर कुनै बेला दर्शकहरूको भिडले खचाखच भरिएको हुन्थ्यो । अब त त्यो समय नै कहाँ रह्यो र ! यो सिनेमा हल भोलिदेखि सदाका निम्ति बन्द हुँदै छ । 

ख) म रञ्जना हलमा फिल्म हेर्ने गर्थें । त्यो हल बन्द भयो । त्यहाँ एउटा सपिङ कम्प्लेक्स बन्यो । म पाटनको अशोक हलमा फिल्म हेर्ने गर्थें । त्यो हल पनि बन्द भयो । त्यहाँ एउटा पार्टी प्यालेस बन्यो । शहरका यस्ता पुराना ‘चलचित्र मन्दिर’हरू हेर्दाहेर्दै अस्तित्वबाट नामेट भए । ब्ल्याकमा टिकट बेच्ने जङ्कीहरू कहाँ हराए ? हुलका हुल बाँधेर, चिरिच्याट्ट परी ‘पिक्चर’ हेर्न जाने ती जमातहरू कहाँ लोप भए ? मनोरञ्जनको त्यो भव्य थलो हाम्रो जीवनको एउटा हिस्सा थियो । संस्कृति थियो । हाम्रो सामूहिक अतीत थियो । त्यो कहाँ लोप भयो ?

ग) त्यही लोप भएको अतीतलाई ताइवानी फिल्म सर्जक साई मिङ–लियाङले GOODBYE, DRAGON INN फिल्ममार्फत सम्बोधन गरेका छन् । स्मरण गरेका छन् । त्यो दिवंगत अतीतलाई प्रेमपत्र लेखेका छन् । 

घ) यो slow cinema हो, जसलाई तपाईंं contemplative cinema पनि भन्न सक्नुहुन्छ, जहाँ long take र static shot हरूको  बाहुल्य हुन्छ । भागदौडको संसारमा हतारको जिन्दगी बाँचिरहेका मान्छेहरूका निम्ति यस्ता खालका सिनेमाले घनघोर यातना दिने सम्भावना प्रवल हुन्छ । परन्तु फिल्म हेरेपछि तपाईंको मनलाई एक प्रकारको तृप्तानन्दले खर्लप्प निलिदिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?