संक्रमणको प्रतिरोधमा ज्वरोको महत्त्व र उपयुक्त खानपान

-


     डा सम्मोद आचार्य र डा रमेश केसी    
     जेठ १२ गते २०७८


Humanity has three great enemies; fever, famine and war; of these by far the greatest, by far the most terrible, is fever.
– Sir William Osler

आधुनिक सामान्य चिकित्सा (Internal Medicine ) विधाका पिता विलियम ओस्लरले ज्वर (ज्वरो) लाई मानवका तीन ठूला शत्रु ज्वर , अनिकाल र युद्धमध्ये सबैभन्दा ठूलो शत्रु बताएका छन्। पूर्वीय सभ्यताका धार्मिक ग्रन्थ अथर्ववेद, महाभारत, पुराणमा समेत ज्वरोको चर्चा गरिएको पाइन्छ। ज्वरो भगवान शिवको क्रोधबाट उत्पन्न भएको भनेर ज्वरोको पीडा बुझाउने प्रतीकात्मक सिद्धान्त पनि पाइन्छ। पूर्वीय चिकित्सा विज्ञानका वैज्ञानिक (आचार्य) सुश्रुत, चरक, वाग्भटले ज्वरको विस्तृत वर्णन गरेका छन्। आयुर्वेदमा ज्वरलाई रोगहरुको राजाको रुपमा चित्रित गरिएको छ र संहिताहरुको चिकित्सा स्थानमा विशेष महत्वका साथ उल्लेख गरिएको छ।

शरीरको तापमान सामान्य  (९८.६ डिग्री फरेनहाइट) भन्दा बढी हुनु ज्वरो आउँनु हो। दिनभरमा शरीरको तापक्रममा बिहानको समयमाभन्दा बेलुकी १ फरेनटाइट बढी हुनु स्वाभाविक हो। सामान्यतया व्याक्टेरियल,  भाइरल एवं पारासाइटिक इन्फेक्सन, कनेक्टिभ टिस्यु डिजिज, भास्कुलाइटिस, रोगहरुमा र केही क्यान्सरहरूमा  ज्वरो मुख्य लक्षणको रुपमा देखिन्छ। शरीरको तापमान मस्तिष्कको हाइपोथालामसले नियन्त्रण एवं निर्धारण गर्दछ। शरीरमा विविध तवरबाट उत्पन्न हुने ताप र ताप-नाशको नियन्त्रित सन्तुलनबाट शरीर निश्चित तापक्रममा चलिरहेको हुन्छ। शरीरको तापमान बढाउने रासायनिक पदार्थहरुलाई पाइरोजेन भनिन्छ। जुन शरीर बाहिरको स्रोत जस्तै व्याक्टेरिया एवं भाइरस वा तिनको अंश र शरीर भित्रको स्रोत जस्तै रोग विरुद्ध लड्ने क्रममा उत्पादित साइटोकाइनहरु —इन्टरल्युकिन्-१, इन्टरल्युकिन्-६, इन्टरफेरोन् अल्फा, ट्युमर नेक्रोसिस् फ्याक्टर  आदि गरि दुई प्रकारमा बाँढ्न सकिन्छ। यी विविध रसायनहरुले हाइपोथालामसको थर्मोस्टट सेट पोइन्ट अर्थात् शरीरकालागि निर्धारित तापक्रम बढाइदिन्छन र अन्तत्वोगत्वा शरीरको तापक्रम बढ्छ वा ज्वरो आउँछ।

चिकित्सीय दृष्टिकोणबाट हेर्दा विशेष गरी संक्रमणजन्य ज्वरो रोगको लक्षणमात्र नभएर शरीरको संक्रमण विरुद्ध लड्ने एउटा महत्त्वपूर्ण सहयोगी पनि हो। यस आलेखमा ज्वरोको सन्दर्भमा रहेका फरक बुझाई,  ज्वरोको महत्त्व एवं ज्वरो घटाउने औषधिको सहि प्रयोगको बारेमा चर्चा गरिएको छ। जुन हाल बढ्दो कोभिड १९ रोगको रोकथाम र चिकित्सामा सहयोगी हुने विश्वास छ।

संक्रमणसित लड्न ज्वरोको उपयोगिता 
सामान्य ज्वरो आउने वित्तिकै आत्तिने र ज्वरो घटाउने (एन्टि पाइरेटिक्स) औषधि जस्तै पारासिटामोल, आइबु्प्रोफेन, नाप्रोक्सेन आदि सिफारिस गर्ने वा खाइहाल्ने प्रचलन छ। ज्वरो संक्रमण विरुद्धको एक प्रतिक्रिया (इम्युन रिस्पोन्स) भएकाले तत्काल औषधि प्रयोग गरी दबाइहाल्नाले संक्रमणलाई विस्तार गर्न वा रोग कडा पार्न सघाउ पुर्याउनसक्ने कुरामा ध्यान जानु अति आवश्यक छ। ज्वरोले शरीरमा रहेका रोगविरुद्ध लड्ने कोषहरु जस्तै मोनोसाइट, न्युट्रोफिलको सक्रियता बढाउने, व्याक्टेरिया एवं भाइरसलाई यी कोषहरुले निल्ने (फोगोसाइटोसिस) र फ्रि अक्सिजन रेडिकल्स निकाली  तिनीहरुलाई नष्ट गर्ने क्षमता बढाउने गर्दछ। जस्ले गर्दा व्याक्टेरिया र भाइरसको संख्या वृद्धि हुन पाउँदैन। ज्वरोले इन्टरफेरोनको उत्पादन बढाउछ जस्ले व्याक्टेरिया र भाइरसलाई मार्दछ। इन्टरफेरोन विभिन्न भाइरसजन्य रोग र क्यान्सरको उपचारमा समेत प्रयोग हुन्छ। शरीरले भाइरस मार्न आफैं उत्पादन गर्ने प्राकृतिक इन्टरफेरोन ज्वरो घटाइदिने औषधि प्रयोग गरी कम गरिदिने र संक्रमणसँग जुध्न पुनः औषधिको रुपमा कृत्रिम र महङ्गो इन्टरफेरोन प्रयोग गर्नु आफैंमा शोचनीय कुरा हो। ज्वरोले हेल्पर टि सेलको संख्या,  सक्रियता र गतिविधि बढाइदिन्छ। एन्टिबडिको उत्पादन,  इम्युन सेलहरुको समग्र सक्रियता र कार्यक्षमता बढाउन ज्वरो उत्प्रेरक हुन्छ।

प्यारासिटामोलबाट हुनसक्ने हानी
विशेषगरी ज्वरो कम गर्न सबैभन्दा व्यापक रूपमा प्रयोग गरिने प्यारासिटामोलले  शरीरको एन्टिअक्सिडेन्ट डिफेन्स सिस्टमलाई पनि कमजोर पार्ने अनुसन्धानहरुबाट देखिएको छ। ग्लुटाथायोनले शरीरको कोषहरुलाई अक्सिडेभिट स्ट्रेसबाट बचाउने कार्य गर्दछ। शरीरमा ग्लुटाथायोनको मात्रा कम भएमा भाइरसजन्य लगायतका संक्रमण हुने र यी कडा हुनसक्ने सम्भावना बढी हुन्छ। पारासिटामोलको औषधीय  मात्राले पनि फोक्सोको विभिन्न कोषहरु (पल्मोनरी माइक्रोफेज, न्युमोसाइट, लिम्फोसाइट) मा ग्लुटाथियोनको मात्रा घटाएको अनुसन्धानले देखाएको छ। यति मात्र नभएर जुन कोभिड रोगीको अल्भियोलर फ्ल्युडमा ग्लुटाथियोनको मात्रा कम छ, तिनीहरुको फोक्सोमा कोभिडको संक्रमण र सुजन बढी भएको पाइएको छ। यसर्थ पनि ज्वरो आउने बित्तिकै आत्तिइहाल्ने र ज्वरो घटाउन औषधि सेवन गर्नु गराउनु प्रत्युत्पादक हुने देखिन्छ। शरीरको तापक्रम छिटो वृद्धि हुने प्रक्रियामा हुने कम्पन र जाडोको अनुभूति स्वाभाविक भएको कुरा बुझेर न्यानो ओढ्ने र न्यानो वातावरण दिनु उपयुक्त व्यवस्थापन हो। शरीरमा धेरै असहजता वा ज्वरोकै कारण अनिद्रा भएमा मात्र यस्ता औषधिको न्यूनतम मात्रामा सेवन गर्ने र ज्वरोको कारण छिटो पत्ता लगाई सही उपचार गर्नु गराउनु बुद्धिमानी हुन्छ। यसका अतिरिक्त अरु कडा लक्षण नभएको ज्वरोमा घरेलु तथा आयुर्वेदमा सुझाइएका ज्वरो नियन्त्रणका विधिहरु जस्तै धनियाँ वागुर्जो राखेर उमालेको पानी,  स्वेदन (पसिना निकाल्ने विधि) आदि उपयुक्त हुन्छन्। अरु उपयुक्त औषधिहरुको प्रयोग रोगको कारण, रोगावस्था, व्यक्तिको प्रकृति आदिमा निर्भर गर्ने भएकाले चिकित्सकको परामर्शबाट नै छनौट गर्न उपयुक्त हुन्छ।

एन्टिबायोटिकको अनावश्यक प्रयोगबाट हानी
ज्वरो आउने बित्तिकै एन्टिवायोटिकको प्रयोग अर्को जटिल समस्याको रुपमा रहेको छ। एन्टिवायोटिकहरु मुख्य रूपमा व्याक्टेरियाको वृद्धि रोक्न वा मार्न बनाइएका औषधि हुन्। तसर्थ यी औषधिहरु व्याक्टेरियाको कारण निम्तिएको रोग (ज्वरो) बाहेकको अवस्थामा प्रयोग गर्नु अनावश्यक मात्र हैन घातक हुनसक्छ। कोभिड १९ जस्ता भाइरसजन्य रोगहरुमा व्याक्टेरियाजन्य संक्रमण भएको वा हुन सक्ने अवस्था चिकित्सकद्धारा निर्क्यौल गरेर मात्र सहि एन्टिवायोटिक प्रयोग गर्नुपर्दछ। अर्को कुरा मानिसको आन्द्रामा  शरीरको लागि सहयोगी व्याक्टेरियाहरु खर्बौँको संख्यामा रहेका हुन्छन्। जस्ले रोगविरुद्ध लड्न र मेटाबोलिज्ममा महत्वपूर्ण भूमिका खेल्दछन्। एन्टिवायोटिकको अनावश्यक र अत्यधिक प्रयोगले यस्ता सहयोगी व्याक्टेरियाहरु पनि मर्दछन्। जस्ले गर्दा शरीरको रोग प्रतिराधी क्षमता कमजोर हुन्छ र अन्य स्वास्थ्य समस्याहरु पनि निम्तिन्छ। एन्टिवायोटिकको गलत प्रयोगले एन्टिवायोटिक रेसिस्टेन्ट पनि बढिरहेको अनुसन्धानहरुले देखाएका छन्। पछिल्ला दशकहरुमा नयाँ एन्टिवायोटिकहरुको आविष्कार अपेक्षाकृत ढंगमा भएको छैन। यसर्थ आवश्यक नपरेको बेलामा एन्टिवायोटिक प्रयोग गरी आवश्यक परेको वखतमा एन्टिवायोटिक नै निरर्थक बन्ने अवस्था आउन नदिन सबै सचेत हुन जरुरी छ।

ज्वरो आएको अवस्थामा कस्तो आहार सेवन गर्ने? 
आधुनिक चिकित्सा विज्ञानमा वेवास्ता गरिएको तर महत्वपूर्ण विषय हो। ज्वरो आउँदा झन पोसिलो आहार (माछा, मासु, फलफूल ,अण्डा आदि) सेवन गर्नुपर्दछ भन्ने मान्यता व्याप्त छ। तर विभिन्न अध्ययन अनुसन्धानहरुले संक्रामक रोगको शुरुको अवस्था (भाइरल रिप्लिकेसन हुने सुरुका केही दिन)को आहारले रोगको विस्तार र कडापन निर्धारण गर्न महत्वपूर्ण भुमिका खेल्ने प्रमाणित गरेको छ। प्राचीन चिकित्सा विज्ञानमा “Feeding in fever is feeding the fever” भन्ने सिद्धान्त छ। आयुर्वेद चिकित्सामा लङ्घन (उपवास वा सजिलोसित पच्ने थोरै आहार) नै नयाँ ज्वरोको प्रमुख उपचार बताइएको छ। धेरै जसो ज्वरो आउदा खाना अरुची भएको सबैले अनुभव गरेकै हुनुपर्छ। ज्वरावस्थामा पाचन प्रणाली कमजोर हुने भएकाले खाना मन नलाग्नु पाचन प्रणालीले आराम गर्न र संक्रमण विरुद्ध  रोग प्रतिरोध प्रणाली सक्रिय हुन खोजेको संकेत हो।

प्राचीन चिकित्सा विज्ञानको सिद्धान्त अनुसार शरीरमा हिलिङ (रोग विरुद्धको लडाई र रोगी कोषहरुको मर्मत) र पाचन एकैसाथ हुन सक्दैन। यो कुरा आधुनिक परीक्षणले पनि देखाएका छन्।  छोटो उपवास बसी वा हलुका आहार सेवन गरी पाचनमा समय र शक्तिको प्रयोग कम हुने वातावरण दिएमा हिलिङ अवधी बढ्न गई शरीरको रोगी एवं क्षतिग्रस्त कोष, डिएनए पुनःमर्मत हुन्छन र शरीर रोगबाट छिटो सामान्यावस्थामा फर्कन्छ। उपवास वस्दा शरीरमा अटोफेजी प्रक्रिया शुरु हुन्छ र अटोलाइसोजोम निर्माण भई इन्जायमद्धारा नै भाइरस नष्ट हुन्छ। यसका अतिरिक्त उपवासले नेचुरल किलर सेल, टि सेलको सक्रियता र एन्टिवडीको उत्पादनमा सकारात्मक प्रभाव पार्दछ।

जर्नल अफ अमेरिकन मेडिकल एसोसियनमा प्रकाशित प्रतिवेदनमा खरायोमा गरिएको एक अनुसन्धान अनुसार जल उपवासमा राखेको र सामान्य आहार सेवन गरिरहेको खरायोमा समान मात्रामा भाइरस प्रवेश गराउँदा तीन दिन पछी सामान्य आहार लिइरहेको खरायोमा भाइरसको संख्या उपवास राखेको खरायोमा भन्दा दश गुणा बढी पाइएको थियो।

चिनिया वैज्ञानिकहरुले गरेको अनुसन्धानले शरीरमा भाइरस संक्रमणको अवस्थामा हुने ग्लुकोजको मात्राले रोगको कडापन र मृत्युदरसमेत निर्धारण गर्ने देखाएको छ। डायबिटिज नभएका मानिसहरुमा पनि रगतमा ग्लुकोजको मात्रा बढ्दा भाइरसको रिप्लिकेसन् र साइटोकाइन् उत्पादन बढ्नुको साथै टि सेलको कार्यमा बाधा पारेको वताइएको छ।

यसर्थ कोभिड १९ रोगीहरुले संक्रमण अवधिमा ग्लुकोज (कार्बोहाइड्रेट) युक्त आहार सेवन गर्नु उचित देखिदैन्। कोभिड १९ एक भाइरल इन्फेक्सन हो जस्ले शरीरमा इन्फ्लामेसन गराउँछ। यसर्थ हाई इन्फ्लामेटरी इन्डेक्स भएका आहार जस्तै प्रशोधित अन्न, सिम्पल कार्बोहाइड्रेट, ट्रान्स र स्याचुरेटेड फ्याट , प्रशोधित तेल, जंक फुड आदि सेवन गर्दा इन्फ्लामेसन बढी रोग कडा हुन सहयोग पुग्दछ। तसर्थ इन्फ्लामेटरी इन्डेक्स कम भएका आहार सेवन कोभिड १९ मा मात्र नभएर समग्र स्वास्थ्यको लागि हितकर छ। विशेषगरी  स्वासप्रश्वासका भाइरल ज्वर लगायतका बिरामीहरुले शारीरिक अवस्था अनुरूप सुरुको अवस्थामा सकभर १-२ दिन जल उपवास (कमजोर, बालबालिका, वृद्ध, गर्भिणी बाहेकले) वा इन्टरमिटेन्ट फास्टिङका साथ पौष्टिक तर लघु (सजिलै र छिटै पच्न प्रोटिनयुक्त) र रगतमा तत्काल ग्लुकोज नबढाउने आहार सेवन गर्नु हितकर देखिन्छ।

आयुर्वेद चिकित्सा विज्ञानले ज्वरको प्रारम्भिक  अवस्थामा पानी तताई एक चौथाई बाकी बनाइएको तातो पानी, औषधिसिद्ध जल (जस्तै सुकेको अदुवा, ज्वानो पानीमा राखी उमालेर मनतातो बनाइएको) पटक पटक पिउन,  मुङको  दाल पर्याप्त मात्रामा सेवन गर्न, पुरानो चामल र मुङको जाउलो आदिजस्ता सुपाच्य, औषधीय गुणयुक्त र पौष्टिक आहार खान सुझाइएको छ। विशेष गरी कमजोर बिरामीले भोक कम भए पनि थोरै र सुपाच्य खाने कुरा खानुपर्ने कुरा पनि निर्दिष्ट छ।  यसका साथै मसुरो ,गहत, चना, परवल, करेला, भिण्डी , पालुङ्गो , बेल, दाडिम, किसमिस,  अङ्कुरित गेडागुडी आदि पनि ज्वरोको अवधीमा  सेवन योग्य बताएको छ जुन पूर्णतया वैज्ञानिक छ।

बिरामीको भोक जाग्दै गएपछि मासुको रस, क्वाँटी आदि जस्ता थप प्रोटिनयुक्त एवं ठोस परिकार पनि विस्तारै आहारमा समावेश गर्न सकिन्छ। ज्वरोमा कब्जियत हुन सकेसम्म नहुने कुरा पनि स्मरणीय छ। नव ज्वर (ज्वरोका सुरुका केही दिन)मा पाचन हुन  कठिन,दुध एवं दुधजन्य पदार्थ , जनावर स्रोतको प्रोटिन, माथि भनिएकाफल बाहेकका फल तिनका रस वा अन्य पेय पदार्थ सेवन, दिनमा सुत्नु, शरीर मालिस गर्नु, शारीरिक सम्पर्क राख्नु, शारीरिक एवं मानसिक श्रम अहितकार हुन्छ।

निष्कर्ष
ज्वरो शरीरको आवश्यक शत्रु हो। यसलाई औषधिद्धारा दबाउदा बिरामीलाई तत्कालको लागि सहज अनुभव भए पनि रोग निको पार्न कुनै योगदान पुग्दैन। बरु शरीरको रोग निको पार्ने क्षमतामा बाधा हुने सम्भावना रहन्छ। यसर्थ सामान्य ज्वरोमा केवल ज्वरो घटाउने प्यारासिटामोल जस्ता औषधिको प्रयोग निरुत्साहित गर्न जरुरी छ। यसका साथै बिरामीलाई पर्याप्त आराम, सुखोष्ण औषधिसिद्ध जल सेवन, हलुका, सुपाच्य एवं पौष्टिक आहार सेवन गराउँदा कोभिड १९ रोग समेत जटिलतातर्फ जानबाट रोक्न सकिने देखिन्छ। आधुनिक विज्ञानले समेत यी पक्षलाई विश्लेषण गरी तथ्य उजागर गरीसकेकाले यी कुराको पालन गराएरबिरामीको अवस्था बिग्रन नदिन तथा सजिलै स्वास्थ्यलाभ हुने सम्भावना  बढाउन सबै जागरूक हुनु अत्यावश्यक छ। 

-(डा आचार्य औषधीय चिकित्सा विज्ञानका सह प्राध्यापक हुन् भने प्युठान आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख हुन्।)

References    
1.Cann SAH. Fever: Could A Cardinal Sign of COVID-19 Infection Reduce Mortality? Am J Med Sci. 2021 Apr;361(4):420-426. doi: 10.1016/j.amjms.2021.01.004. Epub 2021 Jan 9. PMID: 33781387; PMCID: PMC7833112.
2.Evans SS, Repasky EA, Fisher DT. Fever and the thermal regulation of immunity: the immune system feels the heat. Nat Rev Immunol. 2015 Jun;15(6):335-49. doi: 10.1038/nri3843. Epub 2015 May 15. PMID: 25976513; PMCID: PMC4786079.
3.Huang Y, Guo H, Zhou Y, Guo J, Wang T, Zhao X, Li H, Sun Y, Bian X, Fang C. The associations between fasting plasma glucose levels and mortality of COVID-19 in patients without diabetes.Diabetes Res ClinPract. 2020 Nov;169:108448. doi: 10.1016/j.diabres.2020.108448. Epub 2020 Sep 16. PMID: 32946851; PMCID: PMC7492137.
4.Sestili P, Fimognari C. Paracetamol-Induced Glutathione Consumption: Is There a Link With Severe COVID-19 Illness? Front Pharmacol. 2020 Oct 7;11:579944. doi: 10.3389/fphar.2020.579944. PMID: 33117175; PMCID: PMC7577213.
5.FASTING AND IMMUNITY. JAMA. 1942;119(11):884–885. doi:10.1001/jama.1942.02830280030011
6.Hannan MA, Rahman MA, Rahman MS, et al. Intermittent fasting, a possible priming tool for host defense against SARS-CoV-2 infection: Crosstalk among calorie restriction, autophagy and immune response. Immunol Lett. 2020;226:38-45. doi:10.1016/j.imlet.2020.07.001

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?