मकवानपुर : भर्खरै मकै गोडिसकेकी हेटौंडा उपमहानगरपालिका–१२ की भगवती न्यौपाने अब धानको बिउ राख्ने तयारीमा छिन्। असारमा धान रोप्नका लागि यतिबेला बिउ राख्ने बेला भयो। तर, उनी बिउ नपाएर हैरान भएकी छिन्। मकै गोड्नुअघि पनि सबै मल हाल्ने उनले यस वर्ष मल नपाएपछि त्यतिकै मकै गोडेकी थिइन्। अहिले धानको बिउ राख्न पनि अभाव भएपछि उनी मानो रोपेर मुरी फलाउने बेलामा समस्यामा परेको छिन्।
‘मल नभए पनि जसोतसो मकै गोडेर भ्याइयो। अब त खेतमा धानको ब्याड राख्ने बेला पनि भयो। धानको बिउ छैन, गाउँको एग्रोभेटसँग कुरा गर्दा आफैं जोहो गर्नुस् भन्छन्,’ उनले भनिन्, ‘यस्तो बेलामा धानको बिउ कहाँबाट ल्याउने? चिन्ता लागेको छ।’
सधैं मकै गोड्नु अघि र गोडिसकेपछि दुईपटक मल हाल्ने गरेको उनले यस वर्ष मल अभाव भएपछि हाल्न नपाएको गुनासो गरिन्। मल हाल्न नपाउँदा मकै नफल्ने होकी भन्ने चिन्तामा परेको उनी अब बीउ नपाउदा कसरी धान रोप्ने भन्ने चिन्तामा परेको बताउँछिन्।
न्यौपाने जस्तै मनहरी गाउँपालिका–४ का विष्णु अर्याल पनि धानको बिउ कहाँबाट ल्याउने भन्ने चिन्ता छन्। ‘बाहिर कोरोना जति फैलिए पनि खेतबारीमा काम गर्न केही समस्या छैन। काम गर्नुस् भनेको सुन्छु,’ उनले भने, ‘काम गर्न आवश्यक मल र बिउबिजन नै नपाएपछि कसरी काम गर्ने?’ बिउबिजन जस्तो कुरामा पनि सरकारले त्यति चासो नदेखाएकोमा उनको आपत्ति छ। सकेसम्म सहज वातावरण बनाएर मौसमी खेती गर्ने किसानलाई प्रोत्साहन गर्र्नु जरुरी रहेको उनको भनाइ छ।
कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि स्थानीय प्रशासनले केही सातादेखि निषेधाज्ञा जारी राखेको छ। मकवानपुरमा पनि बैशाख १८ गतेदेखि निषेधाज्ञा जारी भएको हो। यस समयमा विभिन्न व्यवसाय बन्द भएसँगै किसान पनि मर्कामा परेका छन्। बिउबिजन ढुवानी गर्ने सवारी हाल बन्द छन्। जसले गर्दा किसानलाई बाली लगाउन आवश्यक पर्ने मल र बिउबिजन आउन सकेको छैन।
यसो हुँदा सिजनका बाली किसानले लगाउन सकेका छैनन्। खाद्यान्न उत्पादन गर्ने किसान नै मर्कामा परेपछि अबको कृषिको भविष्य के होला भन्ने प्रश्न खडा भएको छ। गत वर्ष पनि समयमै मल तथा बिउबिजन नपाँउदा कृषिक्षेत्रमा खडेरी परेको थियो।
हेटौंडा–१२ मकै उत्पादनका लागि मकवानपुर जिल्लाकै पकेट क्षेत्र पनि हो। तर, यहाँ सधैंजसो मलको अभाव हुने गर्दछ। यसपटक त झन् कोरोना नियन्त्रणका लागि भएको निषेधाज्ञाले गर्दा किसानलाई थोरै पनि मल उपलब्ध गराउन नसकेको गुप्तेश्वरी कृषि सहकारी सस्ंथा लिमिटेडकी अध्यक्ष बसुन्धरा लामाले बताइन्। उनले हाल सहकारीमा ३०० बोरा मल किसानले माग गरेको बताइन्। तर, सहकारीमा मल नहुँदा किसानले यस वर्ष मल नै नहाली मकै गोडेका छन्। कोरोना जे जति फैलिएपनि कृषिजन्य काम हुने भएकाले किसानलाई आवश्यक पर्ने कृषिजन्य सामाग्री समयमा उपलब्ध गराउन सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ।
कृषिसम्बन्धी सामग्री बिक्री गर्दै आएका किसान सेवा खेती पसलका सञ्चालक धर्मराज बानियाँ बिउबिजनको अभाव र मल आयात नहुँदा किसान मर्कामा परेको बताउँछन्। उनले बिउबिजनको अभाव भएको र मल हुँदै नभएको बताए। बन्दको कारण गाउँबाट बजारसम्म मल तथा बिउ खरिद गर्न किसानहरु आउन सम्भव नभए पनि छिटफुट रुपमा आउनेहरुलाई पनि उनले रित्तो हात फर्काउने गरेका छन्। बानियाँले सरोकारवाला निकायले ध्यान नदिँदा किसानले बाली लगाउन नसक्ने अवस्था आएको बताए। उनका अनुसार धानसँगै अन्य तरकारीहरुको बिउ पनि मकवानपुरमा अभाव छ।
कृषि सामाग्री कम्पनी लिमिटेड हेटौंडाका सूचना अधिकारी गणेदत्त जोशीले सोमबार मात्रै ८४ टन मल हेटौंडा आइपुगेको बताए। जसमा ६३ टन युरिया र २१ टन डिएपी रहेको छ। जोशीले समयमा नै मल र बिउबिजन माग गरे पनि आइपुग्दा सधैं ढिला हुने गरेको भन्दै यस वर्ष पनि ढिला गरेर मात्रै मल र बिउ आइपुगेको प्रष्टीकरण दिए। ‘हामीले सिजनअगाडि नै कृषिजन्य सामग्री माग गरेका हुन्छांै,’ उनले भने, ‘तर सम्झौता, खरिद र यहाँसम्म आइपुग्ने प्रक्रिया ढिला हुँदा किसानले समयमा मल पाउन सक्दैनन्।’
जोशीले कम्पनीमा ७ टन धानको बिउ भएको तर बन्दले गर्दा किसान लिन आउन नपाएको हुँदा अभाव सिर्जना भएको बताए। कोरोना नियन्त्रणका लागि प्रशासनले लगाएको निषेधाज्ञाले गर्दा कम्पनीमा धानको बिउ र मल दुवै थुप्रिएको छ तर उता किसानको भने हात खालि रहेको छ। मकवानपुरमा बिज वृद्वि कार्यक्रममार्फत बिउ लगेका किसानले बिउ फिर्ता नगर्दा अभाव हुने गरेको उनको भनाइ छ।