विदेशमा बस्ने नेपाली बालबालिकामा मोह, बेलायतमा ‘कखरा’ शिक्षा

-


     दिलिप पौडेल    
     मंसिर ९ गते २०८०


अधिकांश नेपालीलाई अंग्रेजी भाषाप्रति मोह छ। नहोस् पनि किन? अंग्रेजी विश्वभर बोलिने तथा कामकाजी भाषा हो। विश्वको जुनसुकै कुनामा अंग्रेजी प्रयोग हुन्छ। प्रतिस्पर्र्धी विश्व बजारमा अंग्रेजीको महत्त्व तथा आवश्यकता छ। त्यसैले अंग्रेजी सिक्न निजी बोर्डिङ स्कुलमा पढाउने जमात ठुलो छ।

बढ्दो बसाइँसराइ, अवसरको खोजीले गर्दा ‘ग्लोबल भिलेज’को अवधारणा आएको छ। नेपालीहरू संसारका विभिन्न मुलुकमा पुगेका छन्। नेपालमा छँदा अंग्रेजी मोह भएका नेपालीहरू विदेशमा गएपछि भने नयाँ पुस्ताले आफ्नो मातृभाषा नेपाली बिर्सिने हो कि भन्ने चिन्तामा छन्।

बेलायतमा जम्ने-हुर्केका अधिकांश गैरआवासीय नेपाली बालबालिका नेपाली बोल्न छाडे। सुरुसुरुमा अभिभावकलाई पनि अंग्रेजी मोहले छोयो। बालबालिकाको स्कुल, साथीसँगी, बजार सबैतिर अंग्रेजी भाषा, घरमा पनि अंग्रेजी नै।

जब नेपाल आए। बालबच्चा आफ्ना हजुरबुबा, हजुरआमा, नातापाता, आफन्तसँग खुलेर बोल्न सकेनन्। केहीलाई त दोभासेको सहारासमेत लिनुपर्‍यो। घुमफिरमा पनि नेपाली भाषाको अभाव खड्कियो। भाषाकै कारण नेपालमा घुलमिल हुन सक्ने वातावरण रहेन।

त्यसपछि बेलायत पुगेका नेपालीलाई लाग्यो-‘भाषा विचार अभिव्यक्त गर्ने माध्यम मात्र होइन। सम्बन्ध जोड्ने सेतु पनि हो।’ यो अनुभूति भएपछि बेलायत रहेका नेपाली अभिभावक अहिले आफ्ना बालबच्चालाई नेपाली भाषा पढाउने अभियानमा छन्।

नेपालबाट बेलायतको वेस्ट मिडल्यान्ड, कोभेन्ट्री पुगेका नेपालीलाई आफ्ना बालबच्चाले नेपाली भाषा बिर्सिएलान् भन्ने पिरलोले सताएको छ। युकेको वेस्ट मिडल्यान्ड कोभेन्ट्रीमा करिब दुई सय नेपाली घरधुरी बसोबास गर्छन्।

आफ्ना बालबालिकाले नेपाली भाषा नर्बिसिऊन् भन्ने चाहेका छन् उनीहरू। यसकै लागि कोभेन्ट्री नेपाली समाज, वेस्ट मिडल्यान्ड, युकेले नेपाली भाषा कक्षा सुरु गरेको छ।

सन् २०२३ अगस्टबाट सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली भाषा बोल्न, लेख्न, पढ्न सिकाइन्छ। अहिले २५ जना बालबालिका पढ्छन्। हप्ताको एक दिन नेपाली भाषा कक्षा पढाइ हुन्छ। नेपाली वर्णमाला लगायतका विषयमा अध्यापन हुन्छ।

नेपाली बोल्न कठिन मान्ने ११ वर्षीय अनिश सापकोटाले नेपाली भाषा कक्षा पढ्न थालेपछि कदेखि ज्ञसम्म सिकेका छन्। उनलाई नेपाली भाषाको आवश्यकता महसुस भएर सिकेका हुन्।

बेलायतमै कक्षा ६ मा पढ्ने बागलुङकी तुलसी सापकोटा अहिले ‘क, ख, ग, घ…’ सिक्दै छिन्। सापकोटा बेलायतमा हुर्किन्, बढिन्, पढिन्। नेपाल आउँदा सापकोटा आफन्तसँग राम्रोसँग नेपाली बोल्न नजानेपछि बाबुआमा चिन्तित थिए।

बेलायतका विद्यालयमा नेपाली भाषामा पढाइ हुने कुरा पनि भएन। कक्षा कोठादेखि साथीसँगी सबै अंग्रेजी बोल्ने भएपछि नेपाली सिकिनन् तर अहिले सापकोटालाई नेपाली भाषाको अभाव खड्किएर सिक्दै छिन्।

बेलायतमा नेपाली पढ्न पाउँदा उनी दंग छिन्। अब नेपाल जाँदा संवादमा सजिलो होला भन्ने लागेको छ।

तुलसी मात्र होइन, बेलायतको कोभेन्ट्रीमा बस्ने चितवनकी रिदिमा सापकोटा पनि अहिले नेपाली सिक्न पाउँदा दंग छिन्। नेपालमा घुम्न जाँदा होडिड बोर्डसमेत पढ्न नजानेपछि समस्या भएको थियो। अब उनलाई नेपाल जाँदा सजिलो होला भन्ने लागेको छ।

पढ्न थालेपछि बालबालिकाले नेपाली संस्कार, परम्परा, आदरसत्कार पनि सिकेका छन्। अहिले नेपाली साथीहरू भेट्दा नेपालीमै कुरा गर्न थालेका छन्। अभिभावक काममा व्यस्त हुने भएकाले घरमा पनि बालबच्चालाई समय दिन भ्याउँदैनन्।

कोभेन्ट्री नेपाली समाजले आग्रह गरेपछि अध्ययन, अध्यापनका लागि बेलायत पुगेकी ज्ञानु दाहालले बालबालिकालाई नेपाली भाषा पढाउँछिन्। युकेको ब्लुकोर्ट चर्च अफ क्याथोलिक स्कुलमा अध्यापन गराउने शिक्षिका दाहालले पढाउन थाले पनि बालबालिकाले नेपाली सिक्न थालेका छन्।

बालबालिकाहरूमा नेपाली भाषा सिक्ने उत्साह देखिएको शिक्षिका ज्ञानु बताउँछिन्। ‘नेपाली बालबालिका भेला भएर भाषा सिक्न पाउँदा खुसी छन्,’ उनले भनिन्, ‘नेपाली बोल्न, लेख्न सिकिरहेका छन्।’

दाहालले पढाउँदा ‘क, ख, ग, घ’लगायत नेपाली अक्षर त सिकाउँछिन् नै, अन्य सन्दर्भ पनि नेपालसँग नै जोड्छिन्।

‘नेपालको परिवेश स्मरण हुने गरी पढाउँछु,’ दाहालले भनिन्, ‘बच्चाहरू पनि नेपाली पढ्न पाउँदा उत्साहित छन्।’ अहिले नेपाली अक्षर-अंक सिकाइरहेको उनले बताइन्।

बालबच्चालाई नेपाली भाषा सिकाउन पाएकोमा अभिभावक पनि दंग छन्। नेपाली भाषा कक्षामा गएपछि बच्चामा धेरै सुधार आएको अभिभावक सन्तोष रेग्मीले बताए।

‘कार्य व्यस्तताले घरमा बच्चालाई नेपाली सिकाउनका लागि समय दिन भ्याइँदैन,’ रेग्मीले भने, ‘नेपाली भाषामा बच्चाको प्रगति देखेर खुसी छु।’

नेपाली भाषा बिर्सनु भनेको देश, संस्कृति, जन्मभूमि बिर्सनु हो। त्यसैले नेपाली भाषा कक्षा सञ्चालन गरेका छौं। बेलायतबाट नेपाल घुम्न आउँदा नेपाली बोल्न नसकेपछि नयाँ पुस्ताका बालबालिकाको घरपरिवार तथा आफन्तसँग सामीप्य नहुने भएकाले नेपाली भाषाको आवश्यकता महसुस भयो।

-सन्तोष पौडेल, अध्यक्ष, कोभेन्ट्री नेपाली समाज, बेलायत

यस्ता कक्षाले नेपाली बोल्न धेरै सुधार गरेको उनले बताए। भाषा बिर्सनु भनेको देश, संस्कृति, जन्मभूमि नै बिर्सनु भएकाले नेपाली भाषा कक्षा सञ्चालन गरेको कोभेन्ट्री नेपाली समाजका अध्यक्ष सन्तोष पौडेलले बताए।

बेलायतबाट नेपाल घुम्न आउँदा नेपाली बोल्न नसकेपछि नयाँ पुस्ताका बालबालिकाको आफ्नो घर, परिवार, आफन्तसँग सामीप्य नहुने भएकाले नेपाली भाषाको आवश्यकता खड्किएको पौडेलले बताए।

‘बेलायतमा जन्मे-हुर्केका बच्चाहरूले नेपाली लेख्न, बोल्न, पढ्न जानेनन्,’ अध्यक्ष पौडेलले भने, ‘नेपाली बोल्न नजानेपछि नेपाल जाँदा आफ्ना हजुरआमा, बुबासँग बोल्न पनि दोभासे चाहिने अवस्था आयो।’

भाषा मानिसबिच भावना वा विचार आदानप्रदान गर्ने माध्यम हो। बेलायतबाट नेपाल जाँदा बालबालिकाले यहाँको परिवेशबारे अनविज्ञ, आफन्तसँग बोलचालमा कठिनाइ भएपछि भाषाको आवश्यकता खड्किएको कोभेन्ट्री नेपाली समाजका सचिव बाबुराम भुसालले बताए।

नेपाली बोल्न नजान्दा नेपालसँगको सामीप्य हराउने संकेत देखिएपछि नेपाली भाषाको आवश्यकता महसुस गरेको भुसालले बताए। ‘भाषाकै कारण हामीपछिको पुस्ताले नेपालसँगको सम्बन्ध नै तोड्ने देखियो,’ भुसालले भने, ‘प्रवासमा रहेका नेपालीलाई जन्मभूमिसँग जोड्नका लागि नेपाली भाषा पढाउन लागेका हौं।’

‘भाषा विचार अभिव्यक्त गर्ने माध्यम मात्र होइन, सम्बन्ध जोड्ने सेतु पनि हो।’ यो अनुभूति भएपछि बेलायत रहेका नेपाली अभिभावक अहिले आफ्ना बालबच्चालाई नेपाली भाषा पढाउने अभियानमा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?