कविता र निबन्धमा पनि पात्र प्रयोग गर्ने देवकोटा

-


     शिवशरण ज्ञवाली    
     कार्तिक ७ गते २०७९


नटिप्नु हेर कोपिला !
नचुँड्नु पाप लाग्दछ ।
नच्यात्नु फूल नानि हो !
दया र धर्म भाग्दछ ।।
नछोप्नु है चरी बरी
सराप आँसु लाग्दछ । …..
चारपालामा गुल्मी दरबार जहाँ छ त्यो वास्तवमै गुल्मीभित्रको गुल्मी हो । गुल्मीको उद्गम थलो हो । यहीबाट बिस्तारित गुल्मी अर्घाखाँची, पाल्पा, स्याङ्जा, पर्वत, बागलुङ र प्युठानले वरिपरिबाट घेरिएको छ ।

हामी मावल गएका बेला हाम्री ९० वर्ष पुग्नु लाग्नुभएकी हजूरआमालाई को आएको ‘साइल्याँ’ भनेर कसैले सोध्यो भने भन्नुहुन्छ, ‘गुल्मीका नाति आएका छन् ।’ आज गुल्मी दरबार वडा नम्बर २ जूभुङमा हाम्रो मामाघर पर्दछ भने वडा नम्बर ६ चारपालामा हाम्रो घर पर्दछ । तर पनि बुढाबुढी तथा पुरानालाई आफ्नो परिचय दिदा गुल्मीभित्रै पनि गुल्मीबाट आएको भन्नुपर्छ ।
गुल्मीको इतिहास खोतल्दै जाने हो भने हामी यही चारपालाको गुल्मी दरबारमा आइपुग्छौँ । साँगुरो घेराबाट गुल्मी दरबार पनि बिस्तारित भएर आज बलिथुम, जुभूङ्, गौडोकोट, बिरबाससम्म पुगेको छ ।

चारपालाका हालका तिन वडा पनि यसै गुल्मी दरबारभित्र पर्दछन् । आज त्यो गुल्मी दरबारको उद्गम स्थलमा दुर्गा देवीको मन्दिर र ईश्वरी माध्यमिक विद्यालय दुवै उत्तरोत्तर प्रगतिमा उन्मुख छन् । यहाँका मानिसहरुले गाउँपालिकाको नामाकरण यही ऐतिहासिक ठाउँका आधारमा गुल्मी दरबार राखे । जुम्लीहरुले जस्तो नेपाली भाषाको उद्गम स्थल सिंजाको सट्टा कनका सुन्दरी राख्ने गल्ती गरेनन् । गुल्मेलीहरुले ऐतिहासिकलाई आधार माने तर जुम्लीहरु धर्मलाई आधार मान्न पुगे । तर लेखको प्रसङ्ग अर्कै भएकाले यसको ऐतिहासिक पृष्ठभूमितिर हामी लागेनाँै ।
यही गुल्मी दरबारमा हामीले पढ्दा ईश्वरी (दुर्गा देवी) को मन्दिर र स्कुल थियो । आज यो मन्दिरका रुपमा संरक्षित छ । स्कुल छट्टै आफ्नै भवनमा छ । त्यतिबेला त्यो भवनको सबैभन्दा माथिल्यो तलामा मन्दिर थियो । बीचको तलामा हामी पढ्थ्यौँ । सबैभन्दा तल्लो तलामा एकातिर स्कुलको अफिस थियो भने अर्कोतिर मन्दिरका हतियारहरु राखिएका थिएँ । हामी कहिलेकाही झ्यालबाट लुकीचोरी हेथ्र्यौ । बीचको तलामा दुई कोठा थिए ।
ती कोठाहरु मध्ये सानो कोठामा मैले ६ कक्षा पढें । त्यो कक्षा दोहोर्‍याएर पढेकाले मैले पुराना साथीहरु छाडेर नयाँ साथीहरुसँग संगत गर्न थालेको थिएँ । बगैचाका राजुजी आज पनि मेरो सम्झनामा हुनुहुन्छ, त्यो कक्षा पढेका । त्यही कक्षामा हामी लय (घोर पारी पारी) हालीहाली पढ्थ्यौँ । लेखक को थियो, हामीलाई त्यति बेला खासै थाहा थिएन । थाहा हुनुपर्ने पनि रहेनछ । कविता नै काफी थियो । म त्यो कक्षामा फेल भए पनि खासमा त्यो कवितामा पास भएको रहेछु । आजसम्म पनि अन्तरछन्तर त्यो कविताका केही पंक्तिहरु भन्न सकेकाले म पास भएको निष्कर्षमा पुगेको हुँ । शीर्षक पनि त्यतिबेला सम्झना थिएन । धेरै पछि मात्रै खोजबिन गरियो, ‘पाप लाग्छ’ ।
जबजब तिहार आउँथ्यो तबतब रेडियो नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तीको चर्चा हुन्थ्यो । तिहारको लक्ष्मीपूजासँग लक्ष्मीप्रसाद देवकोटाको नाम पनि आउँथ्यो । आजजस्तो सामाजिक सञ्जालले पठन संस्कृतिलाई पछि धकेलेको अवस्था थिएन । त्यही रेडियोबाट गीत कविताका लेखकहरुका बारेमा थाहा पाइन्थ्यो । देवकोटालाई पनि कक्षाकोठापछि रेडियोमा सुन्न थालियो ।
मलाई यो कविता महाकवि लक्ष्मीप्रसाद देवकोटाको हो भन्ने थाहा पाउन पनि निकै समय लाग्यो । देवकोटालाई हामी आइ.ए., बि.ए., एम.ए, एम. एड. मा पढ्यौँ । उनका कविता र निबन्धहरु पढ्यौँ । पढायौँ । भिखारी, पागल, शाकुन्तल, सुलोचना, मुनामदन, कुञ्जिनी, सृजामाता आदि सीमित कविता काव्य कृति र वीरहरु, के नेपाल सानो छ ?, भलाद्मी आदि जस्ता निबन्धात्मक रचनाहरु पनि अध्ययन अध्यापनको अवसर मिल्यो । कोराना कालमा मैले कुञ्जिनी खुब लय हालेर पढें ः
‘कोल्पुको कलकल नीरमा,
गुलाफे झागें तीरमा ।
तिनको झुपडी !
अनेक प्रकृतिका लोकलय र जनजीवनको प्रस्तुति देवकोटाले यसमा गरेका छन् । कोरानाकोे फुुर्सद सुलोचना पनि पढें । लक्ष्मी निबन्ध सङ्ग्रह र दाडिमको रुखनेर दुवै निबन्ध सङ्ग्रह स्वेच्छिक तरिकाले दोहोर्‍याइ तेहेर्‍याइ पढिराखिएकै छ । आजकाल उनको अर्को नयाँ निबन्ध सङ्ग्रह पनि प्रकाशित भएको रहेछ । तसर्थ देवकोटालाई हामीले धेरै ठाउँमा पढ्यौँ । तर बाल्यकालमा पढेको त्यो कविता कति सरल, जनजिब्रोमै गढ्ने र मार्मिक रहेछ भन्ने कुरा फूलका कोपिलाहरु देख्दा, चराचुरmङ्गीका बचेराहरु देख्दा, ससाना बालबालिकाहरु देख्दा कविताको याद आउनुले पुष्टि हुन्छ । जब म ईश्वरी मन्दिर र स्कुलमा पुग्छु त्यहाँ पुग्दा मलाई बाहिरबाट त्यही कोठा हेर्न मन लाग्छ । म त्यो कोठातिर फर्केर पुराना यादहरुलाई सजीव गराउँछु, नटिप्नु हेर कोपिला…नचुँड्नु पाप लाग्दछ ।
सीमित अध्ययन र क्षमताका आधारमा विराट प्रतिभा देवकोटाका बारेमा बोल्नु निकै दुस्साहस र जोखिमको कुरा हो । तर मैले सधैं पढिआएका देवकोटामा एउटा नौलो प्रवृति पनि भेट्छु । मूलतः साहित्य र विशेषगरी कविता र निबन्धमा आधुनिकताको सुरुवात गरेकाले यो प्रवृतिको परम्परा पनि उनैले पो सुरु गरे कि ? उनी निबन्ध होस् या कविता होस् जुनसुकै विधा भए पनि विभिन्न पात्रहरु प्रयोग गरेर आफ्नो प्रस्तुतिलाई एकातिर मूर्त बनाउँछन् भने अर्कोतिर पाठकलाई रोचक र बौद्धिक खुराक पस्कन्छन् । पात्रहरु मूलतः प्रबन्ध काव्य र आख्यानमा प्रयोग गरिन्छ तर देवकोटाले त कविता र निबन्धमा नै यस्तो पात्रहरुको प्रयोग गर्ने कुशलता देखाएको पाइन्छ ।
उनको बौद्धिक र चर्चित कविता पागलमा उनले हेलेन, पद्मिनी, सिकन्दर, दधीचि, भीमसेन, प्रमिथस जस्ता पात्रहरुको प्रयोग गरेका छन् । के नेपाल सानो छ ? निबन्धमा उनले लर्ड म्याकाले, कालिदास, शेक्सपियर, मिल्टन, गेटे, वाग्नर, टर्नर, टिसियन, सोक्रेटिज, सान्डो, हेलेन केलर, सावित्री, ठाकुर बाबाजस्ता पात्रहरुको प्रयोग गरेका छन् । प्रमिथस त उनको प्रिय पात्र ! देवकोटाले कविता र निबन्धका पात्रहरु ऐतिहासिक, पूर्वीय पाश्चात्य पौराणिक, सामाजिक साहित्यिक क्षेत्रबाट लिएको देखिन्छ ।
यसरी लक्ष्मीप्रसाद देवकोटा अन्य विधाका परिचायक गुणहरुलाई समेत कविता र निबन्धमा समेत प्रयोग गर्ने कुशल शिल्पी हुन् । आफूले पढेको स्कुलकै परिवेशबाट देवकोटाप्रति जन्मजयन्तीको अवसरमा शब्द श्रद्धा !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?