नेपालको श्रमयुक्त जनशक्ति जापानमा भित्राउनका लागि सरकारी क्षेत्रबाट व्यवस्थित रूपमा पहल गरिनुपर्ने

-


     जनहित न्युज    
     भाद्र ७ गते २०७९


नेपालको श्रमयुक्त जनशक्ति जापानमा भित्राउनका लागि सरकारी क्षेत्रबाट व्यवस्थित रूपमा पहल गरिनुपर्ने बताइएको छ ।
जापान स्थित नेपाली राजदुतावास, गैर आवासीय नेपाली संघ जापान र जापान लिडिङ एज फाउन्डेसन (JLEF)को संयुक्त आयोजनामा मंगलबार भएको “जापानी व्यवसायहरुको लागी नेपाली दक्ष-जनशक्तिको संभावना” विषयक वेबिनारमा सहभागी प्यानलिष्टहरूले हाल जापानमा नेपालबाट मुख्य गरेर कृषि, खाद्य र नर्सिंग लगायतका क्षेत्रमा कामदारहरू आउने गरेकोमा नेपाल सरकारले कूटनीतिक रूपमा थप आवश्यक पहल गरेमा अन्य १२ क्षेत्रमा पनि धेरै श्रमयुक्त र दक्ष जनशक्ति भित्राउन सकिने विचार व्यक्त गरेका हुन ।

तत्काल कृषि, खाद्य र नर्सिंगका लागि भाषा र सिप परीक्षण गरेर २५ सय जना नेपाली जापान आउने तयारीमा रहेका र अन्य श्रमयुक्त जनशक्ति जापानमा आउने क्रममा सरकारी तवरबाट पहल भैरहेको जापानका लागि नेपाली राजदूतावासका डेपुटी चिफ अफ द मिसन अम्बिका जोशीले बताए ।
उनका अनुसार नेपाली संस्कारले गर्दा पनि नर्सिंग केयरमा नेपाली श्रमिक उपयुक्त रहेको र नेपाली धार्मिक आस्थाका आधारमा पनि वृद्धालाई हेरचाह गर्दा पुण्य मिल्ने मान्यताका साथ राम्रो कार्य गरेकाले जापानीहरूको बिश्वास जित्दा नेपालीलाई यस क्षेत्रमा अवसर बढेको बताए ।
“नेपाल कृषिप्रधान देश रहेकोले नेपालीसँग कृषिको बारेमा व्यावहारिक ज्ञान समेत पर्याप्त मात्रामा छ, माटोसँग नजिकको साइनो पनि छ ।“ जोशीले भने नेपालको निर्वाहमुखी कृषि प्रणालीलाई व्यावसायिक र प्रविधियुक्त जापानमा यससँग सम्बन्धित जनशक्ति ल्याइ यहाँको प्रविधिसँग परिचित रहेर नेपालमा फ़र्केर योगदान दिन सक्ने बनाउन आवश्यक छ ।
नेपालमा अध्ययन र तालीमबाट दक्ष जनशक्ति उत्पादन भएको भैरहेकोले जापानमा रहेको कामदारको अभावलाई आपूर्ति गर्ने मुख्य देशको रूपमा नेपाललाईपनि बनाउन आवश्यक पहल गरिदिन जापानका सरोकारवाला निकायहरूलाई जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुबेदीले आग्रह गरे ।
दक्ष जनशक्ति जापानमा आउने प्रक्रिया शुरू भएको छ , यसको कार्यान्वयनले नेपालको आर्थिक क्षेत्रमा राम्रो सहयोग पुग्ने बिश्वास आफूले लिएको बताउदै राजदूत सुबेदीले भने- नेपालीको लागि जापान आकर्षक गन्तव्य मुलुक रहेकोले यसलाई व्यवस्थित र उपलब्धिमूलक बनाउन र आवश्यक पहल गरि सहयोग पुर्याउन सरोकारवाला पक्षलाई आग्रह गर्दछु ।
नेपाल र जापानको सम्बन्ध निकै पुरानो र प्रगाढ़ रहेको उल्लेख गर्दै राजदूत डा सुवेदीले नेपालको आर्थिक विकासको प्रमुख साझेदार मुलुक मध्यको एक जापानले अबका दिनमा दक्ष जनशक्तिलाई जापान भित्राएर आर्थिक संवृद्धिमा थप योगदान दिनेमा समेत विश्वास व्यक्त गरे ।
जापानमा आर्जन गरेको ज्ञान सिप र लगानी नेपालको बिकासको लागि महत्वपूर्ण हुने भएकोले आफ़नो प्रमुख प्राथमिकता सरोकारवाला निकायसँगको समन्वयमा यसको प्रवर्द्धनमा लाग्नेपनि उनले बताए ।

नेपाली जनशक्तिलाई जापान ल्याउन आवश्यक पहलका लागि हस्ताक्षर गर्ने मध्यको एक आफू रहेको बताउदै नेपालका लागि पूर्व जापानी राजदूत मासामीचीं साइगोले कोरोनाको महामारी कारण विगत दुईवर्षमा नेपालबाट जापान आउनेको संख्यामा कमि रहेपनि आगामी दिनमा उल्लेखनीय रूपमा वृद्धि हुने विश्वास व्यक्त गर्दै भने – अहिले १३००० जनाले भिषा लिएर जापान आउने तयारी छन आउने दिनमा नेपाली जनशक्ति जापानमा आउने क्रम बढ्दै जानेछ ।
जापान लिडिङ एज फाउन्डेसन (JLEF) का सल्लाहकार समेत रहेका मासामीचींले जापानमा कार्यरत श्रमिकको सहयोगका लागि बिभिन्न ५ भाषामा आफ़्नो बेव साइटमा सूचना र जानकारी राखिएको र अब निकट भविष्यमा नेपाली भाषामा पनि सूचना जानकारी दिने योजना रहेको बताए ।
नेपालीलाई काम दिने जापानीलाई पनि नेपाल र त्यहाको बारेमा जानजारी दिनुपर्ने र सांस्कृतिक रूपमा रहेको फ़रकतालाई के कसरी समाधान गर्न सकिन्छ भन्ने बारेमा योजना बनाउन यस्ता कार्यक्रम कार्यक्रम कोशेढुङा साबित हुने बताए ।
२०२२ अगस्टमा कृषि खाद्य र नर्सिंगलाई मुख्य सोचेको
भाषा र सिप परीक्षणमा परीक्षा लिएको र जापानले यसको जनशक्ति खोजेको यस बाहेकमा पनि परीक्षा दिन सकिने र धेरै विधामा नेपालले जापानमा जनशक्ति उपलब्ध गराउन सकिने जानकारी उनले गराए ।
पछिल्ला दिनमा जापानमा नेपालीहरूको संख्या बढनुमा कामको अवसर धेरै भएको बताउदै एनआरएनए जापानका अध्यक्ष शिवप्रसाद पौडेलले नेपाल अझैपनि विकासोन्मुख मुलुक रहेकोले धेरै नेपालीहरू विभिन्न भिषामा जापान आउने क्रम बढिरहेको बताउदै भने – सुरक्षाका दृष्टि जापान उपयुक्त रहेको र भविष्यमा नेपाल फ़र्किने सम्भावना बढ़ी हुदा परिवारले जापान पठाउन खोज्नुले यो संख्यामा वृद्धि भएको हो ।
संस्कृति पक्ष र धार्मिक पक्षले जापान र नेपालका बिचमा धेरै समानता रहेको, जापानीको दृष्टिकोणमा नेपाली इमानदार रहेका र लगानी गर्न पनि सुरक्षित रहेकोले नेपालीहरू जापानलाई श्रम गन्तव्यको पहिलो रोज़ाइको देशका रूपमा लिने गरेको अध्यक्ष पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?