बागलुङ गलकोटकी बन्दना ३-४ दिनअघि मात्र अमेरिकाबाट आएकी थिइन्… 

-


     जनहित न्युज    
     माघ १ गते २०७९


‘सरप्राइज’ दिन उनी आइतबार बिहान कसैलाई नभनी पोखरा आउँदै थिइन्।

पोखराको आकाश आइतबार धुमिल थियो। हिमाल छोपिएका थिए। घाम मधुरो थियो। प्रकाश मधुरो भए पनि उपत्यका आसपासका डाँडा प्रष्ट देखिन्थे। हवाइजहाजलाई चाहिने भिजिबिलिटी पुग्थ्यो। जहाजहरू बिहानैदेखि आउजाउ गरिरहेका थिए।

काठमाडौंबाट पोखराका लागि उडेको एटिआर ७२ जहाज विहान १०:५० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टावरसँग अन्तिम सम्पर्क गर्‍यो। विमानस्थलका अनुसार जहाज ल्यान्ड गर्न चालक दलले अनुमति पाइसकेको थियो। एकाध मिनेटभित्र जहाज ल्यान्ड भइसक्नुपर्ने थियो।

नयाँ विमानस्थलको धावनमार्गको पूर्व र पश्चिम दुबैतर्फबाट जहाज उडान र अवतरण गर्न सक्छन्। यति एयरलायन्सका एटिआर ७२ लाई धावनमार्गको पश्चिमतर्फबाट ल्यान्ड गर्न अनुमति थियो। पूर्वबाट आएको जहाज पश्चिम पुगेर मोडियो। पुरानो विमानस्थलको आकाशबाट विमान नयाँ विमानस्थलतर्फ जाँदै थियो।

पोखरा-७ मितेरी पुलभन्दा केही तल सानो बस्ती छ। बस्ती छेउमा सेती नदी गहिरिएर बगेको छ। अवतरण अनुमति पाइसकेको जहाज घरमाथिबाट उड्यो। स्थानीय आत्तिए। स्थानीय गंगा मरासिनीले भनिन्, ‘यो जहाज किन यति तल उडेको होला भन्ने सोच्यौं।’

लुगा धुँदै गरेकी गंगा जहाज हेर्न लागिन्। सेती किनारमै उनको घर छ। जहाजको उडान र आवाज स्वाभाविक थिएन।

‘जहाज एकदम ढलपल गरिराखेको थियो, उल्टिएला जस्तो,’ उनले भनिन्, ‘आवाज पनि अर्कै आइराखेको थियो।’

घरमाथि जहाजको उडान र आवाज सुनेको केही सेकेन्डमै जहाज सेती नदीको खोंचमा बजारिन पुग्यो। दुर्घटनास्थल गंगाको घरबाट सबैभन्दा नजिक पर्छ। करिब ५० मिटर अगाडि अर्थात् एकाध सेकेन्डअघि नै जहाज खसेको भए उनको घरमाथि बजारिन्थ्यो।

‘हाम्रो बस्ती जोगाउन पाइलटले पक्कै जहाज सेतीतर्फ लगेका होलान्,’ उनले भनिन्, ‘मुटुले ठाउँ छाडेको थियो, हामी सबै आत्तिएर चिच्याएका थियौं।’

साँघुरो तर गहिरो गल्छी बनाएर बगेको छ, सेती नदी। जहाज खस्दा सेती नदीको पश्चिमतर्फ रहेको बाँसका केही लिङ्गा भाँचिएका छन्। जहाज बाहिरका पाता पश्चिमतर्फका किनारामा असरल्ल छन्। जहाजको केही टुक्रा भने सेती पारि पूर्वतर्फका किनारमा पुगेका छन्।

जहाजका टुक्रा जस्तै यात्रुका शव पनि उसैगरी छिरलिएका थिए। केही वारि र पारिका खोंचमा मानिसका शव थिए। केही क्षतविक्षत थिए। केही भने खोलामा खसेका थिए। जहाजका टुक्रा र मान्छेका शव सेती गल्छीमा जलिरहेको प्रत्यक्षदर्शीले बताएका छन्।

साँघुरो खोंचमा यसरी एटिआर ७२ दुर्घटना हुन पुग्दा सयौं संख्यामा पोखरेली भीड लागेका थिए। नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले डोरीको सहायताले खोंचमा पुगेर शव संकलन गरेका छन्। संकलित शव पोष्टमार्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

नेपाल नागरिक उड्यन प्राधिकरणका अनुसार विमानमा ४ जना चालक दल र ६८ यात्रु थिए। काठमाडौंबाट १०:३२ बजे उडेको उक्त जहाजमा ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र फ्रानसका १/१ जना गरी १५ जना विदेशी थिए। जसमा १० महिनाका शिशु रियान पौडेल पनि छन्। उनको घर कुश्मा पर्वत हो।

यति एयरलायन्सका सिनियर पाइलट कमल केसीले उडाएको जहाजमा को पाइलट अञ्जु खतिवडा थिइन् भने सिर्जना होङचुन र ओसिन आलेमगर एयर होस्टेस थिइन्। उनीहरूमध्ये हालसम्म ६९ जनाको शव फेला परेका छन्। बाँकी ३ जनाको खोजबिन गर्न सशस्त्र प्रहरीले गोताखोर परिचालन गरेका छन्।

दुर्घटनास्थलबाट भेटिएका शव सुरक्षाकर्मीले पोष्टमार्टम गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ। पोष्टमार्टम गर्न लगिएका शवको सनाखत पनि भइरहेको प्रहरीले जनाएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याप्टेन कमल केसीसहित यात्रुका परिवार र आफन्त जम्मा भएका छन्। प्रतिष्ठानको पोष्टमार्टम भवनअघि सयौं संख्यामा जम्मा भएका आफन्त र परिवारको भीडमा चित्कार मात्र सुनिन्छ। धेरैको अनुहार अँध्यारो छ।

पोखराको चाउथे निवासी विजय गुरूङ शनिबार काठमाडौं गएका थिए। आइतबार बिहान फर्किँदा दुघर्टनामा परे। उनकी दिदी पर्ने एक जना वृद्ध पोष्टमार्टम भवन अगाडि बाटो छेउमा रोइरहेकी छिन्। उनलाई आफन्तले सम्झाउँछन्। तर उनले आफूलाई सम्हाल्न सकिरहेकी छैनन्।

हजुरआमा बिरामी भएपछि बागलुङ गलकोट घर भएकी २१ वर्षीय बन्दना सुनार ३-४ दिनअघि मात्र अमेरिकाबाट नेपाल आएकी थिइन्। उनकी हजुरआमा काठमाडौंमै उपचाररत छिन्। साथी र आफन्तलाई ‘सरप्राइज’ दिन उनी आइतबार बिहान कसैलाई नभनी पोखरा आउँदै थिइन्। उनी पनि सोही जहाजमा परिन्।

‘बन्दना नेपाल आएको छ भनेर हामीले त बल्ल आज थाहा पाएको हो, ऊ जहिले पनि सरप्राइज दिएर आउँछ,’ उनकी दिदी जेमी सुनारले आँशु पुछ्दै भनिन्, ‘यो कस्तो सरप्राइज हो !’

जहाजका क्याप्टेन कमल केसी कास्कीकै रूपा गाउँपालिका-३ पोल्याङमा जन्मिएका हुन्। उनका परिवार पोखरा बसाइ आएका छन्। गत दशैंमा गाउँको घर गएको कमलका बुबा वीरेन्द्रबहादुर केसीले बताए।

वीरेन्द्रका जेठा छोरा कमल पाइलट बनेका थिए भने माइला विनोद केसी केहीदिन अघि मात्र छुट्टी सकेर क्यानडा फर्किएका छन्। कान्छा विदुर केसी काठमाडौंमा डाक्टर छन्। तीन छोरीमध्ये कान्छी अमेरिका छन् भने २ छोरी नेपालमै छन्।

गत वर्षमात्र कास्कीको रूपा गाउँपालिकाले पाइलट कमललाई ‘रूपा रत्न’ उपाधिसहित सम्मान गरेको थियो। नेपालका सिनियर पाइलटमा दरिएका कमललाई सम्मान गरेर गाउँपालिकाका युवा पुस्तालाई प्रेरणा र सन्देश दिन खोजेको गाउँपालिका अध्यक्ष नवराज ओझा बताउँछन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुअघि यति एयरलायन्सले गरेको पहिलो परीक्षण उडान पनि क्याप्टेन कमलले नै गरेका थिए। जुन सफल थियो। त्यसपछि कमल नियमित रूपमा जहाज लिएर पोखरा-काठमाडौं आउजाउ गरेको बुबा वीरेन्द्र बताउँछन्।

‘पहिला सानो जहाज लिएर जोमसोम जान्थ्यो, अन्तर्राष्ट्रिय एयरपोर्ट चलेपछि दिनदिनै पोखरा आउँछु बुबा भन्थ्यो,’ वीरेन्द्रले भने, ‘घर आउनचाहिँ भ्याउँथेन।’

क्याप्टेन कमलका कान्छा छोरा काठमाडौंमा पढ्दैछन्। १४ वर्षीय कान्छा छोराले खाना मीठो भएन, पोखरेली जेठोबुढो धानको चामल पठाइदिनुपर्‍यो भनेका थिए। चामलसहित सामान लिएर बुबा वीरेन्द्र आफैं विमानस्थल जान खोजेका थिए। त्यतिबेला कमलले भनेका थिए- मेरो अफिस सेतीको छेउतिर छ बुबा, नआउनु भेट्न पाइँदैन।

त्यसपछि परिवारले अरूसँग सामान पठाइदिएका थिए।

अमेरिकाको टेक्सासमा अध्यन गरेर पाइलट बनेका कमलले २०४६ सालदेखि विमान उडाउन थालेका थिए। वीरेन्द्रका अनुसार सुरूमा उनले भारतको बैङ्लोरमा जहाज चलाए। त्यसपछि नेपाल आएर आरएनएसीको सरकारी जहाज चलाए। त्यतिबेला नेपालमा निजी जहाज कम्पनी थिएन। जब यति एयरलायन्स सञ्चालनमा आयो। १५ वर्षअघि नै यतिमा आवद्ध भएर नियमित जहाज उडाउँदै आए।

‘कमल केसीको फ्लाइटमा जाने हो भनेर सिनियर हाकिमले पनि भनेको सुन्थें, कमलको उडान सुरक्षित हुन्छ भनेर त्यसो भनेका थिए,’ उनले भने, ‘आज के भयो, भयो!’

कमललाई पाइलट बन्न अर्का पाइलट दीपक राणाले प्रेरणा दिएका थिए। राणा नेपाल एयरलायन्समा अहिले पनि जहाज उडाउँदैछन्। राणा र केसीको पारिवारिक नाता छ। पाइलट पढ्दाको खर्च कमलले आफैंले कमाएको बुबा वीरेन्द्रले बताए।

‘घरमा आउँदा बेलाबखत बुबा वीरेन्द्रले अवकाश लिन भनेका रहेछन्। मैले रिटायर हो, पाइलट छोड्दे भन्थें,‘ अनुहार मलिनो बनाएर उनले भने, ‘ठिकै छ बुबा भन्यो। ६५ वर्षसम्म जहाज उडाउन पाइन्छ भन्थ्यो। जे लेखेछ टरेन।’

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको चौरमा पाइलट कमलका बुबा, आमा र बहिनीहरू छन्। आमा मीना केसी रोइरहेकी छिन्। छोराको सम्झना गरिरहेकी छिन्।

‘जिन्दगी केही रहेनछ बाबु। कस्तो साइत गरेर हिँडेछ आजको दिनमा। आज संक्रान्तिको दिनमा पनि किन जहाज चलाएको, भोलि राखिदिएको भए पनि हुन्थ्यो,’ उनले भनिन्।

करिब एक महिनाअघि मात्र कमल नेपालका विद्यार्थी पाइलट लिएर उडान तालिम दिन फ्रान्स गएका रहेछन्।

‘अलिदिन उतै बसेर आइदिएको भए नि हुन्थ्यो नि,’ उनले भनिन्।

तनहुँ फैंचोककी मीना १३ वर्षकै उमेरमा वीरेन्द्रसँग विवाह गरेकी रहिछिन्। जेठा छोरा कमलको जन्मिँदा उनी १५ वर्षको मात्र थिइन्। सबै छोराछोरीले प्रगति गरेको देख्दा उनले आफूलाई सबैभन्दा भाग्यमानी ठानेकी थिइन्।

‘म जस्तो भाग्यमानी कोही छैन भन्थें, तीन छोरा, तीन छोरी थिए। नातिनातिना टनाटन छन्, यस्तो राम्रो थियो मलाई,’ उनले भनिन्, ‘भगवानले लग्यो मेरो बाबुलाई, यस्तो होला भनेर सोचेकै थिइनँ मैले।’

घरीघरी उनी छोरा कमललाई बोलाइरहन्छिन्। उनलाई सम्झाउन आफन्त खटिएका छन्। उनी भने ए बाबु, छोरा कमल भनिरहेकी छिन्।

कमलका आमा र बुबा दुबैले उनीको इमान्दारिता सम्झिएका छन्। कसैको बिगार नगर्ने खालको रहेको बुबा वीरेन्द्र बताउँछन्। आमा मीना भन्छिन्, ‘मेरो कमल मारेर आइजा भन्यो भने जोगाएर आउने खालको थियो। कसैलाई बिराउँथेन।’ढोरपाटनका लागि युवराज श्रेष्ठले लेखेको सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry
4