विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्रीको निर्देशन

-


     जनहित न्युज    
     पौष १५ गते २०७९


काठमाडौं । विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिनु भएको छ ।

प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट फर्किएका नेपालीहरूले ल्याउने मोबाइल नरोक्न निर्देशन दिनु भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते शुक्रबारदेखि पूर्णरुपमा एमडीएमएस प्रणाली लागू गर्ने योजना बनाएको थियो ।

विदेशबाट एकथान मोबाइल ल्याउँदा पनि सरकारले १८ प्रतिशत कर लिन लागेको भन्दै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले व्यापक विरोध गरेका थिए । उनीहरुले रेमिट्यान्सबाट पैसा पठाउन रोक्ने भन्दै सामाजिक सन्जालमा ‘नो रेमिट्यान्स’ अभियान चलाएका छन् ।

दूरसञ्चार प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले प्राधिकरणले यसअघिकै प्रणालीबाट फोन ल्याउने र एमडीएमएसमा दर्ता गर्ने र दुईभन्दा धेरै फोन ल्याउँदा जफत हुने भनिएको कुरा हाललाई रोकिएको बताए । 

उनले भने, ‘पहिलेकै जस्तो गरि दर्ता हुन्छ । फोन जफत गर्ने भन्ने कुरा हाम्रो क्षेत्राधिकारको भन्दा पनि भन्सारको कुरा हो । त्यसलाई अहिले रोकिएकोमा सूचना जारी गरिएको छ ।’

प्राधिरणले गत पुस ९ गते सूचना जारी गर्दै पुस १५ बाट आईएमईआई अनिवाई रुपमा दर्ता गर्नुपर्ने व्यवस्था गर्ने जानकारी दिएको थियो । यस सूचनामा प्राधिकरणले विदेशबाट आउनेले नीजि प्रयोजनका लागि ल्याउने आफ्नो फोनबाहेक दोस्रो फोनमा १८ प्रतिशत भन्सार लाग्ने र तेस्रो फोन पनि ल्याएको भएमा जफत नै गरिने भनेको थियो ।

प्राधिकरणको सूचनाकाअनुसार नीजि प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरु दर्ता प्रक्रियालाई सरलीकरण गर्न निर्देशन भएकाले अर्को सूचना जारी नहुँदासम्म यसअघिको सूचनामा भनिएको व्यवस्था लागु हुने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry