क्रोएसिया बन्यो फिफा विश्वकपको तेस्रो स्थानको विजेता

-


     जनहित न्युज    
     पौष ३ गते २०७९


फिफा विश्वकप अन्तर्गत आज सम्पन्न तेस्रो स्थानको प्रतिस्पर्धामा क्रोएसियाले मोरोक्कोलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा क्रोएसियाले मोरोक्कोलाई २-१ गोलअन्तरले हराएको हो।

खेलको ७ औं मिनेटमै जोस्को ग्भारडिओलको गोलमा क्रोएसियाले खेलमा अग्रता बनाएको थियो। तर, त्यसको दुई मिनेट नबित्दै एचरफ डारीले गोल गर्दै मोरोक्कोलाई बराबरीमा ल्याए। प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाका लागि दोस्रो गोल मिस्लाभ ओर्सिचले ४२ औं मिनेटमा गरे। दोस्रो हाफमा दुबै टिमले गोल गर्न नसक्दा क्रोएसिया फिफा विश्वकप २०२२ को तेस्रो स्थानमा रहन सफल भयो।

यी दुई टोली एउटै समूहबाट समूहविजेता र उपविजेता बन्दै आएका हुन्। समूह ‘एफ’ मा यसअघि भिड्दा यी दुई टोली गोलरहित बराबरीमा रोकिएका थिए। अन्तिम १६ मा क्रोएसियाले जापानलाई र क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा हराएको थियो। सेमिफाइनलमा भने अर्जेन्टिनासँग ३-० गोलअन्तरले पराजित हुँदै उपाधि होडबाट बाहिरिएको थियो। अर्कोतर्फ अन्तिम १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको मोरोक्कोले क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोलअन्तरले हराएको थियो। सेमिफाइनलमा भने फ्रान्ससँग २-० गोलअन्तरले पराजय ब्यहोरेको थियो।

विश्वकपको उपाधिका लागि आइतवार अर्जेन्टिना र फ्रान्स  भिड्दैछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry