प्रवासमा नेपाली पत्रकारिता : निजी स्वार्थमा ढल्पलाइरहेको त छैन ?

-


     डिल्ली अम्माई    
     मंसिर २५ गते २०७९


सन् २००३ मा नेपालीहरुको साझा संगठनको रुपमा एनआरएनएले औपचारिकता पायो। अर्थात संसारभरि छरिएर रहेका नेपालीहरुको व्यापारिक तथा सामाजिक हितलाई ध्यानमा राखेर उपेन्द्र महतो, देवमान हिराचन, श्याम कार्की, भिम उदास, राम थापा, जीवा लामिछानेलगायतको पहलमा एनआरएनएले सांगठानिक आकार लियो। यसलाई नेपाली डायस्पोरामा भएको साझा संगठन भनियो। खयर, यो संस्थालाई साझा वा छाता संगठन मान्ने सवालमा कसैको फरक मत नहोला भन्न सकिन्न।

तर डायस्पोरामा नेपाली पत्रकारिताको इतिहास त्योभन्दा लामो छ। प्रवासमा नेजा, इन्जा, सोभियत कालिन रसियन नेपाली सेवा, बीबीसी नेपाली सेवा, भारतबाट सञ्चालित नेपाली एकता साप्ताहिकलगायत मिडिया वा पत्रकारिता क्षेत्रको भन्दा एनआरएनएको इतिहास छोटो छ।

कुनै न कुनै रुपमा नेपालीहरुले डायस्पोराका नेपाली गतिविधिहरु, सामाजिक सूचनाहरु र भाषा तथा संस्कृति जोगाउने अभियानहरुबारे समाचार बनाएर पेशागत रुपमा नेपाली पत्रकारहरुले समाज सेवा गरिरहेका छन्। भारत, बेलायत तथा अमेरिका पुगेका नेपाली सञ्चारकर्मीहरुले धेरै अगाडिदेखि नेपालमा रहेका अनलाइन, प्रिन्ट मिडिया तथा नेपालमा रहेका मुलधारका मिडियामार्फत डायस्पोराका गतिविधिहरुबारे समाचार सम्प्रेषण गर्दै आएका छन्। त्यसलाई हामीले सञ्चार कर्मको रुपमा लिन सक्छौं। तर भारतबाट सञ्चालित एकता संदेश, बीबीसीलगायतका ठुला मिडियामा काम गर्ने पत्रकारहरुले भने पत्रकारितालाई पूर्ण व्यावसायिक रुपमा नै स्थापित गरेका छन्।

सोभियत संघको पालामा रसियन नेपाली सेवामा समेत केही नेपाली सञ्चारकर्मीहरुले काम गरेको सबैलाई अवगत नै छ। तीबाहेक अहिले हामीले विभिन्न देशहरुबाट पत्रकारिता गरिरहेका छौं। प्रवासबाट अधिकतम आत्मरति (आत्मा सन्तुष्टि) को लागि सूचना संवाददाताको रुपमा काम गर्दै आएका छौँ। हाम्रो सन्दर्भमा भन्नुपर्दा, एकातिर हातमुख जोड्ने समस्याले अन्य काम गर्नुपर्ने बाध्यता छ भने अर्कोतिर आफ्नो आत्मरतिको कारण नेपालमा गरिआएको पत्रकारितालाई छोड्न पनि सकिरहेका छैनौँ।

यसै विषयमा अमेरिका-नेपाल टेलिभिजनकी संस्थापक रमा सिंहले एक कार्यक्रममा भनेकी थिइन्, ‘करिब दुई तिहाइ जीवन टेलिभिजन पत्रकारितासँग जोडिएर बित्यो, अहिले यो एक प्रकारको लतझैं बनेको छ।’ उनको भनाइअनुसार यो लतको निरन्तरता हो कि पत्रकारिता, के भइरहेको छ, भेउ पाउनै मुस्किल छ। भन्छिन्, ‘जीविकोपार्जनका लागि अन्त काम गरेर हामीले थकाइ मार्ने समयलाई चाहिँ समाचार र कार्यक्रम निर्माण गर्न छुट्टयाएका छौं।’

यसर्थ, नेपाली डायस्पोराका अधिकतम पत्रकारहरुको अवस्था सञ्चारकर्मी रमा सिंहले बताएकै धरातलमा छ भन्दा फरक नपर्ला। यसलाई कसैले ‘फुर्सदकारिता’ वा ‘जसोतसो पत्रकारिता’ को उपमा दिएका छन्। सन् २०१० को दशकपछि फुर्सदमा पत्रकारिता गर्ने सञ्चारकर्मीहरुले यो वा त्यो रुपमा नेपाल पत्रकार महासंघसँग सहकार्य गर्न थालेका छौँ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघले युरोप शाखा, बेल्जियम शाखा, बेलायत शाखालगायत सात/आठवटा शाखालाई आंगिक रुपले समेट्ने काम गरिसकेको छ। शाखा निर्माण गर्ने क्रम अझै बढ्दो छ भने स्वतन्त्र रुपमा पनि नेजा, इन्जालगायत पनि नेपाली पत्रकारहरुको सुरक्षा चिन्ताको सम्बोधन र क्षमता अभिवृद्धिको लागि भन्दै क्रियाशील रहेको देखिन्छ।

नेपाली डायस्पोरामा काम गर्ने प्रयास गरिरहेका पत्रकारहरुमध्ये कतिपय अलिक अनुभवी र तालिम प्राप्त पत्रकारहरु पनि छन् भने कतिपय रहर पुरा गर्नको लागि पत्रकार बन्नेहरु पनि छन्। यी सबै नेपाली संगठित वा असंगठित रुपमा क्रियाशील पत्रकारहरुको लागि बेलाबेलामा भेटघाट र अनुभवहरुको आदान प्रदानले पनि अध्ययन सामाग्रीको काम गरेको हुन्छ। तर तालिम वा क्षमता अभिवृद्धिको लागि गरिने सेमिनारलगायत अन्य गतिविधिमा प्रवासी नेपाली पत्रकारहरुको अवस्था अझैसम्म त्यति उत्कृष्ट देखिएको छैन।

प्रवासमा रहेका नेपाली पत्रकारहरुको गुणात्मक क्षमताले नै हाम्रो पत्रकारितालाई समुदायमा विश्वासिलो बनाउने हो। हाम्रो समाचारको विश्वासले नै समुदायमा सचेतना तथा जिज्ञासालाई तिखार्ने काम गर्छ र समुदायलाई हरेक खराब गतिविधिको खबरदारी गर्ने तहसम्म उठाउँछ। यसर्थ, नेपाली डायस्पोराका तमाम संघ-संगठनमा सूचनाको पहुँच स्थापित गर्दै उनीहरुका गतिविधिहरुको समीक्षामा समुदायलाई प्रशिक्षित गर्नु प्रवासी नेपाली पत्रकारहरुको मुल उद्धेश्य हुनुपर्छ।

अर्कोतर्फ हामी जुन देशको कानुनी दायराभित्र रहेर समाचार सम्प्रेषण गर्छौं, त्यहाँको सांस्कृतिक र कानुनी आयामलाई पनि बुझ्नु आवश्यक हुन्छ। त्यहाँका स्थानीय वा राष्ट्रिय सञ्चारकर्मी, स्राेत व्यक्ति र उनीहरुको सञ्जालसंगको सहकार्यलाई हामीले ध्यान दिएनौं भने हामी धेरै प्रकारका उल्झनहरुमा फस्ने खतरा रहिरहन्छ। त्यस्तै उनीहरुका मिडिया ट्याक्टिस, प्रविधि र विकसित शैलीहरुबाट हामीहरुले तब मात्र सिक्न सक्छौं, जब हामी उनीहरुका गतिविधिसंग नजिकिन्छौँ। यस विषयमा हामीले कति सक्रियता देखाएका छौँ, नेपाल पत्रकार महासंघका वैदेशिक शाखाहरुलाई हामीले सम्बन्धित देशका कुटनैतिक निकाय र स्थानीय पत्रकारिताको स्राेतसंग कुन हदसम्म जोड्न सकेका छौँ, यस विषयमा डायस्पोराका नेपाली सञ्चारकर्मीहरुले आत्मा समीक्षा गर्न ढिला गर्नु हुँदैन।

आफूभित्रका गल्ती देख्न नसक्ने, अरुको आलोचना सहन नसक्ने र पत्रकारिताको मुलभूत समीक्षा गर्न नसक्ने पत्रकारले समाजमा सूचना तरङ्ग वा विश्वास दुवै पैदा गर्न सक्दैन। यसर्थ, बिटअनुसारको क्षमता वा ज्ञान आर्जनमा आफूलाई तिखार्दै लग्नु पत्रकारिताको पहिलो सर्त हो। अर्को कुरा, पत्रकारलाई उसको रुचि र क्षमताअनुसार मिडिया हाउसले रिपोर्टिङको जिम्मा दिन सक्नु पर्दछ। त्यसले पत्रकारितामा समुदायको विश्वास पैदा गर्दछ।

हामी नेपाली डायस्पोराहरु आफ्नै पत्रकार संघभित्र र बाहिर भएका पत्रकारहरुको विषयमा चर्चा गरौँ। आफ्नै संगठनभित्रका दुर्नियत, पक्षधरता र पहेँलो पत्रकारिताबारे निर्मम समीक्षा गर्नु जरुरी देखिएको छ। प्रवासबाट नेपालका मुख्य मिडिया र आफ्ना अनलाइनमा काम गर्ने दुई/तीन दर्जनभन्दा बढी पत्रकारहरू छैनन्।

सन् २०१२ सालको युरोप शाखाको स्थापनापछि निरन्तर पदाधिकारी भएका र नेपालका राजनैतिक दलअन्तर्गत रहेका भात्री पत्रकार युनियनका विभिन्न ओहोदामा पुगेका पत्रकारहरु अहिले पार्टी तथा पत्रकार संघ दुबैतिर क्रियाशील छन्। तर हाम्रो आचारसंहिता र स्वतन्त्र पत्रकारिताबारे कुरा गर्दा अस्वाभाविक कुतर्कमा हामीहरु नै उत्रन्छौं। उनीहरूले आफू संलग्न भएको पार्टीसंग सूचनाको स्वार्थ बाझियो भने हामीले पार्टीकै पक्षधरता लिन्छौँ। त्यसैले स्वतन्त्र र निष्पक्ष पत्रकारिताको रक्षाको लागि हामीले बेलैमा सोच्न जरुरी हुन्छ।

सन् २००३ देखि नै केही पत्रकारहरुले सहकार्यको नाममा एनआरएनएका नेतृत्वको गुलामी गरिरहेको आरोप लाग्दै आएको छ। एनआरएनएका संस्थापकदेखि पछिल्लो कार्यकालसम्मका संस्थागत विकृतिबारे तथ्यपरक समाचार बनाउन नसकेको आरोपबाट प्रवासका पत्रकारहरु अझैसम्म मुक्त हुन नसक्नु दुखद कुरा हो।

हामी हाम्रै पत्रकार संगठनभित्रका अथाह शोषण, विकृति र बेथितिहरुको बारेमा चुइँक्क बोल्नु त परै जाओस् सामान्य समीक्षासम्म पनि गर्न सकिरहेका छैनौँ। नेपाल पत्रकार महासंघ युरोप शाखामा भएका विधानविपरीत गतिविधिले समुदायको बीच हाम्रो विश्वासलाई धज्जी उडाएको थियो। जसले हामी आफैँलाई समुदायले औंला उठाउने अवस्थाको सृजना गर्यो।

मतलब, हामी आफैँ पनि कहिल्यै पारदर्शी भएनौँ, आफूतर्फ फर्किरहेका चार औंला कहिल्यै देखेनौँ। वैदेशिक शाखाका अधिवेशनहरु कहिल्यै दाउपेचरहित र सम्झन लायक भएनन्। अब यसको समीक्षा गर्नुपर्ने कि नपर्ने? के को लागि हामीले शाखाको माग गरेका थियौँ र कुन उद्धेश्यको लागि शाखाको निर्माण गरेका हौँ? आधारको खोजी गरौँ।’

आफ्नो भजन लेखाएर र बोलाएर मात्र हामी पत्रकार बन्न सक्दैनौँ। त्यसको लागि पत्रकार स्वयम् जिम्मेवार बन्नुको विकल्प हामीसंग छैन। समुदायको लागि निर्मम समीक्षा, स्वतन्त्र सूचना सम्प्रेषण र समुदायको हितको लागि बोल्न सकौँ, मिडियाको निष्पक्ष प्रयोग गर्न सिकौं। आफैँ पारदर्शी नबनी अरुलाई अर्ति-उपदेश दिँदा मात्र व्यवहार र विधानबीच विरोधाभासको अवस्था आउँछ भन्ने कुरा बेलैमा बुझ्नु जरुरी छ।

हाम्रो पत्रकारिताको मुल समस्या भनेको क्षमता र नियतमा पनि देखिएको छ। सूचनामा नियत वा आग्रह मिलाउनु कदापि हुँदैन। यसले हामीले बनाएको फिल्ड समाचारलाई गोलमटोल पार्दछ। त्यसले पत्रकारिताको थिम कमजोर बनाइदिन्छ। डेप्थ स्टोरीको सम्प्रेषण नै कमजोर भएपछि पत्रकारिता कस्तो हुन्छ? त्यसैले सम्प्रेषण खण्ड बलियो बनाउन छलफल गर्नु आजको टड्कारो आवश्यकता हो।

निर्मम समीक्षात्मक रिपोर्टको त कुरै छाडौँ, प्रवासी नेपाली मिडियामा गहन समाचार सम्प्रेषणसमेत कमजोर स्तरमा छ। यत्रतत्र कपी पेष्ट, नियोजित र बनावटी स्टोरीले प्रवासी अनलाइन भरिएको छ। सूचनाका सामाग्री र प्रमाणहरुको अवस्था कमजोर छ। हामीले लेखेका समाचारमा प्रमाण र स्राेतहरुको परिपक्वताले नै गल्ती गर्नेहरुलाई कानुन र समुदायको अगाडि ल्याइदिने हो। अर्को कुरा, प्रमाणहरुले नै समाचारको साथै पत्रकारहरुको समेत स्तर मापन गरिन्छ।

तर, पत्रकारितामा फिल्ड रिपोर्टले एकहदसम्म प्रमाणको काम गर्दछ। अर्थात फिल्ड रिपोर्ट आफैँमा एक प्रमाण हो। त्यस्तै पीडितका बयान, प्रयोग गरिएका कागजात र पीडित र पीडकबीचको बयानको विश्लेषणले झन् धेरै तथ्यहरुलाई कानुनी कारवाहीको नजिक पुर्याइदिन्छ। तर हामीले सञ्जालको विश्लेषण गरेर समाचार बनाउन समेत डराइरहेका हुन्छौँ।

नेपाली डायस्पोरामा समुदायले विश्लेषण गर्न सक्ने समाचार किन आएका छैनन्? एनआरएनए र अन्य संगठनभित्र र बाहिर हुने यस्ता अनेक काण्डहरु छन् जसलाई हामीले बाहिर ल्याउन सक्छौं। ती सबै अपराध, मानव तस्करीको जालो, हुण्डी र शोषणका तथ्यहरु सार्वजनिक हुनुपर्ने हो कि हैन? नजिकको कोही रिसाउने वा धम्की आउने डरले यस्ता समाचार दबाइएका हुन्छन्। त्यो पत्रकारिताको नाममा जघन्य अपराध हो।

हामीले सन् २०१७ मा माल्टा पुगेर पीडितहरुसंग पुगी मानव तस्करीको सञ्जालबारेमा एउटा रिपोर्ट तयार पार्यौं। घटना र विचार साप्ताहिकले त्यसलाई महत्व दिएर प्रकाशित गर्यो। त्यसले नेपालमा रहेका केही म्यानपावर र युरोपमा रहेका केही मानव तस्करहरु कानुन र समुदायको समक्ष निगरानीमा परे। माल्टा बसेर हुण्डी काराेबार गर्ने केही नेपालीलाई समेत नेपाल सरकारले निगरानीमा राख्न बाध्य भयो। त्यो समाचारले एकहदसम्म कानुनलाई सहयोग गर्यो।

एनआरएनएकाे बालुवाटार जग्गा प्रकरणको खोजपूर्ण समाचारले संसारभरिको नेपाली डायस्पोरामा हुण्डरी मच्चियो। धेरै धम्कीहरुको सामना गरियो। बेल्जियमको एसेण्ट्रा मेलामा भएको मानव तस्करीको भण्डाफोर पनि त्यसमध्ये एक हो। अहिले स्विडेन र बेल्जियमको बैठकसंग जोडेर आएका त्यस्तै प्रकरणहरुमा हामी केही पत्रकारहरुले कलम सुताएर बस्न सकेनौँ। यसमा पनि प्रेस काउन्सिलमा मुद्धा हाल्ने धम्की र केही गुनासाहरु आए तर प्रवाह गरिएन। पीडितहरुमार्फत आएका प्रमाणहरु राखेर समाचारहरु प्रकाशित भए। यो नेपाली डायस्पोराको पत्रकारिता क्षेत्रमा एकदमै सकारात्मक पक्ष हो। पत्रकारिता बन्दुकभन्दा शक्तिशाली हुन्छ भनेर त्यसै भनिएको होइन।

समाचारको लागि सूचना आदान प्रदान गर्ने प्रसंगमा होस् वा मौलिक रुपले समाचार निर्माण गर्ने कुरामा होस् पत्रकार मित्रहरुबाट प्रेरणा मिल्नुपर्ने हो। पाएका सूचना लुकाउने र समाचार दबाउने कुरामा हामी अग्रसर हुने होइन। यी समस्या वा जोखिमको बारेमा हामी हराइरहेका छौँ जस्तो लाग्छ। हामीमा धेरै समस्याहरु छन्। हामीमा भएका यावत नियतगत र आत्मागत समस्या वा नियतहरूबारे निर्मम समीक्षा गर्नु नितान्त जरुरी छ। दुख लाग्ने कुरा त के हो भने, हामी आफैँ पत्रकारहरु पत्रकार हुन छाडेर नेता वा एनआरएनएका अभियन्ता जस्तै हुने दौडमा छौँ। त्यो के को मोह हो, हामी आफैँलाई थाहा छैन। कमसेकम पत्रकार हरेक प्रकारको मोहजालबाट बाहिर निस्कन आफैँले प्रयत्न गर्नु पर्दछ।

हामीले पत्रकारिताको तालिम लिँदा पत्रकारिता जागिर होइन, पेशा हो भनेर गुरुहरुले भन्ने गर्नुहुन्थ्यो। त्यो बेला मानवीय स्वतन्त्रता र प्रकृति मैत्री वातावरणको लागि पनि पत्रकारको ध्यान जानुपर्छ भन्ने कुरा सिकियो। आगामी आधुनिक युगमा त झन् हाम्रा धेरै क्षेत्रहरु र दायित्वहरु बढेका छन्। अन्तर्राष्ट्रिय जगतमा पत्रकारका हातहरु मानव केन्द्रित मात्र नभएर जीव जगतको सुरक्षा समेतलाई ध्यानमा राख्दै ब्रम्हाण्ड केन्द्रित हुँदै गएका छन्। अर्थात पत्रकारहरु वास्तवमा अन्तर्राष्ट्रिय सूचना सम्बाहक बन्दै छन्।

हाम्रा सम्पादक, पत्रकारहरु पनि मालिकको आदेशअनुसार संवाददाताहरुका समाचार प्लटहरुमा हतबन्दी तोक्ने रोगले ग्रसित भएका सूचनाहरु आइरहन्छन्। पत्रकारितामा हतन्बदी तोक्नु गलत रोग हो। पत्रकारितामा तथ्य लुकाउने वा बंग्याउने गर्दा स्टोरी फेक बन्न जान्छ। त्यसले पत्रकारितामा आम समुदायसँग अविश्वासको वातावरण बन्ने खतरा हुन्छ भने समाचारको स्तर पनि खस्कँदै जान्छ।

रिपोर्टिङको स्तरले पत्रकारको क्षमातालाई देखाउँछ। प्रवासबाट गरेका हाम्रा समाचारहरु विशेष गरी आशातीत छन्। पुराना र अनुभवी पत्रकारहरुले बनाएका कथाहरु सवल नै हुने गरेका छन्। तर पेशागत रुपमा काम नगरेका रिपोर्टरमा कमजोरी देखिनुको प्रमुख कारणहरुमा पत्रकारिताको आधारभूत ज्ञानको अभाव, अनुभवको कमी, मिडिया हाउस र सम्पादकसंगको तालमेल आदि पर्दछन्। रहरले बनाएका अनलाइनहरुमा खास गरी पत्रकारिताको स्तर मेण्टेन्त गरेको गरेको देखिँदैन।

माथिका कमजोरीको पहिलो कारण हामी आफैँ हौँ। उदाहरणको लागि- आफ्ना साथीहरुलाई पत्रकारितामा तान्ने बहानामा कुनै राजनैतिक मिसनको लागि र संघको चुनावमा समर्थनको लागि समेत हामीले गैह्र-पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सदस्यता माग गरिरहेका हुन्छौँ। सम्बन्धित सरकार, एनआरएनए वा पार्टीका नेताहरुले पनि फेवर खोज्ने चाहनाले त्यस्तै व्यक्तिहरुलाई प्रेस सल्लाहकार बनाइरहेका हुन्छन्। हाम्रा सहकर्मीहरुले पनि त्यसलाई सहज रुपमा स्विकारी दिनुहुन्छ। सम्पादकको हकमा पनि मालिकको स्वार्थले काम गरिरहेको हुन्छ। त्यसैले असल, दक्ष र स्वाभिमानी पत्रकारहरु अहिले पनि नेपाल पत्रकार महासंघलगायत पत्रकार संघसंगठनको नेतृत्वमा पुग्न नसकी रहेका गुनासा यत्रतत्र सर्बत्र छन्।

पत्रकारहरु धेरै ठाउँमा मिडिया हाउसबाट पेलिएका र हेपिएका छन्। मिडिया हाउसभित्रको कुरा गर्नु पर्दा सम्पादक र रिपोर्टरबीचको तलबी अन्तरले पनि श्रमजीवी पत्रकारहरु कति शोषित छन् भन्ने कुरा देखाउँछ। यस विषयमा हामी पत्रकारहरुले प्रश्न राख्नै डराउँछौँ। यो समस्या डायस्पोराका नेपाली पत्रकारहरुको समस्याभन्दा पनि नेपलाका समाचारदाताहरुको मुख्य समस्या हो। डायस्पोराको सन्दर्भमा हाम्रो सेवा लगभग निशुल्क हो भन्दा हुन्छ।

विशेष गरी प्रवासमा हाम्रो अनुसन्धान पत्रकारिता कमजोर देखिएको छ। गम्भीर विषयहरु प्रवासमा भएका ट्रयाक मिडियाले पर्दाफास गर्नुपर्ने होइन? सबैतिरका नेपाली मिडियाले अनुसन्धानमूलक समाचारमा लगानी हुनुपर्दैन? प्रवासका मात्र नभएर नेपालका सम्पादकहरुको समेत मानव तस्करहरुसंगको नाजायज हिमचिम, चाकडी, सम्मान र आर्थिक लाभबारे कुराहरु बाहिरिरहन्छन्। यी विषयबारे छलफल गर्न हामी आचारसंहिताको कारणले रोकिन्छौँ।

सञ्जालले पत्रकारितामा पारेको प्रभावको कुरा गरौँ, खोज पत्रकारिता, फिल्ड रिपोर्टिङ र तथ्य प्रमाणहरुको संकलनका कुराहरुमा भन्दा हाम्रो ध्यान सामाजिक सञ्जालमा आएका कुराले बढी आकर्षित गर्दै गएको छ। स्रोतको पुष्टि र प्रमाण नभएका सामाजिक सञ्जालका फेक सूचनालाई आधार बनाएर हामीले न्युज बनाउन थालेका छौँ। जसको कारण पत्रकारहरु क्रमश सामाजिक उत्तरदायित्वबाट बिमुख हुँदै सामाजिक उत्तेजनामा बहकिँदै गएका छौं। स्राेतबाट प्राप्त प्रमाणहरुको दुरुपयोग हुने गरेका कुराहरु कहिलेकाहीँ बाहिर चुहिने गरेका छन्। जसले हामीप्रतिको सामाजिक उत्तर दायित्वलाई गिज्याइरहेको हुन्छ।

तथ्यहरु बार्गेनिङ्ग टुल्स

रिपोर्टरले धेरै दुख गरेर समाचारका तथ्यहरु संकलन गर्छ, स्टोरीको निर्माण गर्छ र सम्पादकलाई पठाउँछ। तर सम्पादक र लगानीकर्ता मिलेर तिनै स्टोरीले भ्रष्टाचारी वा तस्करलाई ब्ल्याकमेल गर्ने गरेका आरोपहरु पनि सुनिँदै आएका छन्। त्यसैले बेलाबेलामा देखापर्ने पत्रकारिताभित्रका यस्ता विकृतिहरुबारे बहस चलाइनु आवश्यक हुन्छ। अझ खोज पत्रकारिताको पर्खालभित्र यस्ता विकृतिहरु काला धन्दाको रुपमा विकास हुन थाले भने पत्रकारिताको अवस्था के होला? अनुमान मात्र गर्न सकिने कुरा भयो। कर्पोरेट मिडिया हाउसका मालिकले अनुमोदन गरेका खोज सामाग्रीबाहेक अन्य समाचार मिडियामा आउन नसक्ने अवस्थाको सृजना हुँदै गएको देखिन्छ।

पत्रकारिताको क्षेत्रमा सूचना दबनउने रोग फैलिन थाल्यो भने त्यसले समुदाय, देश र विश्वकै सूचना न्यायमा गम्भीर अवरोध पुर्याउन सक्ने छ। अहिले पश्चिमा सूचना दबदबा र लगानीले गर्दा बहुराष्ट्रिय कम्पनीले वातावरणको क्षेत्रमा पुर्याएको विनास र अमेरिकी सेनाले संसारभर मच्चाइरहेको आतंक, आर्थिक उदारीकरण, खुला बजार अर्थनीति र सामरिक उत्पीडनको बारे कहिँकतै उल्लेख नै हुँदैन। यसले समुदायको सहि सूचनाको पहुँचलाई राेकिरहेको छ। यो विश्व समुदायको लागि सत्य सूचना पहुँचमा पत्रकारहरुबाट भएको एक अपराध हो।

तालिम वा प्रशिक्षण

हामीले नेपाली डायस्पोराका पत्रकारहरुलाई खोज पत्रकारिताबारे कहिँकतै तालिम दिएको थाहा छैन। हाम्रो क्षमता जागृत गर्नको लागि तालिम, प्रशिक्षण र पत्रकारिता शिक्षाबारे प्रारम्भिक ज्ञान हुन आवश्यक छ। हामीले आफूलाई पत्रकार भन्न खुब रुचाउँछौँ तर अभ्यासमा रहेका पत्रकारिताका प्रकार र त्यसका रुप (पत्रकारिता लेखनको प्रकार)को बारेमा सोध्ने हो भने सहि उत्तर आउने अपेक्षा न्यून देखिन्छ। संसारभरि पत्रकारहरुलाई तालिम कि त मिडिया हाउसले दिने हो कि प्रेस संगठनले।

प्रवासमा खासमा बेलायत र अमेरिकाबाहेक नेपाली मिडिया हाउस छन् जस्तो लाग्दैन। क्षमताकै कारणले प्रवासमा नेपाली खोज पत्रकारिताको अवस्था नाजुक छ। नेपालको सन्दर्भमा पनि मिडिया हाउसले खोज पत्रकारितामा लगानी गर्न छाडेका छन्। सामान्य रिपोर्टरले जे जस्तो समाचार दिए बस् त्यसको भर।

नेपालमा पनि फिल्ड रिपोर्टङ र खोज पत्रकारिताको क्षेत्रमा अपिल त्रिपाठीले सञ्चालन गरेको गण्डकी छड्केलगायतका केहीले आशा जगाए पनि समग्रमा अवस्था नाजुक नै छ। प्रवासमा बिटलाई बायस गरिएको अनलाइन न्युज, लामो अनुसन्धान र खोज बिनाका प्रतिशाेधात्मक आरोप पत्रबारे समुदायले बेलाबेलामा गुनासो गर्ने गरेका छन्। त्यसलाई पत्रकारहरुले समीक्षा गर्ने र सुधार गर्दै अगाडि बढ्ने काममा सम्बन्धित पक्ष नै उदासिन देखिन्छ।

प्रिन्ट समाचार पत्रिका

प्रिन्ट मिडियाको अवस्था झन् उदेक लाग्दो छ। सबैले आफ्ना पानाहरु घटाउँदै लागेका छन्। प्रिन्ट मिडियामा जनशक्तिको अवस्था, खोज पत्रकारिता र स्तरिय फिचरहरुको अवस्था दयनीय बन्दै गएको छ। फिल्डको रिपोर्टङमा लगानी गर्न छाडिएको छ। जनसमुदायका आवाजसंग जोडिनु पर्ने पत्रकारिता नेता र रियलस्टेटका व्यापारीहरुसंग जोडिन थालेका गुनासाहरु आउन थालेका छन्। पत्रकारहरु नै घर जग्गाको दलालीमा लगानी गर्ने अवस्थाको सृजना भएपछि कसले गर्छ पत्रकारिता क्षेत्रमा लगानी?

डायस्पोरामा पत्रकारहरुको अवस्था योभन्दा भिन्न के मानेमा छ भने उनीहरुको प्रिन्ट मिडिया हाउसमा जागिर छैन, अथवा त्यो अवस्था कमजोर छ। प्रवासका अधिकांश नेपाली पत्रकारहरुले लगभग निशुल्क अनलाइन र सूचना सेवा दिएका छन्। निष्पक्ष र विश्वसनीय समाचार सम्प्रेषणको हकमा रिपोर्टिङको अवस्था फियर भने देखिँदैन। भएका अनलाइन पनि बिटअनुसार काम गर्ने अवस्थामा छैनन्। कारण प्रवासमा आफ्नो बिटमा दक्षता हासिल गरेका पत्रकारहरुको उपस्थिति नै न्यून छ।

प्रवासमा संयुक्त मिडिया हाउस

नेपाली डायस्पोरामा लगानी गरेर मिडिया हाउस बनाउन नसकिने हैन, त्यो बेलायत, अमेरिका, हङ्कङ, युरोपलगायतका देशमा सम्भव छ। केही ठाउँमा बाहेक डायस्पोराका नेपाली पत्रकारहरुले त्यो सहास गर्न सकिरहेका छैनन्। पत्रकारिता पेशा र सेवाभन्दा पनि समय बिताउने मनोरञ्जनको माध्यम र अरुका विरुद्ध प्रयोग गर्ने हतियार बन्दै गएको छ।

केही समय अगाडिको कुरा हो, अमेरिकामा भएका पत्रकारहरुको सञ्जालको एक कार्यक्रममा समुदायका एक व्यक्तिले उपस्थित पत्रकारहरुको अवस्थालाई हेरेर आफ्नो जिज्ञासा राखेका थिए- ‘दाइ, यहाँ त मेनस्ट्रिममा काम गर्ने एक्टिभ पत्रकार त कोही देखिनँ नि।’ लेखक तथा स्तम्भकार लेखनाथ भण्डारीले प्रश्नबारे प्रस्ट्याउँदै भनेका थिए- ‘हेर्नुस् भाइ, प्रवासमा हामी पत्रकारिता गर्दाको धङ्धङी मेटाउन खोजिरहेका हौं। जस–जसलाई यो तलतलले पिरोल्छ, फुर्सद मिल्यो भने उनीहरु यो क्षेत्रमा आएर आफ्नो तृष्णा मेटाउँछन्। त्यसैले यो क्षेत्रमा आउनका लागि कोही बाध्य छैन।’

माथिको भनाइले नै थाहा हुन्छ कि प्रवास क्षेत्रभित्र पत्रकारको नाउँमा कर्तव्य र विवेकले हैन, अधिकतम धङ्धङी मेटाउने साेखले काम गरिरहेको छ। जे जति यो क्षेत्रमा नेपाली पत्रकार छन् कतिपय मात्र साेख मेटाउन लागेका छन्। आखिर प्रवासमा रहेका नेपाली पत्रकारहरुको अवस्था लेखनाथ सरले भनेजस्तै हो।

अब हामीले प्रवासी नेपाली पत्रकारिताको आत्मसमीक्षा गर्दै सर्वप्रथम क्षमता विकासको दौडमा होमिनुको अर्को विकल्प छैन। हामीले आफ्नो स्तर मापन आफैँ गर्दै जिम्मेवार बन्न सक्नु पर्दछ। हामी आफूतर्फ फर्कौं, हामी कहाँनेर छौं, ज्ञान र क्षमताको पारख गरौँ र बल्ल समुदायतर्फ फर्कौं। त्यसपछि थाहा हुनेछ हामी कतै आफ्नो तुष्टिको मार्गमा मात्र बहकिएका त छैनौँ? यदि छौँ भने हामी सच्चिनै पर्छ। हाम्रो नियतबाट परिचालित हुने लहडी शैलीलाई बदल्नै पर्छ।

हाम्रो पत्रकारिता अधिकतम मेहनत समुदायको लागि होस्, मानवताको लागि होस्, प्रकृतिका लागि होस्। जसले धन र मेसिनको आवाजलाई होइन सृष्टिको सुरक्षा, प्रकृतिको सन्तुलन, मानव समुदायभित्रको पीडा तथा चित्कारलाई चिनोस्। बलियो सामाजिक सम्बन्ध, चिन्तन, सम्बन्धित पक्षको ज्ञान र मानवीय सारका कारणले मात्र हाम्रो पत्रकारिता माथि उठ्ने छ।

समसामयिक आलेख रहेकोले ब्रेकलिंक डटकमबाट साभार गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry