शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको कार्यकालमा शिक्षा क्षेत्रमा धेरै सुधार

-


     जनहित न्युज    
     कार्तिक २२ गते २०७९


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बागलुङ–२ समन्वय समितिको बैठकमा मंगलबार बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताए ।

‘सात वटा ऐन बनायौँ, सात वटा ऐन प्रक्रियामा छन्, कानुन र अर्थ मन्त्रालयबाट सहमति लिनुपर्ने भएकाले बढी समय लाग्यो’, उनले भने, ‘वर्षौँदेखि जेलिएका शिक्षकका समस्या क्रमशः हल हुँदै जाने स्थिति बनेको छ, निष्क्रिय भएर बसेको शिक्षा सेवा आयोगले गति लिएको छ ।’

उनले द्वन्द्वबाट विस्थापित साढे पाँच सय बढी शिक्षकलाई पुनःबहाली गरिएको उल्लेख गरे । बाँकी शिक्षकको पुनःस्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्री पौडेलले बताए । दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले पनि गति लिएको उनको भनाइ छ ।

बागलुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री पौडेलले आउँदा दिनमा पनि शिक्षासँगै विकास, निर्माणका कामको नेतृत्व लिन तयार भएर चुनावमा होमिएको धारणा राखे । उनी धवलागिरि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको एक्लो उम्मेदवार हुन् ।

विसं २०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका मन्त्री पौडेल अहिले सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry