रैथाने ज्ञानको’ ज्ञान !

- डा. अरुणा उप्रेती

-


     जनहित न्युज    
     कार्तिक १६ गते २०७९


हजुरआमासँग हुर्केकी मैले थाहै नपाई उहाँको रैथाने र परम्परागत ज्ञान आत्मसात् गर्न पुगेकी छु । मेरो बिहानको सुरुवात आलस तिल, ज्वानो र भांगो मिसिएको एक चम्चा मिश्रणबाट हुन्छ । त्यसबाहेक सक्खर, कागती, मरिच र दालचिनी हालेर पकाएको पेयपदार्थ पिउँछु । यिनमा अनेक पोषक तत्‍व क्याल्सियम र ओमेगा ३ पाइन्छ । ४ वर्षजति भयो, यो सुरु गरेको । ६१ वर्षकी हुँदा पनि म ४० वर्षको जस्तो स्वस्थ महसुस गर्छु ।
एक कार्यक्रममा भारत जाँदा डा. मिरा शिवा नामकी एक डाक्टरले मलाई तिल र आलसको महत्‍व बुझाएकी थिइन् । त्यो सिकेर मैले युवती र महिलालाई हड्डी मजबुत पार्न तिल, आलस र मुंग्रेलो खाने सल्लाह दिने गरेकी छु ।
कति महिला त क्याल्सियम चक्की खाए हाड बलियो हुन्छ भन्ने ठानेर आफैँ किनेर खान्छन् । तर, घरमै पाइने स्वस्थकर वस्तु प्रयोग गर्न जान्दैनन् । औषधीमै पैसा बढी खर्च गर्छन् । तर, त्यसले स्वास्थ्यमा फाइदा हुँदैन । औषधीका नाममा अनेक चक्की किनेर पैसा खर्च गर्दा औषधी कम्पनीलाई नाफा भए पनि आफूलाई घाटा हुन्छ । दुई सय रुपैयाँमा आलस, तिल, ज्वानो, मुंग्रेलो किनेर एक–एक चम्चा प्रत्येक दिन खाँदा पनि तीन–चार महिनालाई पुग्छ । तर, दुई सयको क्याल्सियमले कति दिन पुग्छ ?
कस्तुरी मृगझैँ आफूसँग रहेको मालको चाल नपाएर बाहिर–बाहिर भौँतारिने बानीले गर्दा हामीले हाम्रो रैथाने ज्ञान बिर्सिंदै छौँ, नचाहिने ठाउँमा बढी पैसा तिर्छौं । भिटामिन ‘डी’को कमीले गर्दा धेरै महिलाको स्वास्थ्यमा समस्या परेको स्वयं चिकित्सकहरू नै स्विकार्छन् । कतिले त जाँच गराएर भिटामिन ‘डी’ चक्की खान दिइहाल्छन्, तर ८० प्रतिशत भिटामिन ‘डी’ घामबाट प्राप्त हुन्छ भनेर चाहिँ कतै छलफल गरिन्न । मेरी आमा ८५ वर्षकी हुनुभयो । उहाँ शाकाहारी हुनुहुन्छ । त्यसैले, उनको भोजनमा बडो ध्यान दिनुपर्छ । उहाँलाई हरेक दिन घाममा बस्नुपर्छ । यसरी घाममा बस्दा ढाड, खुट्टा र हातको नांगो छालामा घामको किरण पर्नुपर्छ उहाँको ‘घुँडा, पुठ्ठा, हाडमा समस्या छैन । घामको केही दिनको बसाइले उहाँलाई निकै फाइदा गरेको छ । सायद सूर्यलाई बिहान नमस्कार गर्नुको अर्थ नै हाम्रा पुर्खाले उसको ऊर्जाका लागि धन्यवाद दिएका होलान् ।
तर, सूर्यलाई एक सेकेन्डमा नमस्कार गरेर घरभित्र पस्दैमा फाइदा हुँदैन । अहिलेका आमाहरूले शिशुलाई परम्परागत चलनअनुसार घाममा राखेर तेल लगाउनुको सट्टा कोठामा राखेर पाउडर दल्छन् अनि शिशुलाई क्याल्सियम र भिटामिन ‘डी’ किनेर खुवाउँछन् । आँगनको औषधी लत्याएर महँगो चक्की किन किन्नु ?
महिलालाई भिटामिन ‘डी’को कमी हुँदा डाक्टरले जब उनलाई भिटामिन ‘डी’को चक्की दिन्छन्, तब उनीहरू खुसीसाथ पैसा तिरेर सेवन गर्छन् । तर, सित्तैँमा प्राप्त हुने भिटामिन ‘डी’चाहिँ प्रयोग गर्दैनन्, अचम्म होइन र ? यी शब्द लेखिरहँदा हजुरआमालाई सम्झिन्छु, जसले निरक्षर भएर पनि परम्परागत ज्ञान प्रयोग गरेर धेरै नातिनातिना हुर्काउनुभयो । उहाँले शिशुलाई पखाला लाग्दा मेथी, लसुन हालेर जाउलो पकाउनुहुन्थ्यो । पहिले–पहिले हजुरआमाले बच्चालाई ‘लपक्क छातीमा’ टाँसेर सुताउनुपर्छ भन्दा अचम्म लाग्थ्यो, आधुनिक विज्ञानले त यसरी छातीमा टाँस्ने प्रक्रियालाई ‘कंगारु मेथड’ भनेर नामै दिएको छ । विश्व स्वास्थ्य संगठनले पनि यसलाई स्विकारेको छ ।

हजुरआमाले बिरामी बालकलाई छिटो तंग्रियोस् भनेर मुंगको जाउलो बनाएर दिनुहुन्थ्यो । मुंग सजिलै पच्छ र छिटो तंग्रिन मद्दत गर्छ भनेर आधुनिक विज्ञानले सिद्ध गरेको छ । खोकी लाग्दा मह र अदुवाको रस बालबालिकालाई फाइदा गर्छ भन्ने ज्ञान हजुरआमाले प्रयोग गर्नुहुन्थ्यो । अहिले विश्व स्वास्थ्य संगठनले पनि खोकी लाग्दा बच्चालाई अदुवाको रस र मह दिन सकिन्छ भनेर स्विकारेको छ ।
यस्ता हजारौँ उदाहरण छन्, जहाँ परम्परागत ज्ञानले मानव स्वास्थ्यमा गर्ने फाइदालाई विज्ञानले सिद्ध गरेको छ । यस ज्ञानमा कुनै एक व्यक्तिको अधिकार छैन । हजारौँ वर्षदेखि चलिआएको यो ज्ञान एक पुस्ताबाट अर्को पुस्तामा सर्दै आएको हो ।
आधुनिकताको दौडमा यस्ता महत्वपूर्ण, परम्परागत, रैथाने ज्ञान बिर्से र ?

अर्थ आधुनिक चिकित्सा विज्ञानको महत्‍व नकार्नुचाहिँ अवश्य होइन । जब अस्पताल र चिकित्सकको जरुरत पर्छ, तब हामीले प्रयोग गर्नैपर्छ । तर, कतिपय सहज रूपले प्रयोग गर्न सकिने भोजन र स्वस्थ हुन सक्ने बानीको पनि विकास गर्नुपर्छ । यसले पैसा र परम्परा दुवै बचाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry