दस बुँदेको स्प्रिटअनुसार कुरा उठाउनेको ओलीले राजनीतिक कत्लेआम गर्नुभयो-नेता घनश्याम भुसाल

-


     जनहित न्युज    
     असाेज २३ गते २०७९


‘विचारको कुरा गरेबापत म जहिल्यै अपमानित भएँ, अब कैदबाट मुक्त भएको छु’

जिन्दगीमा कुनै व्यक्तिगत लोभ नराखी मैले ४५ वर्षसम्म लडेँ । पार्टीबाट निस्कनु पर्दा मलाई दु:ख, घाउ छ ।

दस बुँदेको स्प्रिटअनुसार कुरा उठाउनेको ओलीले राजनीतिक कत्लेआम गर्नुभयो

यतिको लोकतान्त्रिक र वामपन्थी पार्टीलाई नेतृत्वले कब्जा गरिदियो

बुटबल — चुनावको सम्मुख नेता घनश्याम भुसालले साढे चार दशक राजनीति गरेको दल नेकपा एमाले परित्याग गरेका छन् । लामो समयदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीको पार्टी सञ्चालन शैलीको आलोचना गर्दै आएका भुसालले शनिबार पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टी छाडेका भुसालले एमाले जतिको वामपन्थी दल अहिले नेपाली राजनीतिको जोडा नभएको तर त्यसको नेतृत्वले त्यसलाई कब्जा गरेको बताएका छन् । उनले दस बुँदेको स्प्रिटलाई उठाउनेहरुको राजनीतिक कत्लेआम अध्यक्ष ओलीले गरेको बताए । यसै विषयमा भुसालसँग गरेको संक्षिप्त संवाद :

तपाईँलाई एमालेले प्रतिनिधिसभामा किन पत्याएन ?

टिकट नदिएको हो भन्ने यो भाष्य भन्दा पनि यसको अलि लामो पृष्ठभूमि छ भन्ने लाग्छ जुन मैले फेसबुक स्ट्याटसमा लेखेको छु । कमरेड ओलीसँग मेरो विचार, सिद्धान्त र संगठनात्मक सिद्धान्तहरु विकास, त्यसको भाष्य हाम्रो मुलुक, भूराजनीति यो तमाम चिजमा फरकपन रहेको थियो । यो सबैलाई थाहा छ । त्यसलाई उहाँले व्यक्तिगत इर्श्या, द्वेषको रुपमा लिइदिनु भयो । मैले अन्तिम समयसम्म पनि प्रयत्न गरे त्यहाँ भित्र थोरै पनि भनाइ राख्ने, छलफल हुने संभावना भयो भने मैले यस्तो निर्णय लिनु पर्दैन्थ्यो ।

क्रान्तिको सिद्धान्तको व्याख्या गर्ने समेत हिजोको जनयुद्धदेखि संसारको क्रान्तिहरुको व्याख्या गर्दा मैले क्रान्ति शान्तिपूर्ण रुपमा हुन्छ र शान्तिपूर्ण क्रान्तिका लागि थोरै पनि स्थान रहुन्जेल शान्तिपूर्ण गर्नुपर्छ भन्ने सिद्धान्तको व्याख्या गर्दै बसेको हुँ । आन्तरिम रुपमा पनि थोरै मात्रै स्पेस भएसम्म यस्तो निर्णय गर्दिनथे । मैले मेरा लागि, परिवारका लागि भनेर मैले कहिले कुनै निर्णय गरेको छैन । त्यो मैले सान र दाबाका साथ भन्न सक्छु । त्यसको अर्थ मेरो बुद्धि, बर्कत र क्षमता जे थियो त्यस हिसाबले मैले आन्दोलनमा समर्पण गरेको हुँ ।

त्यसको अर्थ मैले व्यक्तिगत कुरा खोजेको होइन । मैले पार्टीलाई विधि, नीति र सिद्धान्त, पद्धति, मूल्य चलाउन खोजेको हो । त्यसको कुनै संभावना मैले देखिन । बरु त्यस्तो गरे वापत्,विचारको कुरा गरे वापत् मैले जहिले सुकै अपमानित हुनुपर्‍यो । त्यसलाई मैले यो व्यक्तिगत कुरा हो हुन्छ क्रान्तिमा यस्तो हुन्छ भन्दै हेर्दै रहे । यति गर्दागर्दै मैले भन्ने, राख्ने, विचार, बहस र छलफल गर्ने थोरै पनि स्पेस नपाएपछि त्यहाँ म हुने भनेको कैदमा रहने जस्तै भयो । यो कैदलाई अस्वीकार गरेको हुँ ।

तपाईंले अरु कुरा गरे पनि अहिले प्रतिनिधिसभामा तपाईंले उम्मेदवारी पाउनु भएन अनि छोड्नु भएको देखियो नि ?

त्यो पनि होला । त्यो भन्नका लागि छुट छ । त्यो भनेर कसैले पनि आलोचना गर्नु स्वभाविक हो भन्ने लाग्छ । किनभने हाम्रो बिग्रेको भत्किएको, मूल्य हराउँदै गएको राजनीतिमा त्यो संभव छ । मेरो इतिहास हेरियोस् मैले आफ्नो लागि भनेको कुनै पनि राजनीतिक निर्णय गरेको छु भने भोलि पनि गरे भने म दोषी ठहरिने छु इतिहासमा । नत्र मेरो दाबी भनेको हो मैले प्रतिधिनिसभाका लागि भनेर मैले यो निर्णय गरेको छैन । तर अहिलेको दस बुँदेहरुले घुँडा टेक्नुपर्छ भन्ने जस्तो अराजनीतिक, असैद्धान्तिक मूल्यहीन प्रचार गराएर मानिसको हुर्मत लिएर जे गर्न खोजिँदैछ ।

हामी स्वतन्त्रता लागि लडेर आएका हौँ । जे गर्न खोजियो त्यो गलत हो । मैले प्रतिनिधिसभाका लागि चुनाव सजिलो हुन्छ भनेर यो गर्दैछु भन्ने कुरालाई म एक सय प्रतिशत अस्वीकार गर्दछु । हाम्रो पार्टी एमाले नै थियो, के थियो तर हामीलाई ढोका बाहिर निकालेर ढोका बन्द गरियो । हाम्रो झगडा घरभित्र बस्न पाउनु पर्छ भन्ने थियो र यो घरको बराबर अंसियार हो भन्ने थियो ।

अहिले पनि भन्दा के हो भने कमरेड ओली र म उत्तिकै अंशियार हौँ । त्यसमा को पदमा छ त्यसको व्यवस्थापन कसले गर्छ त्यति मात्रै फरक हो । तर मानवीय मूल्य नै फरक हुने पार्टी हुन्छ ? त्यो २१ औं शताब्दीको पार्टी हुन्छ ? हुँदैनथ्यो । त्यसअर्थमा यो मेरो प्रतिक्रिया हो । 

एमाले परित्याग नै गरेको हो त ? 

मैले आफैले लेखेको भाषा हेर्नुभयो भने त्यसमा देख्नु हुन्छ यो पार्टी कमरेड ओलीले अपहरित गर्नुभयो, म ओलीजीसँगसँगै रहन सकिन यसर्थमा म यो पार्टीमा रहिन भन्ने मेरो घोषणा हो । 

अबको राजनीतिको यात्रा के हो ?

यसमा म अलिकति आलोचित भएको छु । यो मूल्याकंनको विषय पनि होला खासगरी आफ्नै प्रधानमन्त्रीको विरुद्धमा अदालतमा गएको जस्ता कुराहरु छन् । यो विवादित होलान् । यदि संसद विघटनको कुरा लोकतन्त्रका लागि घाटा छैन र अन्यथा होइन भन्ने लागेको भए म जाने थिइन् । मैले के बुझे भने लोकतन्त्र बचाउनका लागि संसद् बचाउनका लागि संविधान बचाउनका लागि मैले जे पनि गर्नुपर्छ भनेर हिजो अदालत गएको हो । त्यसअर्थमा लोकतन्त्रप्रतिको मेरो आस्था विश्वास अटुट छ । म वाम आन्दोलनको एकताका लागि मेरो सम्पूर्ण प्रयन्त हिजो जतिको सक्रियताका साथ भोलि पनि लाग्ने छु । लोकतन्त्रको रक्षा, वाम आन्दोलनको एकता र यसको सुदृढीकरणका लागि आगामी मेरो यात्रा जारी रहने छ । 

चुनाव जानु हुन्छ कि जानु हुँदैन ?

अहिलेसम्म छलफल र विचार गर्दैछु । वाम आन्दोलनको हिसाबले यो असाध्य राम्रो पार्टी हो यसको कुनै जोडा छैन । समस्या के हो भने यतिको राम्रो पार्टी, यतिको राम्रो इतिहासको पार्टी, यतिको लोकतान्त्रिक र वामपन्थी पार्टीको नेतृत्वले यसलाई कब्जा गरिदियो । मेरो असहमति त्यसमा हो । 

अब के भन्ने त एमालेको नेता कि वामपन्थी नेता मात्रै कि के भन्ने ?

म नेपाली कम्युनिष्ट आन्दोलनकर्मी हु, वाम आन्दोलनकर्मी हुँ, नेपाली लोकतान्त्रिक आन्दोलनकर्मी हुँ । 

रुपन्देही १ मा तपाईं उम्मेदवार हुने र त्यसमा गठबन्धनले सघाउने भन्ने समाचारहरु आएका छन् ? 

यस विषयमा खासै केही निर्णय लिएको छैन । अनुमानको कुरा तपाईंहरुसँग अहिले भन्न चाहान्न । 

कार्यकताहरुले के भन्नु भएको छ ? 

धेरैले दु:खद हो भन्नु भएको छ । स्वय‌ं मेरालाई पनि हो । यो दाबाका साथ भन्दै छु जिन्दगीमा कुनै व्यक्तिगत लोभ नराखी मैले ४५ वर्षसम्म लडेँ । त्यो मानिसले ४५ वर्षपछि त्यो पार्टीबाट निस्कनु पर्दा त्यो दु:ख, घाउ मलाई छ । अरुले महसुश गर्नु भएको छ त्यो मैले स्वभाविक मान्छु । त्यो कुनै आन्दोलनको दौरानमा ती सबै साथीहरुसँग भेट हुन्छ भन्ने विश्वास छ । 

अहिले दस बुँदेको स्प्रिटमा ज-जसले कुरा गरिरहे त्यसलाई टिकट दिइएन । दस बुँदे भनेको त्यो दस भाइ मात्रै होइन । अन्य पनि जो स्थायी कमिटीमा थिएनन् । सांसद थिए पढे लेखेका हुन् राम्रो समर्पित साथीहरु हुन् वा उत्तिकै लागेका साथीहरु हुन् जो दस बुँदेको स्प्रिटमा रहे तिनीहरुलाई कत्लेआम गरे । यो राम्रो भएन ।(कान्तिपुरका लागि अमृता अनमोलले गरेको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry