‘जापानमा बनाइएको बुद्धको मूर्तिले नेपाली ललितकला विश्वमा चिनाउने छ’

- सेन्छेलुङ लिम्बू

-


     जनहित न्युज    
     असाेज २१ गते २०७९


‘मूर्ति अध्ययन अवलोकन गर्न आउनेहरूले नेपाल र नेपाली कलाबारे थाहा पाउने छन्। मूर्तिले नेपाली कलाकार पनि यो स्तरमा सक्षम छन् भन्ने देखाउने छ।’

नेपाली कलाकारहरूले ६ वर्ष लगाएर जापानमा बुद्धको मूर्ति निर्माण गरेका छन्। क्यूशु प्रान्त कुमामोतो केन खामीआमाकुशाको एक विशाल पहरोमा मूर्ति खोपिएको छ। मूर्ति निर्माणको नेतृत्व गरेका मूर्तिकार मञ्जुल मितेरीसँग सेन्छेलुङ लिम्बूले गरेको कुराकानीः
तपाईँहरूले भर्खरै बनाइसकेको बुद्धको मूर्ति कस्तो प्रकारको हो?
यो एउटा विशाल पहरोमा कुँदेर बनाइएको मूर्ति हो। यसमा बुद्धका एक र अन्य ६ वटा मूर्ति कुँदिएका छन्। यो पछिल्लो शताब्दीकै ढुङ्गामा कुँदिएको सबैभन्दा ठूलो बुद्धको मूर्ति हो। मूर्ति ६५ फिट उचाई र २०० फिटको छ।
पहिले त्यहाँ छहरा बग्थ्यो। छहराको पानीलाई अन्यत्र कटाएर मूर्ति निर्माण गरिएको हो। वर्षमा एक-दुई पटक भने ओभरफ्लो भएर मूर्तिमा समेत पानी झर्छ। त्यसले झन् आकर्षण थप्दछ।
तपाईँहरू कसरी त्यहाँ पुग्नुभयो?
जापानका समाजसेवी तथा व्यवसायी ओसिमा सिजुकीसँग ३० वर्षअघिदेखि नै बुद्धको मूर्ति बनाउने योजना रहेछ। उनले विभिन्न देशका कलाकारलाई पहरो देखाउने तर कलाकारले हिम्मत नगर्ने भइरहेको रहेछ। पहरो जोखिमपूर्ण पनि थियो।
 पछि बुद्धकै जन्मभूमिबाट कलाकार लैजाने भनेर कसिंदा उनले मेरो नाम पनि पाएछन्। त्यसपछि मलाई मूर्ति बनाउन जापान जानुपर्ने प्रस्ताव आयो। मलाई पनि शुरूमा त पहरोमा मूर्ति बनाउने हिम्मत आएन। अर्कोतर्फ ‘एक हजार मूर्ति देशलाई उपहार दिने’ लक्ष्यका लागि म खटिरहेकै थिएँ। बीचैमा त्यो लक्ष्य थाँती राख्दा अरुले के भन्लान् भन्ने पनि लागेको थियो।
सिजुकीले ‘ओसिमा सेकिबुचुयामा मूर्ति निर्माण प्रतिष्ठान’ बनाएरै लागिपर्ने र नेपाली कलाकारसँग थप जोडबल गर्न थाले। नेपाली ललितकलालाई विश्वमाझ थप चिनाउने मौका र नेपाली महान् कलाकार अरनिकोपछि विदेशमा गएर नेपाली कलालाई फैलाउने दोस्रो अवसर हो भन्ने सम्झेर हामीले पनि प्रस्ताव स्विकार्यौं । ६ जनाको टोलीले २० सेप्टेम्बर २०१६ मा जापान आइपुग्यो। र‚ २४ सेप्टेम्बरदेखि मूर्ति बनाउन शुरू गर्‍यौं। 

अरु कलाकारले हिम्मत नगरेको ठाउँमा मूर्ति बनाउने हौसला कहाँबाट प्राप्त भयो र कसरी सम्भव भयो?
यहाँ आइसकेपछि विशाल पहरोभन्दा पनि त्यो फोर्ने हिम्मत जुटाउने चुनौती झन् दोब्बर ठूलो पहरो बनेर उभिएको थियो। यस्तो जोखिमपूर्ण चट्टानलाई फोडेर कसरी बुद्धको मूर्ति बनाइएला भनेर पिरलो परेको थियो।
हामी नेपालमा अठार–बीसदेखि मूर्ति बनाउनमै समर्पित थियौं। तर, ६०–७० फिटभन्दा ठूलो आकारको ढुङ्गाको मूर्ति कसैले पनि बनाएका थिएनौं। हामीसँग यो किसिमको मूर्ति बनाउने अनुभव नै थिएन। तर, हार मान्ने कुरा भएन। मलाई लाग्थ्यो; हाम्रा पूर्वज मूर्तिकारले विशाल मूर्तिहरू बनाएकै छन्। त्यो वेला अहिलेजस्तो यान्त्रिक उपकरण पनि थिएनन्। त्यस्ता अप्ठ्याराबीच पनि उनीहरूले कलात्मक मूर्ति निर्माण गरेका थिए। अहिले हामीसँग यति धरै उपकरण उपलब्ध छन्। यस्तो ठानेंपछि भने मूर्ति बनाएरै छाड्ने प्रण गर्‍यौं। 
तपाईँहरूले निर्माण गरेका मूर्तिमा नेपाली कलाको समिश्रण पनि छ?
सबै कलाकार नेपाली मात्रै भएकाले मूर्तिमा नेपालीपन त आउने नै भयो। तर, यो पूर्ण रुपमा नेपाली डिजाइनको मूर्ति भने होइन। चीनको हेनान् प्रान्तमा अवस्थित ‘लोङमेन् ग्रोटोज्’को डिजाइनमा बनाएका हौं। चिनियाँ बौद्ध कलाबाट प्रभावित भएर प्रतिष्ठानका संरक्षक सिजुकीले तयार पारेको डिजाइनमै आधारित रहेर मूर्ति निर्माण भएको छ। तर, गहिरिएर अवलोकन गर्नेले नेपाली कलाकारले बनाएको मूर्ति हो भन्ने ठम्याउन सक्छन्।
यो मूर्ति निर्माणले नेपाली कलाकारिता र नेपाललाई के योगदान पुग्छ?
यो अत्यन्तै महत्त्वपूर्ण प्रश्न हो। हामीले पूरा गरेको काम नेपाली ललितकला र नेपाली ललितकर्मीलाई विश्वमाझ चिनाउने माध्यम हो भन्ने लाग्छ। अब मूर्ति अध्ययन अवलोकन गर्न आउनेहरूले नेपाल र नेपाली कलाबारे थाहा पाउने छन्। नेपाली कलाकार पनि यो स्तरमा सक्षम छन् भन्ने प्रमाणित हुन्छ। अन्य नेपाली कलाकारलाई पनि अब व्यावसायिक अवसर प्राप्त हुनसक्छ। 

तपाईँहरूको कामलाई त्यहाँका बासिन्दाले कसरी लिएका छन्?
उनीहरूबाट धेरै हौसला प्राप्त भयो। मूर्ति हरेर अचम्मित हुँदै ‘यो कसरी सम्भव भयो!’ भन्ने भावले प्रतिक्रिया जनाउँथे। आफ्नो ठाउँलाई सिंगारेर सुन्दर बनाइदिएको भन्दै हामीलाई धन्यवाद दिन्थे। तर, उनीहरूमा बुद्ध भारतमा जन्मेको भन्ने भ्रम रहेछ। यहाँका स्मारकहरूमा ‘बुद्ध भारतमा जन्मिएको’ भनेर लेखिएको भेटेका थियौं। हामीले बुद्ध नेपालमा जन्मेको हो भनेर सच्याउन आग्रह गर्‍यौं। उनीहरूले सच्याई पनि सकेका छन्।
एउटा ऐतिहासिक काम पूरा गर्नुभयो, अब यसपछि के गर्दै हुनुहुन्छ?
बुद्धको ढुङ्गे मूर्तिको काम देखेपछि अन्य जापानी संस्थाहरूबाट प्रशस्तै प्रस्ताव आइरहेका छन्। ती प्रस्तावलाई स्वीकार्ने हो भने त यो जुनी यतै बित्छ। मलाई नेपाली ललितकलाका लागि नेपालमै धेरै काम गर्नुछ। त्यसैले अन्य संस्थाका प्रस्तावलाई स्वीकार गरेको छैन। तर, यो मूर्ति निर्माण गरेको प्रतिष्ठानले बुद्धको मूर्तिको छेऊमा १७० फिटको कंक्रिटको निर्वाणा बुद्धको मूर्ति बनाउने जिम्मा दिएको छ। त्यो काम सकिने र हामीले बनाएको मूर्तिको सिंगारपटार लगायतका कामले अन्तिम रूप पाएसँगै उद्घाटन हुन्छ। 
तपाईँको ‘एक हजार मूर्ति देशलाई उपहार दिने’ लक्ष्य चाहिं कहाँ पुगेको छ?
त्यो काम पनि निरन्तर चलिरहेको छ। अर्को ऐतिहासिक कामका लागि मात्रै केही वर्षलाई यता आएको हो। उता मेरो जीवनसंगिनी कौशिला राईले मूर्ति निर्माणका लागि चाहिने ढुङ्गा संकलन गर्ने र मूर्तिको बाहिरी आवरण तयार पार्ने काम गरिरहेकी छन्। अहिलेसम्म १८० वटा मूर्ति निर्माण भइसकेको छ। अब नेपाल फर्किएपछि त्यही लक्ष्यमा समर्पित हुनेछु।(हिमालखबरबाट )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry