कसैलाई काखा कसैलाई पाखा नगर्नु होला, राष्ट्रपतिज्यू विचार गरिदिनुहोला : कुल आचार्य

-


     जनहित न्युज    
     असाेज ९ गते २०७९


स्टकहोम (जीएनएन) — गैर आवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष कुल आचार्यले संसारभरका नेपालीले प्रतिक्षा गरेको नागरिकता विधेयक प्रमाणीकरण नगरिंदा गैरआवासीय नेपालीहरु दुखी भएको बताएका छन्।
स्वीडेनमा आयोजना भै रहेको एनआरएनए युरोप क्षेत्रको चौधौं बैठकको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले संविधान बनेको ७ वर्ष भैसक्दा पनि गैरआवासीय नेपाली नागरिकताको विषय सम्बोधन हुन नसकेको रहेको बताए । ‘ नागरिकता विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले दुइ, दुइ पटक पारित गरिसकेका छन् । नेपालको राजनीतिमा कसैलाई काखा कसैलाई पाखा नगर्नु होला’, आचार्यले भने, ‘संसारभरिका गैरआवासीय नेपाली नागरिकताको प्रतिक्षामा छन् । राष्ट्रपतिज्यू विचार गरिदिनुहोला ।’
शनिबारबाट सुरु भएको २ दिने बैठकको श्रम मन्त्रालयका सचिब एकनारायण अर्याल र संघका अध्यक्ष कुल आचार्यले पानसमा बत्ती बालेर संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
शनिबार प्रवासको युवा तथा दोश्रो पुस्तालाई नेपालसँग जोड्ने अभिप्रायले युवा सम्मेलन गर्दै छ भने एनआरएनए राष्ट्रिय समितिहरुलाई सक्षम बनाउनका लागि चाल्नु पर्ने कदमको बारेमा पनि छलफल हुनेछ।
एनआरएनएका केन्द्रीय उपाध्यक्ष तथा नागरिकता टास्कफोर्सका संयोजक दुर्गा आचार्यले नागरिकता विधेयक प्रमाणीकरण नगरिंदा एनआरएनहरूको चित्त दुखेको बताए। हामी मर्माहत भएका छौं। ‘हामी एक पटकको नेपाली सधैंको नेपाली’ भनेर हिडेका छौं। एनआरएनलाई दुखेको छ,’ उनले भने।
एनआरएनएका अर्का केन्द्रीय उपाध्यक्ष नारायण आचार्यले संसदका दुवै सदनबाट दुइ, दुइ पटक पारित नागरिकता विधेयक प्रमाणीकरण नगरिंदा गैरआवासीय नेपालीहरुको भावना र अधिकार माथि ठेस लागेको बताए। ‘नागरिकताको विषयमा सत्तामा जुनसुकै राजनीतिक दल भए पनि हाम्रो अधिकार प्राप्त गर्ने कुरामा हामी चुप लाग्नु हुंदैन। हामीले घचघच्याएनौं भने हाम्रो आवाज सुनिने वाला छैन। एनसीसीहरुले पनि आवाज उठाउनोस्,’ उनले भने।
एनआरएनएका केन्द्रीय उपाध्यक्ष आर के शर्माले भने, ‘हामीले हार खाएका छैनौं, गैरआवासीय नेपाली नागरिकताका लागि हामी लागीरहने छौं।’ उनले रेमिट्यान्स उत्पादक क्षेत्रमा लगाउन र विदेशमा सिकेको ज्ञान र सीप नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे छलफल गर्न आग्रह गरे।
श्रम सचिव एक नारायण अर्यालले खाडी लगायतका मुलुकमा काम गर्ने नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न सरकारले पहल गरिरहेको बताए। ‘केहि कानूनी कुराहरु छन्। छिटै टुंगाएर हामी चांडो कार्यान्वयन गर्छौं,’ उनले भने। सचिव अर्यालले अन्तर्राष्ट्रिय श्रम मापदण्ड भन्दा बाहिर गएर नेपाल सरकारले कुनै पनि मुलुकसंग श्रम सम्झौता नगर्ने बताए। हालै मलेसियासंग श्रम सम्झौता गरिएको र अरु मुलुकहरुसंग पनि वार्ता भै रहेको उनले जानकारी दिए।
स्विडेन पनि हेर्ने डेनमार्कस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख तिर्थराज अर्यालले युरोपमा रहेको नेपालीहरूलाइ ज्ञान र श्रोत नेपाल लग्न आग्रह गरे। उनले गैरआवासीय नेपालीहरुको हकहितको कुरामा संघसंग नजिक रहेर काम गरिरहेको बताए।
“एनआरएनए अभियानको रुपान्तरणका लागि साझेदारी” को नारामा हुँदै गरेको बैठकमा युरोप क्षेत्रीय संयोजक सन्तोष भट्टराई, सचिव गंगाधर गौतम, एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुबेदी, एनसीसी स्विटजर्ल्यान्डकी अध्यक्ष शुभ एलमार लामा, मध्यपूर्व संयोजक मनोज गोर्खाली, उपमहासचिव रामशरण सिंखडा, एनसीसी क्यानडाका अध्यक्ष दिपक गौतम, एनआरएनए बेल्जियमकी सदस्य रुबिना शर्मा, अर्थमन्त्रालयका सहसचिव राजेश्वर ज्ञवाली, नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, एनआरएनए युबा उपाध्यक्ष राज रेग्मी लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रममा स्विडेनमा बसोबास गर्ने नेपाली कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । एनआरएनए स्विडेनका अध्यक्ष राजकुमार पाठकले सबै सहभागी तथा पाहुनाहरुलाई स्वागत गरेका थिए । एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाको सभापतित्वमा भएको उद्घाटन समारोहको सन्चालन उप संयोजक दयानिधी सापकोटा र नवराज रोशार्याले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry