आगामी निर्वाचनको लागि बागलुङको क्षेत्र नम्बर २ इपी सेण्टर बन्दै, माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री पत्नी राणा उम्मेदवारको लागि सिफारिस

-


     जनहित न्युज    
     भाद्र २० गते २०७९


आगामी मंसिर ४ गते हुने निर्वाचन बागलुङको क्षेत्र नम्बर २ को लागि उम्मेदवार सिफारिसले छुट्टै रौनक दिएको छ ।

नेकपा माओवादी केन्द्र बागलुङले प्रतिनिधिसभा निर्वाचनका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ४ जनाको नाम सिफारिस गरेको छ भने नेपाली काँग्रेसले केन्द्रीय सदस्य एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाको समेत उम्मेदवारी दर्ता भएपछि बागलुङको राजनीतिमा हलचल मच्चिएको हो।
सत्ता साझेदार दलहरुबीचको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्मै संगै लैजाने निर्णय गरेर केन्द्रमा सिट भागबन्डामा दलहरु व्यस्त छन्। बागलुङ क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसले आरजु राणा देउवाको नाम समेत प्रतिनिधि सभा उम्मेदवारको सिफारिसमा राखेर पठाएपछि दबाबमा परेको माओवादी केन्द्रले पनि राष्ट्रिय राजनीतिको प्रमुख नेता प्रचण्डलाई अघि सारेको हो ।  

‘प्रदेश निर्वाचनमा को उम्मेदवार बनाउने भन्ने बारेमा हामीले घनिभूत रुपमा छलफल गरेका छौं,’ उनले भने,‘प्रतिनिधि सभाको उम्मेदवारको रुप्मा भने अध्यक्ष प्रचण्डलाई अगाडि सार्ने र उहाँलाई यहाँको उम्मेदवार बन्नका लागि आग्रह गर्ने सर्वसम्मत निर्णय भएको छ।’

नेकपा माओवादी केन्द्रका बुर्तिबाङ क्षेत्र संयोजक प्रेम घर्तीको अध्यक्षतामा बसेको बैठकले जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य बलावती शर्माको उपस्थीतिमा उक्त निर्णय गरेको हो। नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले पनि प्रचण्डलाई क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउनुपर्ने सुझाव आएको बताए।
‘अध्यक्ष कमरेडलाई प्रतिनिधि सभामा बागलुङ क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउनुपर्ने सुझाव आएको छ,’ उनी भन्छन्,‘प्रदेश सभा सदस्यको उम्मेदवारको विषयमा भने गण्डकी प्रदेश कमिटिको बैठकले निर्णय गर्नेछ।’
महिला उम्मेदवार अघि सार्नुपर्ने भएको र राष्ट्रिय राजनीतिमा ज़िल्लाको पश्चिम क्षेत्रको प्रभाव बढाउनको लागि राणालाई अघि सारिएको नेपाली कांग्रेस बागलुङले जनाएको छ ।
नेकपा माओवादी बागलुङले क्षेत्र नम्बर २ बाट प्रचण्डसँगै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल, गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री चन्दबहादुर बुढा सागर र केन्द्रीय सदस्य कृष्ण केसीको नाम सिफारिस गरिएको हो । अध्यक्ष प्रचण्ड र केसीको नाम सुझावका आधारमा सिफारिस गरिएको माओवादी केन्द्र बागलुङका इन्चार्ज बलावती शर्माले बताइन् ।

शिक्षा मन्त्री पौडेल र केसीलाई क्षेत्र नम्बर १ बाट पनि सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्रले समानुपातिक तर्फ क्षेत्र नम्वर १ बाट बलावती शर्मा र मोहम्मद अजिजको नाम सिफारिस गरेको छ । क्षेत्र नम्वर २ बाट निलबहादुर पुन, निरमाया श्रीष, केशरी घर्ति मगर, कर्ण परियार र ललित श्रीषको नाम सिफारिस गरेको छ ।

नेकपा माओवादी केन्द्रले क्षेत्र नम्वर १ प्रदेश (क) मा प्रत्यक्ष तर्फ यज्ञ बल्लब शर्मा र चक्रपाणी कँडेल, समानुपाति तर्फ कुशुम बुढा, गगनबहादुर पुन र लक्ष्मीदेवी रोकाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्वर १ प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ कुलचन्द्र शर्माको नाम सिफारिस गरेको छ । समानुपातिक तर्फ मेघनाथ शर्मा, चिनिमायाँ काला मगर, टिकाकुमारी विश्वकर्मा र पदमबहादु श्रीष रानाको नाम सिफारिस गरेको छ ।

त्यसैगरी क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा प्रत्यक्ष तर्फ दिलमाया रोका, ज्ञामनाथ गैरे, राजिव घिमिरे, नरेश केसी र अर्जुन चोखालको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ भविकला रोका मगर, गंगाबहादुर भुजेल, दिलकुमारी पुन, मेखबहादुर विक र छमकुमारी बस्नेतको नाम सिफारिस गरेको छ ।
क्षेत्र नम्वर २ को प्रदेश सभा (ख) मा प्रत्यक्षमा चन्द्रलाल अर्यालको नाम सिफारिस भएको छ । भने समानुपातिक तर्फ प्रेम बहादुर रोका र कमला पुन सिफारिस भएका छन्। प्रदेश क्षेत्र र संघीय क्षेत्रबाट आएको सुझाव सहित उम्मेदवारको नाम गण्डकी प्रदेश कमिटिमा पठाईएको माओवादी केन्द्र बागलुङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry