आमा नभए रमाइलो हुन्न तीज

-


     डा. नम्रता पाण्डे    
     भाद्र १४ गते २०७९


वर्ष दिनको तीजमा भाई लिन आका छन्

विदा दिनुस् स्वामी राजै माइती जाने हो

सिन्दूर, पोते, सारीमा माइत जाने हो

आमाले नै पकाएको दर खाने हो

तीज र आमा, तीज र चेलीबेटीको सम्बन्ध र प्रेम यो नै तीजको प्रमुख आकर्षण हो। हिन्दु धर्मावलम्बी महिलाहरू र आजकल त सबै नेपाली महिलाहरूमा तीजको माहोल एउटा उत्सवपूर्ण बन्न सक्नु सकारात्मक पक्ष पनि हो। तीज चेलीबेटीको एउटा महत्त्वपूर्ण पर्वको रूपमा मानिदै आएकोले नै महिलाहरूको चहलपहल र रमाइलो माहोल सृजना हुनु स्वाभाविक हो।

तीज र आमा

हुनत तीजका चेलीबेटीलाई माइती अर्थात् दाजुभाइ, दिदीबहिनी, बुबा, हजुरबुबा, काकाकाकी सबैको नै महत्त्व रहन्छ। तर आमा नभएको घर र आमा नभएको तीज चिनी नभएको चिया जस्तै हुन्छ। भाउजू, दिदीबहिनी सबै आमा समान हुन् तर आमाको उच्च स्थान रहनुको कारण नै अकारण प्रेमको अभिव्यक्ति र गुणवत्ता हो सृष्टिले दिएको। त्यसैले त भनिन्छ भगवान जहाँतहीं पुग्न सक्दैनन् त्यसैले उनले आमा बनाएर पठाए।

सबैलाई यो महसुस भएको र अनुभूतिको कुरा हो। उहिले हजुरआमाको पालामा बारीमा भएका तरकारी घिरौला, करेला र काक्रा संगालेर राख्नु र तीजको दर खाने दिन छोरी आउने बाटो हेर्नु तिजको रौनक हुन्थ्यो। आफ्ना छोरी माइत आउँदा बुहारी घरमै बसेर छोरीको सेवा गरिदिए हजुरआमा खुसी हुनुहुन्थ्यो। हुनत हामीलाई पनि आमा माइत गएको भन्दा आमा घरमै भएको, फुपूहरूको गफ सुन्दै आमाले पकाएको खानु खुसीको कुरा हुन्थ्यो। आमासंगै हामीपनि मामाघर  गयौं भने हजुरबा, हजुरआमा र फुपूहरूलाई नरमाइलो हुन्थ्यो।

सबैको घरमा यही हुन्थ्यो परिस्थिति त्यसैले पनि सासु र बुहारीको फरक छुट्टयाउने गरिएको हो। तर, बुहारी आफ्नै साथमा हुनु सासु ससुराको प्रेम र साथमै राख्न खोजेको सकारात्मक पक्ष पनि हो। पारिवारिक सम्बन्धलाई र घरलाई कसरी प्रेमपूर्ण र सन्तुलनमा राख्ने भन्ने कला पनि थियो। 

आमाले घर लिप्दा दैलो नातिनीहरूले लिप्नु हुन्न भन्ने चलन थियो तर पिंढी र आँगनका डिलमा हामी पोता लगाउँथ्यौं। आमाको मायाँ र सहकार्यले पनि पर्वको माहोललाई खुसी बनाउँथ्यो।

तीजको दर खाने दिन बिहानैदेखि आमा भान्छामा दर पकाउन व्यस्त हुने, हामी केटाकेटीहरू फुपूहरू  र वरपरका चेलीबेटी आँगनभर जम्मा भएर नाच्न र गाउन व्यस्त हुनेहुँदा तरकारीको जोहो २–४ दिन अघि नै गर्नुहुन्थ्यो आमाले।

गाईभैंसीलाई घाँस र कुडो पानीको व्यवस्था पनि ३–४ दिन अघिदेखि नै गर्नुपर्ने हुन्थ्यो। त्यो ३–४ दिन अघि देखिको आमाको तयारीमा हामीपनि हँसिया लिएर आमाको पछि पछि जान्थ्यौं। जानी नजानी घाँस काटेर थुपार्ने र आमाले मुठा बनाउदै भारी बनाउने गर्नुहुन्थ्यो। जति ठूलो भारी भयो आमा त्यति नै खुसी हुनुहुन्थ्यो। आमाको खुसीमा हाम्रो खुसी मिसिनु स्वाभाविकै थियो।

उता घाँस धेरै देखेपछि बुबाले भने अरू दिन भन्दा धेरै घाँसका मुठा गाईभैंसीलाई दिनुहुन्थ्यो। आमा र हामी झगडा गर्थ्यौं किन धेरै घाँस खर्च गरिदिनुभएको भनेर। कुवाको पानी गाग्रीमा बोक्नु पर्ने। हामी आमाको पछिपछि लाग्थ्यौं। हाम्रो लागि हजुरमाले सानो सानो तामाको घल्सा किनिदिनुभएको थियो। पछि आमाले बोक्ने गाग्रीमा पानी बोक्न सक्यौं भने खुसी हुन्थ्यौं र फुर्किदै २–४ खेप बढी पानी पँधेरो गर्थ्यौं।

आमाले घर लिप्दा दैलो नातिनीहरूले लिप्नु हुन्न भन्ने चलन थियो तर पिंढी र आँगनका डिलमा हामी पोता लगाउँथ्यौं। आमाको मायाँ र सहकार्यले पनि पर्वको माहोललाई खुसी बनाउँथ्यो।

अहिले आमा नभएपनि दर पाक्छ, क्याटरिङ्ग र रेस्टुरेन्ट अनि पार्टी प्यालेसमा पनि तीज अरू धुमधामले मनाइन्छ तर पारिवारिक सहकार्य र प्रेम अनि अपनत्व नजिकबाट अनुभूति गर्न पाइन्न। आफ्ना दिदीबहिनीको सट्टा साथीभाई र आफन्तजनसंग पनि पर्व मनाइन्छ तर आफ्ना संगको हाँसो ठट्टा र झगडा, यो भएन र त्यो भएन, त्यो कपडा मा लगाउने, यो तिमी लगाऊ जस्ता क्षण र त्यसको मज्जा अर्कै हुन्थ्यो। अझैपनि आमा नभएको दरमा स्वाद हुँदैन।

आमा नभएको घरमा सुन्दरता र प्रेम हुँदैन, कतै कहीं केहि अभाव र अपूर्णता महसुस हुन्छ। आमालाई भान्छाको कामबाट एकछिन फूर्सद निकालेर आँगनमा ल्याएर नचाएको क्षण। को राम्रो नाच्ने, जिस्किदै, कसले गीत निकाल्ने होडबाजी गर्दै स्वस्फुर्त माहोलको महत्व र रमाइलो अर्कै हुन्थ्यो। दर खाने दिनको भोलिपल्ट हरितालिका तीजको व्रत बस्ने भएकोले राति अबेर सम्म दर खाने प्रचलन थियो।

तीजको भोलिपल्ट पंचमी पर्ने हुँदा दिनभर नाचगान, साँझ पूजाआजा अनि बिचबिचमा सबै मिलेर दतिवन बनाउने र गनेर मुठा बाँध्ने काम हुन्थ्यो। अहिलेका गीत र नाच, भाका र भाव बनिबनाउ लाग्दछन् सबैलाई।

यसको अर्थ विरोध होइन तर मौलिकताको खोजी र लोकभाकाप्रतिको प्रेम अवश्य हो। कुरा नगरौं भनेपनि याद आउँछ ति मौलिकताको, लोकभाकाको, मौलिक अस्तित्वको किनकी असली कुरा बिर्सन चाहेर पनि बिर्सिन गार्हो हुन्छ।

तीज र भक्तिभाव    

हाम्रो आधार र मौलिकता नै भक्तिभाव हो। जो व्यक्ति भक्तिभावमा रहन्छ उसकै जीवन सहज र सरल हुन्छ। प्रार्थना, अनुष्ठान, ध्यान सबै आफ्नो शरीर र मनका शुद्दिकरणका उपाय हुन्। आस्तिक, नास्तिक जे भएपनि शरीर, मन, भाव र आत्मासम्मको बोध गर्न सक्ने अथाह शक्ति सृष्टिले मनुष्यलाई दिएको छ। कर्मकाण्डमा रहेर मात्र पूजा र आराधनाको फल अवश्य मिल्दैन।

परमात्मालाई खुसी बनाउन र आफ्नो चेतनाको स्तरलाई जान्न ध्यानको अभ्यास नै जरूरी हुन्छ। भोजन कसले तयार गर्छ, कुन भाव दशाले तयार गर्छ त्यस अनुसार पनि हाम्रो खुसी र स्वास्थ्यलाई प्रभाव पार्ने हुँदा तीजको दर पनि आमाको हातले बनाएको स्वादिष्ट लाग्ने हो। आमाको प्रेमभाव र पवित्र मनले तयार गरेको दर जीवनकै खुराक हो सन्ततिको लागि।

पूजा, आराधनाको बिचमा हामीले हाम्रो भित्रको स्थिति र स्वभावलाई कसरी पहिचान गर्न सक्छौं र गरेका छौं त्यो अनुभूतिमा उत्रिन सक्नु महत्वपूर्ण पक्ष हो। आफ्नो स्वभाव, चैतन्यको स्थितिमा उपलब्ध हुनको लागि पूजा, प्रार्थना र मन्दिर मार्ग हुन् तर गन्तव्य आफ्नै भित्रको आध्यात्मिक शक्ति, आफू भित्रको आनन्द, प्रेम र शान्तिको अनुभूतिमा उत्रिनु हो।

बाहिर दियो बाल्नु अस्वाभाविक छैन तर मनभित्र अन्धकार छ कि छैन ? मनको अन्धकार के ले मेटाउने ? मनमा प्रेम छ कि अहंकार, छुद्रता छ कि दया, सहयोगी भावना छ कि इर्ष्याको भावना अझै बाँकि छ त्यो मन्दिर गएर थाहा हुन्न ध्यानको माध्यमबाट आफैंले देख्न सक्नुपर्दछ। पार्वती र शिवको बिचमा जुन आध्यात्मिक प्रेम थियो, जुन भक्तिभाव थियो र शिवत्वको गुण खिलेको थियो त्यो आफ्नो जीवनमा र व्यवहारमा उतार्न सक्नु वास्तविक व्रत र आराधना हुन्छ।

एक दिन तीजको वर्तले भन्दा पनि वर्षैभरी श्रीमानको कार्यमा, भावनामा सघाउन र प्रेम दिन सक्नु अरु ठूलो व्रत हुनेछ। श्रीमान श्रीमतीबिचको प्रेमले आफ्नो परिवार र आफन्तजन सबैको जीवनमा खुसी छाएको हुन्छ। जीवन प्रेमको अभिव्यक्ति हो, प्रेम सृष्टिको उच्चतम शक्ति हो। प्रेममा असम्भव भन्ने र स्वार्थ भने भाव नै रहन्न। हुनत संसारमा प्रयोग हुने स्वार्थ र वास्तविक स्वार्थको अर्थ फरक छ। स्व र अर्थ मिलेर स्वार्थ बनेको छ।

आफूलाई र आफ्नो स्वभाव अनि प्रेमलाई केन्द्रमा राखेर गरिने व्यवहार स्वार्थ हुनुपर्ने हो तर संसारमा यसको उपयोग विपरित भइरहेको छ। हरेक पर्व र पूजा, आराधना अनि देवी देवताको प्रसंग आउनु मानव जीवनलाई उत्कृष्टतामा बाँच्न सिकाउने रूपान्तरणका आयाम हुन् केवल कर्मकाण्ड मात्र होइनन्। 

तीजको उपासनाको वास्तविक मर्म

वास्तवमा मन्दिर दर्शन, शिवजीको आराधना र देवी पार्वतीको स्मरणसंग जोडिएर आउने मुख्य पक्ष  उपासन हो।  उप + आसन,अर्थात उच्च स्थान र नजिक आसन लगाउनु बस्नु उपासनाको अर्थ हो।

उच्चतम स्थानमा भगवान हुनुहुन्छ त्यसैले भगवानको आराधना गर्नुपर्छ भन्ने संस्कार विकास भएको तर यसको अनुभूति हामीले आफ्नो उच्चतम चेतनामा स्थित भएर यसलाई अनुभव गर्न सक्नुपर्दछ। ध्यानको अभ्यासले मात्र यो उपासनाको मर्म अनुभूति गर्न सकिन्छ।

आफ्नो उच्चतम चेतनामा स्थित हुनु नै काम, क्रोध, लोभ, मोह, द्वेष, ईर्ष्या र अहंकारबाट मुक्त हुने उपाय हुन्। उपवास अर्थात् व्रतको अर्थ पनि यहि हो उच्चतम चेतनासंग बस्नु, निराहार बसेर मात्र उपवास हुन सक्दैन। ध्यानकै कारण भोजनको चाहनामा कमी आउँछ, के खाने र के नखाने होशपूर्ण हुन मद्दत गर्दछ।

सात्विक भोजनप्रति रस जाग्छ। शरीर र मन स्वस्थ हुनु नै परमात्मालाई खुसी बनाउने अर्थात् परमात्मासंग नजिकिने माध्यम हुन्। तीजको अवधिभर धेरै दर खाइने हुँदा स्वास्थ्यको कारण व्रत बस्नु, शरीरमा बढेको तौल घटाउन व्रत बस्नु अलग कारण हुन्।

परमात्मालाई खुसी बनाउन र आफ्नो चेतनाको स्तरलाई जान्न ध्यानको अभ्यास नै जरूरी हुन्छ। भोजन कसले तयार गर्छ, कुन भाव दशाले तयार गर्छ त्यस अनुसार पनि हाम्रो खुसी र स्वास्थ्यलाई प्रभाव पार्ने हुँदा तीजको दर पनि आमाको हातले बनाएको स्वादिष्ट लाग्ने हो। आमाको प्रेमभाव र पवित्र मनले तयार गरेको दर जीवनकै खुराक हो सन्ततिको लागि।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry