चर्चित संगीतकार थानेश्वर गौतमको “बेचेर सपना “-मात्रै गजल कि चेतना ? (समीक्षात्मक टिप्पणी)

-


     हेमलाल गौतम    
     वैशाख २१ गते २०७९


“बेचेर सपना मैले रात किनेको छु
होस लिलाममा राखी मात किनेको छु ।

नसोध प्रेमको परिभाषा हारेको मान्छे म
माया दिएर पो बर्बाद किनेको छु ।

रोकें कैयौं सुनामी आँशुका भेलहरू
ओढेर अभावका घुम बर्षात किनेको छु ।

भुलेर भुल्न नसकिने कस्ता ती यादहरू
छाती दुखेको निहुमा आघात किनेको छु ।”

गजल गायनमा थानेश्वर गौतम एक पूर्ण नाम हो भन्दा पनि फरक नपर्ने साधक हुन् ।उनको यस पटकको गजल र त्यसको भ्यूजले पनि त्यो कुरा पुष्टी गर्दछ ।
श्रीभक्त पौडेल “आफन्त” को शब्द रचना ,अथक साधक ,मिठो स्वरका धनी थानेश्वर गौतमको स्वर र संगीत ,चर्चित नायक पुष्प खड्का साथै मोडेल स्मारिका ढकाल र शुशिला थापाले अभिनय गरेको यो गजल “जननी नेपाल “नामक ठानेश्वर गौतमको युट्युब च्यानलबाट रिलिज भएर अहिले ट्रेन्डिंगमा रहेको छ । यो “गजल” गीतमा शब्द, संगीत ,स्वर र अभिनयको बेजोड मेल देखिन्छ ।
साँचो प्रेम के हो , त्यसको शक्ति कति हुन्छ र त्यसको अभावमा मान्छे किन पागल हुन्छ भन्ने कुरालाई निकै गहिरो गरी देखाईएको छ ।गजलमा प्रयोग भएका शब्द संयोजनलाई संगीत र अभिनयमा भएको बेजोड मिलनले गजलकारको उचाई समेत बढाएको देखिन्छ ।
साच्चिकै शब्द केही होईन र हो पनि । त्यसलाई राम्रो संग सजाउन सक्यो भने त्यही शब्द अमूल्य निेधि बन्दछ भने सकिएन भने एउटा फगत शब्द त्यो पनि निरस र बेअर्थको हुन्छ ।थाहा हुँदैन्थ्यो गजलकार को हुन् , कलाकार कोहुन् त्यसलाई पहिचान त्यसको ब्यबस्थापनले नदिएको भए ।थाहा हुँदैन्थ्यो एउटा साधकले मेहनत नगरेको भए ब्यबस्थापक को हो भनेर ।थाहा हुदैन्थ्यो एउटा साधकको क्षमता कस्तो छ भनेर निर्देशकले निर्देशन गर्न नसकेको भए । थाहा हुँदैन्थ्यो निर्देशक को हो भनेर साधक र रचनाकारले ईच्छा प्रकट नगरेको भए । कति गजलकारका कति धेरै उत्कृष्ट रचनाहरू होलान् तर यसरी रंगमन्चमा नआउँदा एउटा डायरी र पुस्तकका रूपमा संग्रहमा मात्रै बसेका छन् ।
“बेचेर सपनाहरू रात किनेको छु
होस लिलाममा राखी मात किनेको छु ।

यी दुई “मिसरा”मा “मिसरा ए -उला “मा केटोले कति धेरै सपना सजाएको हुन्छ ।आफ्नो जीवनका ती सबै सपना आफ्नो प्यारमा सुम्पिन्छ तर त्यही प्यार र माया गरेको मान्छे आफुबाट कुनै तरिकाले टाढाहुँदा ऊसंग अब देख्ने सपना केही बाँकी हुँदैन ! फगत रात मात्रै हुन्छ ; एउटा निरस रात ।दोस्रो ”मिसरा “ मा “ मिसरा ए-सानु “मा जब उसका सामु निरस रात हुन्छ तब ऊसंग कुनै होस बाँकी रहदैन । केबल ऊसँग नशा र मात मात्रै बाँकी हुन्छ । उसको सबै खुशी त्यही मातले पुरा गर्छ । मात या नशा छ ऊसँग ; सबै छ । नशा छैन उसका सामु ;निरस संसार र फगत चल्ने मुढो आफ्नो शरीर छ ।उसको जीवनको सबै निधि हराएको खोक्रो मुढो मासु र हाडको थुप्रो मात्रै । यहि प्रथम “सेर “ नै यो गजलको सार हो ।
हो गजलले दुई प्रेमीका बिचमा बिभिन्न रस पस्किन्छ तर यो करूण रसले भरिएको गजल हो । यसमा कलाकारले निभाएको भूमिका पनि अब्बल देखिन्छ ।
जसले सबै कुरा उसका लागि सुम्प्यो उसैसँग सँधैका लागि छुट्यो ।
“नसोध प्रेमको परिभाषा हारेको मान्छे म
माया दिएर पो बर्बाद किनेको छु ।”

यो “सेर”जसले जसलाई माया दियो ,प्यार दियो जीवनको सर्वस्व दियो उही ब्यक्ति आज आफुबाट सँधैका लागि टाढा भयो भने उसलाई माया र प्रेमका प्रश्न गरेर मनमा किल्ला किन रोप्नु पर्यो । न त ऊ सँग त्यसको कुनै जवाफ नै बाँकी रहन्छ । उसले आफुसँग भएको सबै कुरा मायामा सुम्प्यो र त्यसको बदलामा बर्बाद मात्रै पायो ।त्यसैले त ऊ सँग फगत रात र त्यही मात मात्रै बाँकी छ ।
“रोकें कैयौं सुनामी आँशुका भेलहरू
ओढेर अभावका घुम बर्षात किनेको छु ।”

यो सेरमा , आज त्यही प्यारो चिज आफुबाट टाढा हुँदा आफ्नै आँशुले सुनामीको बेगलाई पनि रोक्न सक्ने भएको छ ।त्यसैको अभावमा ओतलाग्ने माया होईन उसको अभाबमा खुला आकाश मुनी बर्षात किनेको छ र त्यसलाई त्यही अभाव ओढेर जीवन जीईरहेछ । जीईरहेछ त के भन्नु हल्लीरहेछ फगत मुढो जिउँदो लास जस्तो शरिर ।त्यसको साथै ऊ सँग त्यही निरस रात , त्यही बेहोसको मात बाहेक केही छैन ;छ त ऊसँग त्यही अभाव र निरस आँशुको झरी ।
“भुलेर भुल्न नसकिने कस्ता ती यादहरू
छाती दुखेको निहुमा आघात किनेको छु ।”

यो सेरमा ,कति मिठा मिठा सपना सजाएको थियो उसले ।प्यार र मायाको संसारको जग हालेको थियो उसले । ती सबै सुनामीले झैं जगै उडाएर सँधैका लागि लगिदियो । जति रात कटेपनि ,जति मात लागे पनि जति नसोध्ने र नसम्झिने भने पनि ती मिठा मिठा क्षणहरू भुल्नै सक्दैन उसले । त्यसको प्राप्तीमा अरू केही नसके पनि तिनै आघातहरू बचाएको छ ।ऊ आउने बाटो नदेखे पनि गएको बाटो हेरेर दिन कटाई रहेको छ । सोचेको होला म भएको ठाउँमा ऊ आउन नसके पनि ऊ भएको ठाउँमा अबस्य पुग्नेछु भनेर । त्यसैले त त्यही निरस रात अनि त्यो मात किनिरहेछ । अभावै अभावलाई ओत्न आँशुको बर्षात किनेर त्यही अभावकै घुम ओढिरहेछ ।सम्झनामा याद र मन दुखेको बेला ,ऊसलाई कल्पनामा हेर्ने एकजोर आखाँ किनेको छ । तर ती एक जोर आँखाले ऊ आएको देख्दैन आफुजाने बाटो मात्रै देखेको छ ।
प्यार, माया र स्नेह बास्तबमा संसार सजाउने संजीवनी बुटी हो । त्यसको अभावमा हौसला ,प्रेरणा र उत्साह भरिन सक्दैन ।त्यही चिज प्राप्त हुँदा प्रगती ,उन्नती र समुन्नती प्राप्त हुन्छ । त्यसकै आधारमा ब्यक्ति ,घर परिवार ,समाज ,देश र बिश्व नै सम्पन्न हुन्छ । तसर्थ माया लगाउन , जोगाउन र बढाउन जान्यो भने सबै कुरा सम्बृद्धिमा परिणत हुन्छ । सकिएन भने बर्बादीमा परिणत हुन्छ । कति कुरा गुमाए पछि पाईदैन त कतिकुरा गुमाए पनि पाईन्छ । त्यसैले के को कति जतन गर्ने भन्ने कुरा हरेकको सजगतामा पनि भर पर्छ । यो गजलमा एउटा चालकको लापर्बाहीमा एक सुन्दर जोडी जसको मायाको बिउ पनि रोपिएको थियो त्यो सबै सिसा फुटे झै भयो । अर्को कुरा सजगता अपनाएर दायाँ बायाँ अगाडि पछाडि याद गरेर हिंडेको भए उसले त्यो भर्भराउँदो मायाको संसारबाट टाढिनु पर्ने थिएन ।राज्यका संयन्त्रले दुर्घटना कमगर्ने मानव निर्मित पद्धती बसालिदिएको भए कसैबाट पनि त्यती धेरै लापर्वाही हुनेथिएन । जन धनको सुरक्षा र संरक्षण गर्न सके राज्य पनि सवल र सम्पन्न हुन्थ्यो । यीनै कुरा गजल गीतको अभिनय दृश्यले उजागर गरेको छ ।
यो गजल पढेर ,गाएर , सुनेर मात्रै पूर्ण हुँदैन ।तसर्थ यसका हरेक तह र मर्म बुझ्न अभिनय सहितको भिडियो हेर्नै पर्ने हुन्छ । यो करूण रसले भरिएको भए पनि यहाँ भयानक रस ,बिभत्स रस पनि देखिन्छ ।यसले रौद्र रस उत्पन्न गर्यो भने समाज झन धेरै दुरघटनामा जान सक्छ । तसर्थ यसबाट पाठ सिकेर शान्त रसमा ढाल्न बिज्ञानका सास्वत नियमको सहारा लिंदै राज्यले त्यस्ता संयन्त्र निर्माण गर्नुपर्छ । तब यो गजल गीत मात्रै रहदैन चेतना पनि रहन पुग्छ ;होईन भने निराशै निराशाको वियोगान्त कथा मात्रै ।
गजलको अन्तिमका दुई उद्धरण “एक युवाले उक्त गजल सुनेर आत्महत्या गर्ने प्रयास गरेको “र “गजललाई प्रतिबन्ध गर्दै “त्यसका गायकलाई “घटनाको सोधपुछका लागि थुनामा राखिएको “ कुरा त्यती सान्दर्भिक लागेन ।हुनसक्छ अभिनय भित्र यी अभिब्यक्तिहरू ;दर्शक आकर्षणका लागि खर्चेका शब्द होलान् । तर ,यो या त शुरूमा हुनुपर्थ्यो या त राखिनु हुन्थेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry
5