किन जापानमा पेन्सनमा बाँच्ने वृद्धवृद्धा जेल जान चाहन्छन् 

-


     जनहित न्युज    
     चैत्र ५ गते २०७८


जापानमा वृद्धवृद्धाले गर्ने अपराधको लहर आए झैँ भएको छ – ६५ वर्ष माथिका मानिसले गर्ने अपराधको मात्रा बीस वर्षयता बढेको बढ्यै छ। 

किन? भन्ने प्रश्नको जवाफ खोजेका छन्। 

हिरोशिमास्थित घरमा पुनर्स्थापित गर्नु अघि राखिने एउटा केन्द्रमा रहेका टोशियो टकाटाले गरिबीका कारण आफूले कानून तोडेको बताए। उनी नि:शुल्क बस्ने ठाउँको खोजीमा थिए, जेल भएपनि उनलाई त्यो मान्य थियो।

“म पेन्सन पाउने उमेरमा पुग्दा मसँग भएको सबै पैसा सकियो। त्यसपछि मैले सोचेँ जेल जान पाए त म सित्तैँमा बस्न पाउनेछु।””त्यसैले मैले एउटा साइकल लिएर प्रहरी स्टेशन गएँ र त्यहाँ भएका प्रहरीलाई देखाएँ: ‘हेर त मैले यो चोरेँ।”

धम्क्याउनका लागि चक्कु देखाउने

उनको योजनाले काम गर्‍यो। त्यो टोशियोको पहिलो अपराध थियो ६२ वर्षको उमेरमा, तर जापानको अदालतले सानोतिनो चोरीलाई निकै गम्भीर रुपमा लिन्छ। उनले एक वर्षको जेल सजाय पाए। 

सानो गाँठीका, दुब्ला पातला अनि खित्खिताइरहने बानी भएका टोशियो पेशेवर चोर जस्ता लाग्दैनन्। त्यसमा पनि महिलालाई चक्कु देखाएर धम्काउने त हुँदै होइनन्। तर पहिलो जेल सजाय भोगेर निस्केपछि उनले त्यही गरे। 

“म पार्क गएँ र उनीहरूलाई धम्क्याएँ। म उनीहरूलाई कुनै हानि पुर्‍याउन चाहन्नथेँ। मैले चक्कु देखाएपछि उनीहरूले प्रहरीलाई खबर गर्नेछन् भन्ने सोचेको थिएँ। एकजनाले त्यसै गरिन्।” 

Toshio Takata
तस्बिरको क्याप्शन, टोशियो ले जेलको कोठामा आफैँले बनाएका चित्र राखेका छन्

गएको आठ वर्षको करिब आधा समय टोशियोले जेलमा बिताए। 

उनलाई जेल बस्न मन पर्छ र? भनेर मैले सोध्दा उनले आर्थिक फाइदा देखाए- “उनी जेलमा बस्दा पनि पेन्सन त आइरहेकै हुन्छ।” 

“मलाई मन पर्ने भन्ने होइन तर म त्यहाँ सित्तैँमा बस्न पाउँछु,” उनी भन्छन। “त्यसैले जेलमा बस्नु त्यति दु:खदायी लाग्दैन।” 

कानूनको कडा पालना

टोशियो जापानमा बढिरहेको मर्माहत पार्ने प्रवृत्तिको अपराधको प्रतिनिधि उदाहरण मात्र हो। 

कानूनको कडा पालना गर्ने जापानी समाजमा ६५ वर्ष माथिका मानिस अपराधमा संलग्न हुने प्रवृत्ति बढ्दै गइरहेको छ। 

सन १९९७ मा बीसजना अपराधीमध्ये एकजना यो उमेर समुहका हुन्थे। तर बीस वर्ष यता यो संख्या बीसजनामा पाँचजना भन्दा बढी पुगेको छ। 

जनसंख्याका हिसाबले ६५ वर्ष माथिका मानिसको संख्या एक चौथाइ भन्दा बढी छ। र अपराध गर्नेमध्ये एक चौथाइ ६५ वर्ष माथिका पुगेका छन्।  र टोशियो जस्तै थुप्रै बूढाबूढीहरू दोहोर्‍याएर कानून तोड्ने गर्छन्। 

सन २०१६ मा दोषी सावित भएका २५०० मध्ये एक तिहाइले पाँचपटक भन्दा बढी अपराध गरेका थिए। 

अर्को उदाहरण केइको (परिवर्तित नाम) हुन्। सत्तरी वर्षकी सानो गाँठीकी र सफासुग्घर देखिने उनले पनि गरिबीकै कारण नकाम गरेको बताइन्। 

“म मेरा श्रीमानसँग मिल्न सकिन। मसँग अर्को बस्ने ठाउँ पनि थिएन। त्यसैले चोर्ने सोचेँ,” उनले भनिन्। 

“असी वर्ष पार गरेका राम्ररी हिँड्न नसक्ने महिलाहरू पनि अपराध गर्न थालेका छन्। त्यो किनभने उनीहरूसँग खाना र पैसा छैन।” 

खानाको चोरी 

हामीले केही महिना अघि पूर्व चोरहरू राखिने गृहमा उनीसँग कुराकानी गरेका थियौं। अहिले फेरि उनी पसलबाट सामान चोरी गरेको आरोपमा जेल सजाय भोगिरहेको मलाई खबर आएको छ। 

चोरी, खासगरी पसलबाट गरिने चोरी, बूढाबूढीहरूले गर्ने सबभन्दा ठूलो अपराध बन्दै गएको छ।

उनीहरूले खासगरी तीन हजार नेपाली रुपैयाँजति पर्ने खाना आफू गइरहने पसलबाट चोरेको पाइएको छ। 

अष्ट्रेलियामा जन्मेर टोक्योमा रहेको अनुसन्धान केन्द्र कस्टम प्रोडक्ट रिसर्च ग्रुपसँग आवद्ध जनसंख्याविद माइकल न्यूमन भन्छन्- जापान सरकारले दिने “न्यूनतम” पेन्सनले बाँच्न निकै गाह्रो छ। 

सन २०१६ मा उनले प्रकाशित गरेको एउटा अनुसन्धानात्मक लेखमा उनले घरभाडा, खानेकुरा स्वास्थ्य सुविधा लिँदा मात्रै पनि मान्छेलाई यदि उनीहरूको अन्य आम्दानी छैन भने ऋण लाग्ने हिसाब गरेका छन्। त्यसमा लुगा र घर न्यानो पार्ने हिटरको हिसाब जोडिएको छैन। 

Kanichi Yamada

पहिले पहिले छोराछोरीले आफ्ना बाबुआमालाई हेरचाह गर्ने गर्थे।

तर आर्थिक अवसरहरू नभएका प्रान्तहरूमा कैयौं युवाहरू बाबुआमालाई आफैँ निर्वाह गर्न छोडेर अन्यत्रै जाने गरेका छन्। 

“पेन्सन लिइरहेकाहरू आफ्ना छोराछोरीमाथि बोझ बन्न चाहन्नन्। त्यसैले राज्यले दिने पेन्सनमा बाँच्न नसकेपछि जेल जानु बाहेक अरु उपाय रहेन,” उनी भन्छन्। 

उनी भन्छन्, चोरी गरेपछि “जेल फर्किन पाइन्छ” जहाँ दिनमा तीनपटक खाना खान पाइन्छ र कुनै बील तिर्न पर्दैन। 

आत्महत्या पनि बढ्दो 

“बाहिर निस्कने वित्तिकै भित्र जान उपक्रम शुरु भइहाल्छ।” 

न्यूम्यान औंल्याउँछन् – बूढाबूढीमा आत्महत्या पनि निकै बढिरहेको छ। 

“विथ हिरोशिमा” केन्द्र जहाँ मैले टोशियो टकाटालाई भेटेँ, त्यसका निर्देशक पनि जापानी परिवारमा आएको परिवर्तनले वृद्धहरूको अपराध बढ्नमा मद्दत पुर्‍याएको ठान्छन्। उनी आर्थिक भन्दा मानसिक कुरामा बढ्ता जोड दिन्छन्। 

“मानिसहरूका बीचको सम्बन्ध परिवर्तन भएको छ। मानिसहरू एक्लिएका छन्। उनीहरूले समाजमा कुनै स्थान देख्दैनन्। उनीहरू आफ्नो एकान्तपनसँग जुझ्न सक्दैनन्,” हिरोशिमामा आणविक बम हानिएपछि भत्केको घरको थुप्रोबाट निकालिएका ८५ वर्षीय कानीची यामादा भन्छन्। 

“केही वृद्धवृद्धा आफ्नो जीवनको मध्यतिर आइलाग्ने विभिन्न दुर्घटनाका कारण पनि यस्ता अपराधतिर लाग्छन्। अधबैंशे उमेरमा उनीहरू श्रीमति वा बच्चा गुमाउँछन् र त्यो परिस्थितिसँग जुझ्न सक्दैनन….आफूलाई साथ दिने या हेरचाह गर्ने व्यक्ति भएकाहरूले धेरैजसो यस्ता अपराध गर्दैनन्।” 

Prison guard

कानिचि यामादाको विचार छ, “टोशियोले भनेको जस्तो गरिबीका कारण अपराध गर्न उद्यत भन्ने कुरा त “बहाना” मात्र हो।” 

समस्याको चुरो त एकान्तपन हो। अपराध दोहोर्‍याइरहन उनलाई जेलमा मिल्ने साथीभाइको साथले पनि प्रेरित गरेको हुन सक्छ। टोशियो यो संसारमा एक्लै छन् भन्ने कुरा साँचो हो। उनका बाबुआमाको मृत्यु भइसकेको छ। उनका दाजुहरूसँग उनको कुनै सम्पर्क छैन किनभने उनले फोन गर्दा पनि उनीहरू उठाउन्नन्। उनका दुई पूर्व पत्नीहरूसँग सम्बन्ध विच्छेद भइसकेको छ र तीन बच्चाहरूसँग पनि कुनै सम्पर्क छैन। 

परिवार र श्रीमती भएमा उनको अवस्था अर्कै हुन्थ्यो कि भन्ने मेरो प्रश्नमा उनले भने हुन्थ्यो। 

उनी भन्छन्, “मेरा वरिपरि उनीहरू हुँदा हुन् त म त्यसो गर्दिनथेँ।”

कारागार क्षमता बृद्धि

माइकल न्यूम्यानले जापानको सरकारले उसको कारागारको क्षमता बढाएको हेरेका छन्। र जेलमा महिला गार्डको संख्या थपेको पनि देखेका छन्। (महिला अपराधकर्मीको संख्या पनि बढ्दो छ।) 

र जेलमा रहेका मानिसको स्वास्थ्य सम्बन्धी खर्च बढेको उनी औंल्याउँछन्। 

र त्यहाँ अर्को परिवर्तन मैले देखेको छु – टोक्योबाहिर फुचुमा रहेको एक कारागरका कैदीमध्ये एक तिहाइ ६० वर्ष माथिका छन्। 

जापानी जेलहरूभित्र मार्चपास गर्छन् र चर्को आवाजमा नारा लगाउँछन्। तर सैन्य ड्रील कार्यान्वयन गर्न निकै मुश्किल हुँदै गएको छ। 

Street scene, illustration

मैले पछाडितिर केही कपाल फुलेका बूढाबूढीहरू मार्चपास गर्न नसकिरहेको देखेको छु। एकजना त बैशाखीमा छन्। 

जेलका शिक्षा विभागका प्रमुख मासात्सुगू याजाको भनाइ छ, “हामीले यता उता हातले समात्न मिल्ने डन्डीहरू र विशेष शौचालयको व्यवस्था गरेका छौं। र बूढाबूढीका लागि विशेष कक्षाको व्यवस्था पनि गरेका छौं।” 

उनले त्यस्तै एउटा कक्षामा मलाई लगे। त्यहाँ एउटा लोकप्रिय गीत गाइयो, जन्मको कारण र जीवनको अर्थ भनियो। कैदीहरूलाई सँगसँगै गाउन लगाइयो। कोही निकै भावुक भइरहेका थिए। 

याजावा भन्छन्, “वास्तविक जीवन र खुशी जेल बाहिर रहेको देखाउन गीत गाउँछौं” “तर उनीहरू कैयौं जेल भित्रै जीवन राम्रो छ भन्ठान्छन् र कति जना फेरि फर्केर आउँछन्।”

माइकल न्यूम्यान तर्क गर्छन्, अदालतको प्रक्रिया र जेलको खर्च गणना गर्ने हो भने त उनीहरूलाई बाहिरै पाल्नु धेरै राम्रो र धेरै सस्तो पनि पर्नेछ। 

नमूना गाउँ

“हामीले एउटा नमूना गाउँको कुरा गरेका थियौं। एउटा अवकाशप्राप्त मानिसहरू बस्ने गाउँ बनाउन सकिन्छ। त्यहाँ उनीहरूले आफ्नो पेन्सनको आधा पैसा हाल्नेछन् जसबापत उनीहरूले सित्तैँमा खाना, बस्ने ठाउँ र स्वास्थ्य सुविधा पाउनेछन्, गीत गाउन पाउनेछन् वा खेल खेल्न पाउनेछन्। उनीहरूलाई केही स्वतन्त्रता पनि मिल्नेछ। त्यसको खर्च अहिले सरकारले अपराधीका लागि गर्ने खर्चको तुलनामा कम हुनेछ।” उनी भन्छन्। 

तर उनको सुझाव छ, जापानी अदालतले साना साना चोरीलाई दिने सजाय घटाउनुपर्छ, “अपराधको तुलनामा सजायको मात्रा अनौठो छ।” 

“दुई सय जापानीज येन बराबरको ‍स्यान्डविच चोर्दा दुई वर्षको सजाय दिइने र त्यसका लागि ८४ लाख येन बराबरको खर्च हुने गरेको छ,” उनले २०१६ को रिपोर्टमा लेखेका छन्। 

यो अनुमान गरिएको उदाहरण मात्र हुन सक्छ, तर मैले एकजना वृद्ध कैदी भेटेँ जसको अनुभव त्यस्तै थियो। उनलाई २.५ पाउन्ड बराबरको मरिचको बोत्तल चोरेको अभियोगमा दुई वर्षको जेल सजाय दिइएको थियो। 

जापानमा रहेका तीन हजार जति खुद्रा पसलमा सुरक्षा दिने गरेका मोरियो मोचिजुकीका अनुसार पसलमा चोरी गर्नेहरूप्रति जापानको अदालत झन कडा रूपमा प्रस्तुत हुँदै आएको छ। 

“यदि उनीहरूले एक टुक्रा पाउरोटीमात्र चोरे भने,” जापानको जेल सेवाका मासायुकी शो भन्छन्, “सुनुवाइका बेला उनीहरूलाई पाठ सिकाउन जेल पठाउनैपर्छ र उनीहरूले समाजमा अपराध नगरीकन कसरी बाँच्ने भन्ने सिक्नैपर्छ भन्ने निर्णय गरिएको हुन्छ।” 

जापानको जेल निकायले टोशियो टकाटालाई पाठ सिकायो कि सिकाएन मलाई थाहा भएन तर टोशियो टकाटासँग अर्को अपराधको योजना छ कि भनेर सोध्दा उनले छैन भने। 

उनले भने, “म फेरि अपराध गर्न चाहन्न। म छिट्टै ७० वर्षको हुनेछु। म बूढो र अशक्त हुनेछु। म त्यस्तो काम फेरि फेरि गर्ने छैन।(बीबीसीका एड बटलरले सन २०१९ को फेब्रुअरी तिर गरेको अध्ययनका आधारमा तयार पारिएको समाचार फिचर)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Like
Like Love Haha Wow Sad Angry