अध्यक्ष उठ्ने रावलको दाबी : ओलीलाई चुनौती कि घुर्की !

-


     जनहित न्युज    
     मंसिर १ गते २०७८


काठमाडौँ : तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपालबिचको सम्बन्ध बोलचालै बन्द हुने गरी बिग्रिएको थिएन। उनी असन्तुष्ट त थिए। तर बोल्दा संयम नै थिए। तर पार्टीका नेता भीम रावल उग्र विरोधी भइसकेका थिए ओलीको। सामाजिक सञ्जालमा दैनिक जस्तै कटु शब्दले घोचिरहन्थे ओलीलाई।

पुष्पकमल दाहाल प्रचण्डसँगै नेपालसँगको ओलीको सम्बन्धमा सुधार हुन सकेन। विवाद बढ्दै जाँदा एकले अर्कालाई पार्टीबाट निकाल्ने चरण पार गरेर अहिले यी तीन नेता तीन दलको नेतृत्वमा छन्। ओली एमाले अध्यक्षमै कायम रहे। प्रचण्ड माओवादी केन्द्रको अध्यक्षमा फर्किए। नेपालले नयाँ दल एकीकृत समाजवादी गठन गरेर सङ्गठनमा लागिरहेका छन्।

ओलीका कटु आलोचक रावल भने अन्तिम समयमा नेपाल समूहलाई धोका दिएर एमालेमै फर्किए। केही समय ओलीले सबै समस्या समाधान गरिदिन्छन् भन्दै हिँडेका उनी अहिले आगामी महाधिवेशनमा ओलीलाई अध्यक्षमा चुनौती दिने भाषण गर्न थालेका छन्।

ओली सर्वसम्मत अध्यक्ष हुने प्रयासमा सक्रिय भएको बेला रावलले गरेको घोषणालाई धेरै पत्याएका भने छैनन्। अधिकांशले उनको यो घोषणालाई ओलीलाई घुर्क्याएर पार्टीको कुनै पद सुरक्षित गर्ने रणनीतिकै रूपमा हेरेको देखिन्छ। रावलप्रति ओलीको मौनताले पनि त्यही देखाउँछ।

राजनीतिक विश्लेषकहरूले  अध्यक्षमा उम्मेदवारी दिने रावलको घोषणालाई त्यति गम्भीर रूपमा लिएको देखिएन। अध्यक्षको उम्मेदवार बन्न जुन रूपमा अधिवेशनहरूमा सक्रिय हुनुपर्ने हो रावल त्यो रूपमा सक्रिय पनि छैनन्।

रावलले अध्यक्षमा उम्मेदवारी दिने भन्दै जुन शब्दहरू प्रयोग गरे ती निकै कमजोर थिए। उनले पराजयकोक्रमहरु उल्लेख गर्दै हारबाट डराउन नहुने भन्दै उम्मेदवार बन्न गरेको घोषणाको प्रारम्भमै हार स्वीकार गरेको देखिन्छ।

‘कति कार्यकर्ताले सोध्नुभएको छ, हार्‍यो भने के गर्नुहुन्छ ? मैले भनेको छु, चुनावमा लडेपछि नहारेको को छ ? आठौँ महाधिवेशनमा केपी ओलीले हार्नुभएको होइन? त्यो महाधिवेशनमा केपी ओली र म एउटै प्यानलमा थियौँ, उहाँले अध्यक्षमा र मैले उपाध्यक्षमा हारेको हो,’ रावलले भनेका थिए, ‘अब चुनावको कुरा गरौँ, केपी ओलीले प्रतिनिधिसभाको चुनावमा झापामा हार्नुभएको छैन? म पनि त्यति वेला संविधानसभाकै चुनावमा हारेको हुँ । दुवैले हारेका थियौँ, माधव नेपालले काठमाडौँमा हार्नुभएको थिएन र?’

उनले हारभन्दा पनि देशको लागि, जनताको लागि, न्यायका लागि, समानताका लागि, सिद्धान्तका लागि झन्डा बलियो गरी समात्छ कि समात्दैन भन्ने मुख्य कुरा भएको दाबी गरेर हारका लागि आफ्ना समर्थकलाई मानसिक रूपमा तयार गर्ने प्रयास गरे।

‘हार्ने कुरा के भो र ? यही ठाउँमा ०४८ मा हारेको हुँ, तर तपाईँहरूले जिताएर प्रतिनिधिसभा सदस्य, देशको उपप्रधानमन्त्री बनाइदिनुभयो । त्यस कारण दशौँ महाधिवेशनमा तपाईँहरूको स्वाभिमान र भावनाको झन्डालाई बलियो गरी समात्छु, हार्ने–जित्ने कुराको चिन्तै नगर्नुस् ,’  उनले भने।

आफ्नै समूहमा छैन छलफल

रावल आफ्नै गृह जिल्लामा पुगेर अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरे पनि उनले आफूसँगै माधव नेपाललाई छाडेर ओलीतिर लागेका अन्य नेतासँग छलफल गरेका छैनन्। यसले पनि उनी ओलीलाई नेतृत्वमा चुनौती नै दिने गरी अध्यक्षको उम्मेदवारका रूपमा तयारीमा नरहेको देखाउँछ नै।

पार्टी विभाजनका वेला रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, गोकर्ण विष्ट, अमृत बोहरा, भीम आचार्यसहितका नेता एकताका पक्षमा उभिएका थिए। यी सबै पदाधिकारीका आकाङ्क्षीहरू हुन्। घोषणा नगरे पनि भुसाललाई अध्यक्षमा उम्मेदवारी दिन दबाब बढिरहेको देखिन्छ। पाण्डे महासचिवको दाबेदार देखिएका छन्। तर तत्काल कोही मुख खोल्ने मुडमा भने छैनन्।

‘पछि सल्लाह गर्नुपर्छ, हतारो छैन। अहिले बेला भैसकेको छैन। पछि छलफल गरौँला’ पदाधिकारीमा उठ्ने सवालमा गोकर्ण विष्टले उकेरासँग भने ‘उहाँले कहाँ के बोल्नु भएको छ मलाई थाहा छैन। योग्यता पुगेका सबैले दाबेदार गर्न त पाइहालिन्छ नि।’

अर्का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले रावलको उम्मेदवारी घोषणाबारे टिप्पणी गर्न चाहेनन्। ‘यो विषयमा मलाई नसोध्नुहोला, उहाँलाई नै सोध्नुहोला’ पाण्डेले भने।

अध्यक्ष ओलीले वडा र पालिका अधिवेशन सर्वसम्मत सम्पन्न गराएर पार्टी नेतृत्व पनि सर्वसम्मत चुन्ने गरी माहौल सिर्जना गरिसकेकाले उनी पक्षका नेताहरू भने ढुक्क देखिनेछन्। ‘उनीहरू कराएर केही हुँदैन ओली सर्वसम्मत अध्यक्ष बन्छन्। अध्यक्षमा अरूको दाबेदार रहे पनि पार्टीका तल्ला तहमा प्रभाव पर्ने छैन। हामी बागी उम्मेदवारको त्रास नहुने गरी एक भएर आम चुनावमा जाने हो,’ ओली निकट एक नेताले उकेरासँग भने।

पत्याएनन् विश्लेषकले

राजनीतिक विश्लेषकहरूले  अध्यक्षमा उम्मेदवारी दिने रावलको घोषणालाई त्यति गम्भीर रूपमा लिएको देखिएन। अध्यक्षको उम्मेदवार बन्न जुन रूपमा अधिवेशनहरूमा सक्रिय हुनुपर्ने हो रावल त्यो रूपमा सक्रिय पनि छैनन्। उनले आफ्नै समूहमा समेत छलफल नगरेकाले अध्यक्ष उम्मेदवारी उनको घुर्कीकै राजनीतिको शृङ्खलाकै निरन्तरता झैँ देखिन्छ।

‘अध्यक्षको दाबेदार गर्नेले त अहिले देशैभर तल्ला तहमा प्रभाव पार्नुपर्ने हो। चर्को स्वरमा कराएर मात्र हुन्छ? यसरी पार्टीमा प्रभाव पार्न सकिँदैन,’ राजनीतिक विश्लेषक आनन्दराम पौडेलले भने’ ‘मदन भण्डारीको पालामा पाँचौँ महाधिवेशन पछि प्रदीप नेपालले कसरी बनाउँदा रहेछन् पार्टी हेरौँला भनेर रेडियो नेपालको घटना र विचार कार्यक्रममा बोलेका थिए, उनको प्रभाव पार्टीमा खासै रहेन। अहिले पनि केपी ओलीलाई चुनौती दिने कोही पनि देखिँदैन।’

पौडेल रावलले गुट बनाएर आफ्नो हिस्सा खोज्ने दाउमा रहेको बताउँछन्। ‘दश बुँदेपछि अन्य क्षेत्रमा एमाले एकीकृत भए तर सुदूर पश्चिममा एमाले तितरबितर भयो। अन्य क्षेत्रमा साङ्गठनिक रूपमा विभाजनको कम प्रभाव पर्‍यो। जिन्दगीभर सुदूर पश्चिममा इन्चार्ज भएका रावले अहिले किन एकै एमाले बनाउन सकेनन्?’ उनले भने।

पुराना कम्युनिस्ट नेता सिपी मैनाली भिन्न मत राख्नेहरू एक भएर अघि बढ्दा फाइदा हुने बताउँछन्। यदि रावलले फरक मतको प्रतिनिधित्व गरेर उम्मेदवारी दिए भने त्यो महत्त्वपूर्ण हुने उनको बुझाई छ।

‘भीम रावलले फरक मतको प्रतिनिधित्व गरेर उम्मेदवारी दिए भने महत्त्वपूर्ण घटना हुनेछ। सर्वसत्तावादी हिसाबले जाने प्रयत्नको खिलाफमा स्वच्छ जनवादी केन्द्रीयताको पक्षमा स्थापित हुनसक्छ,’ मैनालीले भने।

यसले पार्टी भित्रको आन्तरिक लोकतन्त्र पनि बलियो हुने मैनालीको मत छ। ‘नेतृत्वमा प्रतिस्पर्धा गर्न रोकेर प्रजातान्त्रिकीकरण भन्ने एमालेको मूल मर्म विपरीत हुन्छ,’ मैनालीले थपे। निर्वाचन परिणाम जे जस्तो भए पनि योग्यता अनुसार जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ।

एमालेको महाधिवेशनमा जैविक एमाले, माओवादीबाट आएका र पार्टीमा पुनः फर्किएकालाई स्वीकार गर्न नसक्ने राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटरको मत छ। ‘जैविक एमालेले आगन्तुक एमालेलाई पचाइदिइराखेको छ। आगन्तुक एमालेले ‘नत्र भने’ भनेर अघि बढ्छ र उनीहरूलाई थामथुम पार्ने काम हुन्छ,’ पिटरले उकेरासँग भने। 

उनको मतमा रावलको प्रतिस्पर्धी ओली नभई १० बुँदे सहमति गर्ने अरू प्रतिस्पर्धी हुन्। अध्यक्षमा उम्मेदवारी घोषणा गर्दैमा प्रभाव नपर्ने बताउँदै उनले रावलले आफ्ना लागि प्रतिस्पर्धा जाहेर गर्न सके पनि त्यसले कुनै व्यवहारिक र नैतिक तागत नहुने टिप्पणी गरे।

योगेश भट्टराई र भीम रावल लगायतका नेताहरू उग्र रूपमा बोल्नुले उनीहरूको रक्षात्मक अवस्थालाई देखाएको पिटरले बताए। (उकेरा डटकमका लागि दिपेन्द्र अधिकारीले यो समाचार लेखेका हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?