तीन महिनामा नेपालीले पिए १ अर्ब २० करोडको मदिरा

-


     जनहित न्युज    
     कार्तिक २८ गते २०८०


कोरोना र रुस–युक्रेनबीचको द्वन्द्वले अर्थतन्त्रमा देखिएको संकुचनको बाबजुद मदिरा आयात उच्च भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार विगत केही वर्षको तुलनामा पछिल्लो तीन महिना साउन, भदौ र असोजमा मदिराको पैठरी उच्च भएको हो ।

गत वर्षको तीन महिनाको तुलनामा १८८ प्रतिशतले बढी मदिरा आयात गरेको छ । सरकारले गत वर्ष मदिरा आयातमा प्रतिबन्ध गरेका कारण आयात ठप्प भएको थियो ।

सरकारले उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएको र बजारमा तरलता अभाव देखिएको भन्दै मदिरासहित अन्य ९ वटा वस्तुको आयातमा प्रतिबन्ध गरेको थियो । जसले गर्दा गत वर्षसम्म कम मदिरा आयात भएको हो ।

विभागअनुसार गत वर्षको तीन महिनाको अवधिमा ४१ करोड ७९ लाख रुपैयाँको ९ लाख १९ हजार लिटर मदिरा आयात भएको थियो । । यो वर्ष पनि अर्थतन्त्र पूर्णरुपमा चलायमान हुन सकेको छैन । अर्थतन्त्र संकुचनले गर्दा बजारमा माग निकै न्यूनसँगै अस्तव्यस्त छ । तर, मदिरा आयात भने उच्च भएको विभागले जनाएको छ ।

चालु अर्थिक वर्षको तीन महिनाको अवधिमा नेपालले १ अर्ब २० करोड ३६ लाख रुपैयाँको १२ करोड ९१ लाख लिटर मदिरा आयात गरेको छ । उक्त आयातित मदिराबाट नेपालले १ अर्ब ६५ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी, नेपालले आव २०७८/७९ मा ७६ करोड ८४ लाख रुपैयाँको १२ लाख ८५ हजार लिटर, आव २०७७/७८ मा २२ करोड ६५ लाख रुपैयाँको १० लाख १८ हजार लिटर र आव २०७६/७७ मा १ अर्ब ४१ करोड ८७ लाख रुपैयाँको ७० लाख ३५ हजार लिटर मदिराजन्य वस्तु आयात गरेको थियो ।

चालु आर्थिक वर्षको बजेटमार्फत् अर्थमन्त्री डा. प्रकाशशरण महतलले बजेट घोषणा गर्दै मदिराको कर बढाएका थिए । सरकारले अधिकांश मदिराको आयातमा अन्तशुल्क दर बढाएको थियो । सरकारले मदिरा आयातमा निरुत्साहित गर्न कर बढाएपनि त्यसको प्रभाव भने देखिँदैन । तथ्याङ्कअनुसार बजेटले कर बढाए पनि आयात भने कमी आएको छैन ।

अल्कोहलरहित बियरमा सरकारले प्रतिलिटर ५ रुपैयाँ अन्तशुल्क बढाएको थियो भने जौबाट बनेको बियरमा प्रतिलिटर ७ रुपैयाँ अन्तशुल्क बढाएको थियो ।

त्यसैगरी, ईएनएको (एक्स्ट्रा न्युट्रल अल्कोहल) मा ४ रुपैयाँ, डिनेचर्ड स्प्रिटमा ५ रुपैयाँ, वाइन वा व्राण्डीको कच्चा पदार्थको रुपमा प्रयोग हुने सबै प्रकारका मादक द्रवहरुसमेत अन्तशुल्क ७ रुपैयाँ, १५ युपि शक्ति ४८.५ प्रतिशत अल्कोहलको मात्रा भएको तयारी मदिरा, २५ युपी शक्तिको ४२.८ प्रतिशत अल्कोहल भएको तयारी मदिरासहित अन्य ७० युपीसम्मको मदिराको अन्तशुल्क बढाएको थियो ।

कुन मदिरा कति आयात ?

नेपालले तीन महिनाको अवधिमा १ अर्ब २० करोड रुपैयाँको मदिरा आयात गर्दा वाइन मात्रै १६ करोड रुपैयाँको ३ लाख ४२ हजार लिटर आयात गरेको छ । आयातित वाइनबाट सरकारले ३० करोड १७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

त्यसैगरी, एक्स्ट्रा न्यूट्रल अल्कोहल १६ करोड ४६ लाख रुपैयाँको ५ लाख ७० हजार लिटर आयात गरेको छ । विभागअनुसार तीन महिनाको अवधिमा ह्वीस्कीको कच्चा पदार्थ ३६ करोड ६७ लाख रुपैयाँको आयात गरेको छ ।

नेपालले सो अवधिमा ३४ लाख ७३ हजार रुपैयाँको १५अप ह्वीस्की, १ करोड ४० लाख रुपैयाँको २५अप ह्वीस्की र ४२ करोड ७९ लाख रुपैयाँको ३०अप ह्वीस्की आयात गरेको छ ।

त्यसैगरी, १० लाख ७२ हजार रुपैयाँको १५अप जीन र जेनेभा, २२ लाख ३० हजार रुपैयाँको २५ अप जीन र जेनेभा र २९ लाख ८३ हजार रुपैयाँको ३०अप जीन र जेनेभा आयात गरेको छ । त्यस्तै, २ करोड १९ लाख रुपैयाँको ३०अप भोड्का, ५४ लाख रुपैयाँ १५अप लिक्वयर र कार्डियल, २१ लाख रुपैयाँको ३०अप लिक्वयर एण्ड कार्डियल, ८० लाख रुपैयाँको ३०अप लिक्यर, १ करोड १९ लाख रुपैयाँको ४०अप लिक्वयर, ५३ लाख रुपैयाँको ५०अप लिक्वयर ३० लाख रुपैयाँको ७०अप लिक्वयर आयात गरेको छ ।

नेपालले भारत, क्यानडा, चीन, फ्रान्स, बेलायत, बंगलादेश, जापान, थाइल्यान्ड, जर्मनी, आयरल्यान्ड, सर्बिया, सिंगापुर, अष्ट्रेलिया, चिले, दक्षिण अफ्रिका, पोर्चुगल, इटली, स्पेन, स्वीडेन, अमेरिकालगायत अन्य विभिन्न देशबाट मदिरा आयात गर्ने गरेको विभागको तथ्याङ्कले उल्लेख गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?