गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले जापानमा नेपाली समुदायमा बढिरहेको आत्महत्याको रोकथामका लागि सचेतनामुलक कार्यक्रम गर्ने भएको छ।
आइतबार जापानको टोकियोमा एनआरएनए जापान क्षेत्रीय समिति कान्तोद्वारा आयोजना गरिएको आत्महत्या रोकथाम अभिमुखीकरण तथा सचेतनामुलक कार्यक्रममा बोल्दै एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जापानमा पछिल्लो समयमा आत्महत्याका घटनाहरू बढिरहेकोले त्यसको रोकथामका लागि सरोकारवाला निकायहरुको सहकार्यमा योजनाबद्ध सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्न लागिएको जानकारी गराए।
“जापानमा नेपाली समुदायमा हुने आत्महत्याका घटना रोकथामका लागि सबै आफ्नो क्षेत्रबाट लाग्नु पर्ने आवश्यक छ ।” अध्यक्ष निउरेले भने- नेपालमा र जापानमा यससँग सम्बन्धित विज्ञ मनोपरामर्शदाता सम्मिलित भर्चुवल रुपमा क्षेत्रीय समिति, व्यवसायी लगायतको सहकार्यमा नियमित सचेतनामुलक कार्यक्रमलाई सञ्चालन गरिने योजना रहेको छ ।
विशेषत नेपालबाट जापान आउने विद्यार्थीहरुमा नेपालबाट जापान आउँदा यहाँको वास्तविकता नियम कानून नीति नियमका बारेमा अभिमुखीकरण गरिनु आवश्यक रहेको त्यसका लागि एनआरएनए जापानले नेपाल सरकारलाई ध्यानाकर्षण गराउने लगायतका कार्य गरिन लागेको उनले बताए।
किशोरावस्थाका विद्यार्थीहरु जापान आउने जापान आएको १ वर्ष भित्र आत्महत्या गर्नेको संख्या बढेको पाइएकोले उनीहरुलाई मनोवैज्ञानिक परामर्श गरिनु पर्ने आवश्यकता रहेको उनको भनाइ छ।
कार्यक्रममा एनआरएनएका आईसीसीका निवर्तमान उपाध्यक्ष तथा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक महेशकुमार श्रेष्ठले जापानमा २०२३ मा मात्र ४० जना नेपालीको आत्महत्याबाट मृत्यु भएको पाइएकोले बढिरहेकोले आत्महत्याको रोकथामका लागि सम्बन्धित सबैले गम्भिर रूपमा ल्याउन आग्रह गरे।
जापानमा नेपालीहरुले आत्महत्या गर्नुको मुख्य कारण आर्थिक उपार्जन र करियर निर्माणमा सोचे जस्तो नहुनु रहेको आफूले पाएको बताउँदै श्रेष्ठले अपेक्षा बढी राखेर डिप्रेसनमा जाने र त्यो बढ्दै जाँदा आत्महत्या रोज्न पुग्ने हुनाले अपेक्षा बढि नराख्न सबैलाई आग्रह गरे।
कार्यक्रमका सहजकर्ताहरुले जापानमा हुने आत्महत्या र त्यसका बारेमा के भने?
मनोचिकित्सक समेत रहेका र जापानमा रहेका नेपालीको समुदायको मनोविज्ञानलाई नजिकबाट नियालेका कार्यक्रमका सहजकर्ता डा विजय ज्ञवालीले जापानमा रहेका अधिकांश नेपालीहरु डिप्रेसनबाट ग्रसित रहेको र त्यसको उच्च रूप आत्महत्या बढ्दै जान थालेको आफूले पाएको बताए ।
“डिप्रेसन पूर्ण रूपमा निको हुने रोग हो।” डा ज्ञवालीले भने – जापानमा रहेका नेपालीहरु हस्पिटलमा जान हिच्किचाउने गरेको कारण रोगीको संख्या बढ्दै गइरहेको छ। उनीहरुलाई अस्पतालको सेवा सुविधाको बारेमा जानकारी दिएर हामीहरूले सहयोग गर्न आवश्यक छ।
आत्महत्या रोकथामको लागि सामान्य बोलीचाली र सञ्चार धेरै प्रभावकारी हुने भएकोले त्यस्ता कार्य गरिन आवश्यक रहेको उनले बताए ।
जापानमा रहेर वकालती पेशा गर्दै आएका डा बलराम श्रेष्ठले आत्महत्या रोकथाम गर्नका लागि जापानमा विभिन्न व्यक्ति सम्मिलित ग्रुप बनाएर सचेतनामुलक कार्यक्रमसहित सहयोग गरिनु पर्ने आवश्यक रहेको बताए ।
पारिवारिक समस्याका कारण जापानमा एक उमेर समूहका नेपालीहरु डिप्रेसनमा गएको आफूले पाएकोले डिप्रेसनमा गएकालाई आत्मबल र ढाडस दिँदा सहज रुपमा त्यहाँबाट निस्कन सहज हुने आफूसँग अनुभव रहेको डा श्रेष्ठको भनाइ छ।
आफ्नो काम आफैं गर्ने भन्ने नेपालमा व्यावहारिक शिक्षा नहुँदा जापान आउने विद्यार्थीहरुले यहाँ आएपछि एक्कासी सबै आफ्नो काम एकै पटक आफूले गर्नुपर्ने, एक्लै बस्ने, ऋण काढेर जापान आएका र आएको केही दिनमा परिवार लगायतबाट पैसा पठाउन दिन दबाब दिनाले पनि आत्महत्या गर्ने गरेको पाइएकोले त्यसो नगर्न अभिभावकहरुलाई उनले सुझाव दिए।
दैनिक जीवनमा फरक व्यवहार देखाउने, एउटै कुरा सोचेको सोचइ गर्ने, खाना खान मन नदेखाउने, खानपानमा फरक व्यवहार हुने , निराशाजनक कुरा मात्र गर्ने, आफ्नो ज्यान भन्दा आफूलाई परेको समस्या ठूलो देख्ने जस्ता लक्षण डिप्रेसनका रहेकोले त्यस्ता व्यक्तिहरुलाई राम्रो परामर्श र उनीहरूका कुरा सुन्ने गरेमा केहि हदसम्म आत्महत्या न्यूनीकरण गर्न सकिने उनको धारणा छ।
कार्यक्रमकी अर्की सहजकर्ता तथा एनआरएनए जापानकी उपाध्यक्ष समेत रहेकी डा एलिजा केसी भण्डारीले जापानमा अपेक्षा गरे भन्दा वास्तविकतामा सोचे जस्तो नपाउँदा नेपालीले आत्महत्या गर्ने गरेको बताइन्।
आत्महत्याको कारण मध्य एक्लोपन, कार्यस्थलमा हुने गरेको हिंसा, घरेलु हिंसाले लगायतले पनि आत्महत्या बढेको पाइएकोले त्यसको न्यूनीकरणका उपायहरूको खोजी गरिनु पर्ने बताइन्।
सबैभन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको जानकारी दिँदै डा केसी भण्डारीले आत्महत्या रोकथामको मुख्य उपाय भनेको नै पहिले आफ्नो बारेमा समय दिनु रहेको हुँदा आफूलाई लागेको कुरा मज्जाले व्यक्त गर्नुपर्ने वातावरणको विकास गर्न आग्रह गरिन । साथै योगासनलाई ध्यान दिनु पर्ने र आफूलाई मन परेको काम गर्नु पर्नेमा उनको जोड थियो।
जापानमा रहेका नेपालीमा भाषा लगायतले समस्या भोगिरहेको सन्दर्भमा टेलि- मेडिसिन डिप्रेसन लगायतको उपचारमा प्रभावकारी रहेकोले त्यसको व्यवस्थापनमा ध्यान दिनु सरोकारवाला निकायहरुको समन्वयमा काम गरिनु पर्ने उनको भनाइ छ।
सामाजिक सञ्जालको विकृतिका कारण पनि आत्महत्यामा वृद्धि भएको तर्क राख्दै डा केसी भण्डारीले सामाजिक सञ्जालमा आत्महत्यालाई प्रोत्साहन हुने गरी केहि सामग्री राख्न नहुने बताइन्।
कार्यक्रम एनआरएनए क्षेत्रीय समितिका संयोजक सागर कार्कीको अध्यक्षता सचिव वासुदेव पन्तको सञ्चालन र स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा कोषाध्यक्ष सहनकुमार खत्रीले गरेका थिए। कार्यक्रममा एनआरएनए जापानका पूर्व उपाध्यक्ष सरोजकुमार खत्री एनआरएनए जापानका सदस्य नेत्र पाण्डे लगायतले आफ्नो धारणा राखेका थिए ।