काठमाडौँ- बडादशैँ अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ ।
फूलपाती नववटी देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकीदेवीको आह्वान गरी पूजा गरिन्छ ।
देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने धर्मशास्त्रविद्हरु बताउँछन् ।
हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पुजारीसहित मगर जातिका छ जनाले ल्याउने र त्यहाँबाट काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चैबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ ।
राजतन्त्र रहुञ्जेल हनुमानढोका दरबारको दशैँघरमा फूलपाती भित्र्याउने क्रममा राज्यप्रमुखका नाताले राजाको पनि उपस्थिति रहने गरेकामा गणतन्त्र स्थापनापछि भने संस्कृतिमन्त्री उपस्थित हुँदै आएका छन् ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्छ ।
आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गाभवानीको प्रसादका रुपमा टीका थाप्न आआफ्ना घर फर्कने क्रम अझ तीव्र हुन्छ ।
फलस्वरुप नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटामा हालिने लिङ्गेपिङ र रोटेपिङले दशैँको रौनकलाई अझ बढाउँछ । यस वर्ष भने कोरोनाका कारण शहरबजारमा भीड हुने गरी पिङ हालेको देखिँदैन ।
सैनिकमञ्च टुँडिखेलमा फूलपाती बढाइँ
नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ गर्दैछ ।
राष्ट्रपति विद्यादेवी भण्डारी अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुँदैछिन्नु । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्न्छ सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ ।
सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ । त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुनेछ ।
कोभिड–१९ को सङ्क्रमण जोखिमका कारण विगत वर्षदेखि नै फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सानो र छरितो कार्यक्रम आयोजना गरिन लागेको हो । समारोहमा उपस्थित सबै पाहुनालाई मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
के हो त फूलपाती?
नव अर्थात् नौ, पत्रिका अर्थात् पत्र। फूलपातीमा नौ प्रकारका वनस्पतिका (पत्र) हुने भएकाले संस्कृतमा यसलाई नवपत्रिका भनिन्छ। केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई नवपत्रिका भनिन्छ। दशैंघरमा यी नौ वनस्पति भित्र्याई नवदुर्गालाई स्नान गराई प्रत्येक पत्रहरूमा विभिन्न देवीहरूको पूजा गरिन्छ। यी सबै वनस्पति नपाइने ठाउँमा अन्य बोटबिरुवा संलग्न गरी नौवटा पुर्याइन्छ।
केराको बोटमा रम्भाधिष्ठात्रीको रूपमा ब्राह्मी, दारिममा रक्तदन्तिका, धानको बोटमा लक्ष्मी, हरिद्रामा दुर्गा, मानकको बोटमा चामुण्डा र कचुको बोटमा कालिकाको पूजा गरिन्छ। यस्तै, बेलको बोटमा शिवा, अशोकको बोटमा शोकहारिणी र जयन्तीमा कार्तिकीको आवाहन गरी पूजा गर्ने परम्परा रहेको छ।
नेपालका विभिन्न हावापानीमा पाइने वनस्पतिहरू खाद्य पदार्थको साथै औषधि उपचारमा समेत उपयोगी मानिन्छन्। प्राचीन आयुर्वेदिक पद्धतिमा मात्र नभई आधुनिक चिकित्सामा पनि यिनको प्रयोग गरिन्छ। औषधीय गुणले युक्त र जीवनका विभिन्न समयमा आवश्यक परिरहने भएकाले यी वनस्पति फूलपातीमा नवदुर्गालाई चढाउने परम्परा चलेका हो।
बडादशैंअन्तर्गतको यो दिनले फूलपाती दशैंघरमा भित्र्याउने र पूजा गर्ने मात्र नभई यिनको महत्त्व बुझेर संरक्षण संवर्धन गर्न प्रेरणा दिन्छ। साथै, तिनबाट वातावरणीय र औषधीय रूपमा फाइदा लिई स्वाथ्य रक्षा गर्न प्रेरित गर्छ भन्ने मान्यता छ।