विकल्प नदिएर परीक्षा रोक्नु बदमासी हो

-


     विद्यानाथ कोइराला    
     श्रावण २८ गते २०७८


कोरोना महामारी फैलिएको दुई वर्ष भइसक्यो। यसबीचमा हामीले दुई शैक्षिक सत्र चलायौँ। केही निजी विद्यालय र सामुदायिक विद्यालयले वैकल्पिक विधिको प्रयोग पनि गरेका छन् तर धेरै विद्यार्थीको पहुँचमा पुगेको छैन।

सरकारले वैकल्पिक विधिको प्रयोग गरेको भए सामुदायिक विद्यालयका विद्यार्थीलाई पनि निरन्तर पढाउन सकिन्थ्यो तर त्यो गरेन। सरकारसँग स्रोत र साधन नभएको होइन, नचाहेर हो। हरेक क्षेत्रमा विकल्प हुन्छन् भने परीक्षा लिने विषयमा किन हुँदैन? 

परीक्षाको साटो अनुसन्धानमा लगाउन सकिन्छ

कोरोना महामारीले परम्परागत विधिबाट परीक्षा लिनसक्ने अवस्था नभएपछि अन्य विकल्प अपनाउनुपर्ने हो, हाम्रो विश्वविद्यालयले। विषय हेरेर अनुसन्धान गर्न लगाउन सकिन्छ। अनुसन्धान गर्ने र त्यसलाई अनलाइनमार्फत प्रस्तुत गर्न सकिन्छ।

किताब पढ्नुभन्दा अनुसन्धान गर्नु धेरै गुणा राम्रो हो। उदाहरणको लागि व्यवस्थापन पढेका विद्यार्थीलाई हाम्रो देशको, शिक्षाको अथवा कुनै पनि क्षेत्रको व्यवस्थापकीय समस्या के हो? भनेर अनुसन्धान गर्न दिँदा हुँदैन? 

अर्थशास्त्रका विद्यार्थीलाई अहिलेको अर्थ व्यवस्थाबाट कसरी उठ्ने भन्ने विषयमा अनुसन्धान गर्न लगाउँदा के बिग्रन्छ? अन्य देशमा विज्ञान पढेका विद्यार्थीले पाठ्यक्रम मात्रै पढेको आधारमा मूल्यांकन हुँदैन। हाम्रोमा भने त्यही पाठ्यक्रम मात्रै पढाउने? मूल्यांकनको आधार त्यही हो त?

जीव विज्ञान पढेकाले नेपालमा फैलिएको कोरोना भाइरसको प्रकार कुन हो भन्नेबारे विज्ञहरूले अनुसन्धान गर्दा सहयोगी भूमिकामा राख्न सकिँदैन? विषयअनुसार परीक्षा लिन सकिने विकल्प धेरै छन् तर यहाँ विकल्पबारे दुई मिनेट पनि कसैले सोच्दैन। न त सरकारले न त विश्वविद्यालयका पदाधिकारीले नै। 

जनशक्ति व्यवस्थापन गर्न पनि सकिन्छ

नेतृत्व, काम गर्ने प्रणाली र इच्छाशक्तिमा भर पर्छ कस्तो काम हुने भन्नेमा। सरोकारवालाहरूले वैकल्पिक विधिबाट परीक्षा लिँदा विद्यार्थीले चोर्छन् भन्ने गरेका छन्। यो विल्कुल गलत हो। के परम्परागत प्रणालीबाट परीक्षा लिँदा विद्यार्थीले चोरेका छैनन्? त्यसैले उसले किताबकै सारोस् तर त्यस उत्तरमा विद्यार्थीको आफ्नो धारणा के हो भन्ने पनि उल्लेख गरोस्। 

यसरी परीक्षा गर्दा विद्यार्थीले खोज तथा अनुसन्धान त गरिहाल्छ नि। पहिलेदेखि चलिआएको चलनमा मात्रै काम गर्ने भए हाम्रा नेतृत्वले तर चुनौती आइपर्‍यो भने त्यसलाई सामना गरेर विकल्प दिन नसक्ने भए। परीक्षा गर्ने भनेको परीक्षा केन्द्रमा मात्रै गएर दिनुपर्छ भन्ने छ र? पढाउने शिक्षकहरूले लिन मिल्दैन? यो काम हरेक क्याम्पस क्याम्पसले गर्न सक्छन् तर गरेका छैनन्। 

०००

कक्षा १२ को सवालमा केही दिनअघि प्राइम टिभीमा अन्तर्वार्ताको लागि गएको थिएँ। त्यहाँ विद्यार्थीहरू आफैँले परीक्षा स्थगित गर्न जोड गरिरहेका थिए। विद्यार्थी डराए, शिक्षकहरू पनि तयार भएनन्।

स्वास्थ्य मापदण्ड पालना गरेर घरबाटै पनि परीक्षा लिन सकिन्थ्यो। खुला विद्यालय चल्ने भइसके यसमा हामी किन जान सक्दैनौँ? गत वर्ष त अपर्झट परेको अवस्था थियो। यसपालि विकल्प दिन सकिन्थ्यो दिइएन। खोप पाएका छैनन् विद्यार्थीले। त्यसले गर्दा पनि रोक्नुपर्ने स्थिति आएको हो। परीक्षा रोक्नुभन्दा पनि विकल्प नदिनु बदमासी हो।

परीक्षाको विकल्प के हुन्छ त? 

पहिलो विकल्पमा कक्षा १२ का विद्यार्थीलाई सहज भएपछि परीक्षा दिनुपर्छ। तर अहिले स्नातक पढ्न पाउने व्यवस्था मिलाउन सकिन्छ। यो दीर्घकालीन उपाय होइन। यस्तै संंकटमा मात्रै हो। दोस्रो अमेरिकातिर के हुन्छ भने, स्नातक पास गरे पनि विद्यावारिधि गर्न पाउँछन्। कुनै विषयमा विशेष दक्षता छ भने उसलाई मनपर्ने विषयमा पढ्न दिन पनि सकिन्छ। 

(परीक्षाको विकल्प के हुनसक्छ भन्ने सन्दर्भमा शिक्षाविद् डा विद्यानाथ कोइरालासँग उकेराका लागि यशु सापकोटाले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?