नेपालको बागलुङ जिल्लाको गलकोट रिश्मीबाट जापान आउनुअघि नै सृष्टि सापकोटा लजालु र कसैसंग कुराकानी नगर्ने स्वभावकी थिइन । त्यसैले १८६ जना आवेदकहरूबाट सबै महिला “गल मिकोशी” पोर्टेबल श्राइन परेडका लागि ८० सहभागीहरूको चयन प्रक्रियामा २३ वर्षीया किशोरीलाई आफ्नो परिचय दिन समेत गाह्रो भयो।
अन्य प्रतिस्प्रधीले खुसीसाथ आफ्नो बारेमा अभिव्यक्ति राख्दा सापकोटाले किन उक्त परेडमा सम्मिलित हुन चाहन्थे भनेर मात्र पनि बताउन सकिनन् ।
“म चिन्तित थिएँ, धेरै नर्भस भएकोले बोल्ने शब्दहरू फेला पार्न समेत सकिन,” बिगतको स्मरण गर्दै उनले जुलाई ८ को छनोट प्रक्रियाको धाराप्रवाह जापानी भाषामा भनिन्। “तर त्यो क्षण रमाइलो थियो।”
एक व्यावहारिक सीप परीक्षणको क्रममा उनी ठक्कर खाइन् तर कूल ६० किलोग्राम तौलको पोलमा झुण्डिएको दुईवटा परालको झोला उठाउन उनी सफल भइन्।
गल मिकोशी परेड शहरको किता वार्डको ओसाका तेनमाङगु मन्दिरमा तेन्जिन महोत्सवको भागको रूपमा वार्षिक रूपमा आयोजना गरिन्छ। यसलाई आधिकारिक रूपमा “तेन्जिनसाई जोसेई ओमिकोशी” भनिन्छ,
यो पर्व क्योटोको गियोन फेस्टिभल र टोकियोको कान्दा फेस्टिभलसँगै जापानको तीन ठूला चाडहरूमध्ये एक मानिन्छ।
जापानी भाषासंगको संघर्ष
सापकोटा १५ वर्षकी हुँदा पहिलो पटक जापान आएकी थिइन्, उनको बुवा हिरालालले ओसाकामा नेपाली इण्डियन करी रेष्टुरेण्ट चलाउँदै आएका थिए । विद्यालयमा वा अन्य माध्यमबाट आफ़नो पढाइ जारी राख्ने अवसर नहुँदा उनले जापानी भाषा कत्ति पनि बुझिनन्।
करिब दुई महिनापछि उनी एक्लै नेपाल फर्किएकी थिइन् ।
तर, आफ्नो आमाबाबुबाट फेरि अलग भएपछि उनले एक्लोपनको झट्का महसुस गरिन्।उनले फेरि जापान फर्कने निर्णय गरिन् र आफ्नो बुबाको रेष्टुरेन्टमा सघाउने क्रममा आफैंले जापानी भाषा सिक्न थालिन्।
सुरुमा सापकोटाले आफ्नो परिचय सरल ढंगले मात्र दिन थिइन् ।ग्राहकसँग कुरा गर्दा शव्द हराएपछि आमाबुवाको सहयोग लिन भान्सामा पुग्ने गर्थिन।
उनले सन्दर्भ पुस्तकहरू किनिन् र लगभग दुई वर्षसम्म जापानी भाषा अध्ययन गर्न अन्य स्रोतहरू समेत प्रयोग गरिन ।
त्यसपछि उनी रातको जुनियर हाई स्कूलमा भर्ना भइन् र आफ्नो पढाइ जारी राख्न दिनको समयमा होटलमा क्लिनरको रूपमा समेत काम गरिन्।
थप भाषासहित ज्ञान सिक्ने र सपनाको जागिरमा पुग्ने दृढ संकल्पका साथ सापकोटा साँझको उच्च विद्यालयमा अध्ययन गर्न लागिन ।
उनले पाँच-स्तरको जापानी भाषा परीक्षा दिदै क्रमश दोस्रो-उच्चतम N2 स्तरमा परीक्षा उत्तीर्ण गरिन्, जसमा परीक्षा दिनेहरूलाई दैनिक कुराकानी सीप र आधारभूत पढ्ने सीपहरू देखाउन आवश्यक हुन्छ । अब उनले हाईस्कूल पास गरेपछि दुई वर्षको कलेजमा जाने योजना बनाएको समेत बताईन ।
उनले लाजलाई जित्दै
उनको हाई स्कूलकी एक शिक्षिकाले उनलाई गल मिकोशी परेडको बारेमा बताइन्।
सापकोटाले विगतका घटनारूका भिडियोहरू युट्युबमा खोज्न समय दिन थालिन् ।जहाँ सहभागीहरूले चर्को स्वरमा “वाशोई, वाशोई!” भन्ने नाराहरू देखेर उनी तुरुन्तै मोहित भइन्, अनि परम्परागत “हप्पी” कोट लगाएको बारेमा पनि उत्सुक भइन्। आफैंले अघि बढ्ने चाहनाले उनले मिकोशी क्यारियर बन्न आवेदन दिने निर्णय गरिन।
आफू जापानी जस्तै हुन नसकेको भन्दै सापकोटा अरुसँग कुरा गर्न वा कुराकानी सुरु गर्नमा राम्रो नमान्ने बताउछिन ।उनले आफू अझै पुरा आत्मविश्वासी भै नसकेकोमा सन्तुष्ट नभएको र थप आत्मविश्वास प्राप्त गर्न चाहेको बताइन्। यद्यपि उनी धेरै चीजहरूमा आफ्नो कोशिसलाई बढाउदै लैजान चाहन्छिन् ।
तर उनले आफूलाई परिवर्तन गर्ने र आफ्नो जापानी भाषा र सञ्चार सीपमा सुधार गर्ने अवसर हुनसक्ने महसुस गरेको बताईन।
गल मिकोशीको भिडियो हेर्दै सापकोटाले आफ्ना साथी नेपालीहरूले स्थानीय चाडपर्वमा रमाइलो गर्ने, नाच्ने र सँगै रमाइलो गर्ने गरेको पनि सम्झिन् ।
वास्तविक परेडको दुई साताअघि भएको छनोट प्रक्रिया पास गरिसकेपछि उनले जुलाई १५ मा अन्य गल मिकोशी सदस्यहरूसँग अभिमुखीकरण सत्रमा भाग लिइन् र पहिलो पटक ह्याप्पी कोट लगाएकी थिइन्। “यो अलिकति टाइट छ, तर यसमा धेरै सुन्दर रंगहरू छन्,” उनले लजालु मुस्कानका साथ भनिन्-“मलाई ‘हाचिमाकी’ हेडब्यान्ड पनि मन पर्छ।”
सुरुमा सापकोटा प्रायः एक्लै उभिएको देखिन्थिन। तर उनी पोर्टेबल तीर्थ बोक्ने अभ्यासमा अरूसँग सामेल भइन्, चर्को स्वरमा “वाशोई, वाशोई” भन्दै र आफ्नो नजिकैको अर्को सहभागीको हेडब्यान्ड फिक्स गरिन्।यसले उनलाई साथीका बिचमा घुलमिल गराउन र सञ्चार सिपको विकास गर्न सहज बनायो ।
उनले आफ्नो परिचय दिंदा अलिकति शान्त स्वरमा बोलिन्, उनले सबैलाई आफ्नो मुडलाई जीवन्त बनाउन अन्त प्रत्ययको साथ “श्री-चान” भन्न आग्रह गरिन। उनले अन्य सदस्यहरूलाई पनि सँगै सेल्फी लिन र सम्पर्क जानकारी आदानप्रदान गर्न सम्पर्क गरिन।
सापकोटाले दुई वर्षको कलेजमा विभिन्न भाषा सिक्ने वा भविष्यमा विमानस्थलमा काम गर्नका लागि अन्य विकल्प खोज्ने आशा राखेकी छन ।
उनी आफ्नो परिवारसँग बस्न ओसाकामा बस्ने योजनामा छन्। “मैले धेरै पटक आफ्नो परिचय दिंदा जापानी भाषामा धेरै सिकें, र मैले धेरै साथीहरू पनि बनाए,” उनले भनिन्।
कोरोनाभाइरस महामारी पछि चार वर्षमा पहिलो पटक जुलाई २३ मा गल मिकोशी परेड सडकमा भएको थियो ।(यो सामग्री जापानी सञ्चार माध्यम द असाही सिम्बुनबाट सम्पादनसहित भावानुवाद गरिएको हो ।)