स्थानीयले रोग लुकाउदा कोरोना रोकथाम र नियन्त्रणमा समस्या

-


     घनश्याम गौतम    
     जेठ २५ गते २०७८


तस्वीर : सामाजिक संजालबाट

बिश्वलाई आक्रान्त बनाएको कोरोना भाईरसका बिभिन्न लहरहरुको जोखिम दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना महामारीको यो समयमा संक्रमितको संङ्ख्या बढिरहेको अवस्थामा अस्पतालमा उपचार अभाव भन्दै घरमै रोग लुकाउने स्थानीयको बानीले थप रोकथाम र नियन्त्रणमा समस्या श्रृजना भएको छ ।

गत जेठ १५ गते गलकोट नगरपालिका वडा नम्वर २ को  घसघसा निवासी  ७१ बर्षीय तिल कुमारी श्रीसलाई समान्य रुघा तथा खोकी लाग्यो, उहाँले अस्पतालमा बिरामीको चापको कारण विरामी निको हुने भन्दा थप हत्तोसाहित भएर दुर्घटना भएको दिनदिनै समाचार सुनेको आधारमा कसैलाई केही भन्नुभएन् । तर जेठ १७ गते उहाँलाई ज्वरो पनि आयो, स्वास प्रस्वासमा समेत समस्या भयो । उहाँलाई कोरोनाको संक्रमण भएको आशंका लागेपनि परिक्षण गर्नुभएन् ।

निरन्तर वडा कार्यालयको पहलमा संक्रमणबारे जानकारी लिएर साबधानी अपनाउन आग्रह गरेपछि जेठ २१ गते उहाँले एन्टीजेन परिक्षण गर्नुभयो । उहाँमा कोरोना संक्रमण पुष्टि भयो । गलकोट नगरपालिका वडा नम्वर २ ले नजिकको बस्ती बस्तिमा पल्स अक्सिमिटर उपलब्ध गराएकोले उहाको अक्सिजनको मात्रा परिक्षण गर्दा ९० देखियो । उहाँ घरमै सुरक्षित रुपमा बस्दा निको हुने भन्दै अस्पताल जान मान्नुभएन् ।

उहाँ अस्पताल जान नमानेपछी गलकोट नगरपालिका वडा नम्वर २ का वडा अध्यक्षसहितको स्वास्थ्यकर्मीहरुले निरन्तर परामर्श गर्दै सोहि दिन अस्पताल जान आग्रह गर्नुभयो । उहाँको अक्सिजनको मात्रा ८७ पुगेपछि तत्कालै गलकोट नगरपालिकाको अस्थायी कोरोना अस्पतालमा उहाँ भर्ना हुनुभयो । उहाँको अक्सिजनको मात्रा कमी हुदै आएको जानकारीका साथ अक्सिजन लगाएर उपचार सूरु भयो । 

उहाँलाई डा. निक्सन डंगोल सहितको स्वास्थ्यकर्मिको टोलीले अस्पतालमा नियमित ४ दिन सम्म उपचार र परामर्श गरेपछि उहाँ जेठ २४ गते अस्पतालबाट घर फर्किनुभएको छ । उहाँलाई जनप्रतिनिधी र स्वास्थ्यकर्मीले समयमै अस्पताल जान गरेको आग्रहले स्वास्थ्य उपचारमा सहयोग पुगेको भन्दै खुसी लागेको छ । कोरोना संक्रमणको करिब ७ दिनमा उहाँको स्वास्थ्य अबस्था सामान्य बन्दै गएकोले रोग लुकाएर, वा ढिला गरि अस्पताल गएमा उपचार सम्भव नहुने उहाँको अनुभब छ । उहाँले अस्पतालमा उपचार हुदैन् भनेर घरमा बस्ने गल्ती कसैले पनि नगर्न सूझाव समेत दिनुभयो ।

त्यस्तौ सोहि ठाँउकी ६८ वर्षकी मायादेबी श्रीस समेत ४ दिन अस्पतालको बसाईपछि घर फर्कीएर अहिले होम आईसोलेशनमा बसिरहनुभएको छ । उहाँको ८५ रहेको अक्सिजनको मात्रा ४ दिनमै ९७ पुगेको छ । पहिले अस्पताल जान आनाकानी गर्नुभएकी श्रीस पनि समयमै उपचार गर्दा निको हुने भन्दै सबैलाई रोग नपाल्न आग्रह गर्नुहुन्छ। 

कोरोनाको उपचार निकै जोखिमपूर्ण रहेकोले रोग नलुकाई कुनैपनि समस्या भएमा अस्पतालमा सम्पर्क गर्न डांक्टर निक्सन डंगोलको आग्रह छ । अक्सिजनको मात्रा निकै कमी भएमा उपचार सहज हुदैंन, डां डंगोलले भन्नुभयो, संक्रमणको समयमा आफुलाई असहज भएमा अक्सिजनको मात्रा हेरेर तत्कालै अस्पताल आउनुपर्दछ ।

उहाँले कोरोना संक्रमणको सुरुवातको चरणमा कुनै पनि लक्षण नदेखिने भएकोले नियमित रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गर्नुभयो । 

मानिसहरुलाई पिसिआर तथा एन्टीजेन परिक्षण गर्न बारम्बार आग्रह गर्दा समेत परिक्षण नगर्ने र स्वास्थ्यमा गम्भीर समस्या श्रृजना भएपछि परिक्षण गर्ने प्रबृतिले कोरोना नियन्त्रणमा समस्या श्रृजना भएको गलकोट नगरपालिका वडा नम्वर २ का अध्यक्ष हिम बहादुर भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार अक्सिजनको मात्रा करिब ८५ सम्म भएका संक्रमितलाई अक्सिजन सहित अस्पतालमाा राखेर उपचार गर्दा निको भएको छ । तर अक्सिजनको मात्रा कमी भएका बिरामीको उपचार निकै चुनौतिपूर्ण रहेको देखीएपछि टोलटोलमा अक्सिजन नाप्ने अक्सिमिटर उपलब्ध गराईएको अध्यक्ष भण्डारीले बताउनुभयो ।

संक्रमितको स्वास्थ्य अबस्थाबारे जानकारी लिन सहज होस भनेर हामीले टोलटोलमा अक्सिमिटर उपलब्ध गराएका छौं,अध्यक्ष भण्डारीले भन्नुभयो, परिवारले संक्रमितको अक्सिजनको मात्रा परिक्षण गरि स्वास्थ्य चौकीमा जानकारी गराउनुहुन्छ, त्यसैलाई आधार मान्दै हामीले अस्पताल जान सहजिकरण गर्ने गरेका छौं । 

गलकोटमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने अधिकाशंको कारण स्वास्थ्य परिक्षण समयमै नगरि गम्भीर अबस्था श्रृजना भएपछि मात्रै अस्पताल जाने बानीका कारण भएको कोरोना अस्थायी अस्पतालले जनाएको छ । 
रोग लुकाएर भन्दा समयमै परिक्षण गर्ने, समयमै अस्पताल जाने तथा आफ्नो स्वास्थ्य अवस्था बारे सचेत बन्दै साबधानी अपानाएमा कोरोना संक्रमणबाट बच्न तथा जित्न सकिने स्वास्थ्य बिशेषज्ञहरु बताउछन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Tags: