नागोया । जापानको नागोया शहरमा हुने नेपाल फेष्टिबलको तयारी तीब्र पारिएको छ । नेपाली कला सँस्कृति, रहनसहन र पर्यटनबारे जापानमा रहेका नेपाली र जापानी नागरिकहरुलाई जानकारी गराउने उद्देश्यले फेष्टिबलको आयोजना गरिएको एनआरएनए नागोयाका उपाध्यक्ष एवम् तेश्रो नेपाल फेष्टिबल मूल आयोजक समितिका संयोजक देव कुमार घिमिरेले जानकारी दिएका छन् ।
आगामी जून ८ तारिख शनिबार र ९ तारिख आइतबार आईची प्रिफेक्चरको नागोयामा नेपाल फेष्टिबलको आयोजना गरिएको हो । फेष्टिबलबारे थप जानकारी दिने उद्देश्यले नागोयामा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा सहभागीहरु जुममार्फत पनि सहभागि भएका थिए ।
पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार फेष्टिबल अहिले सम्मकै भव्य र सभ्य हुने बताईएको छ ।
हाइटेक प्रविधि
एनआरएनए नागोया क्षेत्रीय समितिका संस्थापक संयोजक समेत रहेका एनआरएनए अभियन्ता पारसमणि पोखरेलका अनुसार यो फेष्टिबल ‘हाइटेक प्रविधि’को हुनेछ । स्टेजको अगाडी दुईवटा ठूलो तीन मिटरका एलइडी स्क्रीन राखिने भएको छ । स्क्रिनमार्फत फेष्टिबलको सम्पूर्ण गतिविधि हेर्न पाइनेछ भने नेपालको सँस्कृति र पर्यटनबारे बारेको भिडियो पनि प्रसारण गरिनेछ ।
‘कार्यक्रमको दृश्य कैद गर्न चारवटा भिडिओ क्यामेरा हुने छ ,अनि कैद गरेका दृश्य स्क्रिनमा अटाउनेछन् ।’ पोखरेलले भने ।
विशिष्ट व्यक्तित्वको सहभागिता
नेपाल फेष्टिबलमा आइची प्रिफेक्चर गभर्नर ,नागोया सिटीका मेयर ,नेपाली राजदुतावास जापानका महामहिम राजदूत दुर्गाबहादुर सुवेदीलगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति रहनेछ । साथै कार्यक्रममा एनआरएनएका अभियन्ताहरुको पनि सहभागी हुनेछन् ।
फेष्टिबल प्रचार–प्रसार समितिका संयोजक समेत रहेका बिष्णुप्रसाद घिमिरेका अनुसार एक नेपालीले दुईजना जापानीलाई कार्यक्रममा ल्याउने रणनीति बनाइएकाले सहभागिको संख्या पनि यसपटक बढ्ने आयोजकले आशा राखेको छ । यसलाई अभियानकै रुपमा अगाडि बढाइएको पनि घिमिरेले जानकारी दिए । यसबाहेक फेष्टिबलबारे सामाजिक सञ्जालमा प्रचारप्रसार गर्ने, निमन्त्रण पत्र बनाएर दिने र विभिन्न रेल स्टेशनमा गएर ‘चिरासी’ अर्थात् प्रचार सामग्री वितरण पनि गरिएको छ ।
जापानी कलाकारसमेतको प्रस्तुती
फेष्टिबलमा पहिलो पटक जापानीज प्रोफेसनल महिलाहरुले नेपाली गीत संगीतमा नृत्य गर्ने छन् । फेटिबलको साँस्कृतिक कार्यक्रममो जिम्मा आदिवासी जनजाति महासंघले लिएको छ ।
महासंघको यो फेटिबलको मुख्य सह–आयोजक पनि हो । नागोयामा रहेका विभिन्न सामाजिक संघ संस्थाहरू पनि फेष्टिबलमा सह–आयोजकको रुपमा रहेका छन् ।
फेष्टिबलका साँस्कृतिक संयोजक श्याम शित्तल श्रेष्ठका अनुसार फेष्टिबलमा नेपाली लोक बाजा, पञ्चे बाजा, विभिन्न झाँकीहरु प्रस्तुतीका रुपमा रहनेछन् । किराँत, तामाङ, मगर, लगायत विभिन्न जनजातीका नृत्य, जापानमै रहेका नेपालीहरुको प्रस्तुती पनि कार्यक्रममा राखिएका छन् । नेपाली हिन्दु र नेवारी परम्परा अनुसार गरिने शुभ विवाहको झलक पनि कार्यक्रममा प्रस्तुत गरिनेछ ।
नेपाली दूतावास टोकियोको सहयोग एवम् जापान स्थित जाईका लगायत अन्य संघ–संस्थाहरु, जापानको स्थानीय सरकार आईचिकेन, नागोया–सी लगायत पनि फेष्टिबलमा सहभागी हुनु राम्रो पक्ष भएको फेष्टिबल मूल आयोजक समितिका उप–संयोजक– यम वहादुर पाइजा मगर बताउँछन् ।
पत्रकार सम्मेलनमा एनआरएनए क्षेत्रीय समिति नागोयाका संयोजक भेषनाथ गौतमले बिदेशमा जति सकिन्छ समय निकालेर नेपाल र नेपाली चिनाउने यो अभियानमा सहभागी हुन सबैमा अनुरोध गरेका गरेका थिए । जापानीलाई नेपाल र नेपाली चिनाउने यो अभियानमा सबैको साथ र सहयोग रहनेमा आफू विश्वत रहेको पनि गौतमले बताए ।
करोडौँको कारोबार
फेष्टिबलमा करोडौँको आर्थिक कारोबार हुने जानकारी दिईएको छ । फेष्टिबलका आर्थिक समिति संयोजक समेत रहेका दिपक कार्कीका अनुसार फेष्टिबललाई सभ्य र भव्य बनाउन लागि परेको बताउँछन ्। कम खर्चमा उत्कृष्ट फेष्टिबल सम्पन्न गरिने पनि उनले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कार्कीले दिएको जानकारी अनुसार फेष्टिबलमा कबिर १२ सय मान अर्थात् एक करोड २० लाख जापानी येनको अािर्थक कारोबार हुनेछ । विभिन्न सहयोगी दाता र स्टल राख्नेहरुबाट यो रकम संकलन गरिएको छ ।
‘कतिपयले आफूले बोलकबोल गरेको सहयोग रकम दिन ढिलाई गर्नुभएको छ, तर हामी निराश भने छैनौँ ।’–कार्कीले भने । एनआरएनए क्षेत्रीय समितिका कोषाध्यक्ष रुपेश पुनका अनुसार फेष्टिबलका लागि सहयोग रकम संकलन कार्य भईरहेको बताउँदै करिक चारसय मान अर्थात् चालिस लाख जापानी यन संकलन भईसकेको छ ।
सबै स्टल बुकिङ
एनआरएनए क्षेत्रीय समिति नागोयाका उपाध्यक्ष एवं फेष्टिबलमा स्टल व्यवस्थापन समितिका संयोजक योवन देवानले सबै स्टलहरु बुकिङ्ग भएको बताए । ‘यो नेपालीहरुको पहिचान र संस्कृतिको अपार संगम हो । यसले सारा नेपालीलाई जापानसँग जोड्ने काम गर्नेछ ।’–देवानले भने । फेष्टिबलमा २९ वटा स्टलहरु रहनेछन् । जसमा १० वटा खानासँग सम्बन्धित हुनेछन् । नेपाली सँस्कृति झल्कने परम्परागत स्टलसहित, रेमिटान्स, पुस्तक प्रदर्शनी , फोटो र भिडियो प्रदर्शनीलगायतका स्टलहरु पनि राखिएका छन् । फेष्टिबलमा खाने र मनोरञ्जन गर्ने क्षेत्रहरु प्नि छुट्याईएको छ । नेपाल र नेपालीबारे जानकारी दिन र जापानमा रहेका नेपालीहरुसँग सम्बििन्धत गुनासा सुन्न ‘हेल्प डेस्क’को स्थापना गर्ने तयारी पनि भईरहेको छ ।
उपसमितिले काम सके
फेष्टिबल सम्पन्न गर्नका लागि बिभिन्न उप–समितिहरु बनाई काम तीब्र गतिमा भई रहेको छ । सबै उपसमितिले आ–आफ्नो काम सम्पन्न गरिसकेका छन् । आफ्नो तयारी र सम्पन्न भएका कामबारे पनि विभिन्न उपसमितिका संयोजकहरुले कार्यक्रममा आफ्नो प्रगति विवरण पेश गरेका थिए ।
प्राथमिक उपचार व्यवस्थापनका नवराज चापागाई, होटल व्यवस्थापनका सागर थापा बगाले, संघसंस्था समन्वय समितिका मित्रलाल सिग्देल, अतिथि सत्कारका अर्जुन केसी, खादा तथा व्याज वितरणका अर्जुन केसी, स्वयमसेवक परिचालकका निर्मल राइ, प्रचार सामग्री व्यवस्थापनका रुपेश पुन मगरलगायतले आ–आफ्ना जिम्मामा रहेका कामबारे जानकारी दिँदै पत्रकार सम्मेलनमा सोधिएका जिज्ञासाबारे जवाफ दिएका थिए ।
कार्यक्रममा नागोयामा रहेका विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि र सरोकारवाला निकायको समेत सहभागिता थियो । नेपाल फेष्टिबल सम्पन्न गर्न उनीहरुले समेत आ–आफ्ना सुझाव दिएका थिए ।
एनआरएनए अभियन्ता गोविन्द श्रेष्ठ, मितेरी नेपालका अध्यक्ष चिरञ्जिवी सिग्देल, आदिवासी जनजातीका नरेश राई, नेपाली मिडिया सेण्टरका अध्यक्ष कविकिरण न्यौपाने, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहारी, एनआरएनए जापानका अध्यक्ष नवीन न्यूरे, प्रवक्ता खगराज गौतम, पूर्व उपाध्यक्ष राजकुमार अधिकारी, नेपाल पत्रकार महासंघ जापानका संस्थापक सचिव हरिप्रसाद पोखरेललगायतले पत्रकार सम्मेलनमा आ–आफ्ना सुझाव र जिज्ञासा राखेका थिए ।