एनआरएनएको ६० देशमा नयाँ नेतृत्व

-


     महेशकुमार खाती    
     श्रावण २२ गते २०७८


गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तगर्तका विभिन्न ६० देशका राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सम्पन्न भएको छ ।
आगामी सन् २०२१–२३ कार्यकालको लागि निर्वाचन मार्फत नेतृत्व चयन भएको हो । संघका महासचिव डा. हेमराज शर्माले महाधिवेशन सम्बन्धि संक्षिप्त प्रतिवेदन बुधवार सार्वजनिक गर्दै जानकारि दिएका हुन् ।

निर्वाचन सम्पन्न भएकामध्ये ४२ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्विरोध निर्वाचन भएको छ । भने ११ वटा राष्ट्रिय समन्वय परिषद्मा अनलाईनमार्फत र ७ वटा राष्ट्रिय समन्वय परिषद्मा भौतिक रुपमा उपस्थित भएर निर्वाचन सम्पन्न भएको हो ।

शर्माका अनुसार हाल विश्वभरका विभिन्न ६ क्षेत्रका ८४ वटा मुलुकमा गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् छन् । ‘तीमध्ये विभिन्न कारणबस २० वटा राष्ट्रिय समन्वय परिषदहरु लामो समय देखि निष्क्रिय छन् ।’, शर्माले उल्लेख गरेका छन् ।

विभिन्न ४ वटा राष्ट्रिय समन्वय परिषद्मा निर्वाचन हुन बाँकी छ । राष्ट्रिय समन्वय परिषद् यूएईमा केही आन्तरिक समस्याका कारण निर्वाचनको मिति तय हुन सकेको छैन । त्यसलाई छिटै समाधान गरेर निर्वाचन गराउने विषयमा गृहकार्य भइरहेको छ । यूएई बाहेक राष्ट्रिय समन्वय परिषद् डेनमार्कको निर्वाचन यही ७ अगष्टमा, राष्ट्रिय समन्वय परिषद् पोर्चुगलमा (केही क्षेत्रमा स्थगित) निर्वाचन ८ अगष्टमा र राष्ट्रिय समन्वय परिषद् स्लोभानियाको निर्वाचन १४ अगष्टमा आयोजना गर्ने कार्यतालिका तय गरिएको शर्माको प्रतिवेदनमा उ़ल्लेख गरिएको छ ।

राष्ट्रिय समन्वय परिषद्हरुका निर्वाचन सम्बन्धि विवरण क्षेत्रगत रुपमा निम्नानुसार छन् ।

१. अफ्रिका क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : बोत्स्वाना, कंगो, इक्वेटोरियल गिनिया, घाना, केन्या, म्याडागास्कर, नाईजेरिया, सेसेल्स, दक्षिण अफ्रिका, तान्जानिया, युगाण्डा र जाम्बिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: लेसोथो, लिविया, मालावी, दक्षिण सुडान

२. आमेरिकाज क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : मेक्सिको र कोस्टारिका
अनलाइन : चिली र अमेरिका
भौतिक : क्यानाडा
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: ब्राजिल

३. एसिया प्रशान्त क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : कम्बोडिया, हङकङ, मकाउ, मलेसिया, म्यानमार, फिलिपिन्स, सिंगापुर, ताईवान, थाईल्याण्ड र भियतनाम ।
अनलाइन : चीन, जापान र दक्षिण कोरिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु : ब्रुनाई, पूर्वी टिमोर, इण्डोनेसिया

४. यूरोप क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : बेलारुस, चेक–रिपब्लिक, फिनल्याण्ड, आयरल्याण्ड, इजरायल, इटाली, लग्जेम्वर्ग, रसिया, टर्की, स्वीडेन र स्वीट्जरल्याण्ड
अनलाइन : साइप्रस, जर्मनी, स्पेन, नर्वे, फ्रान्स, र यूके
भौतिक : अष्ट्रिया, बेल्जियम, माल्टा, नेदरल्याण्डस्, पोल्याण्ड र पोर्चुगल
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: बुल्गेरिया, ग्रिस, हंगेरी, रोमानिया, यूक्रेन

५. मध्यपूर्व क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : कुवेत, ओमान र कतार
अनलाइन : बहराइन र साउदी अरेबिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्हरु: इजिप्ट, इराक, जोर्डन, लेबनान, यमन

६. ओसेनिया क्षेत्र
सर्वसम्मत तथा निर्विरोध : पपुवा न्यूगिनी र न्यूजिल्याण्ड
अनलाइन : अष्ट्रेलिया
निष्क्रिय राष्ट्रिय समन्वय परिषद्: भानुआटु

~ ~ एनआरएनएको सदस्य १ लाख कटे ~ ~

एनआरएनएको आगामी २०२१–२३ को कार्यकालको लागि विश्वका विभिन्न मुलुकमा रहेका १ लाख भन्दा बढीले संघको पञ्जिकृत सदस्यता लिइसकेका छन् । यसअघि १ लाखभन्दा कम साधारण सदस्य थिए ।

आगामी अक्टोबर २३ देखि २५ सम्म हुने १० औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरुको निर्वाचनको लागि राष्ट्रिय समन्वय परिषद्ले यही १५ अगष्टभित्र प्रतिनिधिहरुको नामावली संघको (विधानमा व्यवस्था भए बमोजिम) पठाउनु पर्नेछ ।

‘त्यसका लागि प्रक्रिया सुरु भइसकेको जानकारी प्राप्त भएको छ । प्रतिनिधि चयन संघको विधान अनुरुप गर्न/ गराउन यसअघि नै आग्रह गरिएको छ र यस बारे थप जानाकारी सहितको सर्कुलेसन छिटै पठाईने छ ।’ शर्माको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?