
उपचार खर्च जुटाउन नसकेर पीडामा रहेका गलकोट नगरपालिका वडा ०७ मल्मका जंग बहादुर चोखालको परिवारलाई आर्थिक सहयोग गरिएको छ। चोखाल परिवारको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा नाबालक दुई नातीहरुमा आएको जटिल परिस्थितिको उपचारमा केहि राहत पुगोस् भन्ने उदेश्यले घुम्टे युवा परिवार जापानले आर्थिक सहयोग अभियान संचालन गरिएको आर्थिक संकलन अभियानका संयोजक तथा संस्थाका उपाध्यक्ष बिष्णु थापाले बताए। थापाका अनुसार चोखाल परिवारको आर्थिक अवस्था कमजोर भएकाले समयमै उपचार पाउन कठिनाइ भइरहेको सूचना पाएपछि सहयोग अभियान सुरु गरिएको थियो। जापानमा छोटो समयमा चलाईएको अभियानबाट संकलित नेपाली रुपैया १,९३,०००/- आर्थिक सहयोग प्रदान गरिएको छ।
घुम्टे युवा परिवार मल्मका अध्यक्ष जीवन साहानी साथै संस्थाका प्रतिनिधिहरु र जापानको प्रतिनिधिको रुपमा राम साहानी तथा स्थानीय समाजसेवीहरुको उपस्थितिमा पीडित परिवारको निवासमा नै पुगेर एक कार्यक्रमका बीच संकलित रकम हस्तान्तरण गरिएको हो।घुम्टे युवा परिवार मल्मका अध्यक्ष साहानीका अनुसार यस्ता अभियानहरू आगामी दिनमा पनि निरन्तर चलाउनुपर्ने आवश्यकता रहेको बताउदै जापानमा रहेको संस्था र मल्मबासीहरु बिच आफुले एउटा पुलको भुमिका निर्वाह गर्न पाउदा खुसी व्यक्त गरे। अझै पनि धेरै विपन्न नागरिक उपचार नपाएर समस्यामा परिरहेका छन्। यस्ता अभियानले समाजमा सकारात्मक सन्देश दिनेमा विश्वास लिइएको अध्यक्ष साहानीने बताए।
घुम्टे युवा परिवार जापानले नियमित रूपमा सञ्चालन गर्दै आएको मानवीय कार्यहरू अन्तर्गत संस्थाले आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, खेलकुद र अन्य सामाजिक क्षेत्रमा समेत थप सहयोग विस्तार गर्ने योजना बनाएको संस्थाका अध्यक्ष नारायण थापाले बताए। हामी विदेशमा भए पनि हाम्रो मन र माया जन्मभूमिमा नै छ संस्थाका अध्यक्षले भने, हाम्रो सानो प्रयासले कसैको जीवनमा ठूलो प्रभाव पार्न सक्छ भन्ने विश्वासले हामी निरन्तर यस्तो अभियानमा लागिरहेका छौं।
संस्थाले स्थापना कालदेखि नै हाम्रो वडा भित्र भई परि आउने दैवि प्रकोप तथा मानविय सेवामा यसरि नै आर्थिक संकलन गरि पिडितलाई केहि राहत पुराउदै आएको सचिव प्रकाश केसीले बताए। सचिव केसीका अनुसार हामीले कमाएको केही अंश जन्मभुमिमा दु:खी, पीडित र असहायहरूमाझ खर्च गर्दा मात्र विदेशको कमाइको सार्थकता हुन्छ भन्ने भावनाले यो सहयोग गरेका हौं।
सहयोग पाएका बिरामी चोखाल परिवारले उक्त सहयोगलाई जीवनरक्षक मानेका छन् र संस्थाप्रति कृतज्ञता व्यक्त गरेका छन्।