बक्यौता उठाउन छाडेर ऋण लिने तयारीमा प्राधिकरण

-


     जनहित न्युज    
     वैशाख २० गते २०८२


काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले ४२ अर्बभन्दा बढी बक्यौता उठाउन छाडेर १० अर्ब रूपैयाँ ऋण लिने भएको छ । प्राधिकरणले आज श्वेतपत्र जारी गर्दै आफ्नो खातामा मौज्दात नै नभएकाले अल्पकालीन ऋण लिने प्रक्रिया अघि बढाइएको बताएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आज श्वेतपत्र जारी गर्दै प्राधिकरणको चालु खातामा २ अर्ब रूपैयाँ मात्रै रहेकाले १० अर्ब रूपैयाँ बराबर अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुभयो। अल्पकालीन ऋण लिनका लागि सरकारलाई पत्र पठाइसकेको उहाँको भनाइ थियो ।

प्राधिकरणले लिने अल्पकालीन ऋणको ब्याज महंगो हुन्छ । तर पनि लिनै पर्ने बाध्यता रहेको उहाँको भनाइ छ । सार्वजनिक गरिएको श्वेतपत्र अनुसार प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ सञ्चित नोक्सानीमा छ । 

आर्थिक वर्ष २०८०/८१ सम्म कुल सञ्चित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको दाबी गरिएपनि चालु आर्थिक वर्षको फागुनसम्म नाफा ९ अर्ब ४८ करोड देखाइएको छ । 

प्राधिकरणको पुरानै वित्तीय विवरण अनुसार यो आयकर अघिको नाफा हो । यसबीच प्राधिकरणले कुनै वर्ष पनि आयकर तिरेको छैन । कम्पनीहरूले नाफाको २५ प्रतिशतका दरले आयकर तिर्नुपर्ने व्यवस्था छ । 

आयकर ऐनको प्रावधान अनुसार कर प्रयोजनका लागि १२ वर्षको नोक्सानी समायोजन र ‘ऐक्सिलेरेटेड डिप्रिसिएसन’ को दाबीसहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी रहेको श्वेतपत्रमा उल्लेख छ ।

त्यसैगरी प्राधिकरण २ खर्ब ४८ अर्ब १२ करोड दीर्घकालीन ऋणमा रहेको तथ्यांक श्वेतपत्रमा छ । त्यसमध्ये नेपाल सरकारको आन्तरिक स्रोततर्फ ७७ अर्ब ८ करोड र नेपाल सरकारको जमानतमा वैदेशिक दातृ निकायतर्फ १ खर्ब ७१ अर्ब ४ करोड रहेको छ। 

प्राधिकरणको कुल दायित्व करिब ३ खर्ब ८५ अर्ब रहेको श्वेतपत्रमा उल्लेख छ । यसबाहेक आर्थिक वर्ष २०८०/८१ सम्म प्राधिकरणको वित्तीय प्रतिबद्धता तथा सम्भावित दायित्व ६९ अर्ब ५७ करोड छ । 

प्राधिकरणविरुद्ध विभिन्न अर्धन्यायिक तथा न्यायिक निकायमा विचाराधीन रहेका दाबी रकमसहितका मुद्दाको सम्भावित दायित्व २०८१ फागुनसम्म ८ अर्ब ४० करोड पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?