चिट चोर्न उक्साउने परीक्षा प्रणाली

-


     गाेविन्द पौडेल    
     असार १९ गते २०७८


एक वर्षको फरकमा माध्यामिक तहको एसईई र कक्षा १२ मा राष्ट्रिय परीक्षा लिने व्यवस्था कायमै छ । यसले पनि नेपालको शिक्षामा पढाइभन्दा परीक्षा हाबी भएको प्रस्टै देखाएको छ । स्कुलदेखि विश्वविद्यालयका कक्षामा ‘परीक्षाको आतंक’ले शिक्षाको उद्देश्यलाई नै छायामा पारिदिएको छ । हामीले पढाएर परीक्षा लिने होइन, परीक्षा लिनका लागि पढाउँदैछौँ ।

परीक्षा कस्तो हुन्छ र कसरी लिइन्छ भन्ने कुराले वर्षभरिको कक्षालाई प्रभावित गर्ने नै भयो । हामीले चलाइआएको परीक्षा प्रणालीले स्मृति मापनको उद्देश्य राख्छ । वर्षभरि विद्यार्थीलाई किताब/नोट कण्ठ गर्न लगाउने, कत्तिको कण्ठ गर्न सक्यो भन्ने जाँच्न परीक्षा लिने । यो नै स्कुल/कलेजको पढाइ बनेको छ । 

वर्षको अन्तिममा गणना गरिने तीन घण्टे परीक्षाले विद्यार्थीको समग्र क्षमतालाई कसरी जाँच्न सक्छ ? विद्यार्थीका आनीबानी, सरसफाई, विशेष सीप, सिर्जनात्मक कर्म र प्रतिभा जाँचको लेखाजोखा गर्ने अभ्यास हामीले अपनाएका छैनौँ । आदिम परीक्षाले घोक्न मन नपराउने तर अन्य प्रतिभाले सम्पन्न विद्यार्थीलाई पनि ‘लद्दु’ देखाइदिएर अन्याय गरिरहेको छ । ‘कक्षाको अन्तिम बेञ्चमा राष्ट्रको राम्रो मस्तिष्क भेटिन सक्छ’ भन्ने अब्दुल कलामको भनाइले खास महत्त्व राख्छ ।

परीक्षामा सोधिने प्रश्नहरू घोकेको उत्तर हुबहु लेख्न मिल्ने बेलासम्म चिट चोर्ने संस्कार पनि हट्दैन । माध्यामिकदेखि मास्टर्स डिग्रीको परीक्षा हलसम्म भुइँभरि चिटका खात देखिन्छ । परीक्षा चल्दैगर्दा ‘ट्वाइलेट’को कुनाकाप्चामा नोट, गेसपेपर र गाइड खाँदिएका देखिन्छ ।

अहिलेकै परीक्षा पनि वैज्ञानिक छैन । एसर्ईर्ईदेखि विश्वविद्यालयसम्म विद्यार्थीले गेसपेपर, गाइड र नोटबाट निश्चित प्रश्नहरूको तयारी गरे राम्रै ग्रेड पाइहाल्छन् । पुराना प्रश्नहरू अत्यधिक दोहोरिन्छन् । पुराना प्रश्नपत्रको संगालोबाट सीमित प्रश्नको उत्तर जानेपछि विद्यार्थीले थप दुःख गर्नुपर्दैन । यसले विद्यार्थीलाई राम्रै ग्रेडको त देखाइदिन्छ तर विद्यार्थीले केही सीप आर्जन गरेको हुँदैन । मास्टर्स सकेर विश्वविद्यालयबाट निस्कँदै गर्दा तन्नेरीको हातमा प्रमाणपत्रबाहेक कुनै सीप, क्षमता हुँदैन । परिणाम, मास्टर्स सकेको युवा सर्टिफिकेट बाकसमा थन्क्याएर कोरियाली, जापानी र अङ्गेजी भाषा सिक्न फेरि कन्सल्टेन्सी धाउनुपर्ने अवस्था छ । 

परीक्षामा सोधिने प्रश्नहरू घोकेको उत्तर हुबहु लेख्न मिल्ने बेलासम्म चिट चोर्ने संस्कार पनि हट्दैन । माध्यामिकदेखि मास्टर्स डिग्रीको परीक्षा हलसम्म भुइँभरि चिटका खात देखिन्छ । परीक्षा चल्दैगर्दा ‘ट्वाइलेट’को कुनाकाप्चामा नोट, गेसपेपर र गाइड खाँदिएका देखिन्छ । यो परीक्षा प्रणालीबाट चिट चोर्न रोक्ने जति प्रयत्न गर्दा पनि रोकिन सम्भव छैन । समस्या परीक्षार्थी होइनन्, समस्या शिक्षण र परीक्षा प्रणाली हो, जसले चिट चाेर्ने उपायहरू खोज्न उत्प्रेरित गरेको छ । 

एउटा कोठामा पचासौँ विद्यार्थी खाँदेर एकै खालको प्रश्नपत्र वितरण गरिन्छ । एउटा बेञ्चमा दुई/तीन जना परीक्षार्थी बसेर जाँच दिन्छन् । आजको प्राविधिक युगमा कति आदिम रूपले परीक्षा लिइरहेका छौँ भन्ने यसले प्रमाणित गर्छ । जान्नेको आडमा पर्‍यो भने पढ्दै नपढ्ने परीक्षार्थीले पनि ‘ए प्लस ग्रेड’ पाउनुमा यही परीक्षा जिम्मेवार छ । यसर्थ, प्रचलित परीक्षाको शैलीले यथार्थपरक स्मृतिको जाँच गर्नमा समेत असफल छ । 

स्कुल/कलेजमा विद्यार्थीले प्रदर्शन गर्ने व्यवहार, सीप, उपलब्धि, सिर्जना, अनुसन्धानलाई वैज्ञानिक मापन गर्ने प्रचलन बसालियो भने व्यक्तिको वास्तविक परीक्षा त्यहाँ हुन्छ । वर्षको अन्तिममा लिइने तीन घण्टे परीक्षा सबै दृष्किोणबाट अवैज्ञानिक छ ।

चिट चोर्ने प्रवृत्तिलाई निरुत्साहित पार्न प्रश्नको ढाँचा बदल्नुपर्ने हन्छ । सिर्जनात्मक, मौलिक, विश्लेषणात्मक र विगतका सँग नदोहोरिने गरि प्रश्न सोध्दा घोक्ने र चोर्ने प्रवृत्ति रोकिन्छ ।  

एउटा लेखकले किताब लेख्दा, स्तम्भकारले स्तम्भ लेख्दा, निबन्धकारले निबन्ध लेख्दा, गणितिज्ञ हिसाबमा घोत्लिँदा, अनुसन्धानकर्ताले अनुसन्धानमा डुब्दा वा वैज्ञानिकले आविष्कारको प्रयत्न गर्दा प्रशस्त सन्दर्भग्रन्थको साहारा लिन्छन् र आफ्नो सिर्जनात्मक परीक्षाको कसीमा उत्रिन्छन् । यो पनि उनीहरूको परीक्षा हो तर परीक्षाको भूत हैन । यसमा सिर्जना हुन्छ रटान हुँदैन । व्यक्तिको औकात नाप्न परीक्षा लिने हो भने हरेक कक्षा परीक्षा बन्न सक्छ । विद्यार्थीलाई सन्दर्भसामाग्रीको प्रयोग गर्ने स्वतन्त्रता दिने गरि नयाँ खालको परीक्षा प्रणालीलाई भित्र्याउन सकिन्छ ।

स्कुल/कलेजमा विद्यार्थीले प्रदर्शन गर्ने व्यवहार, सीप, उपलब्धि, सिर्जना, अनुसन्धानलाई वैज्ञानिक मापन गर्ने प्रचलन बसालियो भने व्यक्तिको वास्तविक परीक्षा त्यहाँ हुन्छ । वर्षको अन्तिममा लिइने तीन घण्टे परीक्षा सबै दृष्किोणबाट अवैज्ञानिक छ ।

शिक्षकहरू परीक्षाको संघारमा प्रश्नोत्तर लेखाउने, रटाउने र तिनै प्रश्नहरू परीक्षामा सोध्न बाध्य छन् । यसरी पहिले प्रश्नोत्तर रटाउने र अर्को दिन त्यसको घोकाई जाँच्न परीक्षा लिने प्रणालीलाई हामीले अभ्यास गर्दैछौँ । यो घुमाउरो रूपमा शिक्षकले चोराएको चिट नै हो । 

परीक्षा हलभित्र खडा भएको निरीक्षकको आँखा छलेर अरुकोबाट सार्न परीक्षार्थी मौका कुरिरहन्छन् । विद्यार्थीले ३ घण्टामा उत्तरपस्तिका परीक्षकले ५ मिनेटमा जाँच्छ । परीक्षक अनुसार प्राप्तांक फरक-फरक हुन्छ । कापी जाँच्ने बेला परीक्षकको ‘मुड’ले प्राप्तांकलाई प्रभाव पार्छ । अतः यो अवैज्ञानिक परीक्षा प्रणाली हो ।

हामीले ठान्छौं परीक्षाले विद्यार्थीको मूल्याङ्कन गर्छ । खासमा परीक्षाले शिक्षक, स्कुल र सरकारको मूल्याङ्कन गरिरहेको हुन्छ । नेपाली विद्यार्थीको गणित, विज्ञान, सामाजिकजस्ता विषयको सिकाइ कमजोर छ भन्ने छ । यी विषयमा धेरै विद्यार्थी फेल हुन्छन् । यसको अर्थ शिक्षण तरिका, परीक्षा विधि, सरकारी निती फेल भयो भन्ने हो । यसकारण फरक ढंगले सिकाउन, शिक्षा नीति बदल्न र त्यसैअनुसार परीक्षाका उपाय खोज्न सरकारको ध्यान जानु पर्ने हो ।

परीक्षाको भूतले विद्यार्थीलाई मात्रै होइन, शिक्षकलाई समेत तर्साएको छ । आफ्नो विषयमा धेरै विद्यार्थी फेल भए भने अभिभावक र विद्यालय प्रशासनसमक्ष स्पष्टीकरण दिनुपर्ला कि भन्ने डर शिक्षकमा छ । शिक्षकहरू परीक्षाको संघारमा प्रश्नोत्तर लेखाउने, रटाउने र तिनै प्रश्नहरू परीक्षामा सोध्न बाध्य छन् । यसरी पहिले प्रश्नोत्तर रटाउने र अर्को दिन त्यसको घोकाई जाँच्न परीक्षा लिने प्रणालीलाई हामीले अभ्यास गर्दैछौँ । यो घुमाउरो रूपमा शिक्षकले चोराएको चिट नै हो । 

सैद्धान्तिक मात्र होइन, प्रयोगात्मक भनिएको परीक्षा झन् अर्थहीन छ । स्कुलमा अर्थपूर्ण तरिकाले प्रयोगात्मक कक्षा सञ्चालन गरिएको पाइन्न । धेरै स्कुलमा प्रयोगात्मक कक्षा सञ्चालन गर्ने उपकरण र कक्षाकोठासमेत भेटिन्न । प्राक्टिकल अंक शिक्षकको गोजीबाट निकालेर दिइन्छ । सैद्धान्तिक परीक्षामा डी/ई ग्रेड प्राप्त विद्यार्थीको प्राक्टिकलमा ‘ए प्लस’ आइराखेको हुन्छ । के विद्यार्थी प्रयोगात्मकरूपमा जेहेन्दार भएर हो ? होइन । प्राक्टिकल कक्षा/परीक्षा केही नलिई हचुवाको आधारमा चढाइएको अंक हो त्यो । 

स्कुलमा अहिले गणितबाहेक सबै विषयमा २५ प्रतिशतजति प्रयोगात्मक अंक छुट्याइएको छ । सिधा भाषामा भन्दा विद्यार्थीको अंक बढी देखाउन मात्रै यो उपयोगी भएको छ । प्रयोगहरूमा अभ्यस्त बनाएर विद्यार्थीलाई बलियो बनाउने गरी प्रयोगात्मक कक्षाहरू सञ्चालन भएका छैनन् । 

गणित/विज्ञानबाहेक उदाहरण नै दिनुपर्दा सामाजिक शिक्षा भन्ने विषय कक्षाको चौघेरोमा पढाउनुको अर्थ र त्यसमा कुनै मजा छैन । विद्यार्थीले समाज, समाजको प्रकृति, भाषा, संस्कृति, सम्पदा बुझ्न र विद्यार्थीमा सामाजिकीकरणको विकास गराउन त प्रत्यक्ष समाजमै लगेर देखाउने, घुलमिल गराउने र सिकाउने हो । यहीबीचबाट यो विषयको परीक्षा लिन सकिन्छ । तर, यस्तो जीवन्त र प्रयोगात्मक शिक्षा दिन हामी असक्षम भयौँ । यस्तो प्रचलनले शिक्षालाई प्रयोगात्मक बनाउनुपर्छ भन्ने मान्यतामाथि मजाक उडाएको छ । 

विश्वविद्यालयमा प्रयोगात्मक कक्षा नाम मात्रको बनेको छ । अनुसन्धान र आविष्कारका लागि प्रयोगको महत्त्व स्थापित भएको छैन । प्रयोगात्मक कक्षाहरू सीमित र  परीक्षाकेन्द्रित भएका छन् । यसैकारण विश्वविद्यालयमा अनुसन्धान र आविष्कारको कुनै हलचल आउँदैन । शब्दहरूको रटानले त्यहाँको पढाइ निरस बनेको छ । युवाको उर्वर मस्तिष्कलाई काम नलाग्ने बनाइएको छ ।

नागरिकलाई चेतनशील बनाउने वा भेडो, स्वदेशमै केही गर्न सक्ने बनाउने वा विदेशीको सेवक, अल्छी बनाउने वा ऊर्जाशील, आत्मविश्वासी बनाउने वा कायर, देशप्रति गौरवबोध गर्न सक्ने बनाउने या हीनताबोध, सबै शिक्षाको हातमा छ । तर, वर्षभरि किताब र नोट घोक्ने घोकाउने, कत्तिको घोक्न सक्यो भन्ने जाँच्न परीक्षा लिने, परीक्षापछि घोकेका तथ्य सम्झिरहनु नपर्ने, तन्नेरीसँग कुनै सीप र क्षमता नरहने, देशभित्र काम नपाएर ‘शिक्षित जोकर’ हुनुपर्ने भएपछि पढेका युवा देशलाई धिक्कार्दै विदेशीको सेवा गर्न नगए कहाँ जान्छन् । 

हाम्रोजस्तो रटानमा आधारित पढाइले आलोचनात्मक चेतको विकास गर्ने, आविष्कार गर्ने र सिर्जना गर्ने खुबीलाई मार्छ । एउटा निश्चित कोर्स उपलब्ध गराइएको छ हरेक तहमा । त्यही कोर्स वर्षभरि पढाएर सक्न पनि हम्मेहम्मे पर्छ  । शिक्षकको पूरा ध्यान कोर्ष सक्नतिर हुन्छ । प्राक्टिकल गराउने, वर्क–सपमा लगेर सीपको विकास गर्ने, काम सिकाउने, सिर्जनाको लागि प्रेरित गर्ने, पढाइलाई व्यवहारसँग जोड्न सिकाउनमा शिक्षकसँग समय पनि छैन । शिक्षकको क्षमता पनि त्यस ढंगले विकास गरिएको छैन । सिंगो शिक्षा त्यही तीन घण्टे परीक्षाको मियो वरिपरि घुमिरहेको छ । यसले चिट चोर्ने र चोर्न मद्दत गर्ने परम्परालाई भत्काउँदैन । यसले शिक्षाका सबै वैचारिक र दार्शनिक मान्यतामाथि भद्दा मजाक गरेकाे छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?