‘बिहेपछि लोकसेवाको सपना मर्‍यो!’

-


     दिपक वली    
     जेठ १९ गते २०७८


पढाइको नाममा उसले आफ्नो जिन्दगीको पच्चीस वर्ष बिताइसकेकी थिई। 

यो उसको चाहनामात्र नभएर घर परिवारको दबाब पनि थियो। 

ऊ गर्व गर्थी र भन्थी- मेरो घरपरिवारमा  सबै जना पढेलेखेका  हुनुहुन्छ। बा शिक्षक। अंकल वकिल हुनुहुन्छ। दिदी नर्स। भाइ भने सोचेजस्तो पढ्न सकेन। 

यस्तै यस्तै। 

धेरै अनुरोधपछि त्यो दिन उसले स्वीकारेको हाम्रो भेटमा टेबुलमा दुई कप मिल्क टि आइसकेपछि उसले एक सर्को तानी र केही बोल्न खोजेजस्तै गरि भनि- तिमीलाई एउटा कुरा भनूँ। 

म केही बोलिनँ। चुपचाप देखेर ऊ आफैंले भन्न सुरू गरी। 

‘सम्झिँदा आफैंलाई अचम्म लाग्छ। जिन्दगीको यो उमेर पुगिसक्यो। बाआमाको कति ठूलो विश्वास छ। पैसा पनि त्यतिकै खर्च भइसकेको छ। जागिर गरूँ नसोचेकी पनि होइन। पढाइ बिग्रेला सोचेर त्यो पनि गर्न सकेकी छैन। कहिलेकाहीँ लाग्छ ती बाआमाले मप्रति यति धेरै आशा नगर्दिएको भए हुन्थ्यो। यति धेरै विश्वास नगर्दिएको भए हुन्थ्यो। अजिब लाग्छ। आफूमाथि धेरै विश्वास गरे भने पनि गाह्रो हुँदो रहेछ।’

‘मान्छे जब आफ्नो सपना पूरा गर्न सक्दैन। तब आफूलाई कमजोर सम्झिन्छ। ती सपना आफन्तमाथि देख्न सुरू गर्छ। त्यतिमात्र हो र! केही सीप लागेन भने आफूलाई छोराछोरीमाथि देख्न सुरू गर्छ,’ ऊ भन्दै थिई ‘हेर न यार लोकसेवा भन्दै काठमाडौं आएको पनि दुई वर्ष जति भइसक्यो। अहिलेसम्म  नाम निस्किने कुनै छाँटकाँट छैन। थाहा छैन तयारी नै नपुगेको हो कि अरू केही!’ 

आज ऊ अलि सिरियस मुडमा थिई। त्यसो त धेरैजस्तो समय हामी पढाइको विषयमा नै कुरा गर्थ्यौं। म हौसला दिन्थें- भन्ने बित्तिकै लोकसेवामा नाम निस्किँदैन। तयारी  नपुगेको हुन सक्छ। माथिल्लो ऊमेर हद चालिस वर्ष हो। एकदिन कसरी सफल नभइएला र! 

अझ धेरै वर्ष बाँकी छ भन्ने मेरो आशयसँग ऊ असहमत भई र भनी- अब के चालिस वर्षसम्म यही तयारी गर्दै बस्नू? तिमीलाई थाहा छ त.. । तिमीलाई थाहा छ त अर्थात् ऊसले मलाई ती सब सम्झिन बलजफत गर्दै थिई जुन कुरा पहिला नै बताइसकेकी छ। ऊ के गर्न चाहन्छे। के भए खुसी हुन्छे। केका लागि लडिरहेकी छ। कहाँ जानु छ। कुन कुन ठाउँमा ठक्कर खाएर आएकी छ। यस्तै यस्तै।   

‘हेर्दै जाऊँ एक दिन सेतो सर्ट र निलो कोट पाइन्टसहित टाई हल्लाउँदै मैले पढेको कलेजमा जानुछ। त्यहाँ कयौं मान्छेलाई यो सब देखाउनु छ। टाइ सुटमा म कस्तो देखिन्छु होला? त्यो सब बाआमालाई देखाउनु छ। मेरा साथीभाइलाई देखाउनु छ। मेरा आफन्तलई देखाउनु छ।’ ऊ निरन्तर बोली राखी। 

‘हामी घुम्न जान्छौं, आँखाले कैद गरेको दृश्यभन्दा बढी क्यामराले  कैद गरेको हुन्छ। यात्राका तिता मिठा याद  फेसबुकमा नदेखाई मनै मान्दैन। बच्चा जन्मिएको घण्टा बितेको हुँदैन फेसबुकमा नहाली हुन्छ र ‘वेल कम टु द वर्ल्ड’। नयाँ गाडी साथीभाइको मन जलाउन त हो नलेखी हुन्छ र ‘वेल कम टु द हर्ट’। देखाउनलाई त हो बाँच्ने। देखाउनलाई त हो जिन्दगी। म मात्र होर? यो संसारलाई बुझ्न कोसिस गर, यसरी नै  चलेको छ। चलेको छ पनि के भन्नु चलाएका छौं।

उसका सधैं दोहोरिने यी सब गन्थन सुन्नुभन्दा ऊ कुन शैलीमा बोलिरहेकी छ। कस्तो हाउभाउ दिइरहेकी छ। उसको अनुहारले के बोलिरहेको छ। यस्तै यस्तैमा समय बिताउँथें। 

पछिल्लो समय सरकारी जागिर नभए पनि हुन्छ भन्नेसम्म पुगेकी थिई। जसरी हुन्छ जागिर खानु थियो। यो बेला यस्तै हुँदो रहेछ। आज के गर्छु भन्थी। भोलि अर्कै कुरा गर्थी। 

‘तिम्रो व्यक्तिगत सपनाको लागि सरकारी जागिर खानैपर्छ। होइन भने मैले कैले दबाब गरेको छु र? तिमीलाई जे खुसी लाग्छ त्यही गर।’ पछिल्ला केही दिनहरूमा ऊ क्षण क्षणमा कुरा फेर्थी। 

‘कल सेन्टरबाट अफर आको छ। गरम कि नाइँ? एउटा अटोमोबाइलमा भ्याकेन्सी खोलेको रछ। अप्लाइ गर्देऊ है? यी हेर त यो नाम नखुलेको बैंकमा जागिर खुलेको रैछ। कुन बैंक होला? भन्दै फेसबुकमा लिंक पठाउँथी। टियूमा मेरो भाउजुले पोहोर साल जागिर खानु भाको। कति सजिलो सेलेबस रछ। फर्म भर्न सजिलो रैछ म आफैंले भरें। ई- सेवाबाट पैसा तिर्देऊ है।’ 

आज यस्तो कुरा गर्थी। भोलि अर्कै।

मानौं, हजार सपनाले रात भर निन्द्रा लाग्न दिएनन् | पुरै रात छट्ट्पट्टिमा ति चम्किला लाखौँ तारासंग  बिताई | कयौं तारा स्वार्थि रहेछन् | रात बिताउनुको स्वार्थ लुटे | सबै एकै थिएनन् | मान्छे पनि सबै उस्तै हुदैनन् | कोहिँ भगवान जस्ता हुनछन् | कोहिँ मान्छे जस्ता |  स्वार्थ पुरा गर्छन | आफ्नो बाटो लाग्छन् |

संसार परिवर्तनशिल छ| आज जे छ, भोलि त्यो नहुन् पनि सक्छ | संसारमात्र हो र? देख्न मिल्दैन र पो | नाप्न मिल्दैन र पो | मन जति चनचल अरु के हुन्छ? क्षण भरमै खुशी हुन्छ | क्षण भरमै दु:खि | कति कोमल।  कसैले घोचेको सानो सब्द  ह्रदयमा जिन्दगीभर दाग बनेर बस्छ।  मानौं त्यो सब्द होइन्, तिमीले बिस्वास माथि प्रहार गरेको छुरा हो |

हिजो यस्तो कुरा गर्ने ऊ, हप्ता नबित्दै मन डुलाउन सुरु गर्थी | मानौँ, उसको मन भमरा हो | फुलबारी ऊ आफैँ | न डुलि हुन्छ र? जति भित्र गयो त्यति धेरै सुगन्ध | दुबैको मिराकल गार्डेन जस्तै | 

‘सुन न, तिमीले एक जना टेलिभिजनमा चिनेको साथी छ भनेको होइन? कुरा गर्देऊ है।  म खाली समयमा त्यो पनि सिक्छु। यी हेर त यो एउटा लेख लेख्न मन लाको केही लेख्न आएन। तिमी  नै सुरू गर्देऊन।’ यस्तै यस्तै। 

ऊ लेखक पनि थिई। कयौं लेख र उसका शब्दले म प्रभावित थिएँ। प्रभावित थिएँ उसको विचारबाट।  

जस्तोसुकै सोचे पनि। जे सुकै भने पनि। जहाँ गए पनि। जे गरे पनि। उसको खुसीको कुरा हो। जेमा खुसी हुन्छ त्यही गरोस जस्तो लाग्थ्यो। मैले सोचेको उसले गर्नुपर्छ भन्ने छैन। उसका बाआमाले सोचेकै पनि गर्नु पर्छ भन्ने छैन। तर, जे होस्। एकचोटि सरकारीमा नाम निकालोस्। आफ्नो सपना पूरा गरोस्। सपना पूरा भएको दिन ऊ कति  खुसी हुने थिई। त्यो सब उसको अनुहारमा हेर्न  मन थियो। पछि मन नलागे त्यो सब छोडेर जे पनि गर्न सक्छे। 

उसँग सम्बन्धित भ्याकेन्सी खोल्ने बित्तिकै फर्म भरिहाल्थी। कहिलेकाहीँ चलाखीपन गर्न खोज्थी। एउटै भ्याकेन्सीमा दुई तीन ठाउँ फर्म भर्थी र भन्थी जुनमा कम प्रतिस्पर्धा हुन्छ त्यहीँ जाने। यो पनि सोध्ने कुरा हो र’, भन्दै हाँस्थी।
***
समय यसरी नै बित्दै गयो। म आफ्नै काममा व्यस्त हुन्थें। ऊ आफ्नो पढाईमा। पछिल्ला दिनमा ऊ आफ्नो खर्च आफैं जुटाउथी।

पैसा कहाँबाट जुटाउछे भन्ने थाहा हुँदाहुँदै पनि मौन बसें। ऊ आफैंले कहिल्यै बताइन। पैसाको मोहले उसलाई केही हदसम्म तानिसकेको रहेछ। पैसाले सब थोक हुँदो रहेछ। पैसाकै नजरबाट हेर्ने हो भने। अब उसलाई हिजोजस्तो मेरो जरूरत थिएन। हामी एक शैक्षिक गन्तव्यमा भेट भएका साथीजस्ता भएका थियौं।  आफ्नो उद्धेश्य पूरा हुन्छ र आफ्नो बाटो लागिन्छ। 

यस अर्थमा हामी दुबैको उद्धेश्य पूरा भैसकेको थिएन। अझै कयौं समयसँगै बिताउनु थियो।

हामी टाढा थियौं दूरीका हिसाबले। भौतिक साथ नभए पनि आत्मिक साथ्, भावनात्मक साथ थियो। 

ऊ मबाट धेरै कुराको आश गर्थी तर उसले सोचे जति सहयोग गर्न सकिरहेको थिइनँ कमसेकम ती दिनहरूमा। 

अर्को कुरा, भौतिक र आर्थिक साथ् भन्दा आत्मिक साथ् मजबुद हुने होइन्? भौतिक  साथमा शारीरिक स्वार्थ  हुन् सक्छ | निस्वार्थ साथ् यस्तो होस्: आमाले सन्तान हुर्काए झैं, माझि दाईले खोला तारे झैं |

ऊ अब पहिला जस्तो खुलेर कुरा गर्न छोडेकी थिई। मलाई भने उसका सपनाले बेलाबेलामा घचघचाई रहन्थे। हतार हतारमा के के न बितेजस्तो गरेर फोन गर्थें र भन्थें- पढाइ कस्तो छ ? तयारी नपुग्ला नि फेरि। सन्चो बिसन्चो के छ? अरू केही सुख, दुख? जति धेरै प्रश्न सोधे पनि ऊ फारू गरेर सधैं त्यही जवाफ दिन्थी- सबै ठिकै छ। अहिले घरमा छु, पछि कुरा गर्छु’ भन्दै फोन काट्थी।

समय संगै  सम्बन्ध पनि बदलियो। हामी शैक्षिक गन्तव्यका साथी समेत रहेनौं। सम्बन्ध ऊ आफैंले तोडी। कहिलेकाहीँ आफैंमाथि प्रश्न गर्थें, जुनकुरा ऊ आफैंलाई मतलब छैन त्यही कुरामा यति धेरै छ्टपटी किन ? किन यति धरै बेइचैनी? किन यति धेरै लगाव? जिन्दगीको परिभाषा समय सापेक्ष हुन सक्छ। हिजो उसलाई आफ्नो सपना र बाआमासँग मतलब थियो। आज नहुन पनि सक्छ। 

एक दिन फोनमा लामै कुरा गरें। उसले आफ्नो सबै कुरा क्लियर गरी र अन्त्यमा भनि- अब चाँडै बिहे गर्दैछौं। सम्भवत: हामी दुवै जना काठमाडौं आउने छौं। बिर्सेकी छैन मैले मेरो सपना। समय बदलिए सँगै तिमीसँग टाढा हुनु बाध्यता थियो। पर्खेर बस्नु जुन दिन म मेरो सपना पूरा गर्नेछु, त्यो दिन तिमीलाई अवश्य सम्झिने छु। तिमी पनि त्यसको हकदार हुनेछौ। जिन्दगी हो!  भनेजस्तो नहोला। सोचेजस्तो नहोला। देखेजस्तो नहोला। जिन्दगीभर सरकारी जागिर ठूलो कुरा नहुन पनि सक्छ। तर, जिन्दगीको पच्चीस वर्ष पढाइमा बिताएकी छु। त्यो पनि जागिर गर्छु सोचेर। 

एकदिन आफ्नो सपना पूरा गर्नेछु र तिमीले भनेजस्तै मेरो घरपरिवार  या म आफूलाई नै मन्जुर भएन भने जागिर छोडेर अरू केही गरूँला। आफ्नो ख्याल राख्नू। आफ्नो सपना पूरा गर्नू। मेरोबारे धेरै चिन्ता नगर्नू। पर्खेर बस्नू एकदिन मेरो नाम लोकसेवाको अन्तिम छनोट लिस्टमा देख्नेछौ। अन्त्यमा, आजदेखि हामीबीच कुनै पनि किसिमका संवाद हुने छैनन। यसमा नै हामी दुबैको भलो हुनेछ’ भन्दै फोन राखी। 

त्यो नै हाम्रो अन्तिम संवाद भयो।

बदलिएको सम्बन्धमा त्यस्तै व्यवहार गर्नुपर्थ्यो। अर्को कुरा ऊ आफैंले बन्देज लगाएकी थिई हाम्रो सम्बन्धमा। संवादका हरेक माध्यम बन्द गरेकी थिई। सिम कार्ड फेरेकी थिई। फेसबुकमा ब्लक। कहिलेकाहीँ मन सम्हाल्न गाह्रो हुन्थ्यो। मन न हो, क्षण भरमै बहकिन्थ्यो। पल्टाउँथें विगतका सम्बन्धहरू।बिग्रेको सम्बन्धमा सुकेको  खोलाजस्तै सियालीको गन्धमात्र आउथ्यो। छि! यस्तो पनि सम्बन्ध हुन्छ! अनेक माध्यमबाट सम्पर्कमा आउँथे। यो सब उसलाई पट्टक्कै मन पर्दैनथ्यो। टाढा भएर बस्न म नसक्ने। नजिक भएर बस्न ऊ नसक्ने। ठिक छ, आफ्नै हालतमा बस्ने चेस्टा गरौं। यस्तो जवाफ दिन्थी।
***
सम्बन्ध र संवाद टुटेको दुई वर्ष बितेछ। उसको घरमा गएको थिएँ। माइती घरमा। बाबुले छोरीको बिहे भएसकेको बताए। मन हलुङ्गो भयो। उसले भने भन्दा फरक ठाउँमा भएछ। भेट गर्नुको मुख्य कारण यो थिएन। बिहेपछि पनि सरकारी जागिरको लागि लड्न नछोड्ने बताएकी  किन केही वर्षदेखि हराइरहेकी थिई? जवाफ खोज्नु थियो। सम्भव भएन भने उसको ठेगाना खोज्नु थियो। लामै भलाकुसारी गर्यौं। बीच बीचमा सोधिएका ठाडा र छोरी लक्षित प्रश्नले बुढा घरि घरि शंकालु आँखाले हेर्थे। तर जवाफ दिन छोडेनन्। 

‘बिहे भएकी छोरीको के कुरा।’ निराश मुडमा भन्न सुरू गरे। 

‘छोराले त भने जस्तो गर्दैनन्। झन् छोरी त…। बाँकी केही बोल्न सकेनन्। हामी बीचको सम्बन्ध बुढाले प्रसंगबस कुराको बीचमा घुसाई हाले। राम्रोभन्दा नराम्रो धेरै सुनेका रहेछन्। 

यस अर्थमा पनि त्यो व्यक्ति मै हुँ भन्न सकिनँ। जे जस्तो दोष लगाए पनि सुनिरहें।  राम्रो कुरा गर्दा मन प्रफुल्लित हुन्थ्यो,  परिचय दिन आतुर हुन्थें। सम्हालें आफैंलाई। अपरिचित मान्छेसँग गफको शिलशिलामा बुढाले धेरै  कुरा खोले। मनमनै धन्यवाद दिएँ। बिदाई मागेर फर्कें।

वर्षौंदेखि हराएकी उसले एकदिन मेल सेन्ड गरी। मेलभित्र एउटा फाइल थियो। डाउनलोड गरें। रेल स्टेसनमा यात्रुलाई के हतार हुन्छ र जति हतार उसको मेल पढ्नुमा थियो। सुरू गरें।

माई डियर..!

तिमीलाई सम्बोधन गर्ने कुनै शब्द छैन। हामीबीच दोहोरो संवाद टुटेको दुई वर्ष, तीन महिना सात दिन पुगेछ। सपनीमा धेरै जसो तिमीसँगै भेट हुन्छ। भिजेको सिरानी र तड्पिएको मनमाथि धेरैले प्रश्न गर्छन्। तिमीलाई पनि सोध्न मन छ होला। म कहाँ छु र  कुन अवस्थामा छु? एक क्षण नबोल्दा के के न बिते जस्तो गर्ने तिमी अब त बानी पर्यो होला है?

कसैलाई मन पराउनु, प्रेम गर्नु र विवाह गर्नु नितान्त फरक कुरा हो। तिमीले माया र प्रेम दुवै गर्‍यौ। प्रेममा साथ हुन्छ, त्याग र बलिदान हुन्छ। मेरो माइती घरमा जाँदा हाम्रो सम्बन्धबारे मौन बसेछौ। मैले पहिला नै जानकारी गराएकी थिएँ। हामी एक अर्कालाई प्रेम गर्छौं। घरमा स्वीकारेनन्। तिमीभन्दा बढी म दुखी थिएँ। हाम्रो बिहे सम्भव भएन।

अँ, आजभोलि  तिमीलाई सम्झिन्छु र सम्झिन्नँ पनि। भनिन्छ नि, कसैलाई हजारबार बिर्सिन कोसिस गर्नु भनेको त्यति नै पटक सम्झिनु पनि हो। श्रीमानको सामिप्यतामा  तिमीलाई भुल्न कोसिस गर्नैपर्छ।

तिम्रो प्रेमप्रति पूर्ण विश्वास छ। जुन अवस्थामा जहाँ छौ, खुसी नै छौ होला। जन्म र मृत्युजस्तै मिलन र विछोड त संसारको रितै रहेछ। सँगै बाँच्न पाउने हाम्रो भाग्यमै  थिएन होला। सधैं दुखी भएर पनि नहुने। खुसी हुन पनि नसकिने। 

ठिक छ, जस्तो अवस्थामा छौं त्यसमै खुसी हुन कोसिस गरौं।

माई डियर..!

तिमीले लेखेका हरेक म्यासेजको जवाफ दिन नसकुँला। कोसिस गर्नेछु सम्भव भएसम्म। कतिपय जिन्दगीका भोगाइ तिमीलाई सुनाउनै  बाँकी थियो। 

तिमीले पनि साचेर राखेका थियौ होला कैयौं तिता मिठा सपनाहरू। ती सबै अधुरै रहे, तिम्रो र मेरो  सम्बन्धजस्तै।

तिमीलाई फेसबुकमा ब्लक गरेँ, संसार छोडेर अर्कै ब्रह्माण्डमा घर बसाएजस्तो भयो। मनको भावना बुझ्ने कोही थिएनन्। मोबाइलको सिम फेर्दा आफ्नै  सन्तान फेरेजस्तै भयो। घरको कुरा नाई नास्ती गर्न सकिनँ। बिहेको निर्णय गरें।

बिहेपछि धेरै कुरा सम्हाल्नु पर्ने। घरको इज्जत बुहारीको हातमा हुन्छ। बुहारी मान्छे धेरै बोल्न हुँदैन। झन् सासू ससुराको मुख लाग्ने त सोच्न समेत हुँदैन। पति देवता सरि हुन्, पूजा गर्नुपर्छ। नयाँ बुहारीलाई धेरैले नजर लगाएका हुन्छन्। पाहुना र छिमेकी आउँदा विशेष ध्यान दिनू। यस्ता कयौं वचन  दिनदिनै सुन्नुपर्थ्यो।

पाले पुण्य मारे पाप भन्दै घर बाट बिदाई गरेको दिन आज पनि राम्रोसँग सम्झिन्छु।  म जीवित छु। मेरा सपना मरेका छन्। तिमीलाई मेरो सपनाप्रति यति धेरै चिन्ता देखेर  माया लागेर आउँछ। सोचेजस्तो जिन्दगी नहुने रहेछ। 

म एक महिला हुँ। बुहारी हुँ। समाजका कयौं घटनालाई नियालेर हेर। तिम्रा हरेक प्रश्नको जवाफ पाउने छौ। महिला हुनु र बुहारी हुनुको सबै पीडा भोगिरहेकी छु। मेरा सपना र चाहनामाथि जबर्जस्ती हस्तक्षेप गर्नु महिलामाथिको हिंसा नै होइन र? मेरा व्यक्तिगत सपना पूरा गर्न सकिनँ। 

मैले आफ्ना चाहनालाई  निमोठेर भए पनि घरको सपना हुर्काउनु पर्छ। तिमीसँग माफी माग्न लाएक त छैन। सक्छौ भने माफी दिनु है!

म्यासेज धेरै लामो थियो। कतिपय व्यक्तिगत कुरा गरेकी थिई। माफी पनि मागेकी थिई। दोष पनि थुपारेकी थिई। 
अन्त्यमा यस्तो लेखेकी थिई।

‘सबैलाई खुसी बनाउन नसकिने रहेछ। आफूलाई खुसी बनाउँदा घर परिवार दुखी हुने। घर परिवारलाई खुसी बनाउँदा आफू दुखी हुने। ठिक छ, आफ्नो  दु:ख जति आफैंसँग सम्हालेर राखौं। जिन्दगी धेरै लामो छ। मिल्छ भने सुखका केही क्षण सँगै बिताउला।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?